site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बाथ रोगका रुप अनेक, के के हुन् त बाथ रोग ?

साधारणतयाः सबैजसो जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालिको भाषामा बाथ रोग भनेर भन्ने गर्दछौं । के बाथ रोग जोर्नी दुख्नेलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु केके हुन सक्छन् र कसले यसको उपचार गर्छ भन्ने जिज्ञासा हाम्रो मनमा उब्जिरहेको हुन्छ ।

जसले जे भन्यो, त्यही मान्ने अवस्थासमेत आइरहेको हुन्छ । जथाभावी औषधि, धुलो, झारपात, धामी झाँक्री अनि झारफुकको पछाडि दौडँदा दौडँदै कुन समयमा रोगले जटिल रुप लिइसकेको हुन्छ, थाहै हुँदैन ।

जसरी पनि दुखेको निको होस् यही नै मुख्य लक्ष्य हुन्छ तर औषधि के हो, यसका बेफाइदाहरु के के हुन् ? सोध्ने फुर्सद न त बिरामीलाई हुन्छ, न त बिरामीको आफन्त र परिवारजनलाई । बिरामीको ध्यान त मात्र के के बार्ने भन्नेमा मात्र सीमित हुन्छ ।  

Agni Group

बिरामीलाई औषधिको बारेमा राम्रोसँग जानकारी गराउने फुर्सद हामीमध्ये कमै डाक्टररुलाई मात्र हुन्छ । त्यसैले आजको यस लेखमा मैले पछिल्लो समयमा भारतको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीमा बाथरोगको विशेषज्ञता हासिल गर्ने क्रममा पाएको ज्ञान यहाँहरुसमक्ष सरल भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छु । साथमा बाथ रोगको लक्षण, उपचार र औषधिहरुबारे पनि चर्चा गर्नेछौं ।

बाथ रोग जोर्नी दुख्नेमात्र नभई अन्य लक्षणको रुपमा पनि देखा पर्दछ । कहिलेकाहीँ एक्लै रोगको रुपमा पनि बाथरोग देखा पर्न सक्छ भने कहिलेकाहीँ अन्य रोगसँग मिसिएर पनि देखापर्न सक्छ ।

Global Ime bank

के के हुन् त बाथ रोग ?

साधारणतयाः बाथरोगहरु रोग प्रतिरोधात्कम प्रणाली (इम्युन सिस्टम)का कारण हुन्छन् । यिनीहरुले धेरैजसो ‘अउटो एन्टिबडी’ बनेर शरीरको जोर्नीलगायतका अन्य अङ्गहरु जस्तैः छाला, आँखा, दिमाग, मुटु, फोक्सो, मृगौलालगायतमा असर पुर्याउने गर्दछन् । अउटो इम्युन रोगहरु धेरै प्रकारका हुन्छन् । हरेक रोगका आफ्ना आफ्ना प्रकार र लक्षणहरु हुन्छन् । के के हुन् त यी रोग र के के हुन् यिनका लक्षण ? हामीले अब यिनको चित्रण गर्नेछौं ।

के के नामले चिनिन्छन् त यी बाथ रोगहरु ?

  • रिउमाटोइड आरथ्राइटिस (आर ए)
  • जुभेनाइल इडियो प्याथिक अरथ्राइटिस (जे आई ए)
  • जोग्रेन सिन्ड्रोम (एस एस)
  • स्पोन्डिलो आर्थ्राइटिस (एस पि ए)
  • कनेक्टिभ टिस्यु डिसअर्डर (एस एल ई)
  •  
  • इन्फ्लामेटरी मायोप्याथि (डर्माटोमायोसाइटिस डाइमोसाइटिस)
  • भास्कुलाइटिस (स्मल भेसल/लार्ज भेसल/मिडियम भेसल)
  • क्रिस्टल आर्थ्रोप्लाष्टि (युरिक एसिड र अन्य)
  • अस्टियो आर्थ्राइटिस (ओ ए)
  • अस्टियो पोरोसिस, अस्टियो नेक्रोसिस

माथि उल्लेख गरिएका रोगहरुका भिन्न भिन्न लक्षणहरु हुन्छन् । साधारणतया बाथ रोगमा यस्ता लक्षणहरु देखिन्छन् ।

  • हात खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने, बिहान उठ्ने बेलामा जोर्नीहरु करकर गर्ने, केही बेरपछि जोर्नी खुल्दै जाने ।
  • चिसो पानीमा हात डुबाउँदा वा पानी चलाउँदा या जाडो मौसममा हातका औंलाहरु निलो र सेतो हुने ।
  • बिस्तारै आफ्ना जोर्नी र औंलाहरु बाङ्गिएको महशुस हुने ।
  • अनुहारका, हातका र शरीरका अन्य मांसपेसीहरु कसिएर आउने, छाला चाउरी नपर्ने, नखुम्चने र औंलाका टुप्पोमा घाउ आउने ।
  • विभिन्न बाथ रोगको असर फोक्सोमा परेर समस्या हुने ।
  • खोकी लाग्ने र लामो समयसम्म खोकी निको नहुने र खोक्दा रगत आउने ।
  • मुख एकदम सुख्खा हुने र पटकपटक खाना निल्दा पानी पिउनुपर्ने ।
  • मुख सुख्खा भएर गिँजामा पनि घाउहरु हुने ।
  • आँखा सुख्खा हुने र आँखामा बालुवा पसेजस्तो भएर बिझाउने ।
  • थुक निकाल्ने ग्रन्थीहरु सुन्निने र गाला फुलेको र सुन्निएको जस्तो देखिने ।
  • हात गोडाका औंलाहरु निलो वा कालो भएर झर्ने।
  • मुखमा र गुप्ताङ्गमा बारम्बार घाउ खटिरा आउने ।
  • लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने ।
  • आँखा रातो हुने ।
  • हात गोडाका एउटामात्र औंला सुन्निएर आउने ।

माथि उल्लेखित लक्षणहरु हुँदैमा सबैलाई बाथरोग हुँदैन तर, बारम्बार यस्ता लक्षणहरु देखिएमा बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ ।

साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । बूढापाका मानिसहरुमा उमेरको कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर, बाथरोगका कारण हुने ढाड दुखाइ अलि भिन्न किसिमको हुन्छ ।

ढाड दुखाइ राति बढी हुन्छ र दुखेर निन्द्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्न समेत नसकिने हुन्छ । बिहान उठ्नेबित्तिकै कक्रक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ । केहीबेर तन्क्याएपछि र काम र कसरत गर्न थालेपछि भने दुखाइ कम भएर जान्छ ।

यस किसिमका दुखाइमा काम कसरत र दुखाइ कम गर्ने औषधिहरु सेवन गरेपछि बिरामीले निकै राहत महशुस गर्दछन् । यस रोगको समयमा निरुपण निदान र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्दछ र बिरामी चलमलसम्म गर्न नसक्ने भएर थला पर्छन् ।

कतिपय यस्ता बाथरोगका बिरामीमा अन्य रोग जस्तै– छालाका रोग (सोरियासिस), पातलो दिसा हुने रोग (आइ बि डि) हरु पनि हुन सक्छ । आँखा रातो हुने, कुर्कुच्चा धेरै जोडसँग दुख्ने, एउटा औंलामात्र सुन्निने पनि हुनसक्छ ।

अन्य बाथरोगहरुमा शरीरका मांशपेसी दुख्ने, कुर्सीमा बसेको मान्छे अचानक उठ्न नसक्ने हुने । कपाल कोर्दा हात फतक्क गलेर तल झर्नेलगायत लक्षणहरु देखिन्छन् । त्यसैगरी छालामा डाबर आउने, मांशपेसी गल्ने र दुख्ने लक्षणहरु डर्माटोमायोसाइटिस वा पोलीमायोसाइटिस रोगमा हुने गर्दछ ।

धेरै मात्रामा कपाल झर्ने, विशेषगरी महिलाहरुको कपाल धेरै झर्ने हुनसक्छ । मुखभित्र घाउ आउने, मुखको छाला जाने, घाममा जाँदा अनुहार रातो हुने र पोतो आएको जस्तो हुने, जोर्नीहरु र मांशपेसीहरु दुख्ने र लामो समयसम्म ज्वरो आउने अनि ज्वरोको कारण पत्ता नलाग्ने किसिमका लक्षणहरु एस एल ई बाथ रोगमा देखा पर्न सक्दछन् । यो एस एल ई बाथरोग तुलनात्मक रुपमा महिलाहरुलाई बढी लाग्छ ।

टाउको अचानक दुख्ने, आँखा धमिलो हुने र आँखाको ज्योति गुम्ने अवस्था पनि बाथरोगका कारण आउन सक्छ ।

त्यसैगरी बाथ रोगकै कारण गर्भाशयमा बच्चा नआउने वा नबस्ने र बसेको गर्भ पनि बारम्बार तुहुने समेत हुन्छ । पेट दुख्नु दिसामा रगत आउनु चाहिँ (मेजेन्टेरिक भाष्कुलाइटिस) का लक्षणहरु हुन् ।

त्यसैगरी छारे रोगका जस्ता लक्षणहरु, अचानक अन्धोपना, मुख बाङ्गो हुने लगायतका लक्षणहरु समेत बाथ रोगमा देखा पर्दछन् ।

बाथ रोग सामान्यतया बाथ रोग विशेषज्ञ फिजिसियनले उपचार गर्ने गर्दछन्, जसलाई (रिउमाटोलोजिष्ट) भनिन्छ ।

नेपालमा बाथ रोगको अवस्थाः

हाम्रो देशमा विगतमा बाथ रोग बिशेषज्ञ रिउमाटोलोजिष्टको अभाव रहेका कारण बाथ रोगको राम्रोसँग पहिचान र उपचार हुन नसकेको अवस्था थियो ।   धेरैजसो बिरामीहरु उपचारका लागि मित्रराष्ट्र भारतलगायतका मुलुकहरुमा जाने बाध्यता रहेको थियो । तर, केही वर्षयता यस रोगको बिशेषज्ञता हासिल गरी आउनुभएका चिकित्सकहरुको उपलब्धताले बाथ रोगको उपचार स्वदेशमै सम्भव भएको छ । विशेषज्ञ चिकित्सकहरुको संख्या कम र बिरामीहरुको संख्या अत्यन्त धेरै भएका कारण बिरामीहरुले उपचारका लागि धेरै समय कुर्नुपर्ने बाध्यतासमेत रहेको छ । उपलब्ध केही विशेषज्ञ चिकित्सकहरु पनि काठमाडौंमा मात्र केन्द्रित भएर सेवा दिइरहेको हुनाले मोफसलका जिल्लाहरुमा अर्थात् राजधानी बाहिर बाथ रोगको उपचार अझै सम्भव हुन नसकेको अवस्था छ ।

बाथ रोगको विषयमा सरकारको दुरदृष्टि नरहेको कारण र सरकारी लाचारीका कारण आम नेपाली बाथका बिरामीहरु समस्या ब्यहोर्न बाध्य छन् । हालसम्म यस विषयको विशेषज्ञ चिकित्सकहरुको संख्या बढाउनका लागि सरकारी तवरबाट कुनै पहल भएकै छैन । जे जति विशेषज्ञहरु छन्, उनीहरुले आफ्नै खर्चमा र आफ्नै बलबुतामा शिक्षा र तालिम लिएर आएका हुन् ।

बाथ रोग नसर्ने प्रकृतिको दिर्घ रोग हो । यो रोगको औषधि लामो समयसम्म बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो देखिने र मत्थर भएर बस्ने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने हुन्छन् । बाथ रोग कतिपय अवस्थामा समयमा उपचार नपाउँदा मृत्युको कारण पनि बन्न सक्छ ।

बाथ रोगको परीक्षणमा गरिने आउटो एन्टिबडी जाँचहरु अझ पनि राम्रोसँग हुन सकिरहेको छैन । जाँच भए पनि यसको पहुँच सरकारी अस्पतालमा हुँदैन । यी आउटो एन्टिबडी जाँचहरु निकै महँगा हुन्छन् । यदि सरकारीस्तरमा कोही बाथरोग सम्बन्धी दक्षता हासिल गरेका र तालिमप्राप्त चिकित्सक नेपालका ठूला सरकारी अस्पतालमा काम गर्ने वातावरण  मिलाइदिने हो भने नेपालका विपन्न नागरिकहरुले पनि यसरोगको उपचार सहज र सरल ढंगबाट पाउन सक्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो ।

बाथरोगको उपचारमा चिकित्सकको भूमिका

बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । रोगको बारेमा राम्रोसँग जानकारी गराउनु, बिरामीले सेवन गर्ने औषधिको असरहरुबारे जानकारी गराउने जिम्मेवारी पनि चिकित्सककै हो ।  त्यसैगरी आवश्यक अन्य विभागका चिकित्सकहरुको परामर्श तथा उपचार सेवाका लागि अन्य चिकित्सककहाँ रेफर गर्नु पनि उपचार नै हो ।

हाम्रो देशमा अरुकहाँ रिफर नगर्ने, रिफर गर्दा आफ्नो आत्मसम्मान घटेको अनुभव गर्ने र रेफर गर्दा आफू सानो होइन्छ भन्ने पुरातनवादी सोचका कारण पनि धेरै बिरामीहरु पीडित हुनु परिरहेको अवस्था छ ।

समयमा नै सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार समयमा नै पाउने र रोगले जटिल रुप लिनबाट जोगाउन सकिन्छ । बाथ रोगीहरुको हकमा यी कुराहरु अझ धेरै सान्दर्भिक देखिन्छ ।

बाथ रोगको उपचारमा हाड जोर्नी र छालाका समस्याहरु मात्र निको पारेर हुँदैन, त्यसका अलावा बाथ रोगले निम्त्याउने अन्य रोगहरु र असरहरु समेतको उपचार केवल बाथरोग विशेषज्ञबाट मात्र सम्भव छ ।

मेरो यहाँहरुलाई आग्रह छ, आफ्नो चिकित्सकलाई सोध्नुहोस्, मेरो रोग के हो ? यसको उपचार कहाँ र कोसँग गर्नुपर्छ ?

 

बाथरोगका औषधिहरु

बाथरोगका औषधिहरु धेरै थरीका हुन्छन् । यी औषधिहरु लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द गर्ने यी सबै कुराहरु अनिवार्य रुपमा बाथ रोगका चिकित्सकको निगरानीमा गर्नुपर्ने हुन्छ । बाथ रोगमा औषधिहरु ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका औषधि) भएका कारणले समय समयमा यी औषधिहरुले गरेका असरहरुबारे जान्नका लागि रगतको जाँच, पिसाबको जाँच, एक्स–रेलगायतका जाँच गर्नुपर्ने हुन्छ ।

यी औषधिहरुले रगतमा कमी ल्याउने तथा कलेजोमा असर पुर्याउने पनि हुन्छ । त्यसैले चिकित्सकले बोलाएको समयमा रगत जाँच गराई अनुगमनका लागि अनिबार्य रुपमा आउनुपर्ने हुन्छ ।

खाने औषधिबाहेक नसामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन्, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुईहरु कोही सातामा एकपटक र केही २ सातामा एकपटक वा २ महिनामा एकपटक दिनुपर्ने किसिमका पनि छन् ।

मुखबाट सेवन गरेको औषधिहरुले ठिक नभएको खण्डमा यी सुइहरु प्रयोग गर्न सकिन्छ । यी सुइहरु अत्यन्त महँगा भए पनि अत्यन्त प्रभावकारी हुन्छन् ।

बाथरोग नयाँ रोग भने अवश्य पनि होइन । यी रोगहरु त वर्षौं पहिलेदेखि रहेका भए पनि सायद अध्ययन अनुसन्धानको अभावमा पहिचान मात्र हुन नसकेको अवस्थामा थिए । पछिल्लो समयमा यस रोगमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु बढ्दै गएका कारण आगामी दिनमा बाथ रोगको राम्रो निदान, निरुपण र उपचार हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

( कन्सल्ट्यान्ट फिजिसियन तथा बाथरोग विशेषज्ञ लेखक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३  ०२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC