site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झिल्को
Sarbottam CementSarbottam Cement

– प्रेमचन्द


सारा नगरमा यशोदानन्दको चर्चा चलिरहेको थियो । नगरमा मात्रै होइन, समस्त प्रान्तमा उनको कीर्ति गाइँदै थियो । विभिन्न अखबारमा उनका विषयमा टिप्पणी लेखिँदै थियो । मित्रहरूले प्रशंसा गर्दै पठाएका पत्रको लाम लागेको थियो । यो पो हो समाज सेवा ! उन्नत विचार भएका मानिसहरूले यस्तै गर्छन् !

यशोदानन्दले शिक्षित समुदायको मुख उज्जवल गरिदिएका थिए । ‘हाम्रा नेता केवल कुराका मात्रै धनी छन्, कामका धनी होइनन्’ भनेर अब कसले भन्ने साहस गर्न सक्छ ? यशोदानन्दले चाहेको भए आफ्नो छोराका लागि कमसेकम २० हजार रुपैयाँ दाइजोमा पाउने थिए, त्यसमाथि मानसम्मान अलग । तर, उनले सिद्धान्तसामु धनको रत्ती पनि परवाह गरेनन् र आफ्नो छोराको विवाह एक रुपैयाँ दाइजो नलिएरै स्वीकार गरे । वाह ! हिम्मत होस् त यस्तो होस् । सिद्धान्तप्रेम होस् त यस्तो होस् ! आदर्शपालन होस् त यस्तै होस् ! साँच्चैको वीर, आमाका सच्चा सपुत । तिमीले त्यो गरेर देखायौ, जुन कहिल्यै कसैले पनि गरेका थिएनन् । हामी बडो गर्वका साथ तिम्रो सामुन्ने टाउको निहुँराउँछौं ।

Prabhu Bank
Agni Group
NIC Asia

यशोदानन्दका दुई छोरा थिए । जेठो छोरा पढेलेखेर उम्किसकेको थियो । आज उसैको बिहे भइरहेको थियो, त्यो पनि बिनादाइजो, जुन हामी हेरिरहेका छौं ।

आज बेहुलाको टीकाटालो (तिलक) थयो । शाहजहाँपुरका स्वामीदयाल तिलक लिएर आउँदै थिए । शहरका गण्यमान्य सज्जनहरूलाई निमन्त्रणा दिइएको थियो । उनीहरू जम्मा हुँदै गए । महफिल सजिँदै गयो । एक सितारवादक आफ्नो संगीत कौशल प्रस्तुत गर्दै उपस्थित पाहुनाहरूलाई मन्त्रमुग्ध तुल्याउँदै थिए । भोजभतेरका लागि आवश्यक सामग्री पनि तयार थिए । साथीहरूले यशोदानन्दलाई बधाइमाथि बधाइ दिँदै थिए ।

Global Ime bank

एकजनाले भन्यो, “तिमीले त यार, कमाल गरिदियौ ।”

दोस्रोले भन्यो, “कमाल ? यो भन्नुस् कि झन्डा गाडिदिए । यतिबेलासम्म जसलाई पनि देखियो, मञ्चमा भाषण झार्दै गरेको मात्रै देखियो, जब काम गर्ने अवसर आउँथ्यो, त्यसबेला सबै पुच्छर लुकाउँथे ।”

तेस्रोले थप्यो, “कस्तोकस्तो बहाना बनाइन्थ्यो । हामीलाई पनि दाइजोसँग कुनै सरोकार छैन । दाइजो मेरो सिद्धान्तविरुद्ध छ तर के गरूँ, केटाकेटीकी आमाले नै मान्दिनन् ।”

चौथोले भन्यो, “हेर्नुस्, कति त यति लाज पचेका हुन्छन् कि सीधै भन्न पनि लजाउँदैनन् कि केटाको शिक्षादीक्षामा जे जति खर्च गरेको छु, त्यो हामीले पाउनुपर्छ । मानौं तिनले यो रकम कुनै बैंक खातामा जम्मा गरेका हुन् !”

पाँचौंले भन्यो, “खुब बुझिरहेको छु म, तपाईंहरू मलाई लिएर टिप्पणी गरिरहनुभएको छ । यसमा सबै दोष केटा पक्षको मात्रै छ कि केटी पक्षको पनि केही छ ?”

पहिलोले भन्यो, “छोरी पक्षको के दोष ? शिवाय यत्ति कि ऊ छोरीको बाउ हो !”

दोस्रोले भन्यो, “सारा दोष ईश्वरको हो । उसले किन छोरी मान्छे बनायो ?”

पाँचौं अघि सर्‍यो, “म यो भन्दिनँ । न त सारा दोष छोरी पक्षको हो न केटा पक्षको । दुबै नै दोषी हुन् । यदि छोरी पक्षवालाले केही नदिने हो भने उसलाई यो दुःखमनाउ गर्ने अधिकार पनि छैन कि बेहुलीका लागि सुन्दर गरगहना र लुगाफाटा किन ल्याएनन् भनेर वा बाजागाजा र धुमधामका साथ जन्ती किन आएनन् भनेर !”

चौथोले थप्यो, “हो, तपाईंंको यो प्रश्न सोचनीय छ । यो स्थितिमा बेहुलाका पिताजीसँग यस किसिमको दुखमनाउ नहुनुपर्ने हो ।”

पाँचौंले भन्यो, “त्यसो भए यो भनौं कि दाइजो प्रथाका साथै गहना, लत्ताकपडाको जोडीलगायत अन्य सामग्री लैजाने प्रथालाई पनि त्याग्नु प¥यो !”

यशोदानन्दले भने, “मैले दाइजो लिइनँ तर के बेहुलीका लागि गरगहना, लत्ताकपडा पनि नलगौं त ?”

पहिलोले भन्यो, “महाशय, तपाईंको कुरै बेग्लै छ । तपाई आफूलाई अरू आम जनतासँग तुलना किन गर्नुहुन्छ ? तपाईको स्थान त देउताहरूसँग छ ।”

दोस्रोले भन्यो, “२० हजारको रकम छोडिदिनुभयो ? क्या बात !”

यशोदानन्दले भने, “मेरो भनाइ त के हो भने हामी सधैं आफ्नो सिद्धान्तमा स्थिर रहनुपर्छ । ‘प्रिन्सिपल’का सामुन्ने ‘मनी’को कुनै ‘भ्याल्यु’ छैन । दाइजो कुप्रथामाथि मैले आफैं कुनै भाषण दिएको छैन, शायद कुनै नोटसम्म पनि लेखेको छैन । हो, सम्मेलनमा यस किसिमको प्रस्तावलाई समर्थन गरेको हुँ र यसैले पनि म आफ्नो त्यो प्रस्तावमा बाँधिएको पाउँछु । म त्यसलाई तोड्न चाहें भने पनि मेरो आत्माले तोड्न दिँदैन । म सत्य भन्छु— मैले दाइजो लिएँ भने मलाई यति मानसिक वेदना हुन सक्छ कि शायद म त्यो आघातबाट बच्नै नसकूँ ।”

पाँचौंले भन्यो, “अबको सम्मेलनले तपाईंलाई सभापति नबनाए त यो घोर अन्याय ठहरिन्छ ।”

यशोदानन्दले भने, “मैले आफ्नो ड्युटी गरें । त्यसको ‘रिकग्नेसन’ हुन्छ वा हुँदैन, मलाई मतलब छैन ।”

यतिकैमा खबर आयो कि स्वामीदयाल आइपुगे । त्यहाँ उपस्थिति व्यक्तिहरू उनको अभिवादनका लागि तयार भए । उनलाई मञ्चमा ल्याएर बसाइयो । लगत्तै तिलक संस्कार शुरु भयो । स्वामीदयालले एउटा ढाकीमा राखिएको पत्तल (पात)मा नरिवल, सुपारी, चामल, पान आदि वस्तु बेहुलाका अगाडि राखे । ब्राह्मणहरू मन्त्र पढ्न थाले । हवन शुरु भयो । त्यसैबीचमा बेहुलाको निधारमा तिलक (टीका) लगाउने कर्म पनि सम्पन्न भयो । तत्क्षण घरका महिला सदस्यहरूले मंगलाचरण गाउन शुरु गरे ।

यता महफिलमा यशोदानन्दजीले अगाडि बनाइएको मञ्चमा उभिएर दाइजो कुप्रथाका विषयमा भाषण दिन थाले । उनको यो भाषण लिखित थियो । उनले दाइजोका विषयमा ऐतिहासिक मन्तव्य दिए, “परापूर्वकालमा दाइजोको नामोनिशान थिएन । महानुभावहरू ! कसैलाई थाहा थिएन यो दाइजो कुन चराको नाम हो । सही मान्नुस्, यो विषयमा कसैलाई पनि केही थाहा थिएन । यो पशुपक्षी, आकाशजमिन, खानेवस्तु वा पिउने पदार्थ, के हो ? कसैलाई पनि जानकारी थिएन । तर, बादशाहहरूको समयमा आएर यो प्रथाको जग बस्यो । हाम्रा युवाहरू त्यसबेला सेनामा भर्ना हुन थाले । उनीहरू वीर थिए । त्यसबेला सेनामा जानुलाई गर्वका साथ हेरिन्थ्यो । तिनका माताहरूले पनि आफ्ना छोराका हातमा शस्त्रअस्त्र थमाएर रणक्षेत्रमा पठाउँथे । यसप्रकार युवाहरूको संख्या कम हुँदै गयो । त्यसउप्रान्त केटाहरूको मोलतोल हुन थाल्यो । आज अवस्था यो आइसकेको छ कि मेरो यस तुच्छ–महातुच्छ सेवामा पनि पत्रपत्रिकाहरूमा टिप्पणी लेखिन थालिएको छ । मानौं मैले कुनै असाधारण काम गरेको छुु । म भन्छु— यदि तपाईं संसारमा जीवित रहन चाहनुहुन्छ भने यो कुप्रथाको चाँडोभन्दा चाडो अन्त्य गर्नुस् ।”

एकजनाले शंका जाहेर गरे, “यसको अन्त्य हुनुअघि नै हामी मर्छौं त ?”

यशोदानन्दले भने, “यदि यस्तो हुन्थ्यो भने किन कसैलाई सोध्नुपथ्र्यो र ! मानिसले दण्ड पाउने थिए नै र वास्तवमा यस्तै हुनुपथ्र्यो । यो ईश्वरको अत्याचार हो । यतिसम्म लोभी, धनमा लिप्त भएर गिर्र्नेे, आफ्नो सन्तानको विक्रय गर्ने नराधम जीवित छन् र तिनै सुखी छन् । तर, समाज उसको तिरस्कार गर्दैन । लाग्छ— ती सब दास हुन् ।”

भाषण धेरै लामो र हास्यरसले भरिपूर्ण रह्यो । उपस्थित व्यक्तिहरूले खुबै वाहवाही गरे । आफ्नो मन्तव्य समाप्त गरेपछि उनले आफ्नो कान्छो छोरा परमानन्द (जसको उमेर यस्तै ७ वर्षको होला)लाई मञ्चमा बोलाए । उनले एउटा सानो मन्तव्यको नोट लेखेर दिएका थिए । उनी सभामा यो पनि देखाउन चाहन्थे कि कुलको यो सानो बालक पनि कति कुशाग्र र बुद्धिमान छ । सभा, समाजमा बालकहरूबाट पनि मन्तव्य दिन लगाउने प्रथा छ । यो विषयलाई लिएर कसैलाई कुतूहलता भएन । बालक बडो सुन्दर र हँसिलो थियो । ऊ मुस्कुराउँदै मञ्चमा आयो र आफ्नो गोजीबाट एउटा कागज निकालेर बडो गर्वका साथ उच्चस्वरमा वाचन गर्न थाल्यो—

‘प्रिय बन्धुवर, नमस्कार !

तपाईंको पत्रबाट यस्तो लाग्यो— तपाईंलाई ममाथि विश्वास छैन । म ईश्वरलाई साक्षी राख्दै कसम खान्छु— तपाईंले भनेको रकम तपाईंलाई यति गुप्त तरिकाबाट पु¥याउँछु कि कसैलाई सिन्कोबराबर पनि शंका हुनेछैन । तर, तपाईंसँग केवल एउटामात्र जिज्ञासा राख्ने धृष्टता गर्छु । हामीबीचको यो व्यापारलाई गुप्त राखिदिँदा तपाईंलाई जुन सम्मान र प्रतिष्ठा प्राप्त हुन्छ र मेरा निकटवर्तीहरूका बीच मेरो जुन निन्दा हुन्छ, त्यस उपलक्ष्यमा मैले के सुविधा पाउन सक्छु ? मेरो नम्र निवेदन यो छ कि २५ मध्येबाट ५ कम गरिदिएर मलाई न्याय गरियोस् ... ।”

यशोदानन्द घरमा आएका पाहुनाहरूका लागि भोजनको व्यवस्थाका लागि आदेश दिन भित्र गएका थिए । बाहिर निस्किँदा उनको कानमा यो वाक्य पर्‍यो, “२५ मध्येबाट ५ कम गरिदिएर मलाई न्याय गरियोस् ... ।”

यति सुन्दैमा उनको अनुहारबाट रंग फुंग उड्यो । उनी तीव्र गतिमा छोराछेउ पुगे र उसले पढ्दै गरेको कागज खोसे । अनि भने, “नालायक ! यो के पढ्दै थिइस् ? यो त मेरो क्लाइन्टको पत्र हो । आफ्नो मुद्दाको विषयलाई लिएर लेखेको थियो उसले । यो तैले कहाँबाट उठाएर ल्याइस् ? राक्षस ! जा त्यो कागज लिएर आइज, जुन मैले तँलाई पढ्न दिएको थिएँ ।”

एकजनाले भन्यो, “पढ्न दिनुस् । यो मन्तव्यमा जुन आनन्द छ, त्यो अर्कोमा नहुन सक्छ ।”

दोस्रोले भन्यो, “अब यो नाटक बन्द गर्नुस् । म हिँडें ।”

चौथोले भन्यो, “म पनि हिँड्छु ।”

यशोदानन्द भन्दै थिए, “बस्नुस् बस्नुस् ! खानाको व्यवस्था हुँदै छ ।”

पहिलोले भन्यो, “बाबु परमानन्द ! यहाँ आऊ त । यो कागज तिमिले कहाँ पायौ ?”

परमानन्दले भन्यो, “बुबाले नै लेखेर टेबलको घर्रामा राखिदिनुभएको थियो । यही पढ्न भन्नुभएको थियो । अहिले बेकारमा रिसाउँदै हुनुहुन्छ ।”

यशोदानन्द बीचमै बोले, “त्यो यो कागज थियो र सुँगुर ? मैले त टेबलमाथि नै राखिदिएको थिएँ । तैले घर्राबाट यो कागज किन निकालिस् ?”

परमानन्दले भन्यो, “मैले टेबलमाथि भेटिनँ ।”

यशोदानन्दले भने, “अनि मलाई किन भनिनस् ? घर्रा किन खोलिस् ? हेर्, आज म तेरो यस्तो हालत बनाउँछु कि जिन्दगीभरि सम्झिएलास् ।”

पहिलो बोल्यो, “यो आकाशवाणी हो ।”

दोस्रोले भन्यो, “यसलाई नेतागिरी भन्छन् । आफ्नो कामको टुंगो पनि लगायो र नाम पनि कमायो ।”

तेस्रोले भन्यो, “लाज लाग्नु पर्ने हो । सम्मान त्यागले पाइने हो, धोखा वा ठगीले होइन ।”

चौथो बोल्यो, “पाउन त पाउनुभएको थियो तर एउटै झिल्काले गर्नु गर्‍यो !”

पाँचौंले भन्यो, “ईश्वरले पाखण्डीहरूलाई यसैगरी दण्ड दिन्छन् ।”

यति भन्दै उपस्थित व्यक्तिहरू उठ्न थाले । यशोदानन्दले अनुभव गरे— सबै पोल खुल्यो, अब केही हुनेवाला छैन । उनले बारम्बार परमानन्दलाई क्रोधित आँखाले हेरे । सोचे— यो राक्षसले आज जितेको बाजी पनि हार्ने स्थितिमा पुर्‍याइदियो । अनुहारमा कालो पोतियो । शीर निहुरियो ।

उता बाटोमा उनका साथीहरू यस्तो टिप्पणी गर्दै हिँडिरहेका थिए—

पहिलो— ईश्वरले नै उनको अनुहारमा यस्तो कालो रंग पोते कि अब उनले अनुहार पनि देखाउने छैनन् ।

दोस्रो— यस्ता धनीमानी, विद्वान मानिस पनि यतिसम्म पतीत हुन सक्दा रहेछन्, अचम्म लाग्छ ! लिनै छ भने खुला रूपमा लिएको भए हुन्थ्यो । कसले तिनको हात समाउँथ्यो र ! यो त माल पनि गुप्त रूपमा लिने र यश पनि कमाउने जस्तो कुरा भयो ।

तेस्रो— कपटी मानिसको अनुहारै कालो !

चौथो— यशोदानन्दमाथि दया आइरहेको छ । विचरा उनले गर्नुसम्मको धुत्र्याइँ गरेका थिए, यति गर्दा पनि उनको असली रूप खुलिछाड्यो ।

(प्रेमचन्दको कथासंग्रह ‘पुस की रात’मा संगृहित ‘एक आँच की कसर’को अनुवाद ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC