– सुरज सुवेदी
शंका लाग्नु भनेकै डर लाग्नु हो । मैले खुट्टामा बाँधेको डोरीमाथि शंका गरें । भागौंजस्तो भयो तर सकिनँ । आँट नआए फर्किन पाइन्छ भन्ने नहुने रहेछ । कसैले पछाडिबाट धकेल्दियो ।
मुटुमा स्वाट्ट केही पस्यो र शरीरभरि दगु¥यो । आँखा खुल्दा भोटेकोसी नजिक–नजिक आइरहेको । फेरि शंका गरें । डोरी त चुँडिएन ?
हत्तपत्त खुट्टातिर हेर्न खोज्दा ब्युँझिएँ । रातको १ बजेको रहेछ । हिजो सुत्ने बेलामा अरूले बन्जी हानेको भिडियो नहेरेको भए हुने !
हामफाल्ने काम सजिलो रहेनछ । भएको भए मनले यत्तिको समय त्यसैलाई सम्झिने थिएन । मनले नसम्झिने चिजहरू सपना हुँदैनन् । सजिला सपनाले सताउँदैनन् ।
अप्ठ्यारोको काम नै हो आइरहनु । सजिलोमा बानी हुनेहरूलाई सजग गराउनु । उठेर बन्जी हान्न जानु छ ।
० ० ०
कोटेश्वर । हतारहरू मिसिन्छन् र हतार गर्छन् । लाग्छ— संसारमा सबैलाई हतार छ । हामीलाई ‘द लास्ट रिसोर्ट’ पुग्नु छ ।
अनि सँगै छ डर । पुग्ने बाटो र बाटोका यात्री । कसैसँग डराउनु र कसैको लागि डर हुनु ।
टिप्परले मारेका समाचार आँखामा खेल्छन् । बाइकको ऐनामा बेलाबेला हेर्छु । पछाडि केही आइहालेको छैन । तर, ‘अब्जेक्ट्स इन दि मिरर आर क्लोजर द्यान दे अपियर ।’
भक्तपुर छेडेर सुतेको बाटो साधन भइसकेको छ । हावा धूवाँमा रुमल्लिइरहेछ । हिजो दिउँसो उडेको धूलो आकाशमा बसेर जिस्क्याउँछ उपत्यकालाई । पर क्षितिजमा घाम छिर्ने बाटो खोज्दो छ ।
घामले पनि बाटो खोज्नुपर्ने कस्तो सहर बनायौं हामीले ?
सहरबाट निस्किएसँगै सवारी साधनको गति बढेको छ । छातीमा ठोक्किने हावा उड्दाउड्दै अल्मलिएर बिजुलीको पोलमा ठोक्किएको परेवाझैं अनियन्त्रित छन् । हावा भाग्न खोज्ने कस्तो समय रच्यौं हामीले ?
बाटोमा आफ्नो गति अरू गाडीको गतिले निर्धारण हुने रहेछ । अर्कोलाई साइड दिनुभन्दा जितेर जान सजिलो भइसकेछ ।
बाटोबाहेक सबै थोक दोस्रो सत्य । त्यसैले होला शहरमा यत्तिका धेरै सवारी भएको । फोहोर फाल्ने गति खोला दौडने गतिभन्दा छिटो । नालीमा ढल बग्ने गति धोबी खोलाभन्दा छरितो ।
शहरमा नदी हुन गाह्रो छ । शहरमा ढिलो हिँड्न गाह्रो छ । शहरमा नहिँड्न झनै गाह्रो छ । सहरमा चौतारोले रोक्दैन । स्पिड ब्रेकर चौतारो होइन ।
कहाँ अलमलिइरहेछु म ? बन्जी हान्न पुग्नु छ ।
० ० ०
यत्तिको साहसी काम पहिला गरेको छैन । सानोमा खुब रुख चढ्थें । तर, गाउँसँग टाढा हुन थालेपछि हिम्मत कमजोर हुने रहेछ । अहिले चढेको सम्झिन डर लाग्छ ।
तौल बढ्न थालेपछि पनि डर बढ्ने रहेछ । सानोमा थेग्ने त्यही हाँगोले पनि थेग्न नसक्ला कि, शंका लाग्दो रहेछ । आफ्नो कमजोरीलाई शंकाको भरमा कतिन्जेल थेगुँला ?
जे होस् ! रुखको हाँगो समाएर हुर्किएका मेरा हात बाइकको ह्यान्डिल समाइरहेछन् । सन्तुलनको सकसपूर्ण सत्यलाई सजिलो ठानेर गुडिरहेको छु । धुलिखेल पुगेर ओरालो लाग्दा ठूला सवारी भेछिन्छन् । अलिक अगाडि देखिन्छ एउटा टिप्पर । उसलाई जितेर जान डर लाग्छ । पछाडिका केही बाइक मसहितलाई जितिजान्छन् ।
अरू गएको देखेपछि हतार बढ्छ । एक्सिलेटर बटार्छु । हात काँप्छ । रुखको हाँगो समाउँदा भन्दा पनि धेरै ।
जितिसकेपछि पनि खुशी हुन्नँ । ऊ मेरो पछिपछि छ । दाहिनेतिरको लुकिङ ग्लास काँपिरहेको देख्छु । ‘अब्जेक्ट्स इन दि मिरर आर क्लोजर देन दे अपियर !’
‘क्लोजर’ शब्दसँग शंका लाग्छ ।
मलाई प्लेन उड्ने बेलामा डर लाग्दैन । झर्ने बेलामा लाग्छ । झर्नु सजिलो काम होइन ।
अझ विश्वास र शंकालाई आधा विश्वास र आधा शंका गर्दै झर्नु झन् गाह्रो छ ।
दोलालघाट कटेपछि खाली बाटो आउँछ । उताबाट धेरै गाडी आउँदैनन् । तातोपानी नाका बन्द छ । भूकम्पले सिन्धुपाल्चोकलाई भत्काउँदा राजमार्गलाई पनि भत्कायो । राजमार्ग भत्किएपछि यात्रा पनि भत्कियो । कम मान्छे हिँड्ने बाटो झनै डरलाग्दो हुन्छ । पक्की बाटोमा बेलाबेला आउने कच्ची र कच्ची बाटोमा बेलाबेला आउने पक्की दुबैसँग डराउनुपर्छ । यसपछि के हुन्छ भन्ने थाहा नदिने सबैसँग जोगिनु राम्रो ।
बाइक रोकेर खिचेका फोटा, बाटोको वरपर ब्लर भएर दौडिने हरियो रंग र सबै थोक त्यागेर केवल यात्राका लागि निस्केको झरना बाटोको पीडा भुलाउने मल्हम बनिहेर्छन् ।
हामी बन्जी हान्ने पुल पुग्छौं । १६० मिटरमाथि उभिएको पुलको लचकतामा डर छ । यो पुल अरू झोलुंगे पुलहरूजस्तो होइन ।
हामी जम्प गर्ने ठाउँ कट्छौं । यताउता झुन्डिएका डोरी नियाल्छु । कुनै एकलाई विश्वास गरेर हामफाल्नु छ । तल गड्गडाएको आवाजलाई नजिकै पुगेर सुन्नु छ । पारिपट्टि ‘दी लास्ट रिसोर्ट’ स्वागत गर्छ । यहाँ जो कोही पुग्दैनन् । पुगे पनि बन्जी हान्ने टिकट लिँदैनन् । यो कथा पढेर सम्पादन गरिरहने लेनिन उदाहरण हुन् । उनी बन्जी हान्न भनेर यही रिसोर्ट पुगे पनि डरैडरमा छेवैंको ३ फिटे स्विमिङ पुलमा हामफालेर फर्किएका मान्छे हुन् ।
‘केही भइहाले स्वयं जिम्मेवार’ लेखेको फारम भर्छौं ।
डर अर्कै तहमा पुगिसकेको छ । आफ्नो अक्षर बदलिएको हेर्छु । जाँचमा जनाउ घण्टी लागिसकेपछि लेखेको हतारजस्तो ।
पिसाब लागेको जस्तो हुन्छ । ट्वाइलेट खोजेर जान्छु । मुख धुन्छु । तर, मन चुप लाग्दैन । आफूलाई आफ्नो काबुमा नरहेको पहिलोपल्ट महसुस हुन्छ ।
बन्जी हान्नुभन्दा पहिलेको सचेतना कक्षामा धड्किएका मन र डराएका आँखा एकैठाउँ बसेका छौं । हामी तीन जना र चिनजान नभएका अरू केही । नचिने पनि सबैको आँखामा देखिएको डर आफ्नै लाग्छ । डर लुकाउन असमर्थ हाँसो पनि उस्तै ।
एउटा डोरीमा झुन्डिएको डमी । उसको कम्मर र खुट्टामा डोरी कसिएको छ । इन्स्ट्रक्टर दाइ बन्जीका सामान चिनाउँछन् र हाम्फाल्ने तरिका सिकाउँछन् । तल पुगिसकेर खुट्टाको डोरी तानी फर्किने र माथिबाट पठाएको डोरीलाई कम्मरमा अड्काउने सीप सिकाउँछन् ।
त्यो सीप जानेपछि हामीलाई माथि तानिने हो । तर शंका तल झर्ने डोरीमा मात्र छ । मनले सोध्छ, “थेग्न न थेग्छ ?”
“खुट्टाको डोरी खुस्किएन भने ?”
मलाई जम्प गरेर ती सबै प्रक्रिया पूरा गर्छु भन्ने विश्वास छैन । डराएको बेला आफू र आफ्नो क्षमताप्रति शंका हुने रहेछ ।
जीवन र म डर हटाउन जोक भन्न प्रयास गर्छौं । तर, धेरैबेर हँसाउँदैन । डराएको मान्छेलाई जोकले पनि हँसाउन नसक्ने रहेछ ।
लिस्टमा मेरो नाम पहिलो नम्बरमा लेखिन्छ । त्यसलाई पचाउन प्रयास गर्दै गर्दा जानुका भन्दिन्छिन्, “एक नम्बरमा त दाजुको नाम पो रहेछ !”
डर अझै बढ्छ । मनमनै आफूलाई पुलसम्म पु¥याउने र त्यहाँबाट हाम्फाल्न लगाउने प्रयास गर्छु । हिम्मत जुट्दैन । पुलमा पुग्छौं । एक—अर्कालाई चियर गर्छौं । मलाई पहिलोपल्ट जान नपरे हुन्थ्यो जस्तो लाग्छ । तर, नाइँ भन्ने उपाय छैन । मन नलागेको धेरै कुरा गर्दिनँ भन्न सकिन्न ।
त्यहाँ डोरी बाँधिदिने एक दिदी छिन् । नाम हेरेर होइन, तौल हेरेर बोलाउँछिन् । सबैभन्दा कम तौल भएको पहिला । मेरो पालो दोस्रोमा आउने भयो ।
मजस्तै डर बोकेकी साथी अगाडि लाग्छिन् । उनको कम्मरमा डोरी बाँधिन्छ । खुट्टामा कसिन्छ । ठीक भयो कि भएन जाँचिन्छ । मेरो पालो दोस्रोमा पुग्यो तर डर उस्तै छ । पहिला नै गर्न पाएको भए ढुक्क हुन्थ्यो जस्तो लाग्छ ।
उनी पुलको डिलतिर हिँड्छिन् । मेरोमा कम्मरमा डोरी बाँध्न थालिन्छ । काँपेका खुट्टा नदेखाउन प्रयत्न गर्छु । डोरी कसिदिने दिदीलाई केही सोधेको जस्तो गरेर आफूलाई बराल्न खोज्छु । डराएको मन कसैगरी पनि नबरालिने रहेछ ।
तयारी अवस्थामा भएकै बेला भिडियो खिच्ने भाइले सोधेको प्रश्नको जवाफ दिन्छु । हिम्मत जुटाएर हाँस्छु । सँगै डराएको छु भनेर कन्फेसन गर्छु । मन शान्त भएझैं हुन्छ । कम्फेसनले शरीरको बोझ घटाउने रहेछ ।
जम्प हानेर साथी फर्किइन्— सकुशल । उनको अनुहारमा अर्कै चमक छ । अघि डराएको उनको अनुहार खै ? उनी मेरो अनुहारमा केहीबेर अगाडिको आफ्नो अनुहार देखेझैं चियर्स गर्छिन् । अब मेरो पालो ।
बिस्तारै उभिन्छु । अगाडि हेर्छु । खुट्टा बाँधिएका पाइला बिस्तारै सर्न थाल्छन् । बन्जी ‘क्रु’ले भनेको सबैथोक ध्यान दिएर मान्छु । त्यस बेला उनले भनेका बाहेक अरू कुरा मेरो लागि महत्वपूर्ण हैनन् ।
तर, अगाडि हेरिरहेको भए पनि ध्यान पुलमुनि झुन्डिएर खुट्टा तानिरहेको डोरीले लिन्छ । जति जति छेउ आयो, उति उति डोरी गह्रौं । डर बिस्तारै एकै ठाउँमा केन्द्रित हुन थाल्छ । सबैतिरबाट बटुलिएर मुटुको एउटै कुनामा रोकिन्छ ।
कसैले बोलेको सुन्छु, “जम्प !”
झिलिक्क बन्द भएर आँखा खुल्छ । भोटेकोशीतिर भर्टिकल झरिरहेको अनुहारलाई हावाले बेस्सरी हिर्काउँछ । शायद त्यही बेला ‘फ्री फल’ कट्यो । र, हुन सक्छ त्यसै बेला डरले मुटुको कुना आनन्दको लागि छोडिदियो ।
मैले बन्जी जम्प गरें । र, मुख्य कुरा गर्दैगर्दा गरेको थाहा पाएँ ।
डोरो तन्किएर सकेजति खोलाको नजिक पुग्यो र फेरि पुलतिरै फर्कियो । पुलबाट मलाई समातिरहेको हातजस्तो देखियो डोरी । तलबाट पुल हेर्दा डर लाग्दो रहेनछ ।
कराउन खोजें तर शब्द छैनन् । माथिबाट जीवन चिच्यायो अनि म चिच्याएँ । पहिलोपल्ट शब्द बोल्न सिकेझैं भयो । अत्यधिक डर र अत्यधिक आनन्द एकैपल्ट मिसिँदा अभिव्यक्तिको लागि शब्द नबन्दा रहेछन् । गाह्रो त हाम्फाल्नु मात्र रहेछ ।
माथिबाट डोरी आयो । मैले त्यसलाई कम्मरमा अड्काएँ । अघि गर्न सक्दिनँ होला भनेका केही पनि कुरा अप्ठ्यारा भएनन् । डरले सोचेभन्दा धेरै सजिला यस्ता कामहरूसम्म पुग्न नदिने रहेछ ।
माथि पुग्दा अघि म बसेंझैं अर्का साथी फाल हान्ने पालो कुरिरहेका थिए । उनको आँखालाई भन्न मन लाग्यो, “डर छोडेर उडेको आफूलाई देख्नु !” भने पनि उनी बुझ्दैन थिए शायद ।
बरु मभन्दा पहिला बन्जी गर्ने साथीको उत्साहमा आफूलाई देखें । उनलाई थाहा छ मैले भर्खरै के महसुस गरें । उनले अघि के महसुस गरिछन्, मैले बुझिसकें ।
एक–अर्काको अनुभव बुझेपछिको कुराकानी अद्भूत हुनेरहेछ । एकछिन अघिसम्म अपरिचित हामी आफ्नो आफ्नो बन्जीको अनुभव सुनाउँछौं । आफू पहिला सुनाउन हतार गर्छौं । भर्खरै बोल्न सिकेको बच्चाले झैं ।
एउटै ठाउँबाट हाम्फालेका दुई व्यक्तिको अनुभव यति फरक कसरी हुन्छ ? शायद हामीले आफूसँगको फरक—फरक युद्ध जित्यौं । आफूभित्रको मान्छेसँगको युद्ध । डरसँगको युद्ध । कम्फर्ट जोनसँगको युद्ध ।
त्यसमा बिस्तारै अरू थपिन्छन् । उनीहरूसँग अर्कै युद्ध जितेको खुशी छ । त्यो खुशी व्यक्त हुने बाटो खोजिरहन्छ । भिडियोमा । फोटोमा । अभिव्यक्तिमा । मौनतामा ।
फर्किंदा आफू बिहान गएको मान्छे नभएझैं लाग्छ । मनमनै रचिएर कविता शब्द बन्छ । म गुन्गुनाउँछु—
यो बाटो त यसै यसै हुनेछ
गरूँ एक यात्रा र नबोली आऊँ
Twitter: @SurajWritesNP