site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेरो जीवन बदल्ने फिल्म
Ghorahi CementGhorahi Cement

– मनोज बोहरा


मलाई फिल्म हेर्नुभन्दा किताब पढ्नु बढी उपयोगी लाग्छ । तर, पनि बेला मौका पाएको र फुर्सदको समयमा फिल्म हेर्नुको मज्जा छुट्टै पाउँछु । मनोरञ्जन लिनु त छँदैछ, त्योभन्दा महत्वपूर्ण कुरा हाम्रो सोचाइ र वैचारिक पक्षको वृद्धि गर्नु फिल्मको लक्ष्य हुन्छ जस्तो लाग्छ । विगत केही वर्षमा मैले केही सय फिल्म हेर्ने मौका पाएँ । र, ती फिल्मले मेरो जीवनमा धेरै नै सकारात्मक प्रभाव पारेका छन् ।

मैले हेरेका मध्ये सबैभन्दा राम्रा लागेका फिल्मको बारेमा लेख्न मन लागेर १९ वटा फिल्मको सूची तयार पारेको छु । आशा छ, तपाईंहरूलाई पनि मन पर्नेछ ।

Agni Group

१. १२७ आवर्स (सन् २०१०)

निर्देशकः ड्यानी बोएल
कलाकारः जेम्स फ्रान्को, केट मारा, एम्बर ट्याम्ब्लिन
आईएमडीबी रेटिङः ७.६/१०

Global Ime bank

घुम्ने क्रममा अमेरिकाको उटाहमा साहसिक तथा पर्वतारोही आरोन राल्स्टोन (जेम्स फ्रान्को) एक साघुरो खोंचमा फस्छन् र उनको हात ढुंगामा अड्किन्छ । यो फिल्म त्यसपछिका १२७ घण्टाको भोगाइ र विचारको बारेमा आधारित छ । अनेकन प्रयास गर्दा पनि उम्कन असफल भएपछि उनी आफ्नो हात काट्ने निर्णय गर्दै त्यस खोंचबाट बाहिर निस्कन सफल हुन्छन् ।

जीवन संघर्षको बारेमा यो फिल्मले एकदमै राम्रो सन्देश दिएको छ । र, यो फिल्म सत्य घटनामा आधारित भएकाले पनि होला— म यससँग आफूलाई एकदमै नजिक पाउँछु ।

\"\"


२. ब्रेभहार्ट (१९९५)

निर्देशकः मेल गिब्सन
कलाकारः मेल गिब्सन, सोफी मार्काऊ, प्याट्रिक म्याकगुहान
आईएमडीबी रेटिङः ८.४/१०

‘बे्रभहार्ट’ लडाइँसम्बन्धी फिल्म हो । स्कटिस राष्ट्रवादी विलियम वालेसको जीवनलाई कल्पना गरी निर्माण गरिएको यो फिल्मले देशप्रेम झल्काएको छ । ‘ब्रेभहार्ट’ हेरेपछि मेरी एकजना साथीले आफू रोएको प्रतिक्रिया दिएकी थिइन् । फिल्मको मुख्य पात्रलाई हाम्रो देश नेपालका पृथ्वीनारायण शाहसँग तुलना गरेर म भावुक भएको थिएँ । त्यो बेला मलाई पृथ्वीनारायण शाहको निकै माया लाग्यो र उहाँप्रति सम्मानभाव पनि जाग्यो । अनि देशभक्तिको कुरा त झन् जाग्ने नै भयो । मैले हेरेका मध्ये यो फिल्म शीर्ष स्थानमा आउँछ ।

\"\"


३. हाचीकोः अ डग्स टेल (२००९)

निर्देशकः ल्यास्से हल्स्ट्रोम
कलाकारः रिचार्ड गेरे, जोवान एल्लन, क्यारी हिरोयुकी टागावा
आईएमडीबी रेटिङः ८.१/१०

यो सत्य घटनामा आधारित फिल्म हो । यसले मानव र कुकुरबीचको माया र सद्भाव देखाउँछ । जनावर र मानवको पारस्परिक सम्बन्धबारे सोच्ने बनाउने यो फिल्म मलाई असाध्यै मन पर्छ ।

‘हाचिको’ फिल्म हेर्दा मलाई धेरै वर्षपहिले बाघले मारेको मेरो कुकुर याद आयो । मेरो कुकुर त्यो दिन घरभित्र बस्नै मानिरहेको थिएन । ममी र मैले कति कोसिस गरेका थियौं भित्र ल्याउन । तर, ऊ भागिरह्यो । भित्र आउँदै आएन । रात धेरै छिप्पिसकेकाले ममी र म ढोका लगाएर सुत्यौं । हामीले घरको छिँडीमा बाख्रा पनि राख्ने गथ्र्यौं । ती बाख्रा र हाम्रो सुरक्षाका लागि ढोका लगाउनैपथ्र्यो । तर, त्यही राति १२–१ बजेतिर कुकुरलाई बाघले आक्रमण गरेर लगेछ । भोलिपल्ट उठ्दा ममीले हाम्रो चोटाको एउटा झ्यालमा नङ्ग्राको डाम देखाउनुभयो । शायद मेरो कुकुर त्यो दिन आफूलाई बचाउन झ्यालमा उफ्रेको थियो होला । तर, उसको प्रयास विफल भयो । 

अनि जब मैले यो फिल्म हेरें, आफ्नो कुकुरलाई सम्झिएँ र खुब रोएँ । कुकुरप्रतिको प्रेमभाव जागेर आयो । ‘हाचिको’ आफ्नो मालिकप्रति बफादार थियो । मालिकको पर्खाइमा बसेको त्यो कुकुरमा मैले आफ्नै कुकुरको अनुहार देखें । त्यो दिन मेरो कुकुरले पनि बचाउका लागि हामीलाई पुकारेको थियो होला । तर, दुर्भाग्य हामीले सुनेनौं । मलाई अझै दुःख लाग्छ त्यो सम्झिँदा । ‘हाचिको’ त्यसैले मेरो मुटुनजिक छ ।

\"\"


४. अप (२००९)

निर्देशकः पिट डक्टर, बब पिटर्सन
कलाकारः एडवार्ड आसनर, क्रिस्टोफर प्लमर, जोर्डन नागाई
आईएमडीबी रेटिङः ८.३/१०

‘अप’ कार्टुन शैलीमा निर्मित फिल्म हो । यो फिल्मले आफ्नो जीवनका सपनाहरू पूरा गर्न मूल पात्रले तय गरेको यात्राको बारेमा भन्छ । साँचो प्रेम के हो भन्ने कुरा पनि देख्न सकिन्छ यसमा । साथै यो फिल्मको चरा पात्रलाई समस्या पर्दा त्यो किशोरले गरेको सहयोग अनि ती वृद्धले अन्त्यमा किशोरलाई घरभित्र आउन दिएर देखाएको मानवता र माया निकै मर्मस्पर्शी छ । यो फिल्मको नामजस्तै हामीले पनि जीवनमा उँचो सोच्नुपर्छ भन्ने पाठ मैले सिकेको छु ।

\"\"


५. मेमेन्टो (२०००)

निर्देशकः क्रिस्टोफर नोलान
कलाकारः गाइ पियर्स, क्यारी आन्ने मोस, जोए पान्टोलियानो
आईएमडीबी रेटिङः ८.५/१०

क्रिस्टोफर नोलानद्वारा निर्देशित चलचित्र ‘मेमेन्टो’ पहिलोपटक हेर्दा मेरो मनमस्तिष्कमा अमिट छाप परेको थियो । पारम्पारिक पटकथाबाट पूरै फरक यो चलचित्रका हरेक दृश्य अत्यन्तै उदाहरणीय छन् । थ्रिलर जनरमा आधारित यो फिल्मको छायांकन, संवाद, कलाकारिता सबै उच्चकोटिको छ । दोस्रोपटक हेरिसकेपछि मात्रै मैले यो चलचित्र पूर्ण रूपमा बुझ्न सकेको थिएँ । यो फिल्म मनोविज्ञानसँग सम्बन्धित छ ।

\"\"


६. द डिपार्टेड (२००६)

निर्देशकः मार्टिन स्कर्सेजी
कलाकारः लिओनार्दो डिक्याप्रियो, म्याट ड्यामन, ज्याक निकोलसन
आईएमडीबी रेटिङः ८.५/१०

सिनेमा जगतकै सबैभन्दा प्रभावशाली निर्देशक मानिने निर्देशक हुन् मार्टिन स्कर्सेजी । उनका फिल्मले चर्चा नपाउने भन्ने नै हुँदैन । पृथक निर्देशक स्कर्सेजीको सबैभन्दा अद्भूत चलचित्रमध्ये एक मानिने ‘द डिपार्टेड’ले आफ्नो सशक्त कथा, कुशल अभिनय तथा पृष्ठ संगीतले गर्दा चर्चा पाएको थियो । अस्कर अवार्डस्मा दबदबा मच्चाएको यो फिल्ममा एउटा पनि सुस्त क्षण छैन । लियोनार्दो र ड्यामनले यो फिल्मबाट निकै चर्चा बटुलेका थिए ।

\"\"


७. इन्सेप्सन (२०१०)

निर्देशकः क्रिस्टोफर नोलान
कलाकारः लिओनार्दो डिक्याप्रियो, जोसेफ गोर्डन लेभिट, एल्लेन पेज, टोम हार्डी
आईएमडीबी रेटिङः ८.८/१०

क्रिस्टोफर नोलानद्वारा निर्देशित यो फिल्म कम्तीमा दुईपटक नहेर्ने कमै होलान् । सपनाभित्रको सपनाभित्र गएर विचार तथा त्यसभित्रको रहस्यलाई आधार मानी बनाइएको यो फिल्ममा लिओनार्दो डिक्याप्रियोको मुख्य भूमिका छ । पृथक पटकथा, अविश्वसनीय निर्देशन÷छायांकन तथा अद्वितीय प्रस्तुतिका कारण यो फिल्म अहिले पनि उत्तिकै चर्चित छ । यो फिल्म प्रदर्शनमा आएपछि यसको विषयवस्तुलाई लिएर थुप्रै सिद्धान्तमा बहस भएको थियो । एकपटक हेर्नै पर्ने फिल्म हो यो ।

\"\"


८. हाउ टु ट्रेन योर ड्र्यागन (२०१०)

निर्देशकः डिन डेब्लोइस, क्रिस स्यान्डर्स
कलाकारः जे बरुचेल, जेरार्ड बटलर, क्रिस्टोफर मिन्ट्ज प्लास
आईएमडीबी रेटिङः ८.१/१०

‘हाउ टु ट्रेन योर ड्र्यागन’ हेर्दा मैले मायाले नै सबै कुरा जित्न सकिन्छ, आफ्नो बनाउन सकिन्छ भन्ने कुरा सिकें । साधारणतया हामी ड्र्यागन, बाघ, चितुवाजस्ता जनावरलाई हिंस्रक मान्छौं । तर, ती जनावर हामीले सोचेजस्ता हिंस्रक पनि हुँदैनन् । हामीले उनीहरूलाई दुःख दिएको खण्डमा आफ्नो बचाउका लागि मात्र उनीहरूले आक्रमण गर्ने हुन् । वास्तवमा जनावरप्रति हामीले पनि लगाव राख्ने र माया दिने हो भने तिनले पनि हामीलाई माया र संरक्षण दिन्छन् भन्ने कुरा कति मज्जाले प्रस्तुत गरिएको छ यो फिल्ममा ।

\"\"


९. टुवेल्भ एंग्री मेन (१९५७)

निर्देशकः सिड्नी लुमेट
कलाकारः हेनरी फोन्डा, लीजे कब, मार्टिन बालसाम
आईएमडीबी रेटिङः ८.९/१०

सन् १९५७ मा निर्माण गरिएको ‘टुवेल्भ एंग्री मेन’ एउटै कोठामा छायांकन गरिएको छ । हत्याका आरोपित व्यक्तिलाई अदालतले सजाय दिनुअघि जुरी (न्यायमण्डली)बीच हुने रस्साकस्सी यो फिल्ममा देख्न सकिन्छ । जुरीका सबै १२ सदस्यले अभियुक्तको पक्ष–विपक्षमा आफ्ना तर्क प्रस्तुत गर्छन् । एउटा सामान्य छलफलबाट शुरु हुने फिल्म पछि चर्काचर्कीमा परिणत हुन्छ । सबै सदस्यबीच विवाद हुन्छ । न्यायजस्तो संवेदनशील विषयमा पनि उनीहरूबीचको व्यक्तिगत सम्बन्धको कुरा आउँछ । त्यस्तो तनावपूर्ण स्थितिमा पनि कसरी सबैजना एउटा निर्णयमा एकमत हुन्छन् भन्ने कुरा रोमाञ्चक रूपमा प्रस्तुत गरिएको छ ।

\"\"


१०. अ ब्युटिफुल माइन्ड (२००१)

निर्देशकः रोन होवार्ड
कलाकारः रस्सल क्रो, एड ह्यारिस, जेनिफर कोनल्ली
आईएमडीबी रेटिङः ८.२/१०

विश्वविख्यात अर्थशास्त्री जोन फोब्र्स न्यासको जीवनमा आधारित ‘अ ब्युटिफुल माइन्ड’ मेरो लागि सर्वोत्कृष्ट फिल्म हो । गणित विषयमा अद्भूत ज्ञान भएका न्यास सानै उमेरमा सफलताको शिखरमा पुग्छन् । तर, उनी एक मानसिक रोग (सिजोफ्रेनिया)को शिकार हुन पुग्छन् । त्यस पीडादायी अवस्थाबाट उनी कसरी बाहिर आउन सक्छन् र आफ्नो जीवन यात्रालाई अघि बढाउँछन् भन्ने बारेमा हो छ यो फिल्म । त्यसैले मलाई यो फिल्म एकदमै प्रेरणादायी लाग्छ ।

\"\"


११. टुवेल्व इयर्स अ स्लेभ (२०१३)

निर्देशकः स्टिभ माकक्विन
कलाकारः चिवेटेल इजिओफर, माइकल केन्नथ विलियम्स, माइकल फासबेन्डर
आईएमडीबी रेटिङः ८.१/१०

गृहयुद्धभन्दा पहिलेको समयमा सोलोमन नर्थअप (चिवेटेल इजिओफर) नामक काला जातिका व्यक्ति न्युयोर्कमा अपहरणमा पर्छन् । अपहरणपश्चात् उनी दक्षिणतिर दासको रूपमा बेचिन्छन् । १२ वर्षको दासत्वमा उनले निर्मम व्यवहार भोग्छन् । तर, त्यहीबीच एकजना मालिकको तर्फबाट अप्रत्याशित रूपमा कारुणिक व्यवहार पाउँछन् । तर, जे–जस्तो अवस्था आए पनि त्यो जीवनको अन्त्य होइन भन्ने कुरा प्रभावकारी तरिकाले देखाइएको छ यसमा । यो फिल्म हेर्दै गर्दा म धेरै नै भावुक भएको थिएँ । किनकि, त्यतिबेला म आफैं पनि व्यक्तिगत समस्याहरूमा रुमलिरहेको थिएँ । कति सामान्य समस्याहरूमा पनि म आत्तिरहेको रै’छु भन्ने भान भयो र हरेस नखाई ती समस्या एकएक गर्दै समाधान गर्नतर्फ जागरुक भएको थिएँ । यो मार्मिक कथा प्रस्तुत गर्ने सम्पूर्ण टिमलाई भन्यवाद ।

\"\"


१२. कास्ट अवे (२०००)

निर्देशकः रोबर्ट जेमेकिस
कलाकारः टम ह्याङ्क्स, हेलेन हन्ट, पउल सान्चेज
आईएमडीबी रेटिङः ७.८/१०

मैले हेरेका फिल्ममध्ये टम ह्याङ्क्सले अभिनय गरेको ‘कास्ट अवे’ नै पहिलो फिल्म हो । त्यसपश्चात् म टमको डाइहार्ड फ्यान भएको थिएँ । ‘फेडएक्स’मा कार्यरत चक नोलान्ड (टम) मलेसियाको हवाई यात्रामा जाँदै गर्दा विमान प्रशान्त महासागरमा दुर्घटना हुन्छ । जहाजका एकमात्र जीवित व्यक्ति उनीमात्रै हुन्छन् । उनी तैरिँदै समुद्राको किनारमा पुग्छन् । टापुको चार वर्षे बसाइ संघर्षपूर्ण र एकदमै कठिन भए पनि उनले हार मान्दैनन् । बाँच्नका लागि उनले गर्ने संघर्ष निकै साहसिक छ । आफू नितान्त एक्लो हुँदा निर्जीव वस्तुहरू पनि कसरी मित्रजस्तै बन्न सक्छन् भनी बडो भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । आफूसँग भएका स्रोत–साधनको पूर्ण उपयोग कसरी गर्न सकिन्छ भन्ने पनि सिकाउँछ यसले । यो फिल्म हेर्दै गर्दा बेला–बेला आँखाबाट आसुँ खसेको पत्तै हुँदैन ।

\"\"


१३. ब्याक टु द फ्युचर (१९८५)

निर्देशकः रोबर्ट जेमेकिस
कलाकारः माइकल जे फक्स, क्रिस्टोफर ल्योइड, ली थम्पसन, क्रिस्पिन ग्लोबर
आईएमडीबी रेटिङः ८.५/१०

काल्पनिक कथामा आधारित फिल्म हो ‘ब्याक टु द फ्युचर’ । सन् १९८५ मा निर्माण गरिएको यो फिल्म शीर्षकले भनेजस्तै वर्तमानमा रहेर भविष्यवाणी गर्दै के–कस्ता घटना हुन्छन् भनेर अनुमान गरिएको छ । १७ वर्षीय एक विद्यार्थीलाई झुक्किएर ३० वर्ष पहिलेको समयमा पठाइन्छ र के–कस्ता घटना भएका रहेछन् भन्ने देखाइएको छ । यो फिल्मलाई सिर्जनात्मकताको अनुपम उदाहरण मान्न सकिन्छ ।

\"\"


१४. इटर्नल सनसाइन अफ द स्पटलेस माइन्ड (२००४)

निर्देशकः माइकल गोन्ड्री
कलाकारः जिम क्यारी, केट विन्सलेट
आईएमडीबी रेटिङः ८.३/१०

साइन्स फिक्सन, रोमान्टिक, मनोवैज्ञानिक र कमेडी विधाअन्तर्गत निर्माण गरिएको यो फिल्ममा जिम क्यारी र ‘टाइटानिक गर्ल’ केट विन्सलेटले अभिनय गरेका छन् । पीडादायी बिछोडपश्चात् केट आफ्ना पूर्वप्रेमी जिमलाई बिर्सनका लागि एक किसिमको मेडिकल उपचार गर्छिन् । जिमले पनि त्यही प्रक्रिया अपनाउँछन् । जीवनका कठिनाइ र प्रेम सम्बन्धबारे यो फिल्मले मज्जाले व्याख्या गरेको छ । पृथक शैलीमा (पे्रम सम्बन्धलाई रिभर्स साइकलमा देखाइएको छ) प्रस्तुत गरिएको यो फिल्ममा जिम क्यारीको अभिनयले झन् मिठास थपेको छ ।

\"\"


१५. फरेस्ट गम्प (१९९४)

निर्देशकः रोबर्ट जेमेकिस
कलाकारः टम ह्याङ्क्स, रोबिन राइट, ग्यारी सिनिस
आईएमडीबी रेटिङः ८.८/१०

टम ह्याङ्क्सको अभिनय रहेको अर्को रोमाञ्चक फिल्म ‘फरेस्ट गम्प’ हो । स–साना बालबालिकाजस्तै निर्दोष र सरलताले कसको मन नछोएको होला र ! ‘फरेस्ट गम्प’ले पक्कै पनि सबैखाले दर्शकलाई प्रेरणा दिन्छ । फुटबल खेल्नेदेखि लिएर भियतनाम युद्धमा सेना बन्ने र धावक बन्ने जस्ता काम फरेस्ट गम्पले गर्छन् । जे–जस्तो काम गरे पनि मनबाटै गर्नुपर्छ भन्ने सन्देश राम्रो लाग्यो । यो फिल्मको सबैभन्दा राम्रो लागेको सन्देश— जीवन चकलेटहरूको पोको हो, त्यसलाई खोल्दा कुन चकलेट पाइन्छ भन्ने थाहै हुँदैन ।

\"\"


१६. इनटु द वाइल्ड (२००७)

निर्देशकः सिन पिन
कलाकारः इमिली सिर्च, भिन्स भन, क्याथरिन किनर
आईएमडीबी रेटिङः ८.१/१०

‘इनटु द वाइल्ड’ मैले हेरेको पहिलो यात्रासम्बन्धी फिल्म हो । यो फिल्म हेरेपछि धेरैभन्दा धेरै घुमघाम गर्ने अनि आफ्नो बारेमा थाहा पाउन प्रेरित भएको छु । म दोहोराएर फिल्म हेर्ने मान्छे त होइन तर योचाहिँ मैले तीन पटक हेरेको छु । यो फिल्मको पात्रमा म आफूलाई पाउँछु । बेलाबेलामा खुशी लाग्छ र पछिको अवस्था देख्दा डर पनि लाग्छ । मेरा यात्राहरूको बारेमा कल्पना गर्छु र मन यसैयसै बहकिन्छ । रमाइलो मान्ने कि के ? अनुत्तरित हुन्छु । नसोचौं भन्छु तर सक्दिनँ । फिल्मले जीवनमा कमसेकम एकपटक यस्तो अनुभव गर्नैपर्ने प्रेरणा दियो, जहाँ एक्लै प्रकृतिको माझ कुनै विचलनबिनै आफूले आफूलाई नाप्न सकूँ । नांगो मानवमात्र भई आफूलाई हेर्न सकूँ । साधारण दैनिक क्रियाकलाप र सामान्य देखिने मानिसहरूमा अनेकन रहस्य र सम्भावना देख्न सकूँ । पाएको एउटा जीवनकालमा आफ्नै हृदयको ताल मिलाएर नाच्न सकूँ । अर्कोतर्फ आदर्शवादको चरम उदाहरण यो फिल्मका नायकले जस्तै घरपरिवार र समाज त्यागेर हिँड्ने कुराचाहिँ कतिसम्म उचित हो ? अन्त्यमा दिइएको ‘खुशी बाँड्दा झन् बढ्छ’ भन्ने सन्देश एकदमै मन प¥यो ।

\"\"


१७. लाइफ इज ब्युटिफुल (१९९७)

निर्देशकः रोबर्टो बेनिन्नी
कलाकारः रोबर्टो बेनिन्नी, निकोलेट्टा ब्रास्की, जर्जियो कानटारिनी
आईएमडीबी रेटिङः ८.६/१०

नामले भनेअनुसार फिल्म पनि त्यत्ति नै सुन्दर छ । दोस्रो विश्वयुद्धका बेला हिटलरले बनाएका यातनागृहबारे थुप्रै फिल्म बनेका छन् । ‘अ ब्वाइ इन अ स्ट्रिप्ड पजामाज’देखि लिएर ‘सिन्डलर्स लिस्ट’सम्म । त्यस्तो यातनाका बेला पनि कसरी खुशी भएर बाँच्न सकिन्छ भनेर यो फिल्मले देखाएको छ । फिल्मका मुख्य कलाकारले आफ्नो सानो छोरालाई ‘यो एउटा सानो खेल हो’ भन्दै भुलाएर राख्न सफल हुन्छ । स–साना कुराहरूमा पनि खुशी पाइन्छ भन्ने कुरा हामीले सुन्दै आएका छौं तर यो फिल्मले साँचो खुशी के–कस्ता कामबाट पाउन सकिन्छ भनेर देखाएको छ । यातनागृह जस्तो पीडादायी र संघर्षपूर्ण अवस्थामा पनि कसरी खुशी हुन सकिन्छ भन्ने देखाएर फिल्मले आफूले आफूलाई प्रश्न गर्न सिकाएको छ जस्तो लाग्छ ।

\"\"


१८. द बुक थिफ (२०१३)

निर्देशकः ब्रायन पर्सिभल
कलाकारः सोफी नलिस, जियोफ्री रस, इमिली वाटशन
आईएमडीबी रेटिङः ७.६/१०

‘द बुक थिफ’ मैले भर्खरैमात्र हेरेको फिल्म हो । यो फिल्मकी मुख्य पात्र सोफी नलिसमार्फत निर्देशकले राम्रो सन्देश दिएका छन्— हामीलाई केही काम गर्न मन छ भने कुनै पनि कुराले रोक्न सक्दैन । जस्तैः फिल्ममा मुख्य पात्रले सिकाइका क्रममा जस्तोसुकै चुनौती आउँदा पनि हार नमानी आफ्नो इच्छालाई अघि बढाइराख्छिन् । यो सन्देशले मेरो मस्तिष्कमा मज्जाले प्रहार ग¥यो । केही नयाँ काम गर्न लाग्दा मैले भन्ने र मान्ने गरेका कमीकमजोरीहरु त केवल बहानामात्रै रहेछन् भन्ने महसुस गर्दै छु ।

\"\"


१९. द सस्याङ्क रिडेम्पसन (१९९४)

निर्देशकः फ्रान्क डाराबोन्ट
कलाकारः टिम रोबिन्स, मोर्गन फ्रिम्यान, बब गुन्टन
आईएमडीबी रेटिङः ९.३/१०

यो सूचीमा रहेको अन्तिम फिल्म हो ‘द सस्याङ्क रिडेम्पसन’ । यो फिल्म मन परेन भनेर कसैले पनि भनेको सुनेको छैन । शुरुवातदेखि नै यो फिल्मले दर्शकको ध्यानाकर्षण गर्छ । कसैले यो फिल्म कति हेर्न सक्छौ भनेर सोध्यो भने जति पनि हेर्न सक्छु जस्तो लाग्छ । आँट, भरोसा, साँचो मित्रता, विश्वास, आत्मबल, दृढता तथा अन्य धेरै कुरालाई अत्यन्तै सटक तरिकाले समावेश गरिएको छ यो फिल्ममा । ‘फरेस्ट गम्प’सँगै सन् १९९४ मा प्रदर्शित यो फिल्मले सवोत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो ।

यो मेरो लागि एकदम शक्तिशाली सन्देश भएको चलचित्र हो । मुख्यतः यसको पात्रलाई हेर्दा, जहाँ जस्तो अवस्थामा भए पनि इच्छा र भरोसा भएमा लगनका साथ जस्तोसुकै कठिनाइ पनि पार गर्न सकिन्छ जस्तो लाग्यो । साथै, मित्रताले जीवनमा पर्ने प्रभावमाथि मेरो विश्वास अझ गाढा बनाइदियो । यान्डीले भनेजस्तै आशा साँच्चै एउटा सुन्दर भावना हो । जे–जस्तो ठाउँमा भए पनि आशा र विश्वासलाई सधैं बचाइराख्नुपर्छ भन्ने प्रेरणा यो फिल्मले दिएको छ । जेलबाट भाग्न यान्डीले बनाएको योजना साँच्चै अद्भूत छ ।

\"\"

(लेखक www.manojbohara.com मा भेटिन्छन्)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC