काठमाडौं । रवि सिलवाल र म्याक्सवेल एलोनको गोलप्रेरित सिएमजी संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीमाथि २–० को जित निकाल्दै सुदुरपश्चिम खप्तड गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ । संकटाले अब सेमिफाइनल प्रवेशका लागि धाउफिस टिम फेमली क्यामरुनसँग खेल्नेछ ।
धनगढी रंगशालामा बिपक्षी गोर्खा ब्वाइजबिरुद्ध निकै आक्रामक बनेको संकटाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रबाट गरेको कडा प्रहार गोर्खा ब्वाइजका गोलकिपर सोजित गुरुङले रोक्न सकेनन् । खेल सकिन ७ मिनेट बाँकी रहँदा संकटाका बिदेशी खेलाडी म्याक्सवेलले फोफाना इब्राहिमको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित पारे । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा रहेको संकटाका गोलकिपर राजाबाबु थापा म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताअन्तगर्त शनिबार पहिलो क्वार्टरफाइनलमा नेपाल एपिएफ क्लब र मेची नेत्रालय काकँडभिट्टा फुटबल तालिम केन्द्रबीच हुनेछ । १२ टोली सहभागि प्रतियोगिताको बिजेताले २१ लाख तथा उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।