काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जनले बिहीबार प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
मोरङको विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको कभर्डहलमा पुरुष १५ वर्ष मुनिको उमेर समूहमा प्रिन्सले म्यानमारका जाव लिन हटोलाई तीन सेटको प्रतिस्पर्धामा पराजित गरे । प्रिन्सले २१–१५, १७–२१, २१–१९ को जित निकालेका थिए ।
महिला यु–१५ उमेर समूहमा रशिलाले नेपालकै स्मृति राईमाथि २१–७, २१–३ को सहज नतिजामा विजय हासिल गरिन् ।
यसैगरी बिहीबारै सम्पन्न १९ वर्ष मुनिको महिला युगलको फाइनलमा नेपालका जेसिका गुरुङ र रसिलाको जोडीले आफ्नै देशका सिमा राजवंशी र नीता लम्सालको जोडीमाथि २१–१२, २१–३ को सोझो सेटमा जित हासिल गर्दा पुरुष युगलतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले स्वर्ण पदक जिते । महर्जन जोडीले फाइनलमा म्यानमारका जाव लिन र थु रेइनको जोडीसँग पहिलो सेट १९–२१ को नतिजामा पराजित भए पछि त्यसपछि उत्कृष्ट पुनरागमन जनाउँदै २१–१७, २१–१८ को नतिजा निकाले ।