राजनेताका गुण सरकारको नेतृत्व

महेशदत्त भट्ट

राजनीतिक नेतृत्व वा राजनेताको सफलताका लागि कस्ता गुण आवश्यक पर्छन् भन्नेबारेमा धेरै लेख लेखिएको र विचार व्यक्त भएको पाइन्छ । हुन त यो कुरा ठाउँ र समयअनुसार फरक पर्ने अनि सोहीअनुसार निर्धारण हुने कुरा पनि हो । महात्मा गान्धी, जर्ज वासिङटन, अब्राहम लिंकन, नेल्सन मण्डेला, विन्स्टन चर्चिलजस्ता संसारका केही चर्चित राजनेताको जीवनी, काम र तिनका गुण र विशेषतालाई एकै ठाउँमा राखेर गहिरोसँग हेर्दा एउटा चाखलाग्दो निष्कर्षमा पुग्न सकिन्छ ।
यसअनुसार पहिलोमा प्रतिबद्धता र समर्पण, दुईमा साहस र सही योजना गर्ने क्षमता, तीनमा ज्ञान, दूरदृष्टि र स्पष्टता आवश्यक देखिन्छ । त्यसपछि आउँछन् भाषणकला, उत्प्रेरणा क्षमता आदि आदि । यी गुणहरूको महत्त्वमा कुनै द्विविधा त छैन तर सँगै देश, काल र परिस्थिति अर्काे महत्त्वपूर्ण पक्ष हो । यसले आफ्नो आवश्यकताअनुसार राजनेताको गुण परिभाषित गर्छ । माथिका कुराको सर्वकालिक वैधता (युनिभर्सल भ्यालिडिटी) हुँदाहुँदै पनि नेपालको वर्तमान सन्दर्भमा राजनेतामा जनताले देख्न चाहेको कुराको छुट्टै सूची तयार गर्न सकिन्छ । अर्थात्, नेपालीले सम्भावित राजनेताबाट खोजेको आवश्यक योग्यताको सूची तयार गर्न सकिन्छ ।
नेपालमा राजनेताको लागि सामान्य जनजीवनबाट आएको व्यक्तिभन्दा अलिक भिन्न खालको पृष्ठभूमि र व्यक्तित्व भएको व्यक्तिको खोजी हुने गरेजस्तो देखिन्छ । यसका अतिरिक्त खोजिने कुरा त्याग र उत्सर्ग हो । आफ्नो नाममा छाता र सुराहीबाहेक कुनै सम्पत्ति नभएका, आफ्नो लक्ष्यमा हिँड्दै गर्दा बिहे र घरजम गर्नसमेत नभ्याएका भनेर चिनिएका कृष्णप्रसाद भट्टराई राजनेताका रूपमा स्थापित भएका थिए ।
तेस्रोमा आजभोलि आएर नेतामा विशिष्ट ज्ञान, पढाइ र अनुभवको पनि खोजी हुन थालेको छ । त्यसपछि भनेको आचरण, संस्कार, प्रस्तुति, दैनिकी, संगत र सहयोगी वृत्त आदि कुरामा पनि धेरै विचार गर्न थालिएको छ । यी सबै कुरा उपयुक्त र उचित त हुन् तर सबैभन्दा पहिलो र दोस्रो गुण भएको व्यक्ति पाउन निकै कठिन हुन्छ । विगत बीस – तीस वर्षमा तत्कालीन राजा ज्ञानेन्द्रदेखि विभिन्न नेता चर्चाको चुलीमा रहे तर तिनको राजनेता बन्ने बाटो अधुरै टुंगियो ।
धेरैका हकमा पत्नी, छोराछोरी, परिवार एवं आसेपासेको क्रियाकलाप र ती नेताले तिनको इच्छापूर्तिको लागि आफ्नो पदीय दायित्व बिर्सेर गरेको कृपाको घटना सार्वजनिक हुनेबित्तिकै तिनको बनेको छवि पनि सखाप हुने गरेको देखिन्छ । त्यसो हुनु अनुचित पनि हैन । तर प्रश्न के भने, परिवार नै नभएको वा परिवारको पटक्कै केही नहेर्ने लोभ, पापबाट मुक्त नेता पाउन यो देशले अर्काे एक युग कुर्न सक्छ ? प्रस्ट छ, किसुनजीमा देखिएको सम्भावनाले मूर्तरूप लिन पाएन र त्यसले किसुनजीलाई त के भयो र देशले एउटा सुन्दर सम्भावनालाई आफ्नो हातबाट युगौंपछाडि धकेल्यो ।
त्याग र उत्सर्गको यस्तो बढी खोजी गर्ने हाम्रो सामाजिक मनोविज्ञान निकै चाख लाग्ने खालको छ । यसो भनिरहँदा कतिको मनमा के प्रश्न उठेको हुनसक्छ भने के त्यसो भए हाम्रो समाजमा त्याग, परोपकार, सदाचारजस्ता गुण स्थापित हुन थालेको हो त ? तर, वास्तविकतामा त्यसो हो भन्ने देखिन्न । भ्रष्टाचार, अनियमितता, जथाभावी, अधिकारको दुरुपयोगको शृंखला दैनिक जनजीवनमा तलैसम्म घुसेको देखिन्छ । सानोतिनो अनियमितता सेवा दिने र सेवाग्राही दुवैका लागि सामान्य भइसकेको छ । समाजमा भ्रष्टाचारविरुद्ध खुलेर बोल्नेको जमात धेरै सानो छ । अब प्रश्न उठ्छ – यो समाजको द्वैध मानसिकता कसरी त ?
यो बुझ्न नेपाली सामाजिक मनोविज्ञानको दुई परस्परविरोधी (तात्कालिक र दीर्घकालिक) रणनीति बुझ्नुपर्छ । ज्यादाजसो मान्छे के चाहन्छन् भने समाजमा न्याय स्थापित होस्, शान्ति होस्, मिलेर बस्न सकियोस् । विद्यमान स्थिति त्यसअनुकूल छैन । दिनदिनका क्रियाकलापमा भ्रष्टाचार, अनियमितता, जथाभावी, अधिकारको दुरुपयोग देख्नु वा भोग्नुपरेको छ । हाम्रो मनोविज्ञानले भनेको हुन्छ – यो सब खराबी म एक्लैले परिवर्तन गर्नसक्ने हैन, त्यसैले समाजमा अरूसरह भएर बाँच्न अहिलेका लागि यसैभित्र पस्नुबाहेक अर्काे उपाय छैन । यसरी र यसकारण दैनिक जीवनमा भ्रष्टाचार, अनियमितता, जथाभावी एवं अधिकारको दुरुपयोग संस्थागत हुँदै गइरहेको छ । हो, यसैको अर्काे पाटोमा जोडिन आउँछ त्यागी एवं उदाहरणीय नेताको खोजीको कुरा जसले माथि भनेजस्तो खराबीको अन्त्य आफैंबाट सुरु गरोस् र गर्ने हिम्मत राखोस् ।
अहिलेको सरकारको परिस्थिति र राजनेतामा देखिने गुण र सरकारमा जुन नेतत्व छ यसबाट राजनेतामा हुनुपर्ने गुणहरुको खोजी गर्दा दशांश पनि भेट्न गाह्रो भइरहेको छ । 
नेपाली जनताले धेरै ठूलो सङ्घर्षपछि संघीय लोकतान्त्रिक संविधान लेखेका छन् । अनि  दुईतिहाइ बहुमतको सरकार पनि पाएका छन् । त्यसमा केही आशा र भरोसा नेपाली जनतासँग थिए । देशको अर्काे ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा रहेर सत्तालाई नजिकबाट नियालीरहेको छ ।  प्रधानमन्त्री केपी ओली सरकारका प्रतिपक्षको विश्वास जित्नुको सट्टा जनता र कांग्रेसलाई चिढाउने, बिच्काउने र उत्तेजित पार्ने खालका अभिव्यक्ति र क्रियाकलापले नेपाली राजनीतिलाई थप जटिल परिस्थितिमा लगेको देखिन्छ । 

नेपाली जनता शान्ति चाहन्छन् र स्थायी शान्तिका पक्षधर पनि हुन् । आफ्नो हकअधिकार सुनिश्चित गर्न कैयौं नागरिकले सहादत प्राप्त गरेको सबैले थाहा पाएकै हो । तसर्थ, जनताले मतदान गरेर निर्वाचित गरेको दुई तिहाईको सरकारी नेतृत्वबाट थुप्रै आशा र भरोसा गरेका हुन् । एउटा राजनेताले गर्ने अति महत्त्वपूर्ण कार्य जनतालाई शान्ति र सुरक्षा दिनु हो । तर त्यो देखिन पाएको छैन । 
देशमा अहिले विकृति र विसंगतिले प्रश्रय पाएको छ । लोकतन्त्रको जग खलबलिएको छ । देशमा राणा शासनको शैलीमा दुईतिहाइको घमण्डले संविधानमाथि खेलबाड भएको छ । अधिकार र अख्तियारको दुरुपयोग गर्दै संविधानको धारालाई कुल्चँदै संविधानका धाराहरु माथि खेलबाड र प्रहार भइरहेको छ । प्रधानमन्त्रीले सुनाएको तथ्यांकले जे भने पनि उपभोक्ताहरुको ढाड भाँचिने गरी दिनहुँ चर्काे मूल्य वृद्धि भएको छ ।  शान्ति सुरक्षाको स्थिति खस्कँदो छ । हत्या, हिंसा, बलात्कारका घट्नामा वृद्धि भएको छ । कालोबजारी र तस्करी दिन दुईगुना रात चौगुनाले बढेको छ । 
भ्रष्टाचार सम्बन्धी शुन्य सहिष्णुताको कुरा गर्ने प्रधानमन्त्री ओली र मन्त्रीहरू राजाले बक्सिस दिएजस्तै आफ्ना आसेपासे र गाँसेहरुलाई राज्यको ढुकुटीको पैसा बाँडिरहेका छन् । वाइडबडी प्रकरणले युवामा निरासा जागेको छ । यो सुनिरहँदा हुकुमी शासनको अनुभूति भइरहेको छ । त्यसकारण राजनेतामा हुनुपर्ने गुण कत्ति पनि नभएको शंका लागिरहेको छ ।
राजनेताले सपना देख्न पाइन्छ र सपना बाँड्न पनि पाइन्छ तर, सपना बाँड्न पाइन्छ भन्दैमा सस्तो लोकप्रियताका लागि जे पनि बोल्न पाइँदैन । सबैले सुन्यौ तुइन विस्थापित गरेर केबलकार बनाउने, तातोपानी कुण्डबाट विद्युत् उत्पादन गर्ने, हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा विद्युतीय रेल चलाउने, घरका चुलामा पाइपबाट ग्यास दिने । के गर्दैछ प्रधानमन्त्री ! यी सपनाहरु कहाँ विलय हुँदैछन् ?
आफुले देखेको सपना सकार पार्न राजनेताले आवश्यक पहल गरिरहनुपर्छ । तर, उत्तरतिर सपना बाँडेर पश्चिमतिर बग्ने नेतृत्वसँग नेपाली जनताले आश गर्ने कि नगर्ने ? उनको कार्य सम्पादन शैलीबाट प्रस्ट हुन्छ । 
देशको चौतर्फी विकासका निम्ति  गरिब जनतालाई केन्द्रविन्दुमा राखेर गरिबी न्यूनीकरण गरी त्यागको भावना देखाएर सक्षम नेतृत्व दिन सकियो भने प्रमाणित राजनेता । राजनेताको सूचीमा अटाउने कि छुट्ने प्रधानमन्त्री ओलीको रोजाइ ।
९उपाध्यक्ष, नेपाल तरुण दल, बैतडी०
 

प्रतिकृया दिनुहोस