site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला, रजस्वला र मन्दिर
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दक्षिण भारतको केरला राज्यमा अवस्थित प्रसिद्ध सबरीमाला मन्दिर भारतको धार्मिकमात्र हैन राजनीतिक सामाजिक वृत्तमा पनि अहिले निकै चर्चामा छ । कारण त्यस मन्दिरमा महिलाको प्रवेशमा वर्षौंदेखि लगाइएको बन्देजलाई असंवैधानिक ठहर गरी त्यहाँको सर्वोच्च अदालतले फुकुवा गरिदिएको छ । महिलाको रजस्वलाका कारणले सो मन्दिरमा महिला प्रवेशमा वर्जित थियो । 
यो समाचार सुन्दै गर्दा सारभुत समानतासँग मेलखाने र महिला भएकै कारण मन्दिरमा हुनेगरेका विभेदका घटना मेरा मानस पटलमा घुमिरहे । केही वर्षअघि म आफ्नो परिवारसँग सुदुरपश्चिमको बैतडीमा अवस्थित प्रख्यात त्रिपुरासुन्दरीको मन्दिरमा पूजा गर्न गएकी थिएँ ।  मन्दिरको प्रचलन थाहा नपाएर म मूल ढोकाबाट प्रवेश गर्न खोज्दा एक जना महिलाले मलाई ढोकाबाट प्रवेश गर्नबाट रोकिन् र मन्दिरमा झ्यालको आकारको देखिने अर्को स्थानबाट प्रवेश गर्न भनिन् । म छक्क परँे । पछि थाहा पाएँ त्यहाँ देवीको दर्शन गर्र्नेे महिलाको प्रवेशका लागि छुट्टै सानो ढोका बनाइएको रहेछ । देवीको मन्दिरमा महिला मूल ढोकाबाट  प्रवेश गर्न नपाइने सुनेर र देखेर अचम्म परेँ । जिज्ञासा, कौतुहल, नभोगेको, नदेखेको नमीठो अनुभव लिएर घर गएँ र आफन्त महिलालाई घटना वृतान्त बतााएर सोधँे । प्रतिउत्तरमा  बडो सहजरुपमा स्थानीय भाषामा जबाब दिनुभयो – हामी पुरुषभन्दा साना अथवा निम्न कोटीका हौँ त्यही भएर यो चलन चलेको हो । यो परम्परा हामीले स्वीकार गनुपर्छ भन्ने सुझाव पनि सँगै दिनुभयो । म अझै छक्क परे । 
त्यसै घटनालाई निरन्तरता दिने तर मेरो मानसपटलको क्यानभासमा नमेटिने गरी बसेको अर्को चित्र सम्झेँ । सोही मन्दिरको प्रांगणमा एउटा झुण्डमा केही वृद्धा देउकी महिला थिए । एक समयमा मन्दिरकै सम्पत्ति मानिने देउकीहरु बाहिर अलग्गै बसिरहेका थिए । देउकीको जीवन बारेमा धेरै कुरा त्यहीँ थाहा पाएँ । अनि अनुमान लगाएँ उमेर बढ्दै गएपछि अनुहार र यौवनमा खस्केका कारण उनीहरुको अधिकार पनि कटौती भएको हुनसक्छ वा अन्य विविध कारणले त्यसो भएको हुनसक्छ । ठ्याक्कै अनुमान लगाउन गाह्रो थियो  । किनभने हाम्रो अनुमान जतिसुकै सत्य भए पनि धर्मका ठेकेदारले गर्ने व्याखामा नै समाजले मोहर लगाउँछ र सत्य गलत ठहरिन्छ । 
त्रिपुरासुन्दरी विगतमा देउकीमा रुपमा महिला देवीलाई चढाइने मन्दिर हो । महिलालाई भाकलका रुपमा मन्दिरमा चढाइने र मन्दिरका पुजारी तथा सरोकारवालाले इच्छाबमोजिम प्रयोग गर्ने ती महिलाको विगत कस्तो हँुदो हो ? सहज जीवन बाँचिरहेकी म सायद अनुमान पनि लगाउन सक्दिनथेँ । सामान्य घरको कठघरामा, सीमित व्यक्तिबाट नियन्त्रण हुँदा त सास फेर्न मुस्किल हुन्छ भने असीमित क्रूरताबाट शारीरिक र मानसिक यातना भोग्ने शहनशक्ति ती महिलाहरुले कताबाट उत्पन्न गर्थे होलान् ! सुदूरपश्चिमका अन्य मन्दिर पनि सम्झेँ जहाँ महिलालाई वस्तुसरह चढाइने कुचलन व्यापक थियो । ती देउकी महिलाको रजस्वलाले त्यहाँ के अर्थ राख्थ्यो होला ?
महिलालाई जन्मजातरूपमा पुरुषभन्दा सानो मान्ने समाजले  सो मान्यतालाई साबित गर्न पटकपटक धर्मको सहारा लिँदो रहेछ । लैंगिक अध्यनमा पढेको यस्ता सैद्धान्तिक ज्ञानलाई त्यस्ता घटनाले अझ सूक्ष्मरूपमा बुझ्ने मौका दियो । त्यसैले समाजको सोचाइ समयको गतिसँगै अघि बढिरहेकोमा विश्वास गर्न सहज लाग्दैन । यहाँ “एक्स एक्स” क्रोमोजोमहरु मिलेदेखि नै संघर्ष गर्नुपर्ने । पहिलो छोरी जन्मिएपछि  त्यसपछि कति छोरीहरुलाई तुहाउनुपर्ने हो भन्ने डरले प्रत्येक महिलाको मनमा जरा गाडेको समाज । जन्मिसकेपछि पनि प्रकृति प्रदत्त परिवर्तनलाई सहजरुपले लिन नदिने कस्तो समाजिक संरचना र सोबाट जन्मिएको तुच्छ मानसिकताका सिकार कहिलेसम्म महिलाले हुनपर्ने हो ?
रजस्वला महिला भएकै कारण अमानवीय व्यवहार भोग्न बाध्य पार्नेे एउटा अवस्था बन्दैआएको छ । यसविरुद्ध आवाज उठाउन खोज्दा धर्मकै आडमा वैज्ञानिक र व्यावहारिक तर्कहरु परास्त हुनुपर्छ । यो समाजमा जरा गाडेर बसेका अव्यावहारिक सामाजिक मान्यता, संरचनालाई परिवर्तन गर्न तयार नहुने मानसिकता हो । हाम्रो सामाजिक यथार्थ बनेको धर्म पितृसत्तालाई जीवित राख्ने एउटा अस्त्र बन्दै आएको छ । महिलालाई तिम्रो जन्म निम्न कोटीको हो र तल्लो स्तरको हो भनेर परिभाषित गर्न यस्ता अस्त्र बारम्बार प्रहार गरिन्छन् । फलस्वरूप, महिला  पितृसत्ताबाट सृजित मान्यताबाट जलप लगाइएका अदृश्य राजनीतिको प्रतिकार गर्न सक्दैनन् । धर्मलाइ पितृसत्ताको पक्षपोषण गरिरहने बह्मास्त्र बनाइएको छ । पितृसत्ता पुरुषको सत्ता नभई पुरुष मानसिकतालाई मलजल गर्ने महिला पुरुष दुवैमा भएको मानसिकता हो । त्यसैले हाम्रो समाजमा महिलाले नै महिलामाथि गरेका अत्याचारका घटना थुप्रै देखिन्छन् । 
महिलालाई नियन्त्रणमा लिने बलियो र भरपर्दो माध्यम धर्मका चलनहरू बन्दै गए । हामी आफनो बच्चालाई ऊ जेसँग डराउँछ त्यसैलाई माध्यम बनाएर आफ्ना कुरा मनाउन  वा त्रास देखाउन खोज्छाैं र सफल पनि हुन्छौँ । हो ठ्याक्कै त्यही तरिका पितृसत्तामा महिलामाथि थिचोमिचो गर्ने प्रवृत्तिमा पनि लागु हुन्छ । धर्मकै आडमा महिलामाथि विभिन्न प्रकारका हिंसा भइरहेका हुन्छन् । खासगरी उसको यौनिकतामा नियन्त्रण गर्न धर्मको सहारा  लिइँदै आइएको छ । पुरुषले महिलाको यौनिक अधिकारमा विभिन्न तवरबाट नियन्त्रण गर्ने उदाहरणहरुले यस्ता सन्दर्भहरू प्रष्ट पार्छन् ।
रजस्वला महिलाको शरीरमा हुने प्राकृतिक क्रिया हो । तर, यसमा नराम्रो राजनीति गरिदै आएको छ । सबैभन्दा बढी मन्दिरमा । रजस्वला त प्रकृतिले महिलालाई दिएको सृष्टि गर्ने अनुमति अधिकार होइन र ? मेरी आमा रजस्वला नभइदिएको भए म कहाँ हुन्थे ? म रजस्वला नहुने भएको भए मैले सन्तान कसरी जन्माउन सक्थँे र ? रजस्वला पाप नै भए विभिन्न कारणले रजस्वला नहुने महिलालाई समाजले स्वीकार्छ त ?
आफ्नै वरपरका कतिपय मन्दिरमा दर्शनका लागि जाँदा पुजारीले महिलालाई प्रसाद टाढैबाट फाल्ने तर पुरुषको हातमै टक्र्याई दिने घटना सम्झँदा लाग्छ यो कस्तो ढाेंग हो । समाजमा कथित धार्मिक गुरुहरु यौन दुराचारका घटनाका कारण पटकपटक विवादमा परिरहन्छन् । यौन चाहना पूरा गर्न महिलाका जति शरीर भए पनि कम हुने तर महिलालाई प्रसाद बाँडने क्रममा छुँदा अशुभ हुने वाह ! हाम्रो समाज निर्माणका संरचना । महिलाको शरीर जसरी पनि पुरुष मानसिकता बमोजिम प्रयोग हुनुपर्ने ? यस्ता विभिन्न चलन÷ कुचलनका माध्यमबाट पुरुषले पितृसत्ताको फाइदा सँधै आफू लिन चाहन्छ र कतै यो माध्यम फुत्केला कि भन्ने डर पनि त्यत्तिकै देखिन्छ । त्यसैले सामाजिक संरचनाकै आडमा परिवर्तन विरोधी पनि भइरहन्छ । उच्चताग्रन्थी (सुपेरियरिटी कम्पप्लेक्स)को ताज पहिरिएर वास्तवमा न ऊ आफू मुक्त भई बाँच्न सक्छ न आफ्ना वरपरका महिलालाई नै बाँच्न दिइरहेको हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC