ब्याग राख्न निहुरिएका उत्सव फेरि उठेनन्, पुराणको उल्लासमा पुत्र वियोगको बज्रपात

कुमार लुइँटेल

ब्याग राख्न निहुरिएका उत्सव फेरि उठेनन्, पुराणको उल्लासमा पुत्र वियोगको बज्रपात

विराटनगर । "हजुरका छोरा उत्सव विद्यालयमा बेहोस भए । चाँडै गरेर आउनुहोस्," दिलबहादुर पौडेलले फोन उठाएर 'हेलो' भन्नासाथ फोन गर्नेको आवाज सुनियो । 

"म पुराणमा कर्ता भई बसेको छु । निकै कठिन अवस्था हो र ? आउनैपर्छ ?" जवाफसँगै प्रश्न गरे दिलबहादुरले ।  

"आउनुस्, केस अलि सिरियस जस्तो छ । हामी उत्सवलाई कञ्चनबारीको हाम्रो अस्पताल लैजाँदै छौं," फोनमा बोल्नेले भने । 

"हुन्छ लैजानुस्, म पनि आउँछु," पौडेलले जवाफ दिए ।

पौडेल मंगलबार दिउँसो आफ्ना छोरो पढ्ने इडेन इङ्लिस स्कुलका प्रिन्सिपलले गरेको फोनको जवाफ दिइरहँदा घरमा भजनकिर्तन र धार्मिक माहोलबीच विराटनगरतर्फ हान्निए । फेरि फोन बज्यो । उठाए । आवाज उही थियो । "यहाँ उपचार सम्भव छैन भने, अब कता लैजाने ?" पौडेलले झटपट भने, "विराट नर्सिङहोम लैजानुस्, म पनि त्यतै आउँदै छु ।"

मोरङको ग्रामथान-२ झोराहाटका दिलबहादुर पौडेल मंगलबार आमाको बर्खान्तलगत्तै घरमा लगाइएको सप्ताह पुराणको रमझममा थिए । बिहानको आरति र कथा वाचनपछि दिउँसोको विश्राम भर्खरै सकिएको थियो । उनी दोस्रो सत्रको पुराणको कर्मका लागि तयारी गर्दै थिए । छोरो पढ्ने इडेन स्कुलका प्रिन्सिपल सीएम बस्नेतको फोन आइहाल्यो । व्यासासनबाट पण्डितजीले कथाको अंश शुरु गर्नै लाग्दा पौडेल भने हतारिँदै मोटरसाइकलमा विराटनगरतर्फ हान्निए । सोझै विराट नर्सिङहोम पुगे । उत्सवका आँखा खुलै थिए तर धड्कन बन्द भइसकेको थियो । चिकित्सकले मृत घोषित गरे । पौडेल थुचुक्क भुइँमा बसे । आवाज बन्द भयो । पत्याउनै सकेनन् । तर, ‘हुने हार दैव नटार’ भनेझैं पौडेल परिवारलाई विपद् र पीडाको पहाडले छोपिसकेको थियो । उनले आफूलाई सम्हाल्न सकेनन् । एक्लो सन्तानको वियोगको पीडामा उनी जलिरहेका थिए । नेपाल आयल निगममा पौडेल कार्यालय सहयोगीको रूपमा कार्यरत छन् ।

प्रिन्सिपल बस्नेतका अनुसार १५ वर्षीय उत्सव कक्षा १० का अब्बल छात्र थिए । मंगलबार दिउँसो १ बजेको टर्मिनल परीक्षाका लागि १२ः५५ मा हतारिंदै विद्यालय आइपुगेका थिए ।

"उत्सव साइकलबाट ओलिएर सोझै परीक्षा हुने कक्षातर्फ दौडिएको मैले देखेँ," बस्नेतले भने, "त्यति टाढाबाट साइकलमै आयौ ? भनेर सोधेँ । उनले 'होइन ठूलाबाबाको घरबाट आएको' भनेर कक्षातर्फ लागे ।"

उत्सव परीक्षा दिन हतारिएर कक्षातर्फ लागेको र ब्याग भित्र लैजान नपाइने भएकोले निहुरिएर भुइँमा राख्न खोज्दा थुचुक्क बसेपछि बेहोस भएको बस्नेतले बताए । सुनाए, "त्यसपछि उनको बुबालाई फोन गर्दै अस्पताल लगिहाल्यौं तर चिकित्सकले मृत घोषित गरे ।"

पोस्टमार्टमका क्रममा उनको मुटु अस्वाभाविक रुपमा ठूलो देखिएको र पहिलेदेखि नै समस्या भए पनि थाहा नहुँदा घटना हुन पुगेको बताएको बस्नेतले जानकारी दिए ।

अघिल्लो दिन मण्डप पूजा र कलशयात्रामा गाउँभरिका महिला सहभागी भएको घर उत्सवको शव पुग्दा एकाएक आँसुको सागरमा डुब्यो । उत्सवको शरीर चिसो भइसकेको थियो । त्यसमा ज्यान थिएन । तर, उनका आँखा खुलै थिए- प्राण पखेरु अझै छ कि जस्तो लाग्ने गरी । पुराणमा सहभागी भएकाहरूको मन थामिएन । सबै भक्कानिएर रोइकराइ गर्दै थिए । छिमेकी विनोद शर्माले भने, "यस्तो बज्रपात कसैलाई नपरोस् । आमाको बर्खान्त नसकिँदै भएको एउटा छोरो पनि कालले टिपेर लग्यो ।"

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार