स्वामित्व नेवानिकै, भारबहन क्षमता २३० बाट बढाएर २४२ टनसम्म बनाउन सकिन्छ: उड्डयन प्राधिकरण

स्वामित्व नेवानिकै, भारबहन क्षमता २३० बाट बढाएर २४२ टनसम्म बनाउन सकिन्छ: उड्डयन प्राधिकरण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा खरिद गरेका दुईथान ठूलो (वाइड बडी) आकारको जहाजको पूर्णस्वामित्वदेखि अधिकतम भारबहन क्षमताबारे सम्बद्ध प्राविधिकले स्पष्ट पारेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका ती जहाजको स्वामित्व र भारबहन क्षमताबारे सोमबार स्पष्ट पारेको हो । नेपाली कम्पनीले खरिद तथा भाडामा ल्याएका जहाजको दर्तादेखि स्वामित्व तथा अन्य प्राविधिक पक्ष सबै प्राधिकरणले हेर्ने गर्छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सोमबार निगमको वाइड बडी जहाज खरिदमा भएका सत्यतथ्यबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उड्डयन प्राधिकरणका एरोनटिकल इन्जिनियर प्रभाकरचन्द्र मल्लिकले ती दुईथान वाइड बडीको स्वामित्व र अधिकतम भारबहन क्षमता (एमटीओडब्लु) बारे स्पष्ट जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालमा जहाज पूर्णरूपमा खरिद र भाडा गरी दुई किसिमबाट आयात हुने गरेको छ । दुवै तरिकाका लागि दर्ता प्रक्रिया, राजस्व चुक्ता दरदेखि स्वामित्व प्रकरण भिन्नाभिन्नै हुने गर्छ । वायुसेवा निगमका वाइड बडीका हकमा दुवै जहाज सिधै खरिद गरी काठमाडौं ल्याइएको उनले जानकारी दिए ।

“निगमका दुइटै वाइड बडी जहाज पूर्णस्वामित्व सहित निगमले खरिद गरी ल्याएको हो,” इन्जिनियर मल्लिकले भने, “दुवै जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग २४ अर्ब रुपैयाँ ऋण लिइएका कारण उनीहरूकै नाममा रोक्का राखेका छौं तर स्वामित्व निगमसँगै छ ।”

ती दुवै वाइड बडीको पूर्णस्वामित्व निगमसँगै रहेको भनेर विक्रेता कम्पनी ‘हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेड’ ले गत साउन दोस्रो सातादेखि भदौ दोस्रो साता (अगस्ट महिना) मा प्रेस विज्ञप्ति जारी गरेको थियो ।

“हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडले नेपाल वायुसेवा निगमलाई ए३३०–२०० सिरिजका दुईथान वाइड बडी जहाज बिक्री गरेको हो । तिनका उत्पादन क्रमसंख्या क्रमशः १८७२ र १८७८ हुन् र ती जहाज हामीले सन् २०१८ को जुन र जुलाई महिनामा निगमलाई आपूर्ति गरेका हौं,” हाइफ्लाई एक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “ती दुवै जहाजको पूर्णस्वामित्व इङ्ल्यान्ड र वेल्सको कानुनअनुसार हाइफ्लाईबाट नेपाल वायुसेवा निगममा हस्तान्तरण भइसकेको छ र यो कारोबारलाई बेलायतको कानुनले मान्यता दिएको छ ।” यो विज्ञप्ति बाह्रखरीसँग सुरक्षित छ ।

त्यसैगरी वाइड बडीको अधिकतम भारबहन क्षमता (एमटीओडब्लु) २४२ टन भनेर २ सय ३० टनको जहाज ल्याएर अनियमितता गरेको विषयमा पनि इन्जिनियर मल्लिकले प्राविधिक पक्ष प्रष्ट्याएका छन् । 

उनका अनुसार निगमले खरिद गरेका दुइटा ‘ए३३०–२००’ सिरिजका जहाज हुन् । यसमा २०० भनेको ‘फेमिली’ हो । यस्तो फेमिलीमा २०३, २०४, २४३ लगायत सिरिज हुन्छन् । निगमले किनेका वाइड बडी दुइटै २४३ फेमिली सिरिजका हुन् । जहाजको एमटीओडब्लु २ सय ४२ टन हुन्छ । 

“उत्पादन क्रमसंख्या १६२७ देखि यताका सबै ए३३०–२४३ जहाजको एमटीओडब्लु २ सय ४२ टन रहेको छ,” मल्लिकले भने, “जहाज निर्माता कम्पनी युरोपको एयरबसले पनि निगमका दुइटै वाइड बडीको एमटीओडब्लु २ सय ४२ टन नै प्रमाणित गरेको छ किनभने यो नै निगमको आवश्यकता हो ।”

उनका अनुसार निगमले एमटीओडब्लु २ सय ३० टन भएको जहाज ल्याएको छ र उसको आवश्यकताअनुसार ल्याएको हो । यो एमटीओडब्लु जति कम भयो, अन्य देशको आकाश प्रयोग गर्दा लाग्ने शुल्कदेखि सम्बद्ध विमानस्थलमा ल्यान्डिङ, पार्किङलगायतमा तिर्नुपर्ने शुल्क त्यति कम हुने गर्छ । 

“एमटीओडब्लू २ सय ३० टनबाट बढाएर २ सय ४२ टन पनि बनाउन सकिन्छ र यो निगमको आवश्यकतामा भर पर्छ,” प्राधिकरणका इन्जिनियर मल्लिकले भने, “निगमको वर्तमान आवश्यकता २ सय ३० टन भएका कारण उसले त्यहीअनुरूप वाइड बडी ल्यायो र यो सबै निगम र जहाज विक्रेताबीच भएको सम्झौताअनुसार नै भएको हो ।”

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादन भएका वाइड बडी प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन् । निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नाम दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलोलाई  ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ ।
निगमलाई जहाज आपूर्ति गर्ने ग्लोबल टेन्डर जितेको अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता निगमसँग गरेको छ । निगमलाई जहाज बेच्न एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा निगमले २४ अर्ब रुपैयाँ पठाएको थियो । 

हाइफ्लाई त्यही कम्पनी हो, जसले एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । निगमले पठाएको सबै रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको थियो ।

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै लाने निगमको योजना छ । 

वाइड बडीले जापान हानेदा, कोरियाको सोल, चीनको ग्वाङ्झाओ र साउदी अरबको दम्मान उडान अनुमति पाइनसकेका कारण हाल दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, दिल्लीलगायत गन्तव्यमा उडाइरहेको छ । 

प्रतिकृया दिनुहोस

सुशील भट्टराई

संबन्धित समाचार

१ प्रतिशत भन्सारलाई १० बनाइएको पत्रले वायुसेवा कम्पनी ‘त्रसित’

काठमाडौं । सरकारको एउटा निकायले पठाएको पत्रबाट निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरू ‘आतंकित’ बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार

वायुसेवा निगममा बेथिति–चार जहाज उडाउन एक क्याप्टेन

काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न चीनमा निर्मित १७ सिट क्षमतायुक्त चारथान जहाज छन् ।

सुनको भाउ पाँच वर्षयताकै उच्च, अमेरिकी अर्थतन्त्र र डलर कमजोर हुनु प्रमुख कारण

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी मुद्रा

२०१९ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्यमा नेपाल

काठमाडौं । पर्यटन उद्योगका लागि अर्को सुखद खबर आएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटक संख्या इतिहासमै पहिलो पटक