सरकारले राष्ट्रिय बिदाहरूको सूचीमा फेरि हेरफेर गर्न लागेको समाचार सार्वजनिक भएको छ । केही जातीय पर्वमा बिदा थप गर्ने गरी सार्वजनिक बिदाको नयाँ सूची तयार हुँदैगरेको बताइएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा पूर्ववत् मान्यता दिएर पुनः देशभर सार्वजनिक बिदा दिनुपर्ने माग कटौती गरिएकै वर्षदेखि हुँदैआएको हो । तर, यस वर्षको पुनरावलोकनमा पनि पृथ्वी जयन्ती सरकारी बिदाको सूचीमा नपरेको समाचारले राष्ट्रिय जनजीवनका धेरैलाई खिन्न र क्षुब्ध बनाएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकीकरण दिवसका रूपमा मनाउन पुस २७ गते बिदा दिनुपर्ने माग भएको छ । तर, सरकारले भने पृथ्वी जयन्तीलाई यसपटक पनि राष्ट्रिय पर्वको मान्यता दिन अस्वीकार गर्ने लक्षण देखिएको छ ।
पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता माने पनि नमाने पनि अहिलेको नेपालको निर्माण उनैले गरेका हुन् भन्ने कसैले अस्वीकार गर्न सक्तैन । उनले नेपाल एकीकरण गर्नका लागि बाइसे चौबीसे राज्यलाई तरबारकै बलमा भए पनि जितेर एउटै विशाल नेपालको जग त राखेकै हुन् । यसैले नेपालको अस्तित्व रहुन्जेल पृथ्वीनारायण शाहलाई बिर्सन मिल्दैन । तर, राजतन्त्रविरुद्धको आन्दोलनका बहानामा त्यस वंशका संस्थापक भएकै भरमा पृथ्वीनारायणमाथि पनि आक्रमण गरियो । राजतन्त्र रहँदासम्म नेपालका राष्ट्र निर्माताका रूपमा सम्मान गरिएका पृथ्वीनारायण शाहलाई गणतन्त्रको घोषणा हुनेबित्तिकै सरकारी स्तरबाटै पन्छाउने र ओझेलमा पार्ने प्रयास हुनु दुर्भाग्य हो ।
नेपाल राष्ट्रप्रति ममत्व र अपनत्व हुने कुनै पनि स्वाभिमानी नेपालीलाई पृथ्वीनारायणप्रति द्वेष नहुनुपर्ने हो । पृथ्वीनारायण शाह गोरखामै अलमलिएका भए अहिलेको नेपाल राज्य पक्कै हुनेथिएन । बेलायती साम्राज्यका सामु छरिएका रजौटाहरू टिक्नसक्ने थिएनन् । गोरखा राज्य विस्तारका क्रममा भएका केही घटना र उनका उत्तराधिकारीहरूको शासनकालमा नेपाली जनताले पाएको सास्तीका लागि पृथ्वीनारायणलाई दोषी नै ठहर गरे पनि नेपाल एकीकरणका लागि उनलाई सम्मान गर्नैपर्छ । सरकारलाई बिदा धेरै भयो भन्ने लागेको हो भने जातीय वा धर्म विशेषका पर्वहरूमा सम्बन्धित जाति र धर्मका व्यक्तिलाई मात्र बिदा दिने गरे हुन्छ । पृथ्वी जयन्तीमा बिदा दिन नमिल्ने हो भने पनि नेपाल एकीकरण दिवसका रूपमा पुस २७ लाई मान्यता दिएर राष्ट्रिय पर्व घोषणा गरियोस् । नेपाल स्वतन्त्र देश भएकोमा गर्व गर्ने हो राष्ट्र निर्माताको उपेक्षा गर्नु हुँदैन । पृथ्वीनारायणलाई ओझेलमा पार्ने खेलको कुत्सित मनसाय नेपाललाई राष्ट्रका रूपमै स्वीकार नगरिने अवस्था उत्पन्न गर्नु हुनसक्छ । नेपालप्रति अपनत्व भए यसका जनकको उपेक्षा नगरियोस् !