site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बन्द खाम
Ghorahi CementGhorahi Cement

– सानु शर्मा


‘शिट !’ भनेर जब बात–बातमा थाप्लोमा हात बजार्थी ऊ, म हुरुक्कै हुन्थें ।

हुन त उसको कुन कुराले मलाई भुत्तुक्कै पार्थेन र ! जब उत्कण्ठित भएर नङ टोक्थी, तब पनि मेरो छातीमा भैंचालो जान्थ्यो । जब चोर औंला मोडेर त्यसको पिठ्यूँले नाकको टुप्पोसम्म झरेको चश्मालाई माथि उचाल्थी, उसलाई अँगालोमा समेटेर छातीमा टाँस्न मन लाग्थ्यो । उसका हरेक क्रियाकलापमा मेरो मन एकबित्ता उफ्रिन्थ्यो ।

Agni Group

अमेरिकाको नाउँमा जे पनि गर्ने मनस्थिति पाल्ने हाम्रो जेनेरेसनमा ऊ यस्ती थिई, जो अमेरिका छोडेर यहाँ आएर बसेकी थिई । एउटा आईएनजीओमा काम गर्थी । मेरो सौभाग्य— म पनि त्यही आईएनजीओको एउटा कनिष्ठ मेम्बर थिएँ । मभन्दा निकै माथिल्लो तहमा काम गर्ने उसलाई मैले कसरी मन पराउने हिम्मत गरें— मलाई नै थाहा छैन ।

दुब्ली, पातली, अग्ली— झन्डैझन्डै खैरेनीजस्तै देखिने उसको सौन्दर्य त खास थिएन तर जब ऊ बोल्थी, लाग्थ्यो— चमत्कार भएको छ । वरिपरिका सबैको मुख खुलेको खुल्यै हुन्थ्यो । मान्छेको सारा ध्यान उसैमा केन्द्रित हुन्थ्यो । यस्तो बेला म सधैं कामना गर्थें— कति जाती हुन्थ्यो यसलाई घाँटीको क्यान्सर भइदिए ! यो बोल्न नसके ! यसको मोहनी लगाउने स्वरको अमृत अरूको कानमा पर्नै नपाए ! मलाई उसको स्वरको अमृतबाट बञ्चित हुनु बरू स्वीकार थियो तर उसको त्यो जादुले अरू कसैलाई स्पर्श गरोस्— म चाहन्नथें ।

Global Ime bank

म आफ्नो यस किसिमको सोचाइसँग डराउँथें तर पनि यस्तै–यस्तै सोच उम्रिरहन्थे मभित्र, जब–जब कोही उसको नजिक जान खोज्थ्यो । जब–जब ऊ कसैसँग हाँसेर, मुस्कुराएर बोल्थी ।

मेरो अबजर्भ गर्न सक्ने विलक्षण प्रतिभा र कामप्रतिको लगनले उसको ध्यान मतिर तान्न ठूलो मद्दत गरेको थियो । तर, पनि पूरा दुई वर्षको अथक मेहनत लागेको थियो मलाई उसको नजिक जान । अर्को एक वर्ष लागेको थियो ऊसँग एउटै अपार्टमेन्टमा सर्न ।

सुर्खेतमा घरपरिवार भएको निम्नवर्गीयभन्दा अलिकति माथिल्लो वर्गको म पढाइमा ब्रिलियन्ट भएकै कारण यो पोजिसनमा थिएँ । तर, ममाथि परिवारको पूरा जिम्मेवारी थियो । भाइ–बहिनी पढ्दै थिए । आमा रोगी हुनुहुन्थ्यो । गाउँको स्कुलमा मास्टर बाको कमाइले घर खासै चल्थेन । पुख्र्यौली जग्गाजमिन थियो र भरथेग थियो नत्र घर चल्न गाह्रै थियो । त्यसैले म यही जोगाडमा रहन्थें— यस्तो केही गरौं कि मेरो सारा समस्या छुमन्तर होस् ।

अमेरिकाको भिसा नपाएको रनाहामा रन्थनिइरहेका बेला मैले एकदमै नपत्याउँदो तरिकाले यो आईएनजीओमा काम पाएको थिएँ । र यहीँ देखेको थिएँ मैले उसलाई । अर्थात् अदितीलाई । त्यसपछि मैले सबै चिज बिर्सिएँ— घरपरिवार, विदेश जाने सपना । मैले त आफूलाई समेत बिर्सिदिएको थिएँ ।

मेरो वरिपरिकाहरू सोच्थे— म ग्रिनकार्डको लागि अदितीको पछि परेको छु ! म यी सबैलाई आफ्नो मनस्थिति सम्झाउन र बुझाउन असमर्थ थिएँ । उसलाई पाउने ध्याउन्नमा मैले आफूलाई त बिर्सिदिएको थिएँ भने जाबो ग्रिनकार्ड कहाँबाट याद रहनू !

उसको छेउमा पुग्न मेरो लागि अमेरिका होइन, चन्द्रमामा पुग्नुसरह थियो । त्यहाँ पुग्न सक्नुको मेरो मेहनतको लेखाजोखामा दुई–चारवटा किताब लेख्न सकिन्थ्यो ।

जेहोस्, यतिबेला म उसको पेप्सीकोलास्थित अपार्टमेन्टमा, उसको साथमा थिएँ— विगत एक वर्षदेखि ।

एघारौं तलामा अवस्थित उसको यो दुई बेडरुमवाला अपार्टमेन्ट मेरो सपना र कल्पनाभन्दा सुन्दर थियो । तर, यो सुन्दर अपार्मेन्ट भद्रगोल थियो । मेरी भ्याङ्लीलाई आफ्नै ख्याल राख्ने होस हुन्नथ्यो, अपार्टमेन्टको ख्याल के राख्थी ! यसै पनि उसलाई कुनै कुराको मतलब थिएन । जे भेट्यो, त्यही लगाउँथी । जे भेट्यो, त्यही खान्थी । मेकअपको नाउँमा एउटा गाजल र ओठमा ग्लस— बस् । तर पनि ऊ मलाई ब्रह्माण्डमा सबैभन्दा सुन्दर लाग्थी ।

म आएदेखि अपार्मेन्टको ख्याल मैले राख्न थालें । म मिलाएर सजाउँथें, ऊ भद्रगोल पार्थी । मलाई मज्जा लाग्थ्यो उसले भद्रगोल बनाएको हेर्न । मलाई उसको हरेक कुरा मज्जाको लाग्थ्यो ।

उसको र मेरो घनिष्ठता एउटै अपार्टमेन्टमा बस्नेजति तहमा पुगेपछि उसले मेरोसामु तीन वटा शर्त राखेकी थिई—

१) उसको व्यक्तिगत कुरामा हस्तछेप नगर्ने ।
२) उसको बायोटाडा नसोध्ने ।
३) एक–अर्काको बीचमा स्पेस राख्ने ।

मैले किरिया खाएर मानेको थिएँ उसका शर्त । तर, अपार्टमेन्टमा सरेपछि म जहिल्यै त्यो किरियाको सिमाना मिचिदिन्थें । ऊ याद दिलाउँथी । म ‘सरी’ भन्थें । तर अहँ ! उसका ती शर्तसँग तालमेल मिलाउन सक्थिनँ म । ऊ किचकिच गर्थी, म कान समातेर माफी माग्थें । यी गल्ती र त्यसपछि माग्ने माफीमा मलाई जीवनको सार्थकता समेटिएको अनुभूति हुन्थ्यो । उसको साथमा जिन्दगी स्वर्ग लाग्थ्यो । भगवानसँग अब मेरो अरू कुनै प्रार्थना थिएन— बस् मेरो ऊसँगको साथ नछुटोस् ।

“मलाई तिम्रो यो निस्सासिने खालको मायासँग डर लाग्छ । भनेको मान । डिस्ट्यान्स राख । तिम्रो यस्तै व्यवहार रहिरह्यो भने म तिमीलाई अपार्टमेन्टबाट निकाली पो दिन्छु,” ऊ भनिरहन्थी ।

मलाई डर लाग्थ्यो उसको त्यो धम्कीसँग तर म आफ्नो मनसँग विवश थिएँ । ऊसँग डराएर मैले मेरो मायाको हद देखाएकै थिइनँ उसलाई । उसको त कल्पना पनि त्यहाँसम्म पुग्न सक्थेन, जहाँसम्म उसका लागि मेरो माया पुगिसकेको थियो ।

अचेल केही दिनदेखि एउटा ह्यान्डसम केटा उसलाई भेट्न आइरहन्थ्यो काममा । फोन गरिरहन्थ्यो । त्यो केटाको बारेमा एक–दुईफेर मैले उसको शर्तविरुद्ध गएर सोधें पनि । उसले ‘साथी’ भनेर टारी । तर, मलाई लागिरहेको थियो— उनीहरूको बीचमा ‘साथी’भन्दा अलि माथि केही थियो । केटा अमेरिकामा उसैको छिमेकमा बस्थ्यो शायद । उतै जन्मेको, उतै हुर्केको खैरेको टोनमा नेपाली बोल्ने त्यो केटा अचेल मेरो भोक–निद्रा उड्नुको कारण बनेको थियो— बिनाकारण । मसँग अदितीको व्यवहार उस्तै थियो । न धेरै नजिक न धेरै दूरी । तर, मलाई लाग्थ्यो— ऊ पलपल मबाट टाढिँदै छे । म छट्पटाउँथें । रुन्थें एक्लै । सोची–सोची बहुलाउँथें । उसलाई छाती चिरेर कसरी देखाऊँ कि म उसलाई कति माया गर्थें भनेर ! कसरी उसलाई मनको मझेरीमा, मेरो, मात्र मेरो बनाएर थुन्न सकूँ ! यही कुरा सोची–सोची छटपटाइहन्थ्यो यो मन ।

त्यो साँझ खाना खाएर ऊ सधैंझै आफ्नो ल्यापटपमा अल्झिएकी थिई । म परै बसेर मन्त्रमुग्ध उसलाई हेरिरहेको थिएँ । मेरो पहुँचमा, मेरो अँगालोमा थिई ऊ तर पनि मेरो थिइन । यो कस्तो दुर्भाग्य मेरो ? म गएर उसको खुट्टाछेउ बसें । उसले पुलुक्क मलाई हेरी । म मुस्कुराएँ— मुस्कानमा मुटु राखेर । उसले फेरि मुन्टो ल्यापटपमा जोती । मैले उसको खुट्टामा हात राखें ।

“निर ! गएर सुत । मेरो थुप्रै काम छ,” उसले भनी ।

“केहीबेर मसँग कुरा गर अदिती !” मैले यसरी भनें मानौं दुनियाँको सबैभन्दा अमूल्य कुरा मागें ऊसँग । उसले ल्यापटपबाट मुन्टो उठाएर एकैछिन मलाई हेरी ।

के मायामा सबै मान्छे मजस्तै निरीह हुन्छन् ? होइन भने म किन यस्तो छु ? उसले आँखा उठाएर हेरेको भरमा मेरो मुटुले ठाउँ छोड्न थाल्थ्यो । मन नौनी पग्लेझैं तरल भयो । आत्मा उसलाई छाती चिरेर भित्र कोच्न छट्पटाउँथ्यो । के म नर्मल थिइनँ ?

“भन !” उसले मेरो आँखामा हेरी ।

“आई लभ यु अदिती !” भन्दाभन्दै मेरो आँखामा आँसु उम्रियो । कस्तो ढुंगाको मुटु भएको मान्छेसँग मन अल्झाउन पुगें नि दैव म ! के मेरो मायाको रापले उसलाई कहिल्यै स्पर्श पनि गर्ला ? या म केवल उसको फ्ल्याटमेट र फिजिकल निडमात्रै भएर रहुँला सधैं ? मैले कहालिँदै सोचें ।

उसले मेरो भिजेको आँखामा हेरी निकै बेर अनि छट्पटाउँदै उठी । मैले उसको हात थामें ।

“निर ! तिमी मलाई अप्ट्यारोमा पार्दै छौ,” उसले आफ्नो हात मेरो हातबाट थुती । म भक्कानिएर रोइदिएँ । एकैछिन तटस्थ भावले मलाई हेरिरही अनि अघि बढेर मलाई अँगाली ।

“म तिमीबिना बाँच्न सक्दिनँ !” मैले उसको काँधमा अनुहार लुकाएर भनें ।

“आई नो !” उसले बिस्तारै भनी ।

“म तिमीलाई...”

“पहिले मेरो कुरा सुन निरञ्जन,” उसले मेरो कुरा बीचमै काटेर मेरो टाउको आफ्नो काँधबाट धकेल्दै भनी, “तिमी आफ्नो कमिटमेन्टबाट फिर्दै छौ । हामीबीच पहिल्यै क्लियर कुरा भइसकेको छ— तिमी मलाई भावनात्मक दबाब दिनेछैनौ भनेर । तर, तिमी त्यही गरिरहेछौ बारम्बार । निर ! यसरी सम्बन्ध कतै पुग्दैन । अनि म खाल्डोमा जमेर बसेको पानीजस्तो सम्बन्ध चाहन्नँ । सम्बन्ध स्वच्छ हुनुपर्छ । कलकल बगिरहनुपर्छ । एक–अर्कालाई असुविधामा पार्ने, बाध्य बनाउने, दबाब दिने सम्बन्धको निसास्सिने, गह्रौं भारी कतिन्जेल लादेर हिँड्न सकिन्छ ? तिमी नै भन त !”

टिपिकल खैरे मेन्टालिटी ! मैले मनमनै सोचें । मुखले केही भनिनँ । आँसु पुछें । दह्रो भएर देखाउने कोसिस गरें तर मनमा लगातार पहिरो खसिरह्यो ।

“मलाई तिम्रो साथ मन पर्छ, त्यसैले म तिम्रो साथमा छु । विश्वास गर्न सिक निर ! ममाथि नगरे पनि आफूमाथि भरोसा गर । आफ्नो मायामा भरोसा गर,” ऊ मुस्कुराई । तर, म मुस्कुराउन सकिनँ । त्यो रात हामीबीच अरू कुनै कुरा भएन ।

केही दिन बिते । मप्रति अदितीको व्यवहार अचानकै आत्मीय भयो ।

“किन ?” म छट्पटाएँ ।

सधैं तथस्ट बस्ने ऊ अचानक किन यति मायालु भएकी ? कहीँ यो उसको माया नभएर दया त होइन मप्रति ? या उसको दिमागमा अरू नै केही चल्दै छ ? कतै मेरो रुवाइको अरू नै कुनै अर्थ त लगाइन उसले ? मैले त्यो दिन त्यसरी रुन नहुने उसको अगाडि । यस्तै–यस्तै नानाथरी सोचेर दिमाग दुखाइरहें ।

त्यो साँझ खाना खाएर सकेपछि जब हामी बैठकमा बसेर टिभी हेर्दै थियौं, उसले मेरो हात थामी । यो त मेरो बानी थियो ! उसले आजसम्म पहल गरेकी थिइन यस्ता कुरामा । मैले अन्कनाएर उसको अनुहार हेरें । ऊ मुस्कुराई । बिनाकारण मेरो मन डरायो— केही नराम्रो हुन लागेको त होइन ?

“निर ! म अमेरिका जाँदै छु !” उसको मधुर स्वर पनि मेरो चेतनामा शक्तिशाली बमजस्तै बिस्फोट भयो ।

मेरो डर मिथ्या थिएन । मेरो साथमा साँच्चै नै नराम्रो हुन जाँदै थियो । शायद उसले मलाई छोड्ने निर्णय गरिसकेकी थिई, त्यसैले मसँग त्यति राम्रो व्यवहार गरिरहेकी थिई । शायद त्यही साथीको साथमा अमेरिका फर्कंदै थिई ऊ । के उसले त्यही केटासँग जिन्दगी बिताउने निर्णय गरिसकी ? कि त्यो निर्णय गर्न बाँकी नै छ ? अब म के गरूँ ? मलाई छोडेर नजान अनुरोध गरूँ ? माफी मागूँ ? के गरूँ ? उसको साथमा भएदेखि निरीह भएर बारम्बार हात जोडेको जोड्यै छु । अब हात जोडेर के फरक पर्ला ?

“क... कहिले फर्किन्छ्यौ ?” आफ्नो स्वरलाई भिज्न नदिन बडो मेहनत गर्नुप¥यो मैले ।

“भन्न सक्दिनँ निर,” उसले कोमल स्वरमा भनी, “अलि समय लाग्छ होला ।” 

यति भनिसकेर उसले मलाई केही बेर नियाली र थपी, “तिम्रो लागि एउटा सरप्राइज छ निर ! म फर्केर आएपछि !” ऊ मुस्कुराई तर मेरो अनुहारबाट हाँसो कता हो कता हरायो । उसले जेसुकै भनेर बहलाए पनि मलाई विश्वास भइसकेको थियो— अब ऊ फर्केर आउनेछैन । अब उसले दया देखाएर पनि मलाई आफ्नो जिन्दगीमा ठाउँ दिनेछैन । सोचेरै हुरुक्क प्राण जालाजस्तो भयो । के गर्थें म ऊबिना ? धेरै कुरा पेटमा छड्किरह्यो तर ती कुरालाई मैले मुखमा ल्याउन सकिनँ । मलाई थाहा थियो ऊ कति जिद्दी थिई । उसले मलाई छोड्ने निर्णय नै गरिसकेकी भए मैले जतिसुकै रोइधोइ गरे पनि, जतिसुकै बिन्तीभाउ गरे पनि उसले आफ्नो निर्णय फेर्ने थिइन— मलाई थाहा थियो । त्यसैले केही भनिनँ ।

त्यो दिन उसको साथी आयो । मलाई चिया बनाउन भनेर अदिती उसलाई लिएर बाल्कोनीमा गई । मेरो शरीर भान्सामा भए पनि मन उनीहरूकै पछाडि गएको थियो । मेरो मनलाई शतप्रतिशत विश्वास थियो— भविष्यको योजना बनाइरहेका छन् उनीहरू । चिया र मन निकैबेर छड्काइसकेपछि मगमा चिया खन्याएर बाल्कोनीमा निस्किएँ । उनीहरूको महत्त्वपूर्ण वार्तालाप रोकियो । अब मलाई कुनै शंका थिएन— मेरी भ्याङ्ली मलाई पछाडि छोडेर अघि बढ्दै थिई, आफ्नै जिन्दगीमा । तर, म यो मोडबाट अगाडि बढ्न सक्ने थिइनँ, ऊबिना । मेरो मन भक्कानियो । म उनीहरूलाई बाल्कोनीमा छोडेर भित्र पसें ।

उसको टिकट आएको दिन मैले उसलाई एकछिन एक्लै छोडिनँ । हरघडी छातीमा टाँसेर राखें ।

“मलाई तिम्रो यो बहुलट्टीपनसँग डर लाग्छ,” उसले भनी । तर, सधैझैं मेरो अँगालोबाट निस्किने कोसिस गरिन ।

उसले आफ्नो सामान प्याक गरेको दिन मेरो मनले बारम्बार उसको सामु घुँडा टेकेर ‘अमेरिका नजाऊ’ भनी बिन्ती गर्न उक्सायो । तर, म आफ्नो मनलाई पाता फर्काएर त्यसको विपरीत उभिएँ । एक शब्द केही भनिनँ । उसले अमेरिका जाने कुरा गरेको दिनपछि म उसको सामुन्ने कहिल्यै रोइनँ । ऊबिना बाँच्न नसक्ने कुरा दोहो¥याइनँ । उसलाई कति माया गर्छु भनिनँ । बस्— जिउज्यान र आत्माले उसलाई माया गरें । आत्मसात गरें । आफूभित्र समेटें ।

त्यो साँझ खाना खाएर सकिएपछि उसको साथीको फोन आयो । म चिया बनाउने बहानाले उसको छेउबाट उठें । उसले आश्चर्यपूर्वक मलाई हेरी । प्रायः यस्तो बेला सधैं बहाना खोजेर उसैको छेउछाउमा बसिरहने म त्यसरी उठेर हिँडेको देखेर पक्कै आश्चर्य मानेकी हुनुपर्छ उसले ।

मैले निकै बेर लगाएर चिया बनाएँ । म तबसम्म बाहिर निस्किइनँ, जबसम्म ऊ कुरा सकेर भान्सामा आइन ।

“निक्कै बेर लगायौ त !” उसले मलाई पछाडिबाट अँगाल्दै भनी । मेरो मुटुले एकपटक म्याराथनै जितेर आउँलाझैं ग¥यो ।

“चिया तयार छ,” मैले एउटा मग ऊतर्फ बढाएँ । उसले मुस्कुराएर त्यो कप थामी ।

“अचेल अलि अनौठो व्यवहार गरिरहेका छैनौ तिमी, निर ?” उसले मेरो आँखामा हेर्न खोज्दै भनी ।

“तिमीले चाहेको स्पेस दिन खोजेको,” मैले उसलाई एक हातको परिधिमा समेटेर अर्को हातले चियाको मग थामें । हामी बाहिर निस्कियौं ।

“बाल्कोनीमा हिँड,” उसले मलाई बैठकको सोफातिर बढ्न खोजेको देखेर भनी, “मलाई तिमीसँग जरुरी कुरा गर्नु छ ।”

उसको अनुहारमा हेर्ने हिम्मत भएन मेरो । म चुपचाप उसको फेवरेट ठाउँ बाल्कोनीतिर बढें । ऊ मेरो पछिपछि आई । चियाको मग टेबलमा राखेर उसले भनी, “निर ! तिमी ठीक त छौ नि ?”

भोलिपल्ट उसको फ्लाइट थियो । मेरा यी पलहरू नै अन्तिम हुन् उसको साथमा । भोलिदेखि ऊ कहाँ, म कहाँ ! सोचेरै मन काँप्यो । ऊ जे भन्न जाँदै थिई, मेरा कान ती कुरा सुन्न कदापी तयार थिएनन् । तर, मलाई थाहा थियो मैले सुन्नैपर्ने थियो । म बडो मेहनतले आँखाको डिलतिर आइपुगेको आँसुलाई भित्रै रोक्दै ऊतिर फर्किएँ ।

“भन न निर ! के भएको छ तिमीलाई ?” उसले फेरि सोधी, “यति अनौठो व्यवहार किन गरिरहेका छौ तिमी ?”

“भनें त, तिमीले चाहेको स्पेस तिमीलाई दिएको भनेर !” मैले उही जवाफ दिएँ ।

“यति धेरै स्पेस पनि के कामको ? साथै भएको मान्छे बिरानोजस्तो लाग्ने !” ऊ हाँसी । मैले उसलाई एकटकले हेरिरहें ।

“मलाई तिमीसँग केही भन्नु थियो... म...”

“त्योभन्दा पहिले म केही सोध्न चाहन्छु तिमीसँग । प्लिज !” मैले आग्रहपूर्ण स्वरमा भनें । उसले निकैबेर केही खोजेझैं गरी मेरो आँखामा हेरी अनि भनी, “भन !”

“अदिती ! मैले यि दिनहरूमा लाखौं करोडौं पटक भनेको छु— म तिमीलाई कति माया गर्छु भनेर । आज म तिमीसँग सोध्न चाहन्छु— के तिमीले पनि कहिल्यै माया ग¥यौ मलाई ? या केवल दया...”

“के कुरा गरेको निर ?” ऊ अलि रिसाई, “दया गरेर कसैले कसैलाई आफ्नो जीवनमा समावेश गर्दैन । कसैलाई आफ्नो घरमा, साथमा राख्दैन !”

“घुमाएर कुरा नगर अदिती ! प्लिज ! प्रश्न जवाफको अपेक्षाका साथ गरिन्छ त्यसैले प्रश्नको बदलामा प्रश्न नगर । सक्छ्यौ भने जवाफ देऊ नत्र ठिकै छ,” म चियाको कप टेबलमा थेचारेर भित्रतिर मोडिएँ ।

“के भएको छ हँ तिमीलाई ?” उसले मलाई आफूतिर तानी र मेरो छातीमा लपक्क टाँसिई, “पागल ! माया नगरेको भए तिमीलाई छेउछाउमै पर्न दिन्थिनँ नि ! माया गरेकी हुँ निर ! त्यसैले त तिम्रो अँगालोमा छु ।”

मैले कसेर उसलाई छातीमा टाँसें अनि उसको कानमा मुख जोडेर भनें, “अदिती ! म चाहन्छु, तिम्रो मुखबाट यी शब्द सुन्ने म नै अन्तिम पुरुष होऊँ । तिमी मेरो जीवनमा नरहौ— म सहन सक्छु तर तिमी मबाहेक अरू कसैको जीवनमा भएको सहन सक्दिनँ ।”

“पागल !” उसले खुट्टाको औंलाको सहायताले अलिकति उचालिएर मलाई चुमी । मैले उसलाई दह्रोसँग अँगालें । प्रगाढतापूर्वक चुमें र अवरुद्ध स्वरमा भनें, “अन्तिम पटक भन्दै छु, अदिती ! म तिमीलाई त्यति माया गर्छु, जति म स्वयंलाई पनि गर्दिनँ ।”

त्यसपछि मैले उसलाई आफ्नो अँगालोमा उचालेर एघारौं तलाको बाल्कोनीबाट तल हुत्याइदिएँ ।

“अलबिदा अदिती ! अब तिमी अरू कसैलाई माया गर्न त के, माया गर्छु पनि भन्न सक्नेछैनौ । तिम्रो अँगालोमा म नै अन्तिम थिएँ, म नै अन्तिम रहिरहनेछु !”

म दाँत बाँधेर आँसुको बाढीलाई आँखाभित्रै थुन्ने कोसिस गर्दै भित्र पसें । पुलिसलाई खबर गर्न फोन उठाएपछि मेरो आँखा त्यहीँ टेबलको छेउमा राखिएको ठूलो खाममा प¥यो । मैले फोन फिर्ता राखेर त्यो खाम टिपी हेरें । ठेगाना नलेखिएको त्यो बन्द खाम खोल्दा एकैछिन हिच्किचाएँ म । भित्र अदितीले आफ्नो वकिललाई अंग्रेजीमा लेखेको एउटा नोटको साथमा उसको इच्छापत्र थियो । नोटमा लेखिएको थियो—

“तपाईं मेरो वकिलमात्रै नभएर मेरो ममीको र मेरो वेलविसर पनि हो, त्यसैले तपाईंले भनेका कुरालाई एकदमै गम्भीरतापूर्वक मनन गरें । तर पनि नेपालमै सेटल हुने आफ्नो निर्णयमा हेरफेर गर्न सकिनँ । त्यसैले मेरो नाउँमा त्यहाँ भएकी मेरी आमाको अपार्टमेन्ट बेच्न चाहन्छु, सकेजति चाँडै । मेरो ड्याडीको कारणले ममीले सुसाइड गर्नु परेको कुरा मैले बिर्सेकी छैन तर विश्वास गर्नुस्– निरञ्जन मेरो ड्याडीजस्तो मेन्टली अनब्यालेन्स्ड छैन । ऊ मलाई मनले माया गर्छ । मलाई विश्वास छ— उसको साथमा मेरो वैवाहिक जीवन बडो सुखद हुनेछ । रेहानलाई त्यहाँदेखि मलाई सम्झाउन पठाउनुभयो, आभारी छु । तर, अब म आफ्नो निर्णय फेर्न सक्दिनँ । तपाईं मेरो चिन्ता नगर्नुस् । म मेरो निरको साथमा सुरक्षित र सुखी, खुशी छु । यो कुरा रेहानले पनि देखेको छ । कागजपत्र तयार राख्नुहोला । म आएर साइन गर्नेछु । मेरो अमेरिकामा अरू पनि केही काम छन् । छिटै भेट हुनेछ ।”

— अदिती शर्मा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC