site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बीपीलाई फाँसी दिइन्थ्यो भने ?

जननायक बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर आफ्ना पाँच सहकर्मीसमेत स्वदेश फर्कँदा केही कुनाबाट उहाँको कदमको निकै विरोध गरियो । आठ वर्ष जेलमा बन्दी बीपी रिहाइपछि राजनीतिक प्रवासमा आठै वर्ष भारतमा रहनुभयो । त्यसपछि राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्कँदा उहाँमाथि आठवटा मुद्दा थिए । ती मुद्दामा फसाएर बीपीलाई फाँसीको सजाय दिने तानाबाना त्यतिबेलाको निर्दलीय पञ्चायती व्यवस्थाका सञ्चालकहरूले बुनिरहेका थिए । पञ्चायती व्यवस्था राजाको सक्रिय नेतृत्वमा स्थापित र सञ्चालित थियो । 

जीवनभर संवैधानिक राजसंस्थाको पक्षमा अडिग बीपीलाई  २०३३ पुस १६ गते त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै पहिले आठबर्ष बन्दी बनाइएको सुन्दरीजल जेलमा लगेर पुनः थुनियो । जनताका नेता र जनताकै लागि राजनीति गर्ने मानिसको लागि राजशाहीले खडा गरेको दुर्दशा थियो यो  । बीपीसँगै आउनुभएका गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाई र निलाम्बर पन्थीसमेतलाई पक्रेर जेलमा बन्दी बनाइयो । विमानस्थलको उत्तर पश्चिमी ढिस्कोको हुलमा उभिएर बीपीलाई देख्ने रहरमा आँखा तन्काएर उभिएको म उहाँ पक्राउ परेको आबाज कानमा ठोक्किएपछि निराश फर्किएको थिएँ । गोवर्धन शर्मा पोखरेल हुदै तनहुँसम्म जोडिएको यो प्रसंग अन्त कतै सान्दर्भिक होला ।  

पञ्चहरुले आफ्नो सत्ता सयलमाथि चुनौती मानेर बीपीको स्वदेश वापसीको चर्को विरोध गरे । उहाँलाई फाँसीको सजाय हुनुपर्ने प्रस्ताव तत्कालीन जिल्ला पञ्चायतबाट समेत पारित गर्ने हुइँया चलाइयो । अर्कातिर, कम्युनिस्टहरूले पनि भएभरको शक्ति लगाएर राष्ट्रिय मेलमिलाप नीतिको विरोध र आलोचना गरे । राष्ट्रियताको संरक्षण र जनताको प्रजातान्त्रिक अधिकार पुनस्र्थापित गर्ने मान्यताले लिइएको नीति र बीपीको वापसीलाई स्वघोषित देशभक्त र जनताको राजनीति गरेको दाबी गर्ने कम्युनिस्टले पञ्चहरू नै बलियो हुनेगरी विरोध गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभित्र ठूलो विरोध र आलोचनाको वातावरण बनाउने कोसिस भएको थियो । यस्तो हुन्छ भन्ने बीपीलाई थाहा थियो । फाँसीसम्म हुनसक्ने अनुमान थियो । गणेशमान सिंहले स्वदेश वापसी कारणसहित मृत्यु समान भन्नुभएकै बेला बीपीले त्यसपछिको भारत बसाई ‘मन्द विष’ बाट (स्लो प्वाइजन) मृत्युवरण जस्तै हुने बताउनुभएको प्रसंगले यसको पुष्टि हुन्छ । सहकर्मी कार्यकर्तासँग भेटघाट र अन्य माध्यमबाट आफ्नो नीति र वापसीबारे बीपीले परामर्श गर्नुभएको थियो । कमैले उहाँलाई वापसीको सल्लाह दिए । तर, बीपीले उनीहरूलाई बुझाउनुभयो ।  यहीबीच विभिन्न कोणबाट उत्पन्न प्रतिक्रियाले उहाँलाई सम्भावित विरोध र आलोचनाको पारो थाहा भइसकेको थियो । 

स्वदेश फर्कनेबित्तिकै जेल जानुपर्ने कुरा उहाँको अनुमानभन्दा बहिर थिएन । त्यो सरकारी सत्ता अप्रजातान्त्रिक थियो र त्यसैविरुद्ध उहाँको संघर्ष थियो । फाँसी पनि हुनसक्छ भन्ने त अघिका छलफलकै क्रममा उहाँले भन्नुभएको थियो । 

Global Ime bank

यत्रो खतरा उठाएर वा बुझेर पनि उहाँ किन नेपाल फर्किने निर्णयमा पुग्नुभयो ? उहाँको निर्णयमा सत्ताको अपेक्षा र सुविधाको आग्रह थियो र ? थिएन । हुँदो हो त, बीपीले जेल, नेल र प्रवास रोज्नुहुन्थेन । राजासँग समर्पण वा भारतको इच्छापात्र बनेर उहिल्यैदेखि सत्ताको धुरीमा बस्न सक्नुहुन्थ्यो । बीपीले जीवनभर संघर्षको बाटो रोज्नुभयो । किन ?

बीपीले राजनीतिमा जनता र देशलाई केन्द्रमा राख्नुभयो । जेल, प्रवास र सत्ता सिर्जित असह्य यातना यही उद्देश्यका लागि रोज्नुभयो । हामीले पाएको प्रजातन्त्र चेतनाका लागि बीपी र उहाँको पुस्ताले चुकाएको अमूल्य मूल्यको परिणाम हो । आठ वर्षपछि के त्यस्तो कारण भयो त ? उहाँलाई नेपाल फर्किन ? 

पहिलो, बीपीसँगै मुलुकको लोकतान्त्रिक आन्दोलन पनि प्रवासी भयो । त्यो आन्दोलनलाई स्वदेशमै ल्याउनु थियो । दोस्रो नेपाली राष्ट्रियतामाथि उत्पन्न हुनसक्ने खतराको अनुभूति उहाँमा भएको थियो । राष्ट्रिय मेलमिलाप नीतिका सन्दर्भमा उहाँले व्यक्त गर्नुभएको विचारका दस्ताबेजहरुको अध्ययनबाट यो मर्म स्पष्ट हुन्छ । 

शक्ति राष्ट्र (अमेरिका र रुस) ले सिर्जना गरेको ध्रुवीकरण वा शीतयुद्ध, अफगानीस्तानमा रुसको हस्तक्षेप, पश्चिम र पूर्वी पाकिस्तान बीचको लडाइँले जन्माएको बंगलादेश, सिक्किम भारतमा विलय, भारतमा संकटकाल आदि त्यस बेलाका यस क्षेत्रका परिघटना थिए । र यिनको दुष्प्रभाव नेपालमा पनि पर्ने लक्षण र राष्ट्र नै खतरामा पर्ने ठम्याइमा पुग्नुभएका बीपीले राष्ट्रिय मेलमिलाप नीतिबाट देश बचाउन राजालाई सहयोग र सबैलाई सन्देश दिनुभएको हो । तत्कालीन भारतीय सत्ताले उहाँप्रति स्वार्थी घेराबन्दी बढाएको थियो । यो कुरालाई अहिले आएर नेपालको राजनीतिक समाजले जसरी बुझेको छ त्यतिबेलै यसरी बुझेको भए परिस्थिति सायद अर्कै मोडमा हुनेथियो । 

राजासँग आफ्नो घाँटी जोडिएको अर्थपूर्ण देशभक्तिको भनाइलाई बीपीले राजासँग समर्पण गरेको भन्ने हलुका हल्ला मच्चाएर मेलमिलाप नीतिको खिल्ली उडाउने प्रयत्न यहाँ भयो । खासगरी अहिले सत्तामा रहेका कम्युनिस्टहरुबाट ।

मेलमिलाप नीति राजासँग आत्मसमर्पण पनि होइन र प्रजातन्त्र छोड्ने कुरा पनि हुँदैन बीपीले स्पष्टैसँग भन्नुभएको थियो । जनता सर्वोपरी हुने संवैधानिक शासन बीपीको उद्देश्य थियो  । जनता नचाहिने राजालाई जनताले पनि चाहदैनन् ‘राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र’ शीर्षकको किताबमा बीपीले भन्नुभएको छ ।

बीपी स्वदेश फर्किएको दुई वर्षभित्रै पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई त्यहाँको सैनिक सत्ताले फाँसी दियो । सैनिक अधिनायक जनरल जियाउल हकले निर्वाचित भुट्टोलाई सत्ता च्युत गरी त्यहाँ सैनिक शासन लागु गरे र अन्तर्राष्ट्रिय दबाबलाई बेवास्ता गर्दै भुट्टोलाई फाँसीमा चढाए ।  

यसको केही पहिले नेपालमा नेपाली कांग्रेसका योद्धा भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई मृत्युदण्ड दिइएको थियो । बीपीकै निर्देशनमा काम गरेका योद्धाप्रतिको यो निर्मम घटनाबाट नेपाली कांग्रेसका संस्थापक नेता बीपीलाई पनि फाँसी दिइने भय जनतामा थप उत्पन्न थियो । पाकिस्तानी उदाहरण भयको अर्को थप कारक बन्यो । बीपी र गणेशमानलाई आठ, आठ मुद्दा लगाइएको थियो ।

बीपीको जीवन रक्षाको लागि अन्तर्राष्ट्रिय र नेपाली जनताको राजा वीरेन्द्रमाथि व्यापक दबाब थियो । खासगरी भारतीय समाजवादी नेता जयप्रकाश नारायणलगायतको दबाब बीपीलाई बचाउन उपयोगी रह्यो । अस्वस्थ हुँदाहुँदै जयप्रकाश नारायण बीपीलाई बिदा गर्न पटना विमानस्थल पुगेका थिए । देख्नेहरु लेख्छन् र भन्छन् – सहकर्मीसहित काठमाडौं आउन बीपी चढेको विमान जयप्रकाश नारायणले आँसु भरिएका आँखाले भेटुन्जेल आकाशतिर फर्किएर हेरिरहे । विश्व समाजवादी आन्दोलनको उपाध्यक्ष बीपीप्रति विश्वव्यापी समर्थन थियो । 

छिमेकीमित्र मुलुकको जननिर्वाचित प्रजातन्त्रवादी प्रथम प्रधानमन्त्री, विश्व समाजवादी नेता र आफ्ना बाबु जबाहरलाल नेहरुको साथी बीपी कोइरालाप्रति भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी किन अनुदार र कठोर बनिन् ? उनले नेपालको प्रजातान्त्रिक आन्दोलन, बीपी र नेपाली कांग्रेसलाई गरेको अपमान वा घेराबन्दी सह्य भएन । क्षेत्रीयरूपमा भएका घटना, सम्भावित बबन्डर र इन्दिरा गान्धीको सत्ता उन्मादले नेपालमा पर्ने असरको पूर्वानुभूतिको जगमा बीपीले राष्ट्रिय मेलमिलाप नीति प्रतिपादन गर्नुभएको स्पष्ट छ । 

सिक्किम विलयको तानाबाना सफल बनाएकी इन्दिरा गान्धीको प्रस्ताव ठाडै अस्वीकृत गरेका कारण नै उनी बीपीप्रति कठोर भएको प्रसंग चर्चामा आएकाछन् । जतिबेला भारतमा इन्दिरालाई ‘दुर्गा’ भन्न थालिएको थियो । पृष्ठभागमा भारतको छायाँ नक्सा र सिंहवाहिनी दुर्गामाताको आकृतिमा इन्दिरा गान्धीको स्वरुप प्रतिविम्बित गरिएका पोस्टर र कार्टुन बनाइएका थिए । इन्दिरालाई दुर्गा भन्ने भारतीय जनता पार्टी (तत्कालीन भारतीय जनसंघ) का नेता अटलविहारी बाजपेयीको उनीप्रतिको मोह त्यतिबेला भंग भयो जतिबेला इन्दिराले आपातकाल (इमर्जेन्सी) लागु गरिन् र विरोधी नेतालाई जेलमा पुर्याइन् । ‘इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया’ भनिएको थियो । इन्दिरा गान्धीको बढ्दो अनुदार राजनीतिको विरोधको नेतृत्व गर्ने जयप्रकाश नारायणसँग बीपीको मित्रता पनि इन्दिराका लागि रुचिकर भएन । भनिन्छ – आफ्नो विरोध नगर्न जयप्रकाशलाई सम्झाइदिन इन्दिराले बीपीलाई भनेकी थिइन् तर बीपीले इन्दिराको चाहना अनुसार गर्नुभएन ।         
प्रचण्ड शक्ति र समर्थनजनित सत्ता उन्मादमा नेपालको स्वतन्त्रता, लोकतन्त्र र यसैका लागि समर्पित विश्व हैसियतका नेता बीपीप्रति इन्दिराको हेराइ पक्कै सकारात्मक रहेन । लाग्छ, नेपाललाई हेर्ने सिक्किम प्रेरणा थियो इन्दिरामा । यही बुझेर बीपीले नेपालको स्वतन्त्रता रक्षा गर्न र स्वतन्त्रतामाथिको सम्भावित चुनौतीको प्रतिरोध गर्न राष्ट्रिय मेलमिलापको मार्गबाट स्वदेश आउनुभयो । 

यहाँ एउटा प्रसंग अत्यन्त उल्लेखनीय छ । जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले अस्ति पुस १६ गते आयोजना गरेको ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका प्रमुख अतिथि केदारभक्त माथेमाले सिक्किमका नेताहरुलाई बीपीले दिएको सुझाव स्मरण गराउनुभयो । बीपीलाई भेट्न आएका केही सिक्किमी नेताले आफूहरु प्रजातन्त्र स्थापना गर्न लागेको बताएका र बीपीले – ‘‘प्रजातन्त्र स्थापना गर्नोस् तर राजा नफ्याक्नु होला, त्यसो भए सिक्किम नरहने’’ सुझाव दिनुभएको थियो माथेमाले कार्यक्रममा भन्नुभयो । भविष्यद्रष्टा बीपी सही ठहरिनुभयो । बीपीलाई जननायक भन्नुको औचित्य पनि माथेमाले त्यहाँ त्यसरी नै प्रस्तुत गर्नुभयो, जसरी बीपीलाई महामना भन्नुको औचित्य अभि सुवेदीले लेख्नुभएको थियो । यो विषय अर्कै प्रसंगमा । 

इन्दिरा गान्धी बाध्य पारेर बीपीलाई आफ्नो प्रस्ताव मान्ने नत्र नेपाल फर्किन पर्ने अवस्था सिर्जना गर्न चाहन्थिन् । नेपाल फर्किएका बीपीलाई फाँसी होस् भन्ने उनको भित्री चाहना थियो ? फाँसीपछि उत्पन्न हुने तीव्र अन्तर्राष्ट्रिय प्रतिक्रिया (विश्व समाजवादी आन्दोलनको समेत) र नेपालमा हुने आन्दोलनको छिद्रबाट इन्दिरा भारतलाई नेपालमा घुसाउन चाहन्थिन् ? यस्ता प्रश्नहरु निरुत्तरित छैनन् । तिनको एकमुष्ठ जबाफ राष्ट्रिय मेलमिलाप नीति नै हो । 

अदालत समक्ष नेपाली कांग्रेसको नेतृत्वमा भएको हतियारबद्ध वा शान्तिपूर्ण पूरै प्रजातान्त्रिक आन्दोलनको सबै घटनाको नैतिक दायित्व लिएर कार्यकर्ता बचाउने बीपीलाई धन्न मृत्युदण्ड दिइएन । जनकमान श्रेष्ठको न्यायिक इजलासले बीपी र गणेशमान दुवैलाई बचायो । नेपालका केही पञ्च र कम्युनिस्टबाहेक विश्व नेता वा जनमत र नेपाली जनता मृत्युदण्ड या फाँसीको विरुद्ध मुखर थिए । सायद, राजा वीरेन्द्र पनि बीपीलाई फाँसी नै होस् भन्ने मनसायमा थिएनन् कि ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC