site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलवायु परिवर्तनको विश्वव्यापी समस्याबाट नेपाली पनि आक्रान्त हुन थालेका छन् । वातावरणीय ह्रासमा नेपालीको भूमिका भन्दा बढी नै मूल्य नेपालीले चुक्ता गर्नु परेको छ । यसैले होला नेपालमा पनि वातावरणीय ह्रासप्रति चिन्ता पनि व्यक्त हुन थालेको छ । यद्यपि, यस्तो चिन्ता प्रकट गर्न पनि विदेशी सहयोग र उत्प्रेरणाको भूमिका अहिलेसम्म निर्णायक रहिआएको छ । यहीक्रममा सिन्धुपाल्चोकको गुफाडा“डामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरूको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरिएको छ । सम्मेलन मूलतः जलवायु परिवर्तन र त्यसबाट परेको असरका सम्बन्धमा केन्द्रित रह्यो । सम्मेलन आयोजकबाहेक अरूले घोषणापत्र जारी हुनुमात्रैलाई उपलब्धि मान्न पक्कै सक्तैनन् । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको वातावरणका सम्बन्धमा दृष्टिकोण स्पष्ट बनाउन सक्यो र स्थानीय तहमै सही त्यसको प्रभाव पर्न गयो भने सम्मेलन सफल भएको मान्न सकिन्छ । 

नेपालका सन्दर्भमा जलवायु परिवर्तनको असर त हिउँ पग्लने, नदी र तालका पानी सुक्ने, लालीगुराँस बेलै नहुँदै फुल्नेसम्म देखिन थालेको छ । तर, नेपालले चाहँदैमा विश्वव्यापी वातावरणीय ह्रास कम गर्न खासै योगदान गर्न सक्तैन । यसैले विश्वस्तरमा कार्यसूची र नारा नेपालका लागि कति सान्दर्भिक हुन्छ भन्ने विषयमा ध्यान दिएरमात्र कार्यक्रम तर्जुमा गर्नु जरुरी हुन्छ । अहिले अपनाइएको विकास ढाँचा र समृद्धि सपना भने वातावरण मैत्री देखिँदैन । चुरेको दोहन रोक्न नखोज्ने तर तराईमा पानीको स्रोत सुकेकोमा जलवायु परिवर्तनलाई दोष दिएर ‘पानीमाथि ओभानो’ हुने प्रवृत्ति रहुन्जेल वातावरणका विषयमा जति ठूलो कार्यक्रम गरे पनि उपलब्धिहीन हुनेछ । भूकम्पले पनि नसुकाएको रानीपोखरीको पानी सुकाएर तमासा देखाउने सरकारले वातावरणको चिन्ता गरेको देखाउनु पाखण्डमात्र हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यथार्थमा अहिलेको वातावरणीय ह्रासको समस्या गरिबीले नभएर मूलतः धनीहरूको उपभोक्तावादले निम्त्याएको हो । विकसित भनिएका मुलुकका उपभोक्ताको जीवनशैलीमा परिवर्तन हुने हो भने वातावरणमाथिको चाप कम गर्न सकिन्छ । पृथ्वीलाई औद्योगिकक्रान्ति भन्दा पहिलेजस्तै स्वस्थ र स्वच्छ बनाउन त सायद सम्भव छैन तर पश्चिमी मुलुकहरूले चाहने हो भने अहिलेको अवस्थामा धेरै सुधार हुनसक्छ भन्ने पुष्टि भइसकेको छ । पृथ्वीलाई अहिलेको अवस्थासम्म पुग्नेगरी वातावरण बिगार्ने पश्चिमी मुलुकहरूले अहिले आफ्नो देशमा दिगो विकासको अवधारणा अपनाएका छन् र प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकता दिएका छन् । तर, नेपालमा भने शासकहरूले वातावरण संरक्षणको नारा दिने र बिगार्ने कामलाई प्राथमिकता दिने गरेका छन् । वातावरणप्रति चिन्ता प्रकट हुन थालेको बितेको ३ दशकमा नेपालका सहरमात्र हैन गाउँमा समेत वातावरण बिगार्ने काम धेरै भएको छ । राज्यले नीतिगतरूपमै उपभोक्तावादलाई प्रोत्साहित गरेको छ । उपभोक्तावादलाई पछ्याएर वातावरणको संरक्षण कसरी हुन्छ ? विकास भनेको ज्यानमारा सडक  ‘ भ्यु टावर’ ठान्ने मानसिकता नै त हो बाटो खन्ने नाममा सधैँका लागि वन र वातावरण विनाश गर्न नहिचकिचाउने । काठमाडौंका गल्ली, चोक, बहाल र हिटीहरू मासेर अपार्टमेन्ट बनाउने हठका पछाडि कमिसनको लोभमात्र हैन वातावरणप्रतिको द्रोह पनि हो । यसैले अहिले नेपालमा देखाइएको चिन्ता वास्तवमा पाखण्डमात्रै हो ।

काठमाडौंमा होस् वा दुर्गम कुनै गाउँमा वातावरण बिगार्ने काम बेग्लाबेग्लै प्रकृतिको भए पनि बिगार्नेहरूको सोच र प्रवृत्ति एउटै हो । संसारकै प्रमुख प्रदूषकमध्येका दुई ठूला मुलुक चीन र भारतको बीचमा रहेका नेपाललाई जलवायु परिवर्तनको प्रतिकूल प्रभाव  यथार्थमा ‘नखाएको विष लागेको’ हो । अन्तर्राष्ट्रिय कारणले भइरहेको जलवायु परिवर्तनको प्रभाव रोक्न नेपालले जति नै प्रयास गरे पनि सक्तैन । यसैले ठूला विषयहरू अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै जानुपर्छ तर जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाकलाप कम गर्न ध्यान दिनुपर्छ । शासकहरूको इच्छाशक्ति बलियो हुने हो भने देशको वातावरण जोगाउन धेरै काम गर्न सकिन्छ । वन जोगाउने वा बनाउने हो भने पानीको स्रोत जोगिन्छ र पहिरो रोक्न सकिन्छ । गुराँस फूल्ने समय पहिलेकै याममा फर्काउन नसकिएला तर ठूला नदीहरूको जलाधार संरक्षण गर्ने हो भने बाढीको विनाश कम गर्न सकिन्छ । हिउँ पग्लने गति, मात्रा र समय नियन्त्रण गर्न नसके पनि नेपालले आफ्नै प्रयासमा स्थानीय पानीका मूलहरू जोगाउन त सकिन्थ्यो । सबैभन्दा बढी त उपभोक्तावादी जीवनशैलीलाई नीतिगतरूपमै निरुत्साहित गर्न सके विकास दिगो बनाउन सकिन्छ । सम्मेलनका सहभागीले फर्केर गएपछि ‘भ्यु टावरे’ विकास रोक्न र सडकहरू वातावरणमैत्री बनाउन लगाउन सके भने सम्मेलनले नेपालीमात्र हैन विश्वकै हितका ठूलो योगदान गरेको सिद्ध हुनेछ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC