काठमाडौं । “परीक्षा दिएँ, पास भएँ भने फेरि काम गर्ने हो, भइन भने ट्युसन पढ्ने हो । हेरौँ, के हुन्छ,” हास्य कलाकार मनोज गजुरेल भन्छन् । मनोजले दिएको परीक्षा कुनै एकेडेमिक परीक्षा भने होइन । तर उनले भनेजस्तै पास र फेलले उनको जिन्दगीमा अर्थ भने राख्छ ।
मनोजले गरेको पास फेलको कुरा चलचित्रको हो । कलाकारिताको लामो करिअरमा उनले कहिल्यै पनि चलचित्रमा काम गरेनन् । अग्रज, समकालीन तथा पछिल्लो पुस्ता चलचित्रमा छ्याप्छ्याप्ती आउँदा उनले कहिल्यै पनि सेतो पर्दाको रहर गरेनन् ।
तर, यति बेला उनले चलचित्र ‘१०० कडा १०’मा काम गरेका छन् । डेब्यू मुभी दर्शकले मन पराए भने मनोजले चलचित्रमा आफूलाई पास भएको सम्झिनेछन्, हैन भने फेल । “पास भएँ भने अरु चलचित्रमा काम गर्नेछु, फेल भएँ भने ट्युसन पढ्ने छु,” मनोज बाह्रखरीसँग भन्छन् ।
केही समय अगाडि उनले आफ्नो फेसबुक एकाउन्टमा लेखे, ‘१०० कडा १०’ विषयको फर्स्ट सेमेस्टर परीक्षा दिइयो । पासफेलको जिम्मा गुरुबा–गुरुआमाहरुलाई जिम्मा ।’
ट्रेलरको लिंक सेयर गर्दै उनले मूल्यांकनको जिम्मा दर्शकलाई छोडेका हुन् । गुरुबा–गुरुमा दर्शकलाई भनेका हुन् ।
डेब्यू फिल्म ‘१०० कडा १०’लाई लिएर मनोज निकै उत्साहित छन् । उनले ट्रेलर रिलिजको उल्टो काउन्टडाउन फेसबुकमा सेयर गर्दै आएका थिए । ट्रेलर रिलिजको स्थान, समय उनले फेसबुकबाटै जानकारी दिँदै त्यहीँ भेट्ने बाचा गर्दै आएका थिए । कार्यक्रम सुरु भयो । सबै कलाकार तथा निर्माता निर्देशक कार्यक्रम स्थलमा भेला भए । कार्यक्रम पनि सुरु भयो । तर तिनै मनोजको भने अत्तोपत्तो थिएन ।
जानकारी दिइयो, मनोज काठमाडौंमै थिएनन् । विराट एक्स्पोमा विराटनगर गएका मनोज उतै थिए । भलै कार्यक्रममै अनुपस्थित हुने उनको योजना भने थिएन । मनोज भन्छन्, “साढे १० बजेको श्री एयरबाट टिकट थियो तर २५ मिनेटमा आउँछ, आउँछ भन्दाभन्दै डिले भएर साढे १ बज्यो । त्रिभुवन विमानस्थलमा ओर्लिएर राइजिङ मल जाँदा गौशाला र कमलादीको आधी घण्टाको जाम छिचोलेर राइजिङ मल पुग्दा कार्यक्रम सकिसकेको थियो ।”
चलचित्र ‘१०० कडा १०’ भ्रष्टाचारको कथा बोेकेको चलचित्र हो । भ्रष्टाचार विरुद्धको अभियानका रुपमा चलचित्रलाई निर्माता तथा निर्देशकले चलचित्रलाई दाबी गर्दै आएका छन् । दशकौं अभिनयमा बिताइसकेका हास्य कलाकार राजाराम पौडेलले पहिलोपटक यो चलचित्रमा लगानी गरेका छन् ।
“धेरै वर्ष सयौं चलचित्रमा काम गरेँ तर मैले देशका लागि के दिएँ भन्ने लाग्यो र मैले भ्रष्टाचार विरुद्धको अभियानका रुपमा यो चलचित्र बनाउँछु भनेर लगानी गरेको हो,” राजाराम पौडेल भन्छन्, “हुन त लगानी गरिसकेपछि व्यापारिक दृष्टिकोणले पनि हेरिन्छ तर यो चलचित्रले व्यापार नगरे पनि केही छैन । भ्रष्टाचारविरुद्ध सन्देश दिन सक्यो भने हामी त्यसमै सन्तुष्ट हुनेछौं ।”
यता, मनोज भने भ्रष्टाचारविरुद्धको अभियानकै रुपमा यो चलचित्रले काम गर्न नसके पनि भ्रष्टाचार गर्न हुँदैन रहेछ भन्ने सन्देश दिन सके त्यो पनि उपलब्धी हुने बताउँछन् । “भ्रष्टाचार चलचित्रले निमिट्यान्न बनाउन सक्तैन तर न्यून गराउन सक्छ,” उनी भन्छन्, “भ्रष्टाचार भनेको गैरकानुनी हिसाबले पैसा लिनुमात्रै होइन, आचरण र व्यवहारमा पनि भ्रष्टाचार हुन्छ । आचरणमा परिवर्तन ल्याउन यो चलचित्रले भूमिका खेल्न सक्छ ।”
रामशरण पाठकको कथा तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–२’ मनोजले हेरेका थिए । बर्मामा रहेका नेपालीभाषी नेपालीसँग जोडिएको चलचित्रको कथाले मनोजको मन छोयो । उनले यो विषयले छोएको लेखे । रामशरण पाठकले मनोजलाई खोजे । दुई जनाको भेट भयो । मनोजले नेपालीभाषी नेपाली जो विदेशमा बस्न सक्तैनन्, उनीहरुका बारेमा केही गर्न आफूलाई मन लागेको बताए । त्यहीँबाट सुरु भएको मनोज र रामशरणको भेट बाक्लियो । रामशरणले ‘१०० कडा १०’को कथा लेखे । त्यसको विषय मनोजलाई मन पर्यो । अफर गरे रामशरणले । मनोजले ‘ओके’ गरे । र, यही चलचित्र मनोजको डेब्यू चलचित्र बन्यो ।
चलचित्रमा हास्यव्यङ्ग्य नै बिक्री भइरहेका बेला उनलाई थुप्रै अफर आए । तर उनले ती अफर स्वीकारेनन् । कारण थियो– उनले कमेडीमा, युट्युबमा, फेसबुकमा, ब्लगमा जे भनिरहेका छन्, वास्तविक जिन्दगीमा पनि त्यस्तै हुनुपर्छ । मनोज भन्छन्, “कति सक्छु म त्यो प्रयास गर्छु । यस्ता कुरामा मेरै मात्रै हुँदैन । सामाजिक, आर्थिक, सांस्कृतिक कारणले पनि प्रभाव पार्छ । व्यवहारिक कुराहरु जोडिएर आउँछन् तर मेरो व्यक्तिगत प्रयास भने समानतामै रहन्छ । चलचित्र ‘१०० कडा १०’मा एन्टिकरप्सनको कथा छ । कमेडियनको व्यक्तिगत जीवन पर्दाबाहिर कस्तो हुन्छ, त्यो यो चलचित्रमा छ । त्यसैले यो कथा मेरो व्यक्तिगत जीवनसँग पनि जोडिएको छ । त्यसैले मलाई कथा मन पर्यो र काम गरेँ ।”