टुक्राटाक्रीमा पोखिएको मनको बह

डा. पुण्यसागर मरहट्टा

यदाकदा मेरा लेखहरु लेखांशका संयोजनजस्ता मात्र देखिन्छन् । किनभने लेखन मेरो पेसा होइन सोख मात्र हो । सोख पूरा गर्न फुर्सद निकाल्नु पर्छ । म जुन देशमा बसेर आफ्नो दुनो सोझ्याउँदैछु त्यस देशमा फुर्सद आफैँले निकाल्नु पर्छ, फोकटमा उपलब्ध हुँदैन । त्यसैले कुथुंग्री गाँसेर कथा बनाए झैं टुक्रे लेखांश गाँसेर लेख  बनाउछु अचेल म । केही ईश्वरतुल्य पाठक छन् ती मलाई लेख्न हौस्याइरहन्छन् । तिनै ईश्वरका नाममा यो लेख समर्पित छ । किनभने उत्तर अमेरिकामा अहिले कमोबेस फुर्सद छ । 
लेखांश – १  भाषा, बुझाइ र सांस्कृतिक अन्तरघुलन
कुनैपनि भाषाले, संस्कृतिले विषयलाई आफ्नो बुझाइतिर तान्ने गर्छ ।
करिब ७ वर्षअघि मोटरको पछाडि कार सिटमा बसेकी ३ वर्षकी मेरी छोरी एक्कासी ‘‘ठूल्बाउ’’ भनेर चिच्याई । सय किलोमिटरप्रति घन्टा कुदेको गाडीको झ्यालबाट हजार माइल परका ‘ठूल्बाउ’ कसरी देखी होली भन्ने लाग्यो । पाँच पटक सम्म खोर्याउँदा समेत नबुझेर बहिनीसँगै बसेको उसैको दाजुलाई सोधेँ । सहजै उसले भन्यो – ‘‘ ‘टु लाउड’ भनेकी हो, म्युजिकको भोल्युम अली सानो बनाइदिस्यो रे !’’

आज पर्यन्त यो क्रिसमस सिजनमा बज्ने गीत अँग्रेजीमात्र हुन्छ जस्तो लाग्थ्यो । त्यसैले अंग्रेजीमा ‘पुलिस न्याव माइ ड्याड्’ भन्ने गीत गुनगुनाउने गर्थें । भरे त स्पेनिसमा ‘फेलिस नाविदाद’ पो भनेका रहेछन् । त्यही अहिले १० वर्ष पुगेकी छोरीले सिकाई ।

उत्तर अमेरिकामा बसेका हामीलाई अहिले चाडबाडको मौसम छ । अहिले टाढा पुगेका परिवारका सदस्य घर आउँछन्, भेटघाट हुन्छ, घुमघाम हुन्छ, रामरमाइलो गरिन्छ । तर, यसको अर्थ आफ्नो ‘स्व’ भुली पाश्चात्य ‘सर्वस्व’ अंगाल्यो भनेर सशंकित हुने वा खिसिट्युरी गर्ने नवकठमुल्लावादीहरु के बुझदैनन् भने हिन्दू सनातनी हुनु भनेकै ‘सर्वधर्म समभाव’को अनुयायी हुनु हो ।

मेरो हिन्दुत्व तबसम्म मसँग रहन्छ जबसम्म म त्यसलाई पालन गरिरहन्छु । रह्यो कुरो, क्रिसमस मनाउने कुरा मैले क्यानाडामा भेटेका मेरा ख्रिस्तान सहकर्मीहरु, मसँगै फुटबल खेल्ने गोराहरु वा मैले चिनेका छिमेकीहरु, जतिलाई हिउँदे बिदाका योजना  बारेमा सोध्छु, जबाफ एकै रहन्छ – घुम्ने, परिवारसँग भेटघाट गर्ने, मीठो परिकार बनाएर खाने । सयकडा १० ले पनि चर्च जाने कुरा गर्दैनन् । तसर्थ, क्रिसमस सिजनले धार्मिक कलेबर त्यागी सांस्कृतिक चोला पहिरिसकेको छ । जसरी नेपालमा दसैं सांस्कृतिक पर्व भयो । दसैं मनाउन हिन्दु हुनै पर्दैन वा भारतमा होली दिवाली जुन अरु धर्मावलम्बीले समेत उत्तिकै उल्लासले मनाउँछन् । छीःछीः दूरदूर गर्नु वा असंलग्न रहनुजस्तै वातावरणमा घुलनशील हुनु व्यक्तिगत स्वतन्त्रताभन्दा पृथक हो र ? 

एउटा अचुक ज्ञान – जति कठोर बन्न खोज्छन् सनातनीहरु, उती नक्कली प्वांख टाँसेका खुइले मजूरजस्ता देखिन्छन् । र, अन्त्यमा यो तथ्य यहाँ नेर प्रस्तुत नगरे लेखांश अपुरो रहला । बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर उत्तरी अमेरिका आइपुगेका सजातीय, सवर्णी एक भुटानी भाइले मीठो तरिकाले सुझाए – बाउबाजेले नेपाली संस्कृति त मजैले माने, जोगाए । दसैंको टिको महेन्द्र राजाको फोटोमा लगाएर सुरु पनि गरे । त्यही भाँजी पर्ला भन्ने बुझेनन् । भोटे राजाले त्यहीँनेर मन दुखायो र त हामीलाई खेदायो । त्यसैले, अचेल हामी त आफ्नो नछोड्नु तर वल्तिर पल्तिर के मान्दा रहेछन् भन्ने हेर्नसमेत नचुक्नु भन्ने पो गरेका छौँ त दाजु ! 
लेखांश – २  नाम, बदनाम अनि गुमनाम 
अलिअघि एक भाइले सोधे – त्यत्रो पेसागत उचाइ हासिल गरिसक्नु भएको हजुर किन देश छोडेर हिँड्नु भयो ? मैले भने – गुमनाम मर्न तयार थिएँ, बदनाम मर्न चाहन्नथेँ, त्यसैले ।

जसरी एकपछि अर्काे काण्डमा प्राविधिज्ञहरु लतारिएका छन्, त्यसले बसिरहेको भए मेरो बदनाम हुनसक्ने सम्भावनालाई नकार्दैन । किनभने पेसा त्यस्तै हो जहाँ समाजले नदेखेको सिर्जना गरेर देखाउने कर्म गरिन्छ, जुन सदृश हुन्छ । जहाँ सर्जकले आफ्नो विद्या, बुद्धि औ विवेक प्रयोग गरेर समाजोपयोगी ठानी कुनै सिर्जना गर्छ ।

इंजिनियरिङलगायतका प्राविधिक पेसालाई बदनाम गर्न कोसिस हिजो पनि गरेकै थिए, कोसिस भोलि पनि गर्ने नै छन् । एकाध बदनाम इंजिनियरका कारण सबै प्राविधिकलाई एकै थलोमा थला पार्ने प्रत्युत्पन्नमति सोच रहुन्जेल समृद्धि लिंगोमा त टांगिएला, समाजमा कसरी झाँगीएला ?

सिक्टाको छीटा त अदालतले धोइदेला, त्यसपछि बस्ने डाम नि ? त्यो डामले बदनाम बनेर आजन्म लखेटिरहनेछ । अघिल्लो कुनै लेखमा लेखेको पनि थिएँ – ती जो यस्तो प्रतिकूल अवस्थामा समेत अडेर बसेका छन्, स्तुत्य छन्, तिनै स्तुत्यलाई समेत बिच्काउँछन् । पीडा हुन्छ जब अब्बल योग्यता भएका सहकर्मीहरु निरीह देखिन्छन्, बदनाम गराइन्छन् । जब तिनको बारेमा बदनामीसहितका नानाथरी कुरा सुन्छु । अझ बढी गुमनाम हुन रहर गर्छु ।

चलनचल्तीका भाषामा भगौडा बनेका हामीजस्ताको नेपाललाई गाली गर्ने पित्की भर पनि अधिकार छैन । यो मानिन्छ । तर,  सीमापार बसेर आफ्नो जन्मथलोप्रति चिन्ता व्यक्त गर्नु अपराध हो भन्ने मानिन्न ।  नेपालमा समृद्धि सम्भव छ तर कुर्लेर, डुक्रेर, उफ्रेर होइन, जुटेर, दिन रात एक गरेर, आफ्ना विविधता, सीमा र क्षमतालाई आत्मसात गरेर ।

केही काम गर्यो कि के स्वार्थले मरीमरी काम गरिरहेछ भन्ने कलुषित प्रश्न दिमागमा पालेर कसरी आउला समृद्धि ? जुन देशमा जनताले एउटा निश्चित लक्ष्यप्राप्तिका अपेक्षाका साथ कुनै एक दललाई दुई तिहाइ बहुमत दियो त्यही दलले अभिमतको कदर गर्न सकेको देखिएन । अपजसे निर्णयको स्वामित्व नामसारी गर्ने, जस आउने निर्णयको भने स्वामित्व आफूमै राखिरहने गाउँको फटाहा गुन्डाजस्तो  बन्न मिल्छ केन्द्रीय सरकार ?  यति प्रश्न सोध्नासाथ कालोमोसो घसिमाग्नु पर्ने हदको अपराध गरेँ कि भनी त्राहिमाम हुनुपर्ने !  सके बाहुबलीको मुष्टि स्पर्श गर्न सकिने, भ्रष्टाचारीमा दरिई अख्तियार धाउनुपर्ने वा अझ वृत्ति निषेधसम्म हुनसक्ने भएपछि केही निम्सराहरु भगौडा हुने रहेछन् । ती गुमनाम मर्न रुचाउँदा रहेछन् ।
लेखांश ३ – कांग्रेसको धर्म 
उत्तर अमेरिकी अर्बन प्लानिङ (सहरी योजना) को भाषामा अत्यन्त बेसी प्रयोग हुने एक शव्द छ – ग्रान्डफादर्ड । जसको अर्थ हुन्छ इतिहासदेखि ऐजन ऐजन हुँदै काम चल्दै आएको जीर्ण संरचना । त्यसमा आन्तरिक पुनर्संरचना गर्न ऐन नियमले छेक्दैन तर त्यसको बाह्य आवरण, ओगटाइ (फुट प्रिन्ट) , अग्लाइ – उचाइ आदि आमूल परिवर्तन गर्नु पर्यो भने विद्यमान ऐन नियम लागु हुन्छ । र, त्यस किसिमका परिवर्तनका लागि उक्त जीर्ण संरचना भूतलदेखि नै धूलिसात बनाएर सोही जग्गामा नयाँ संरचना बनाउने गरिन्छ ।

नेपाली कांग्रेस पनि ‘ग्रान्डफादर्ड’ भइरहने कि जीर्ण संरचनालाई भत्काएर इतिहासको जग्गामा विद्यमान परिवेशानुरूपको नयाँ संरचना बनाउने भन्ने बहसमा केन्द्रित रहनुपर्ने हो । सो कठिन बाटोमा हिँड्नुको साटो दक्षप्रजापतिको छागमुख झैँ पश्चगामी चिन्तनमा सम्पूर्ण महासमितिको बैठक केन्द्रित भएको पढ्नु पर्दा असीम पीडा हुँदोरहेछ ।

हिन्दु राज्य र बीपीको सपनामा महामन्त्रीले जुन तादात्म्य पैल्याए त्यसले उनकै पिताजीको आत्मामा दह्रो झापु हानेको हुनुपर्छ । चर्मचक्षुका चिकित्सकले धार्मिक स्वतन्त्रताको निहितार्थ बुझ्न ज्ञानचक्षु खोल्नु पर्छ । प्रभावशाली मानिएकाबाट गानिएको वर्तमान नेपाली कांग्रेसको विनिर्माण तसर्थ अपरिहार्य छ । नत्र, यो ‘भिजन लेस’ धतुरे समूहमा परिवर्तन हुनेछ । स्वांँठहरूको अखाडा हुनेछ र जराजीर्ण हुँदै माटोमा समाहित हुनेछ ।

निर्वाचनलगत्तै मैले नै लेखेको थिएँ कांग्रेस सम्भवतः यसभन्दा जटिल परिस्थितिमा परेको सत्रसालको सनिक कुपछि मात्र हो । धेरै पुरानो कुरो त मैले पनि पढेरै जानेको हुँ । तथापि एउटा तथ्य निर्विवाद छ – छुवाछुत, धार्मिक सहिष्णुता, प्रगतिशील केन्द्रिय समिति त कांग्रेसलाई सिकाउनै पर्दैनथियो ०४६ सालपछि पनि ।

किसुनजी, गणेशमानजी, गिरिजाबाबु, महेन्द्रनारायण नीधि, शेख इद्रिस वाला केन्द्रय समिति होस् कि २०४८को निर्वाचन जित्ने पहिलो दलित उम्मेदवार कृष्ण सिंह परियार । ती कांग्रेस थिए । कांग्रेसले बाटो बिराएको अलि पछि हो । लोभीपापी बढेपछि क्रेज घटेको हो, विरोध गर्ने मूर्धन्यहरुलाई  मन्त्रिपरिषद्बाटै वा केन्द्रीय समितिबाटै हटाइएपछि  कांग्रेस ओरालो लागेको हो ।  अब हिन्दु धर्मको वकालत गरेपछि र त्यसैलाई एजेन्डा बनाएर चुनावमा जाँदा एक चुनाव जित्ला तर त्यसपछि जसरी राजालाई छोडे पशुपतिनाथले, कांग्रेसलाई पनि छोडिदिनेछन् । धर्म निरपेक्षता त काइते शब्द हो, धार्मिक स्वतन्त्रता मानवाधिकार हो, कांग्रेसले त्यो अधिकारको पक्षपोषण गर्नु बेस हुन्छ ।

लेखांश ४ – एक कनिष्ट इन्जिनियरको मृत्यु 

हालसालै एक कनिष्ट इन्जिनियरको हृदय विदारक देहान्त भएछ । अबोध शिशुको बाबु र एक अबलाको लोग्ने हुनुको कर्तव्यबोधले उनको प्राण उत्सर्ग भएछ । निश्चय नै इन्जीनियरिङ सगोलमा यस घटनापछि थप एउटा बहसको प्रारम्भ गरिनुपर्छ । मैले पाएको सीमित सूचना ग्यास सिलिन्डरको विस्फोट र त्यसले निम्त्याएको आगलागीले ती जोशी भाइ, उनकी श्रीमती अप्सरा र १ वर्षे शिशु पोलिएका थिए भन्ने हो । विपद ढोल बजाएर आउँदैन । त्यसका लागि मानव स्वयं जिम्मेवार छौँ । शृंखलागत लापरबाहीका कारण आउँछन् विपद ।

ग्यास सिलिन्डरको र चूल्होको गुणस्तर, आगलागी प्रतिरोधी संरचनाको निर्माण, अग्नि नियन्त्रक साधनको पहुँच र पर्याप्तताजस्ता संरचनागत लापरवाही छन् जुन इन्जीनियरहरुबाट नै बनेका हुन्छन् । ती लापरवाहीको चपेटामा एक इन्जीनियर जोड़ी पिल्सिन्छ । तिनलाई सहयोगका लागि द्रव्य संकलन गरिन्छ । ती या बाँच्छन् या मर्छन् तर शृंखलाबद्ध लापरवाही ज्युँ का त्युँ रहन्छन् । 

उनीहरुको छाता संगठन छ जहाँ चुनाव चिन्ह बेगरको दलीय चुनाव हुन्छ । त्यसका जितुवा र हरुवा दुवैले सगर्व घोषणा गर्छ – म इन्जिनियर त हुँ तर पहिले दलभक्त हुँ । र ताज्जुब लाग्दो कुरो के भने दलको वरिपरि घुम्ने इन्जिनियर नेतो ५ जना देख्नासाथ राजनीतिको गुड्डी हाँक्न सुरु गरिहाल्छ । आजकाल त अझ युट्यूबमा समेत डुक्रिन्छ तर जनजीविकासम्बन्धी ससाना तर दीर्घकालीन असर पुग्ने संरचनागत सुधारको लागि भने सरुवाल भिजाउँछ ।

उपल्लो तहमा पुगेका साँढे इन्जिनियरहरुका कारण न देशले मेलम्ची पाउँछ, न शृंखलाबद्ध लापरवबाहीको अवशान । विचरा पुष्करराज जोशीजस्ता कर्मयोगी इन्जिनियरहरूको देहावशान भैरहन्छ र समवेदनाको एक पृष्ठ ठूलो विज्ञापन नेईएले छापी रहन्छ । सजिलो बाटो यही हो, यही भइरहन्छ ।

सारांशमा,  लामो यात्रा तय गरिँदै छ भने प्रस्थान विन्दुबाट नै सही दिशा समात्नु पर्छ अन्यथा, गन्तव्यमा पुगिँदैन । सायद २०६२ ÷६३ मा समातेको दिशा गलत थियो । यसले हाम्रो समाजलाई बढी एकलकांटे, भीरु, बद्नाम बनाउँदैछ । नेतृत्वदायी संस्थाहरुलाई पतन गराउँदैछ र एउटा कर्तव्यपरायण नयाँ पुस्तालाई स्वदेशमा वा विदेशमा व्यर्थमा मर्न बाध्य बनाइरहेछ । गन्तव्य धुमिल भएको यस घडीमा एउटा प्रश्न घाँटीमा अड्किरहेको छ – के नेपाली समाज गलत गन्तव्य पुग्न  २००७ सालदेखि अनवरत सडकमा ओर्लिएको थियो? त्यो त थिएन ।

प्रतिकृया दिनुहोस
ad