site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
८४ वर्षीय इतिहास
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


मंगलबार राति ९ः२५ बजे पत्रकार ध्रुवहरि अधिकारीले फोन गरे, “नरेशजी, ढिलो त फोन गरिनँ नि ?”

“छैन सर, छैन !”

Prabhu Bank
Agni Group
NIC Asia

“तपाईंहरूको कोलम ‘म पत्रकार’मा गोकुलप्रसाद पोखरेलको स्टोरी आइसक्यो ?”

“छैन सर !”

Global Ime bank

“खोज्दा पनि नभेटेपछि मैले कल गरेको । यदि छैन भने उहाँ पनि तपाईंको कोलमका लागि उपयुक्त पात्र हुुन सक्नुहुन्छ । पत्रकारिताको इतिहास बोकेको एउटा व्यक्ति उहाँ पनि हो ।”

“धन्यवाद सर । म प्रयास गर्छु ।”

“उहाँको नम्बर छ ?”

“छैन सर ।”

उनैले गोकुलको नम्बर म्यासेज गरिदिए । 

र, बुधबार गोकुलसँग भेटको चाँजोपाजो मिल्यो, मध्यबानेश्वरको डाइनिङ क्याफेमा ।

बुधबार बिहान काठमाडौंको तापक्रम १.५ डिग्री सेल्सियस थियो । दिउँसो घाम त थियो तर निकै मधुरो । चिसो स्याँठ चलिरहेको अपरान्ह उनी नीलो सर्टबाहिर कालो ओभरकोट र गलामा गलबन्दी बाँधेको अवस्थामा भेटिए । चिनजान हुनेबित्तिकै गोकुलले क्याफेको रिसेप्सनमा पुगेर मतर्फ औंल्याउँदै भने, “उहाँ पत्रकार, हामीलाई अन्तर्वार्ता गर्नु छ, शान्त ठाउँ चाहियो ।”

हामी स्टाफको पछिपछि लाग्यौं । डाइनिङ नम्बर–४ लेखिएको कोठा खोल्दिइन् । अनुहारमा मुजा परे पनि गोकुल १६ वर्षे तन्नेरीभन्दा कम जोशिला देखिएका थिएनन् ।

“भाइ, के खानुहुन्छ ? चिया, कफी ?”

मैले एउटा क्यापुचिनो मगाएँ । उनले दूधको चिया मगाए ।

“ध्रुवजीले तपाईंको नाम रेफर गर्नुभएको थियो । ‘बाह्रखरी’भन्दा अगाडि कहाँ काम गर्नुहुन्थ्यो ?” उनले सोधे ।

“स्टार एफएममा चार वर्ष, कारोबार दैनिक अढाई वर्ष । पत्रकारिताको कखराचाहिँ रेडियो नेपालमा इन्टर्नसिप गर्दा चिन्ने अवसर पाएँ । पाँच वर्ष एउटा एनजीओको सामाजिक कार्यक्रम उत्पादन पनि गरें । तर, त्यसमा म एक्लै थिइनँ,” मैले खरर आफ्नो परिचय दिएँ ।

“ए ! ल यति भए भयो । तपाईं प्रोफेसनल पत्रकार हुनुहुँदो रहेछ भन्ने थाहा भयो । अब तपाईंसँग बोल्दा फरक पर्दैन,” उनले सोधे, “बाह्रखरी कसको हो रे ?”

“प्रतीक प्रधानको ।”

“ए ! ल ठीक छ । उहाँलाई चिन्छु । परशु प्रधानका छोरा । जागिरेसँगै साहित्यकार पनि हो परशु प्रधान,” उनले भने, “ल, कुरा शुरु गरौं ।”

त्यसपछि गोकुलले आफू जन्मिएदेखि आजसम्मको कथा सुनाए । ध्रुवहरिले उनलाई पत्रकारिताका इतिहास त्यसै भनेका होइन रहेछन् ।

० ० ०

बुवा छविलाल पोखरेल बनारसबाट संस्कृत पढेर आएपछि सामाजिक अभियन्ता भए । त्यो पनि क्रान्तिकारी । दलित समुदायका मान्छेलाई मान्छेसरह व्यवहार नगर्ने समयमा छविलालले दलित समुदायलाई पनि पढाउनुपर्छ भनेर अभियानै चलाए । पत्रकार कसमस विश्वकर्माका बुवा तुलाराम विश्वकर्मा, हीरालाल विश्वकर्मालगायतहरू छविलालको अभियानकै कारण पढ्न पाएको शताब्दीअघिको कुरा गोकुलले शुरुमै सुनाए ।

गोकुल वि.सं. १९९३ मा धनकुटामा जन्मिए । बुवा आफैं शैक्षिक तथा सामाजिक अभियान्ता भएकाले छोरालाई नपढाउने कुरै थिएन । धरान झरेर गोकुलले म्याट्रिकसम्म पढे । बनारस गएर विसं. २००९ मा म्याट्रिकको परीक्षा दिए ।

बनारसमै पढेर साइन्समा इन्टर पास गरे । साइन्सको विद्यार्थीले मेडिकल साइन्सलाई करिअर बनाउने आम प्रचलन थियो । तर, गोकुलले राम्रो अंक ल्याउन सकेनन् । त्यतातर्फको बाटै बन्द भयो । इलाहाबाद युनिभर्सिटीमा पुगेर बीएसी पढे । त्यसपछि उनले भारत छोडे ।

काठमाडौं आएर बीए/बीएल पढे । पढाइको भोक मरेन । २०१८ मा अंग्रेजी साहित्य लिएर स्नातकोत्तर सके ।

त्योबेला अहिलेजस्तो शैक्षिक बेरोजगारको संख्या अधिक थिएन । त्यसमाथि अंग्रेजी र नेपाली दुबै भाषामा निपूर्ण गोकुललाई जागिर खान कसैसँग दश औंला जोड्नु परेन । उनले आफ्नो जिन्दगीको यात्रामा जति पनि काम गरे, सधैं खुला प्रतिस्पर्धाबाटै सेवा प्रवेश गरे ।

पढ्नुपर्छ भन्ने थियो, पढे । निम्न तथा मध्यमवर्गीय परिवारका युुवायुवतीलाई शायद सपना देख्ने फुर्सद हुँदैन, गोकुलले पनि भोलिको सपना देखेनन् । सपनाको रंगीन गोरेटो कहिल्यै कोरेनन् ।

एकसरो एकेडेमिक कोर्स सके । मध्यमवर्गीय परिवार, सुखसयलको जिन्दगी सम्भव थिएन । पढेलेखेपछि खान नपाई मर्दैनन् भन्ने भनाइ त्यहीबेलादेखिकै उक्ति हो । परिवारले पढाइदियो, जिम्मेवारी सकियो । पालो आयो जागिर खाने । जुन विज्ञापन देख्यो, त्यसमै दौडिनु पथ्र्यो ।

सरकारी लगानीमा ‘राष्ट्रिय समाचार समिति (रासस)’ भर्खरै शुरु भएको थियो । ०१९ सालको एक बिहान ‘गोरखापत्र’ दैनिकमा गोकुलले ‘रासस’का लागि उप–सम्पादकको आवेदन आह्वान गरिएको विज्ञापन देखे । आवेदन दिए । लिखित तथा अन्तर्वार्ता भयो । १ नम्बरमा नाम निस्कियो । त्यो पत्रकारितातर्फको पहिलो कदम थियो ।

एक वर्षकै अन्तरालमा गोकुलले सपनामा पनि नेदेखेको उपलब्धि आइपुग्यो । तत्कालीन प्रधानसम्पादक तथा महाप्रबन्धक रामराज पौडेल सरुवा भए । उनको ठाउँमा गोकुल बढुवा भए । उनकै शब्दमा ‘अनपेक्षित उपलब्धि’ थियो त्यो ।

२६ वर्षको उमेरमा गोकुल ‘रासस’को प्रधानसम्पादक तथा महाप्रबन्धक भए । आलोकाँचो त्यो उमेरमा गोकुललाई न प्रधानसम्पादक पदको गरिमा थाहा थियो न महाप्रबन्धकको । तर, अनायासै भए पनि आएको जिम्मेवारी सम्हाल्नु पर्‍यो ।

“मलाई त्यो पदको गरिमा र महत्व थाहा थिएन । काम गर्ने, काम गर्ने अनि काम गर्ने । त्यही थियो मेरो दैनिकी,” गोकुल सम्झन्छन्, “प्रधान सम्पादकको जुन ओज हुन्थ्यो, त्यो मलाई कत्ति थाहा थिएन ।”

त्यही बेला युनेस्कोको फेलोसिप ‘रासस’ आइपुग्यो । त्यही फेलोसिपको फेरो समातेर गोकुल युरोप पुगे, जहाँ उनले पत्रकारिताको सिद्धान्त र व्यवहारिक पक्ष बुझे, सिके । पत्रकारिताको मर्यादा र गरिमा बुझे । त्यही बेला हो उनले प्रधानसम्पादक पदको ओज बुझेको ।

लन्डन पुगे । वेल्समा पुगेर थमसन फाउन्डेसनमा तीन महिना पत्रकारिता अध्ययन गरे । समाचार समितिहरूले कसरी समाचार उत्पादन र वितरण गर्दा रहेछन् भनेर अध्ययन गर्न समाचार समिति ‘रोयटर्स’ पुगे । डेनमार्कको स्थानीय न्युज एजेन्सी ‘रिज्यो’ पुगेर अध्ययन गरे ।

त्यही बेला नेपाल सरकार र फ्रान्स सरकारबीच एउटा सम्झौता भयो । फ्रान्सको समाचार समिति ‘एएफपी’ र नेपाल सरकारबीच भएको करार सम्झौताअनुसार गोकुललाई त्यहाँ बसेर ६ महिना अध्ययन गर्ने मौका मिल्यो ।

उनी फ्रान्सबाट भारत आइपुगे । भारतीय सरकारी समाचार समिति ‘प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)’ले कसरी ‘न्युज अपरेसन’ गर्छ, त्यसको विधि र प्रक्रियाको अध्ययन गरे । एक हप्ता दिल्ली बसे, एक हप्ता मुम्बई बसे ।

प्रधानसम्पादकबाट घटुवा

करिब एक वर्ष युरोप बसेर पत्रकारिताको व्यवहारिक र सैद्धान्तिक शिक्षा लिई काठमाडौं फर्किंदा यहाँ अर्कै खिचडी पाकिसकेको थियो । प्रधानसम्पादक र महाप्रबन्धक रहेका गोकुलका ठाउँमा अर्कैलाई नियुक्ति दिइसकिएको थियो ।

उनीसँगै दोस्रो नम्बरमा नाम निकालेका गोविन्द प्रधानलाई प्रधानसम्पादक र महाप्रबन्धक बनाएर गोकुललाई दोस्रो नम्बरमा झारिएको थियो ।

जुन समय प्रधानसम्पादक र महाप्रबन्धकको गरिमा थाहा थिएन, त्यो बेला जिम्मेवारी पाएका गोकुलले ‘रोयटर्स’, ‘एफएफपी’, ‘रोज्यो’, ‘पीटीआई’, ‘थमसन फाउन्डेसन’ पुगेर समाचार लेखनको सूत्र पढेर फर्किएपछि जिम्मेवारी खोसियो । यो विरोधाभास उनले त्यतिबेला कसैगरी बुझ्न सकेनन् ।

कारण दिइयो, “तपाईं लामो समय नभएका कारण कार्यकारी पद खाली राख्न नहुने भएका कारण दोस्रो व्यक्तिलाई जिम्मेवारी दिइएको हो ।”

गोकुललाई आफूले काम लगाएको व्यक्तिको मुनि बसेर काम गर्न स्वाभिमानले दिएन । त्यही बेला ‘गोरखापत्र संस्थान’बाट अंग्रेजी दैनिक पत्रिका ‘राइजिङ नेपाल’ निस्किने तयारी थियो । गोकुलले त्यसमै सर्ने इच्छा जाहेर गरे ।

\"\"

‘रासस’बाट ‘राइजिङ नेपाल’

सञ्चार मन्त्रालयले गोकुलसँग अंग्रेजी भाषामा एउटा जाँच लिने भयो । ‘रासस’ बसेर नेपाली भाषामा काम गरिरहेकाले अंग्रेजीमा काम गर्न सक्छन्÷सक्दैनन् भन्नेमा सञ्चार मन्त्रालयलाई शंका थियो । गोकुलले स्वीकार गरे ।

“त्यही हप्ता क्षेत्रपाटीमा मेरो विवाह भएको थियो । विवाह भएकै हप्ता मैले एउटा फिचर लेखेर सञ्चार मन्त्रालयमा पठाएँ । मेरो अंग्रेजी भाषा राम्रो थियो । पहिलो दिनबाटै एसोसिएट एडिटर भएर राइजिङ नेपालमा काम गर्न थालें,” गोकुल त्यो बेला कर्मचारीतन्त्रमा रहेको ‘छक्का पञ्जा’ सम्झिन्छन्, जुन अहिले पनि उस्तै छ ।

पत्रकारिता जति ‘ग्ल्यामरस’ देखिन्छ, त्यति जोखिमपूर्ण र कठिन पनि । समाचारका लागि हरेक दिन पत्रकारले संघर्ष गर्नुपर्छ । त्यो आफ्नो कालखण्डमा गोकुलले पनि गरे । पत्रकार थोरै थिए । समाचार लेख्नुपर्ने विषय धेरै । एक्लै दैनिक ५–६ वटासम्म कार्यक्रमको समाचार लेख्थे गोकुल । भन्छन्, “द्याट वाज अ फेन्टास्टिक मोमेन्ट ।”

समाचार त लेख्थे तर त्यो बेला अहिलेको जस्तो सजिलो थिएन बाइलाइन पाउन । बाइलाइन आउन कि राजाको भ्रमणबारे समाचार हुनुपथ्र्यो, कि विदेशमा हुने सभा–सम्मेलनमा गएर लेखेको समाचार । काम शुरु गरेको ६ महिना, वर्ष दिनपछि बल्ल पहिलो बाइलाइन समाचार आउने गरेको आफ्नो कालखण्ड सम्झिन्छन् गोकुल ।

अंग्रेजी पत्रिका, अंग्रेजीमै समाचार लेख्नुपथ्र्यो । पत्रकार थोरै, त्यसमा पनि भाषामा दक्षता कमैमा हुन्थ्यो । त्यसैले अबेर रातिसम्म बसेर काम गर्नुपथ्र्यो । घरपरिवारले ‘रातिसम्म बसेर काम गर्नुपर्ने ?’ भन्दै असन्तुष्टि जनाउँथ्यो । गोकुललाई बुवाले भनेको याद छ, “अबेर साँझसम्म बसेर गर्ने कामभन्दा अरू नै कुनै काम गरे हुँदैन ?”

उनले सुनेको नसुन्यै गरिदिन्थे ।

‘राइजिङ नेपाल’बाट ‘गोरखापत्र’

६ वर्षपछि २०३० मा ‘राइजिङ नेपाल’बाट उनी ‘गोरखापत्र’ दैनिक सारिए । जिन्दगीमा थुप्रै संक्रमणकाल अनुभव गरे गोकुलले । इमान्दार व्यक्तित्व थियो । काममा लगन र दक्षता थियो । भाषामा पोख्त थिए । तर, त्यसको कदर कहाँ पो हुन्छ र सबै ठाउँमा !

०३० पुस १ गते तत्कालीन राजा महेन्द्रको फोटो ‘गोरखापत्र’मा छापियो तर ‘राइजिङ नेपाल’मा छापिएन भन्ने कारण देखाएर गोकुललाई ‘गोरखापत्र’ सारियो । सार्नुको नियत ‘अंग्रेजीमा लेख्ने व्यक्तिले नेपालीमा लेख्न सक्दैन’ भन्ने थियो । गोकुल सम्झिन्छन्, “अंग्रेजीमा लेखिरहेको गोकुलले नेपाली लेख्न सक्दैन भनेर अफवाह फैलाइयो । तर, संस्कृतको पृष्ठभूमि भएकाले मलाई नेपाली भाषामा पनि समस्या थिएन । मैले नेपालीमा पनि आफू अब्बल रहेको प्रमाणित गरें ।”

सवाल–जवाफ नगर्ने राजा वीरेन्द्र

राजाहरू क्षेत्रीय भ्रमणमा निस्किरहन्थे । उनलाई पनि राजाको भ्रमण क्याबिनेटमा बसेर काम गर्न रहर लाग्यो । उपाय लगाए । उनी राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणअन्तर्गत जाँचबुझ केन्द्रको अधिकृत भएर काजमा खटिए । भ्रमणको चाँजोपाँजो मिलाउनेदेखि राजालाई स्थानीयका माग, अवस्था र विकासबारे बिफ्रिङ गर्नुपर्ने जिम्मेवारी थियो ।

गोकुलले तीन वर्ष जाँचबुझ केन्द्रमा काम गरे । वीरेन्द्रसँगै थुप्रै ठाउँ हेलिकप्टर चढेर घुमे । वीरेन्द्रबारे उनी भन्छन्, “राजा वीरेन्द्रलाई हामी स्थानीय वस्तुस्थितिबारे ब्रिफ गथ्र्यौं । उनी सवाल–जवाफ गर्ने स्वभावका थिएनन् । हामी बोल्दा उनी खुब ध्यान दिएर सुन्थे । टाउको हल्लाइरहन्थे तर सवाल–जवाफ कम गर्थे । तर, ही वाज अ भेरी शार्प अब्जर्भर ।”

गोकुलका अनुसार नेपालको विकासमा निकै गहिरो चासो राख्थे वीरेन्द्र । उनीहरू समस्याहरू बताइदिन्थे । वीरेन्द्र गम्भीर भएर सुन्थे । जनताका समस्या समाधान होऊन् भन्ने चाहना राख्थे । तर, समस्याहरू यति ठूला हुन्थे कि ती तत्काल पूरा हुने खालकै हुँदैनथे ।

०३२ सालमा नेपालगन्ज–जुम्ला सडक (२०५ किलोमिटर) निर्माणका लागि वीरेन्द्रले आदेश दिए तर दुई दशक लाग्यो त्यो सडक बन्न ।

तुरुन्त गर्न सकिने कामहरू वीरेन्द्रले त्यहीँ गर्न आदेश दिन्थे । लामो समय लाग्ने कामहरू पनि हुन्थे । गोकुल त्यसलाई यसरी सम्झन्छन्, “बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना अहिले पनि त्यही चरणमा छन् ।”

‘गोरखापत्र’को सम्पादक

०३६ मा उनी ‘गोरखापत्र’को सम्पादक भए । त्यो बेला भारतदत्त कोइराला ‘गोरखापत्र संस्थान’का महाप्रबन्धक थिए । सम्पादकको रूपमा काम गरेको चार वर्ष भएको थियो ।

चिनियाँ राष्ट्रपति नेपाल आए । चिनियाँ राष्ट्रपति नेपाल आएकै दिन ‘गोरखापत्र’मा संग्रहालयसम्बन्धी समाचार भित्री पृष्ठमा छापियो । समाचार थियो, “गोरखालीहरूले दुई सय वर्ष अगाडि लडाइँमा चीनको तिब्बतबाट लुटेर ल्याएको छालाको तोप म्युजियममा छ ।” 

सरकारले चिनियाँ रनष्ट्रपति नेपाल आएकै दिन यस्तो समाचार छापिनु सुनुयोजित हो भन्ने अर्थ लगायो । यद्यपि त्यो समाचार छापिएको गोकुललाई नै थाहा थिएन ।

“वास्तवमा पछि हेर्दा त्यो तोप म्युजियममा रहेछ पनि । त्यो समाचार पढेर धेरै हाँसें पनि । त्यही विषयलाई लिएर चार जनासहित मलाई निलम्बन गरियो,” गोकुल सुनाउँछन्, “म दुई महिनाका लागि निलम्बित भएँ । म आफैं शक्ड थिएँ ।” पत्रकारिता करिअरमा गोकुलले भोगेका विभिन्न कटु अनुभवमध्येको त्यो पनि एक थियो ।

‘एनपीआई’को स्थापना

सरकारी सञ्चारमाध्यममा काम गर्दा पटकपटक भोग्नुपरेको तीतो अनुभवले उनलाई लाग्यो— सरकारनियन्त्रित सञ्चारमाध्यममा इमान्दार भएर काम गर्न त्यति सहज छैन, जति बाहिरबाट हेर्दा देखिन्छ । पत्रकारले जे देख्छ, सरकारनियन्त्रित सञ्चार संस्थामा त्यो लेख्न पनि त्यति सहज छैन ।

देशमै लामो समय काम गरेको अनुभव, विभिन्न समयमा विदेश गएर लिएको तालिम, थोरबहुत देखेको तथा गरेको सीपलाई उपभोग कसरी गर्न सकिएला ? यो प्रश्नले बारम्बार उनलाई हिर्काइरह्यो ।

परिणाम ?

उनले आफ्नै सक्रियता र पहलमा भारतदत्त कोइरालालगायत केही समकालीनलाई लिएर ०४१ सालमा व्यावसायिक पत्रकारिताको तालिम दिने संस्था ‘नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)’ स्थापना गरे ।

“म आफैंले १० महिने तालिम डिजाइन गरें । आफैंले कोर्स अफ स्टडी तयार पारें । सरकारी र निजी दुबै क्षेत्रका पत्रकारको साझा संस्था बनाउने ध्येयले गोपालदास श्रेष्ठलाई अध्यक्षमा प्रपोज गरें, उहाँले मान्नुभयो । भारतदत्त, गोविन्द वियोगी, मलगायतको ८ सदस्यीय बोर्ड बनाएर एनपीआई सञ्चालनमा ल्यायौं,” गोकुल ‘फ्ल्यासब्याक’मा जान्छन्, “इच्छाशक्ति शायद बलियो थियो हामीसँग । शून्य पुँजीमा संस्था स्थापना भयो ।”

बेलायतमा पढेको र तालिम लिएको अनुभवका आधारमा ‘कोर्स अफ स्टडी’ बनाएका गोकुलले साँझको समयमा कक्षा चलाउन रत्नराज्यलक्ष्मी क्याम्पससँग एउटा कोठा मागे । कलेजले दियो । विज्ञापन गरे । ११० जनाले फर्म भरे । १० रुपैयाँ फर्मको शुल्क थियो । ११ सय रुपैयाँ ‘एनपीआई’को पुँजी भयो । त्यसबाटै सानोतिनो खर्च चलाए । महिनाको ३० रुपैयाँ शुल्क उठाए ।

‘एनपीआई’को अध्यक्ष को र सचिव कसलाई दिने भन्नेमा हानाथाप थिएन । जो फुर्सद छ, त्यही अघि सथ्र्यो । ‘एनपीआई’को कोर्स लोकप्रिय हुँदै गयो । तालिममा कोटा पाउन निकै सकस थियो विद्यार्थी र पत्रकारलाई ।

\"\"

गोकुलले ‘गोरखापत्र’को जागिर ०४८ मा छोडिसकेका थिए । समाजसेवा गरेरमात्रै जीवन चल्दैनथ्यो । त्यसैले उनी रोनास्ट (रोयल नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी)को निर्देशक भएर गए । त्यो बेला भारतदत्तले ‘एनपीआई’ सम्हाले । उनले अन्तर्राष्ट्रिय सम्बन्ध बढाए । दाताहरू ल्याए । ‘एनपीआई’लाई अगाडि बढाए ।

“डेनिस सहायता मिसन नेपाल आउने भयो । त्यसका लागि ५८ पेज लामो प्रपोजल लेखें, अल इन इंगलिस (बीचबीचमा अंग्रेजी बोल्छन् गोकुल । र, त्यो निकै मीठासपूर्ण लाग्छ) । डेनिस मिसनले पछि त्यही प्रपोजल हुबहु स्वीकार गर्‍यो । त्यसले नेपालमा सहायता विकास कोष सञ्चालन गर्ने भयो । त्यो कोष एनपीआईले नै लिइदियोस् भन्ने डेनिस मिसनको चाहना थियो । तर सबै कार्यक्रम एनपीआईले नै सञ्चालन गर्नु राम्रो होइन भनेर हामीले त्यो कार्यक्रम प्रेस काउन्सिललाई दिने निर्णय गर्‍यौं,” गोकुल सम्झन्छन्, “अहिले पनि प्रेस काउन्सिलले त्यो कार्यक्रम चलाउँदै छ । ३ करोडको बास्केट फन्ड छ । त्यो हाम्रै बौद्धिक क्षमता र सीपको उपज हो । लाभ र हानि के हो ? केही नभनी मिडियाको विकासका लागि भनेर भारतदत्त र मैले मिडियाको क्षेत्रमा सेवा गर्‍यौं ।”

पैसा होइन, सन्तुष्टि

‘रासस’मा काम शुरु गर्दा गोकुलको तलब ३ सय रुपैयाँ थियो । ‘राइजिङ नेपाल’मा पुग्दा ७ सय रुपैयाँ भयो । उनी त सरकारी सञ्चारमाध्यममा थिए । सरकारी तलब स्केल थियो । पछि निजी सञ्चारमाध्यम पनि खुल्दै गए । प्रकाशनमात्रै होइन, प्रसारण माध्यम पनि आए । अहिले सञ्चार डिजिटल युगमा आइपुगेको छ । प्रतिस्पर्धा चर्को छ । सेवा–सुविधाका विषयमा बेलाबेला कुरा उठिरहन्छ । गोकुल भन्छन्, “पत्रकारिताले पैसा दिँदैन । यसले त देश–विदेश घुमाउँछ । इज्जत र सम्मान दिन्छ । मैले मेरो समयमा पनि त्यो अनुभव गरें । देशदेशावर घुमें । २३ वटा त देश गएँ । त्यहाँको जनजीवन बुझ्ने मौका पाएँ । त्यही अनुभवलाई सँगालेर प्रशन्न चित्त भएर बसेको छु अहिले पनि म,” ८४ वर्षको अनुहारमा प्रशन्ताका सूचक प्रष्टै देखिन्छन् ।

दमनकारी पञ्चयाती शासन थियो । सत्ता र सरकारको विरोध गर्न निषेध गरिएको समय थियो त्यो । त्यसमा पनि सरकारी सञ्चारमाध्यममा बसेर काम गर्दा सरकारको विपक्षमा कलम चलाउन प्रतिबन्ध थियो ।

तर, पनि चित्त नबुझेका कुरा गोकुल उठाइरहन्थे । जनहितमा नरहेका कुरा पत्रकारितामार्फत बाहिर आउनुपर्छ भन्ने उनको धारणा थियो । त्यो उनको कलममा झल्किन्थ्यो पनि । उनले युरोप गएर सिकेको पनि त्यही थियो । दरबारले भनेका कुराको विरोधमा पनि जान खोज्थे, जतिबेला त्यो असम्भव थियो । परिणाम— उनी कहिले घटुवामा परे, कहिले संस्था परिवर्तन गराइए, कहिले निलम्बनमा परे ।

दरबारसँग अडान

बीपी कोइराला बिरामी भए । ‘टर्मिनल्ली इल’ अर्थात उनी अब शय्याबाट बाहिर निस्किँदैनन् भनियो । बीपीको मृत्युसम्बन्धी समाचारको मस्यौदा तयार गर्न ‘गोरखापत्र’लाई दरबारबाट हुकुम भयो ।

हुकुम शीरोधार्य थियो । गोकुलले बीपीको मृत्युको समाचारको मस्यौदा तयार गरे । समाचारको सारांश थियो, “बीपी नेपालका ठूला प्रधानमन्त्री थिए, जो नेपालको हित चाहन्थे ।”

तर, दरबारले असहमति जनाउँदै भन्यो, “बीपीले नै अगुवाइ गरेको कोशी र गण्डक प्रोजेक्टको विरोध भएको थियो । त्यसलाई पनि उल्लेख गर्नुपर्छ ।”

तर, गोकुलले त्यसलाई मानेनन् । उनको तर्क थियो, “राजासँग प्रतिशोध साध्ने मान्छे मरेर जाँदा पनि विरोध गर्‍यो भने जनताबाट विद्रोह हुनसक्छ ।”

दरबारको तर्क थियो, “ठूलो नेता मरेर जाँदा उसका गुनमात्रै होइन, बैगुन पनि चर्चामा ल्यायो भने आउने पुस्तालाई पनि त्यो पाठ हुन्छ । नराम्रो काम गर्न दुरुत्साहित हुन्छन् ।”

गोकुलले मानेनन् । नमान्नुको कारण गोकुल सुनाउँछन्, “गण्डक प्रोजेक्टको सम्झौता एउटा प्रधानमन्त्रीको पालामा भए पनि शिलान्यास भने राजा महेन्द्रले गरेका थिए । यदि त्यो प्रोजेक्ट गलत थियो भने राजा महेन्द्रले किन शिलान्यास गरे ? त्यो तर्कमा हामीले अडान लियौं ।”

तीन पटकससम्म गोकुलले अडान लिएपछि दरबार झुक्यो । जित गोरखापत्र अथवा गोकुलकै भयो । उनले तयार गरेको ड्राफ्ट नै बीपीको मृत्युपछि छापियो । उनी सम्झन्छन्, “हामीले व्यवसायिक भएर काम गरेको हुनाले हाम्रो हात माथि पर्‍यो ।”

बीपीको मृत्यु पछि गोरखापत्रले उनको सम्झनामा सम्पादीय लेख्यो । जुन सम्पादकीय पढेर सरकारी सञ्चारमाध्यम गोरखापत्रले यस्तो सम्पादकीय कसरी लेख्न सक्यो भनेर कांग्रेसजन तथा उनका अनुयायी नै छक्क परे । गोकुल भन्छन्, “हामी राष्ट्रिय व्यक्तित्वको काम हेरेर लेख्थ्यौं, ब्यबसायिक पत्रकारिताको धर्म निभाउने प्रयास गथ्र्यौं ।”

हतोत्साही भएको सरकार

व्यावसायिक पत्रकारको नाताले गोकुल भारतमा ठुल्ठूला सभा–सम्मेलनमा नेपाली पत्रकारको प्रतिनिधित्व गर्दै जान्थे । ०४६ साल, जतिबेला नेपाल र भारतबीचको सम्बन्ध निकै चिसो भएको थियो, ठीक त्यही बेला ‘टाइम्स अफ इन्डिया’का सम्पादक भइसकेका इन्दर मल्होत्राले दुई देशबीचको सम्बन्ध सुधारका लागि केही गरौं भने । मल्होत्राको प्रस्ताव गोकुललाई मन पर्‍यो । काठमाडौं आएर भारतदत्तसँग सल्लाह गरे । सम्मेलन गर्ने तयारी शुरु गरे ।

सम्मेलन हुँदैछ भन्ने हल्ला फैलियो । सरकारले पनि थाहा पायो । प्रधानमन्त्री मरिचमान सिंह थिए । उनले ‘एनपीआई’ले गर्न लागेको कार्यक्रम रद्द गराउन निर्देशन दिए ।

“भारतका अखबार आएर हामीलाई चाहिने/नचाहिने कुरा सोधेर दुःख दिन्छन् भन्ने हतोत्साही मानसिकता भएको सरकारले सम्मेलन गर्न दिएन,” गोकुल ०४६ सालको कुरा सुनाउँछन्, “असाध्य कुरालाई साध्य बनाउन पनि पत्रकार सक्छन् र देशलाई अप्ठ्यारो परेका बेला प्रभावकारी भूमिका खेल्न सक्छन् भनेर उत्साहित थियौं तर सरकारले गर्नै दिएन ।”

देशको हितका लागि भनेर आँटेको कार्यक्रम सरकार स्वयं बन्द गर्न भन्छ भने उनीहरूलाई मात्रै केको तनाव ! गोकुल र भारतदत्तले पनि जबर्जस्ती गरेनन् । तर, कलकत्ताका सुनन्द दत्तारेलगायत चार जना पत्रकार नेपाल आइसकेका थिए ।

“हामीलाई लाज पनि लाग्यो । उनीहरूलाई दक्षिणकाली घुमाएर सरी भनी पठायौं,” गोकुलले सुनाए ।

अहिलेको पत्रकारिता

पत्रकारसँग नीति निर्माणको अधिकार त हुँदैन तर बाटो देखाउने र विचार निर्माण गराइदिने शक्ति भने हुने गोकुलको अनुभवले भन्छ । देश कता जाँदैछ ? लिकबाहिर छ या भित्रै छ ? त्यसको उचित विश्लेषण मिडियाले गर्न सक्नु पर्ने तर नभइरहेको उनी बताउँछन् । 

अहिलेका सतही विश्लेषणबाट आम पाठक/दर्शक सन्तुष्ट नभएको भन्दै गोकुल भन्छन्, “देश कता जाँदैछ ? हाम्रो अर्थतन्त्रले के भन्छ ? जनताको अपेक्षा के छ ? अवरोधहरू के–के छन् ? त्यसलाई गोरेटोमा हिँडाउन बाटो देखाउने कन्टेन्टको स्पष्ट अभाव छ ।”

स्वतन्त्र मञ्चहरू नदेखिएको बताउने गोकुल अहिलेको पत्रकारिताप्रति गुनासो गर्छन्, “मिडिया पक्ष–विपक्षका एजेन्डा सेटर मात्रै भए । यो अहिलेको समस्या हो ।”

कुराकानी सकेर छुट्टिने बेला गोकुलले निम्तो कार्ड दिँदै भने, “यही १५ गते मेरो ८४ छ । आउनुपर्छ है !”

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC