site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सावधान ! कांग्रेस सावधान !

भनिएको छ कांग्रेस महासमिति बैठकले एकताको सन्देश दियो । तोकेभन्दा पाँच दिन बढी लिएर नेपाली कांग्रेसको महासमिति बैठकले विगतभन्दा सात सहमहामन्त्री र एक उपसभापति थपिएको विधान पारित गरेको छ । एक सहमहामन्त्री र एक उपसभापतिको त यसअघिकै विधानमा पनि व्यवस्था थियो । फरक ती दुवै पद मनोनीत हुन्थे । अब ती पद पनि मिलाएर आठ सहमहामन्त्री र एक थप गरी दुई उपसभापति हुने भए । दुई महामन्त्री पहिले पनि थिए तर एक मनोनित अर्को निर्वाचित । फरक ती पदमा अब मनोनीत गर्ने व्यवस्था छैन । सबै महाधिवेशनबाट निर्वाचित हुने प्रावधान रह्यो । निर्वाचित केन्द्रीय सदस्यबाट कोषाध्यक्ष र प्रवक्तामात्र मनोनीत गरिने भए । यसैलाई एकता भनिएको हो भने त्यो भ्रममात्र हो ।

अर्थ लगाइएको छ, कांग्रेसको संगठनात्मक संरचना अब थप समावेशी हुनेभयो । हिन्दीमा एउटा भनाइ छ – ‘देर आए दुरुस्त आए’ नेपाली कांग्रेसमा दुरुस्त त्यस्तै भयो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मिले अरे । के यही हो एकता ? विचारमा मिले कि ? प्राविधिक कुरामा ? राजनीतिक दलको प्राविधिक कुरा बेग्लै हो । एकता त्यसले निर्धारण गर्दैन । विचारले निर्धारण गर्छ । नेताहरुलाई हात मिलाएर एकताको सन्देश दियौँ भन्ने लाग्छ भने त्यो उनीहरुको दिग्भ्रम हो । भ्रम संगठनात्मक संरचनाको प्राविधिक एकता हो । किनभने कांग्रेसभित्रको सबै गुटले यो संरचना माने अनि महासमितिबाट पारित भएको घोषणा गरियो । के एकताको लागि वा एकताको सन्देश दिन यही प्राविधिक संरचना पर्याप्त छ ? एकता प्राविधिकमात्र होइन वैचारिक र भावनात्मक पनि हुन्छ । हिजो मेचीको कांग्रेसलाई घाउ लाग्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो, किन ? त्यसबेला विचार निर्मित भावनात्मक एकता थियो । 

अहिले सम्पन्न महासमितिले के यस्तै एकता कायम गरेको हो ? होइन । यो एकताको सन्देश होइन । हो, त्यसको आधार भने बनाएको छ । नेतृत्वले होस पुर्याए विचार र भावनाको अपनत्व वा एकता कांग्रेसमा पुनःजागृत हुने सम्भावना निश्चय पनि बढेको छ  । कांग्रेस एकता वरिष्ट नेता रामचन्द्र पौडेलले भनेजस्तो ‘इमोसनल एटेचमेन्ट’ (भावनात्मक लगाव) हो कि वैचारिक पनि ? जबसम्म वैचारिक एकता हुँदैन तबसम्म प्राविधिक एकताको सामयिक प्रभाव रहँदैन । 

Agni Group

यतिबेला कांग्रेसमा एकता किन आवश्यक छ ? यो पार्टीका कार्यकर्तालाई मात्रै होइन यस्तो एकता कांग्रेस र यसको लोकतान्त्रिक अटुट निष्ठाप्रति आकर्षित शुभेच्छुकहरुलाई पनि चाहिएको छ । स्वार्थवश चाहिएको एकता होइन । कसैलाई स्वार्थ प्रेरित एकता चाहिएको हुनसक्छ तर मुलुकको संवेदनशील अवस्थामाथि विवेकशील नागरिकले कांग्रेसमा एकता देश,लोकतन्त्र र जनताको पक्षमा खोजिरहेको छ । नेपाली कांग्रेसका नेताले यही मर्म बुझेर यसै अनुकूल एकताको सन्देश शब्दमा नभएर काममै देखाउनुपर्नेछ । प्राविधिक एकता त सामान्य उपकरणमात्र हो । गुट, उपगुट र व्यक्तिकेन्द्रित प्रवृत्तिलाई परास्त गर्ने एकता चाहिएको हो, जो त्यति सजिलो छैन । 

कांग्रेस एकताको आग्रह गर्दा तीनओटा विषयलाई प्रधानता दिएर सोच्नुपर्ने हुन्छ । तिनमा आन्तरिक र वाह्य कारण त छँदैछन् तेस्रो लोकतन्त्रको रक्षा पनि हो । लोकतन्त्रलाई राजनीतिक अर्थमा मात्र लिने दिन गए । वैचारिक विकासको गतिले लोकतन्त्रसँग सामाजिक न्याय वा आर्थिक उन्नयन पनि जोडिएको अर्थमा यो युग उभिएको बुझ्नुपर्ने भयो । विकासको सपना देखाएर विचारको हरण गर्ने अहिलेको राजनीतिलाई फेरि पनि लोकतन्त्र नै विचार र व्यवहार वा विकास दुवैका लागि हो । 

Global Ime bank

व्याख्या गर्दा, पहिलो लोकतन्त्रको रक्षा । कम्युनिस्ट दुईतिहाइको अहिलेको सरकार अधिनायकवादको दम्भी गन्तव्यतिर लागेको कुनै एकजनाको भनाइ होइन चेतनशील समाजको ठम्याइ र भोगाइ हो । यति बुझिसकेपछि लोकतन्त्र बचाउन कांग्रेसमा एकता र शक्ति चाहियो । यसभन्दा बढी यस विषयमा लेख्नु परोइन । 

यसैसँग जोडिएको आन्तरिक कारण । सरकार सबैक्षेत्रमा असफल साबित भएको छ । सरकारी सत्ताको स्वाद भोग गर्ने र आफ्नालाई मोज बाड्नेबाहेक अरु एक कुनै क्षेत्रमा पनि यो सरकार सफल छ भनी कसैले देखाउन सक्तैन । सक्नेभए देखाएको हुन्थ्यो । सफल हुन्थ्यो भने आफैँ देखिन्थ्यो, देखाउनै पनि पर्दैन । 

नेकपा (नेकपा) सरकारको नेतृत्वमा छ । एक दल, परिहास दुई अध्यक्ष । यी पंक्ति लेखसम्म त्यस दलको स्थायी समितिको बैठकको औपचारिक समापन भएको छैन । नौ दिन बसिसक्यो तर ती दिनमा सचिवालय पदाधिकारी र पदासीन मन्त्रीबाहेक कसैले पनि सरकारको कामको रक्षा वा समर्थन गर्नसकेनन् । पदाधिकारीमध्ये  पनि सचिवालय प्रवक्ता  सरकारी रबैया गलत र निष्प्रभावी रहेको प्रमाण लिएर प्रस्तुत भए । यति नै उदाहरण  काफी छ सरकार असफल भन्ने प्रमाण दिन । 

जोखेरै हेरौँ, भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, शान्तिसुरक्षा, द्वन्द्व पीडितको समस्या, प्रेस स्वतन्त्रता, निजी लगानी वा बाह्य लगानी कुन चाहिं क्षेत्रमा यो सरकारको उपलब्धि (परफमेन्स)  देखिएको छ ? तारिफयोग्य केमा छ ? कहीँ पनि यो सरकार सफल देखिँदैन । सरकारको चौतर्फी असफलताले हुने सम्भावित दुर्घटनाबाट देशलाई जोगाउन कांग्रेसमा एकता र प्रभाव खोजिएको हो । कांग्रेस मिलेर खाऊन् र विकृति जोगाऊन् भनेर एकता खोजिएको होइन । 

आन्तरिक असफलता यति बोझिलो अवस्थामा वाह्य नीतिको न्यानो लिन चाहँदा त्यहाँ पनि  मौसमभन्दा बढी चिसो सिबाय भेटिँदैन । अर्थात् अहिले वाह्य नीति पनि असफल । उत्तर,  दक्षिण खुम्चिएको परराष्ट्रनीति सरकारी मान्छेको कुनै देशको भ्रमणकै अर्थमा फैलिएको मानिदैन । खुम्चियो तर उत्तर दक्षिण कता ढल्कियो ? प्राकृत समानान्तर रहेन भयो त पेण्डुलम जस्तो । यता कि उता ? अस्थिर । 

भर्खरै समाचार आयो, सत्र वर्षपछि शक्ति राष्ट्र अमेरिकाले बोलायो वा नेपाललाई सम्झ्यिो । खुसी हुने कि बेखुसी ? नेपालको भूरणनीतिक अवस्था अहिले फेरिएको हो र उसले बोलाउन अब आवश्यक ठान्यो ? हिजो पनि नेपालको भूराजनीति यस्तै थियो । शक्ति प्रतिस्पर्धि उत्तरी चीन र दक्षिणी भारत अवस्था यही हो । फरक, विगतमा अस्थिर भनिने मिलीजुली सरकार अहिले दुईतिहाइको स्थिर ।  परराष्ट्र मन्त्री घुमेर आए । अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग हात मिलाएको पनि देखिए । राम्रै भयो । तर, आफ्नै मुलुक र नेपालीलाई उनले कुरा लुकाए, अर्थात् ढाँटे ।

भेटपछि अमेरिकी सहायक प्रवक्ताले विज्ञप्ति निकाले, इन्डोप्यासिफिक क्षेत्रीय विषयमा कुराकानी भयो । विषयमा उत्तर कोरिया पनि जोडियो । तर, हाम्रा परराष्ट्रमन्त्रीले पारम्परिक शैलीको सदाबहार जानकारी दिए – भ्रमण सफल, द्विपक्षीय हितका कुरा भए, लगानी र योजनाको कुरा भयो । सम्बन्ध प्रगाढ, गन्थनका आदि, इत्यादि । 

अमेरिकी विज्ञप्तिमा आएको ‘इन्डोप्यासिफिक‘ र ‘उत्तर कोरिया’ विषयबारे केही भनेनन्, परराष्ट्रमन्त्री आफँैले देशका सामु थाहै नपाएजस्तो गरे । प्रश्न उठ्छ, नभएको कुरा अमेरिकाले सार्वजनिक गर्यो कि हाम्रा परराष्ट्रमन्त्री चुप बसे वा यस विषयमा लुके ? 

बलियो सरकारले जतिसुकै लुकाओस् तर झन्डै दुई दशकपछिको नेपाल अमेरिका जम्काभेट विशेष पृष्ठभूमिमा भएको हो । पहिलो, नेपालको असन्तुलित र अस्थिर कूटनीति, दोस्रो दुईतिहाइको दम्भी प्रमाणित र अलोकतान्त्रिक बन्दै गएको कम्युनिस्ट सरकार, तेस्रो अमेरिकाले प्राथमिकता दिन थालेको यस क्षेत्रमा नेपालको भौगोलिक उपयोगिता । यस्ता कारणमा त्यो जम्काभेट जुरेको हो । अमेरिकी चासोले जुराएको यसमा हाम्रो सरकार रमाउने ठाउँ कतै छ र ?

अमेरिकी चासोलाई संख्याले सुन्निएको, गुणवत्ताले फ्यातुलो सरकारले सम्बोधन गर्ने हैसियत राख्तैन । यही कारण भेटमा भएका कुराकानी यो सरकार लुकाइरहेछ । कूटनीतिमा केही लुकाउनुपर्ने विषय होलान् पनि । तर, अमेरिकाले राखेको प्रस्तावमा हाम्रो अडान वा भनाइ के रह्यो त ? हुन्छ, हुँदैन वा हाम्रो संवेदनशीलताले यस विषयमा आन्तरिक र वाह्य थप छलफल के चाहन्छ ? उत्तर दिइयो के ? यति त लुकाउनु पर्दैन नि । खालि मुन्टो हल्लाईमात्र त भएन होला ? यसभन्दा बुद्धु र झुठो कूटनीति कहिल्यै भयो होला नेपालमा ? 

यसरी नियाल्दा, आन्तरिक र बाह्य व्यवहार दुवैमा सरकार असफल छ । कांग्रेस पनि असफल नै भए वा रहिरहे मुलुकको राजनीति र नागरिकले तब भरोसा कसलाई गर्ने ? यसकारण कांग्रेसमा एकता र लोकतान्त्रिक राजनीति धान्ने अथवा नागरिकमा भरोसा जगाउने एकता र प्रभाव चाहिएको हो । सरकार न्यूनतम पनि सफल हुन्थ्यो भने यति धेरै आत्तिएर लोकतान्त्रिक समाजले कांग्रेसमा एकता खोजिहाल्नुपर्ने थिएन । पर्ख र हेर गर्न मिल्ने थियो  । तर, सरकार असफल छ । निराशाले चारैतिर व्याप्त छ । बढ्दो निराशाले लोकतान्त्रिक बिसौनी नभेटे एकमुष्ट विद्रोह उठ्नेछ । त्यतिबेला नेपाली जनता कुन भुँग्रोमा पर्ने हुन् ? सावधान ! नेपाली कांग्रेस सावधान !  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC