site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थायी कमिटीको बैठकमा प्रचण्डको ‘राजनीतिक छलाङ’
Ghorahi CementGhorahi Cement

काठमाडौँ । विश्लेषकहरू भन्छन्– पुष्कमल दाहाल ‘प्रचण्ड’ अस्थिरताको अर्को नाम हो । ३५ वर्षदेखि पार्टी प्रमुख रहँदै आएका प्रचण्डको राजनीतिक निर्णयलाई लिएर अनेक विम्ब खडा गरिएका छन् । अद्यपर्यन्त जारी छ– त्यो सिलसिला ।

कतिपयले उनलाई ढुलमुले चरित्रको उपमा दिन्छन् भने कतिपयले उनलाई ‘आवेग’ र ‘उत्तेजना’ बाट निर्देशित, अनुग्रहित हुने राजनीतिक चरित्रका रूपमा अर्थ्याउछन् । र, उनीहरूको नजरमा राजनीतिक परिवर्तनको महत्त्वपूर्ण कदम पुष्टि भइसकेको ‘जनयुद्ध’ पनि त्यस्तै ‘बहुलट्ठीपूर्ण निर्णयको अर्को कडी’ थियो । ‘जनयुद्ध’ का उपलब्धिलाई सिंहदरबारको पोल्टामा सुम्पिएर एमालेसँग पार्टी एकता गर्दा पनि उनले त्यस्तो आरोपको सामना गर्नुपरेकै हो ।

त्यसो त जनयुद्धको आँधिबेहरीलाई शान्तिपूर्ण रूपमा अवतरण गराउन सफल प्रचण्डलाई ‘जोखिम बहन’ गर्न सक्ने नेतृत्वको रूपमा बुझ्नेहरूको जमात ठूलो छ । खैर जे होस्, नेपालको गणतान्त्रिक आन्दोलन, धर्मनिरपेक्षता संघीयता, समावेशिता सहितको संविधानको ‘प्रचण्डपथ’कै गर्भगृहमा वीजारोपण भएकाले पुष्पकमल दाहाल आजको राजनीतिको मियो हुन् । अतः नेपालको राजनीति र प्रचण्ड अलगअलग च्याप्टर होइनन् । एकअर्कामा पूरक र समपूरक हुन् ।

Agni Group

नेकपाको बैठक ९ दिनदेखि पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ । तेस्रो भनिए पनि मनमा मस्को लगाउने गरी पहिलोपटक छलफल भइरहेको छ, नेकपामा ।

स्थायी कमिटी सदस्य तथा माक्र्सवादी चिन्तक घनश्याम भुसालको भनाइको शब्दलाई हुबहु सापटी लिने हो भने नेकपामा मात्रै होइन एमालेमै पनि यसप्रकारको छलफल यसअघि शायदै भएको थियो । बाहिर बाझाबाझ नै बुझिए पनि पार्टीभित्र मयल फाल्ने गरै माझामाझ भएको उनको निष्कर्ष छ ।

Global Ime bank

आमन्त्रित समेत गरी ५१ जना सदस्य रहेको स्थायी कमिटीको जारी बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई बीस मिनेट समय निर्धारण गरिएको थियो । झन्डै एक हप्ता सदस्यहरूले बोल्न नै खर्चिए । र, अधिकांश सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई आधार बनाएर नेतृत्वको कार्यशैलीको उछित्तो काढे ।

बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने कार्यसूची थियो । र, पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले झन्डै दुई घन्टा आफ्ना धारणा राखे ।

अहिले प्रचण्डले बैठकमा गरेको सम्बोधनलाई लिएर नेकपाभित्र अलग्गै तरङ उत्पन्न भएको छ । मुर्झाइसकेको पार्टी आन्दोलनलाई सञ्जीवनी बुटी पिलाएर त्राण दिएको चर्चा नेकपावृत्तमा हुन थालेको छ ।

जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकता भएको पुस ३ गते सात महिना पूरा भयो । यो  बीचमा न नेकपाले खुट्टा टेक्न पाएको छ, न नेता–कार्यकर्ताले ‘बिजनेश’ नै पाएका छन् । पार्टी एकता गतिशून्य बन्दा साविक एमालेका कार्यकर्ता ज्यादा असन्तुष्ट थिए । पूर्वमाओवादी केन्द्रभित्र खासै पिरलो थिएन । पोलिट्ब्युरो गठन हुन नसकेको, जिम्मेवारी नपाएर केन्द्रीय सदस्य सडकमा बरालिनुपरेको र सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै दिन कटाउनु परेको विषय बैठकमा महत्त्वका साथ उठ्यो । र, पूर्वएमाले नेताहरुबीच आरोप–प्रत्यारोप नै चल्यो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर निर्मम रूपमा प्रस्तुत भइरहँदा पुष्पकमल दाहालले साविक एमालेभित्र ओलीविरुद्धको असन्तुष्टिलाई ‘क्यास’ गर्न सफल भएका छन् । त्यसो त उनको शुरूदेखिको भूमिका सन्तुलनकारी कै थियो ।

सरकार र पार्टी सञ्चालका क्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका प्रक्रियागत कमजोरीको सैद्धान्तिक र विधिसम्मत हल गर्ने पक्षमा थिए प्रचण्ड । त्यसैले हुनुपर्छ उनले पूर्वमाओवादी केन्द्रलाई संयमित रहन नै अपिल गरेका थिए । प्रचण्डको अपेक्षा बमोजिम बैठकमा पूर्वमाओवादी केन्द्र ‘संयमित’ देखियो । बैठक सकिएपछि पनि पूर्वमाओवादी केन्द्रका नेताहरू प्रतिक्रियाविहीन रहनु त्यसकै त्यसकै अभिव्यक्ति हो । यसबाट के प्रष्ट्याउँछ भने पूर्वमाओवादी केन्द्र प्रचण्डको कमाण्डबाट उम्किइसकेको छैन । एमालेमा आएपछि झनै जब्बर भएको छ । 

तर, यसको विपरित थियो पूर्वएमाले । पार्टी नेतृत्व (विशेष गरेर केपी ओली) प्रतिको असन्तुष्टि बैठकमा छताछुल्ल भयो । त्यसको राजनीतिक लाभ अर्का अध्यक्ष प्रचण्डको पोल्टामा पर्‍यो ।

प्रचण्डले राजनेताको भूमिका देखाए

केपी ओलीविरुद्ध स्थायी कमिटीमा रहेका झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठका ‘अघोषित मोर्चावन्दी’ नै थियो । वामदेवले झलनाथ समेतको साथ लिएर १६ पाने आलोचना पस्किएर प्रधानमन्त्री एवम् पार्टी नेतृत्वविरुद्ध सक्नेजत्ति आलोचना गरे । नारायणकाजी श्रेष्ठ पनि प्रचण्डको रणनीतिको घेराभित्र अटाएनन् । उम्किएर सरकारविरुद्ध बुताले भ्याएसम्म आलोचना गरे ।

विधि, पद्धति, मापदण्ड अनुरुप प्रदेश कमिटी नबनेको, एकता गतिशून्य भएको र सरकार सञ्चालनमा पार्टीभन्दा पनि व्यक्ति हावी भएको भन्दै केपी ओलीविरुद्ध जाइ त लागे । तर, युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एशिया प्रशान्त सम्मेलनको अध्यक्षताले नेतृत्वविरुद्ध आलोचना गर्न सक्ने हैसियतको धरातल गुमाए । अनुहार बचाउनै हम्मेहम्मे पर्‍यो । आफू निकटका नेताले नै ‘माधव नेपाललाई सुनपानी छर्किएर चोख्याउनुपर्छ’ भन्न थालेपछि माधव नेपालको ‘असहमति’को कुनै गुञ्जायस रहेन ।

यी सबै नौ दिनसम्म मञ्चमा बसेर मिहीन ढंगले नियालेका प्रचण्डलाई जारी बैठक पूर्वएमालेभित्र स्पेस बनाउने महत्त्वपूर्ण अवसर बन्यो ।

बिहीबारको सम्बोधनलाई लिएर साविक एमालेका एकनेता अर्थ्याउँछन्, “बिहीबारको सम्बोधन सुन्दा प्रचण्डमा राजनेताको छनक पायौँ ।”

केपी ओलीप्रति कटाक्ष गर्दै ती नेताले थपे, “अर्का अध्यक्ष (केपी शर्मा ओली) सानो चित्तबाट कुरा शुरू गर्नुहुन्थ्यो । उहाँले आफ्नो गुट, समूह, पूर्वमाओवादी केन्द्रको लिग्यासीसमेत भुलेर ठूलो आयातनमा प्रस्तुत हुनुभयो, उहाँको प्रस्तुतिले नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टि, अन्तरविरोधको सम्बोधन भएको छ ।”

बैठक सकिएलगत्तै बाहिरिएका झलनाथ खनालले पनि प्रचण्डको सम्बोधनले समाधानको बाटो देखाएको प्रतिक्रिया दिएका थिए । “प्रचण्डको सम्बोधनले हामी सबैलाई उत्साही बनाएको छ । विद्यमान समस्याको हल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ,” प्रशन्न मुद्रामा प्रस्तुत भएका खनालले भनेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता हठात्, हतारहतारमा, वा बाहिर भनिएझैँ छापामार शैलीमा नभई एमाले र माओवादीबीच जनयुद्धताकादेखि नै भएको छलफल, वार्ताको विकसित रूप भएको दृष्टान्त पस्किएका थिए ।
उनले द्विअध्यक्षात्मक प्रणाली नेकपाका लागि मात्रै नभएर आफ्नो लागि पनि नितान्त नवीन, नूतन प्रयोग भएको बताउँदै यसले आफूलाई अल्मल्याएको बताएका थिए ।

“द्विअध्यात्मक व्यवस्था मेरा लागि नौलो पनि हो, कतिपय सन्दभर्मा मलाई अप्ठ्यारो पनि बनाउँछ,” उनले बैठकमा भनेको एक सदस्य उद्धृत गर्छन्, “तथापि म सम्हालिनुपर्छ । सम्हालिएको छु । यसबाट म दायाबाँया हुनेबित्तिकै असमझदारी बढ्छ । यसले पार्टी एकतालाई धरापमा पार्छ ।”

उनको यसप्रकारको जिम्मेवार र माथिल्लो ओहोदाको अभिव्यक्तिले सारा शंका दूर गरिदिएको निष्कर्ष स्थायी कमिटी सदस्यहरूले निकालेका छन् ।

प्रचण्डले कहिलेकाहीँ आफूलाई नखाएको विषको समेत सिकार हुनुपरेको बताउँदै वामदेव प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गरे । वामदेव प्रकरणसँगै जोडेर हेरिएको नेकपाभित्रको ध्रुवीकरणमा उनको संलग्नतालाई पनि अध्यक्ष प्रचण्डले इन्कार गरे ।

धम्की चिरेर एकता, अबको बाटो समाजवाद

त्यस्तै उनले प्रलोभन र धम्की चिरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएको बताउँदै स्थायी कमिटी सदस्य (साविक एमालेका)को मन जित्ने प्रयत्न गरे । शान्ति प्रक्रियासँग सम्बन्धित केही काम थाति रहेको अवस्था पुराना टुंगिन बाँकी केही काम देखाएर आफूलाई बारबार धम्क्याएको र त्यही शक्तिले एमालेसँग नमिल्न पनि डर र भय देखाउन खोजेको दृष्टान्त पस्किएका थिए ।

“एमालेसँग नमिल्न शुरूमा पदको प्रलोभन देखाइयो, त्यसमा सहमत हुन नसकेपछि धम्क्याउन थालियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्य दाबी गर्छन् ।

पार्टी एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाईसमेत त्राण दिएको बताउँदै यसलाई धरापमा पार्न दिनुनहुने र नेतृत्वले सानो चित्त पनि राख्न नहुने उनको जोड थियो । त्यस्तै उनले पार्टीभित्र एकता, हार्दिकता, वरीयताको भावनालाई तलमाथि पार्न दिन नहुने र सबैको सम्मान, सहअस्तित्व नै पार्टीको सम्पत्ति भएको जिकिर गरेका थिए । 

केपी ओलीको कार्यशैलीलाई दिएर यावत् प्रश्नको सामना बैठकले गरिरहेका बेला अध्यक्ष प्रचण्डले नेतृत्व गुटबन्दीमा लाग्न नहुने, हिजोकै एमाले, माओवादी केन्द्रको आँखाबाट हेर्ने, आफ्नै विचारसमूह, गुटलाई जीवित राख्न नहुने तर्क गरे ।

“यसले नेकपाभित्र प्रचण्डलाई बहुआयामिक, गतिशील नेतृत्वको रूपमा उभ्याएको छ । पार्टीभित्रको गतिरोध र सरकार सञ्चालमा देखिएको नेतृत्वको समस्याको हल प्रचण्डमा छ भन्ने तथ्यको उजागर गरेको छ,” नेकपाका एक स्थायी सदस्य बताउँछन्  ।

प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष संसदमा मात्रै हुने पार्टीभित्र पनि त्यही प्रकारको अभ्यास, निषेध, उषेधको भूमिका जीउँदो राख्न नहनुे तर्क गर्दै गुटहरूको आवश्यकता र औचित्काबारेमा प्रश्न उठाएका थिए ।

“लामो आन्दोलन, सङ्घर्षबाट हामीले दुईतिहाइको सफलता हात पारेका छौँ, यसबेलमा हामीले उपलब्धिको रक्षा गर्दै मुलुकलाई समाजवादको दिशामा हिँडाउनुपर्नेछ । आफैँभित्रको समस्यामा अल्झियौँ भने त्यो लक्ष्य पूरा हुँदैन,” प्रचण्डको जोड थियो ।

मदन भण्डारी सम्झँदै माधवगुटकालाई फकाउँदै

गत जेठ ३ गते पार्टी एकताको बिहान मदन–आश्रित दिवसका दिन मदन भण्डारीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै एमाले पंक्तिको मन जितेका अध्यक्ष प्रचण्डले बिहीबारको सम्बोधनमा पनि मदन भण्डारीलाई स्मरण गर्न छुटाएनन् ।
त्यसले जनताको बहुदलीय जनवाद र त्यसैको आलोकमा तयार पारिएको जनताको जनवादप्रति प्रचण्डले निष्ठा झल्काएको साविक एमालेका नेताको बुझाइ छ ।

“बारबार मदन भण्डारी उच्चारण गरेपछि पूर्वएमाले र विशेषगरी एमालेभित्रको संस्थापन पक्षलाई खुसी पार्न सकिन्छ भन्ने प्रचण्डको ठम्याइ छ, त्यो बिहीबारको बैठकमा पनि प्रकट भयो,” स्थायी कमिटीका एक सदस्य बताउँछन् ।

मदनप्रति अनन्य निष्ठा प्रकट गरेका अध्यक्ष प्रचण्डले अबको बाटो निःसन्देह समाजवाद रहेको र न्यूनतम समाजवादी कार्यक्रम लागु गर्न ढिला गर्न नहुने तर्क गर्दै घनश्याम भुसालको विचारलाई आड भरोसा दिएका थिए ।

“समाजवादी कार्यक्रमको पृष्ठपोषण गरेर नवौँ महाधिवेशनताका घनश्याम भुसालले उठाएको विचारलाई प्रचण्डले छोएका छन्,” स्थायी कमिटीका ती नेता भन्छन्, “घनश्याम भुसालको विचारको पक्षधर नेतालाई आफूतिर आकर्षित गर्ने प्रचण्डको रणनीति हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC