काठमाडौं । युट्युब ट्रेन्डिङमा शनिबारबाट लगातार ‘नेपाल आइडल सिजन–२’ को ग्राण्ड फिनाले रहेको छ । युट्युबमा अपलोड गरिएको २४ घण्टा नपुग्दै एक नम्बरमा आइपुगेको नेपाल आइडलको ग्राण्ड फिनाले श्रृंखला अझै सोमाबार दिउसोसम्म पनि एक नम्बरमा रहिरहेको छ । सोमबार दिउसोसम्म १४ लाखभन्दा माथि भ्युज पुगिसकेको छ ।
शुक्रबार साँझ पुल्चोकमा आयोजना गरिएको फिनाले तीन घण्टा २० मिनेट लामो छ । ‘नेपाल आइडल सिजन–१’ को फिनाले भने गत सिजन कतारमा गरिएको थियो ।
यस्तै युट्युब ट्रेन्डिङको दुई नम्बरमा भने अशोक दर्जी टंक बुढाथोकीको गीत ‘चौरीको चाम्रो छुर्पी...’ छ । करिब एक हप्ता एक नम्बर ट्रेन्डिङमा बसेको यो गीतलाई पछि पार्दै ‘नेपाल आइडल सिजन–२’ को ग्राण्ड फिनाले श्रृंखला एक नम्बरमा आइपुगेको हो ।