site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुल्झन खोजेको कांग्रेसको उल्झन

नेपाली कांग्रेसको महासमिति बैठकमा सबैभन्दा पेचिलो विषय बन्यो विधान संशोधन । संविधान अनुकूल विधानको परिमार्जन गर्नुपर्ने कारण यो विषय पेचिलो बन्नु स्वाभाविकै हो । तर, नेतृत्वले लिएको फाइदा र बेफाइदाको हिसाबकिताबको अडानले पनि विधान परिमार्जनको विषय थप पेचिलो बनाएको देखिन्छ । अडानमा विभक्त नेतृत्वले विधानका लागि राखेको धारणा आत्मकेन्द्रित थियो वा गुटगत स्वार्थ केन्द्रित अथवा संस्थागत पद्धतिको लागि नवीन व्यवस्था भन्ने प्रश्नको उत्तर विधानको प्रयोगसँगै प्रकाशित हुनेछ ।  

रस्साकस्सीबीच एक प्रकारको सहमति खोजियो । पार्टीका विभिन्न पदाधिकारीलाई उद्धृत गरिएर मंगलबार साँझ आएका समाचारमा कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने भनियो । सभापतिसमेत दुईदुई उपसभापति, महामन्त्री र सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने विषयमा सहमति भएको जानकारी दिइएको थियो । यो प्रावधानको सबैभन्दा राम्रो पक्ष पदाधिकारीमा विचारशील, जुझारु र कुशल युवा चुनिने प्रबल सम्भावना देखिन्छ । 
महासमिति बैठकको चार दिनपछि साँझ आएको जानकारीले सदस्यमा केही सन्तोष जागेको थियो ।     उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र रमेश लेखक आदिलाई उद्धृत गर्दै विभिन्न माध्यमले उक्त सूत्रमा सहमति भएको समाचार सम्प्रेषण गरे ।  तर, नेपाली उखान ‘रात रहे अग्राख पलाए’ भनेजस्तै बुधबार बिहानसम्ममा त्यो सहमति भत्काइएछ । सहमतिमा असहमति भयो र शीर्ष नेता वा बैठक थप उत्झनमा फस्यो । बिहीबार बीपी स्मृति भवन सानेपामा हुने बैठकबाट केही समाधान आउला । तर, पाँच दिनसम्म उल्झनको कुनै समाधान दिन नसक्दा नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने नै भयो । 

प्रभावशाली विशेषण दिइने नेताहरूले भनेको सहमति एक रात पनि टिकेन । माकुराको बच्चाले माउलाई नै खाएजस्तो गुटको संरक्षणमा राजनीति गर्ने वा गुटलाई प्रोत्साहित गर्ने नेताहरु गुटको स्वार्थ र पकडमा निष्प्रभावी देखिँदैछन् । यस्तो अवस्थाबाट नेताले गुट चलाए कि गुटले नेता हल्लायो ? प्रश्न उब्जिने नै भयो । सिंगो पार्टीलाई नेतृत्व दिनुपर्नेहरु गुटलाई पनि समाल्न नसक्ने निरीह भएका हुन् कि ? नेतृत्वले गुटकै स्वार्थी इसारामा सहमतिलाई भत्काएको हो ? यस्ता सबै आशंका जन्मिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विधानको पेलाइले अन्य दस्ताबेज थिचिए । राजनीतिक, आर्थिक (सामाजिक) र अन्य सांगठनिक विषयमा गम्भीर बहस हुन पाएकै छैन ।    

चुहिएको जानकारीमा संविधान अनुसार नै केन्द्रीय समितिमा महिला प्रतिनिधित्व तेत्तीस प्रतिशत हुने कुरा आए पनि अन्य व्यवस्थाबारे विधानको पूर्ण विवरण सार्वजनिक हुनु त के महासमिति सदस्यले समेत थाहा पाएका छैनन्  । सहमति बन्न वा धान्न नसक्दा विधान वितरण भएकै छैन । प्रादेशिक संरचनालगायत केन्द्रसँगको समन्वय संयन्त्र, विभिन्न स्थानीय तहसँगको सम्पर्क सूत्र, तिनको अधिकार एवं कर्तव्य जस्ता विषयमा विधानमा गरिएको व्यवस्था केन्द्र गठनको रस्साकस्सीले अन्जानमै रहिरह्यो । 

Global Ime bank

परन्तु, मस्यौदामा प्रस्ताव गरिएको टोल समितिको संरचना चाहिँ त्यति सजिलो देखिदैन । आधारभूत तहमा, निर्वाचन क्षेत्रको बुथ समिति बनिबनाउ भूसंरचना वा सीमामा बन्नसक्छ । पारम्परिकरूपमा टोल भन्ने प्रचलन छ । तर, टोलको स्पष्ट सीमा छैन । टोलहरूको देशव्यापी सीमा बनाइनु पर्छ । के कांग्रेसले टोलको सीमा पनि निर्धारण गरेर टोल समिति बनाउने उद्देश्य राखेको हो ? टोलआदि क्रमशः मिलाउँदै जाने र यो काम आफ्ना स्थानीय तह नगर र गाउँपालिका समेत बुथ समितिहरुलाई दिने भए असम्भव चाहिँ नहोला । विधानमा प्रस्तावित टोल संरचना मान्य र लागु भए, यसको सीमा व्यवस्थित गरेको जस  कांग्रेसलाई मिल्नेछ । यस विषयमा महासमिति सदस्यहरूलाई सिकाउनु पर्ने तरिका थाती छ । 
केन्द्रीय संगठनात्मक संरचनाको विवादले धेरै विषयमा निक्र्योल निकाल्न बाँकी छ । पदाधिकारीमा भनिएको सहमतिलाई समावेशी बनाइनु पर्ने माग र सबै पदाधिकारी निर्वाचित हुने प्रावधान मान्य नहुनेजस्ता कुरा केन्द्रीय समितिमा उठेपछि सभापति शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेलले समेत मानेको सहमति उल्टिएको भनिन्छ । 

समावेशिता संविधानकै आग्रह हो । यस विषयमा पनि कांग्रेस विधानले पक्कै व्यवस्था गरेको छ । यसअघि पनि कांग्रेसको विधान अन्य दलको भन्दा बढी समावेशी रहेको भनिन्थ्यो । समावेशी र आरक्षण प्रक्रियालाई कांग्रेसले व्यवस्थित गर्नैपर्छ । समावेशी र आरक्षण कोटा सधैँ एउटाले पाउनुपर्छ भन्ने हुदैन । 

भनिएको सहमतिपछि उपसभापति विमलेन्द्र निधिको भनाइअनुसार अब हुने १६१ सदस्यीय केन्द्रीय समितिमा २० प्रतिशत सभापतिले मनोनीत गर्ने व्यवस्था रहनेछ । यहीअनुसार विधान आए समावेशितामा छुटेका ‘क्लस्टर’ मनोनयनमा समावेश गरिन सकिने व्यवस्था पनि मिलाउन सकिएला । यसपटक महासमितिलाई संगठनात्मक केन्द्रीय संरचनाको विषयले खर्लप्पै खायो भन्दा हुन्छ । 

कांग्रेसको महासमिति नीति, योजना र कार्यक्रम (एजेण्डा) तय गर्ने थलो पनि हो । जहाँ पहिलेदेखि लिइआएको राजनीतिक र  आर्थिक (सामाजिक) लगायत विषयमा विशद व्याख्या र समसामयिक परिमार्जन हुनसक्थ्यो वा पथ्र्यो । तर, संगठनले धेरै समय लिएकाले महत्वपूर्ण यस्ता विषयमा गम्भीर छलफल कम हुने नै भयो । 

साथै, सरकारको पश्चगामी शैली, अधिनायकवादी प्रक्रिया, प्रेस स्वतन्त्रतामाथि प्रहार, संस्थागतरूपमा व्याप्त भ्रष्टाचार र दण्डहीनता वा असुरक्षाजस्ता गम्भीर विषयमा कांग्रेस महासमितिले दिने एकीकृत निष्कर्षको अपेक्षा पनि छ । धेरै कोणबाट प्रश्न आएको छ – लोकतान्त्रिक मान्यता विरोधी र ठूल्ठूला अनियमित घटनाप्रति नेपाली कांग्रेस कहिलेसम्म अमुक बस्ने ? अतिवादी शैलीविरुद्ध केही आलोचना र सुझावको सुस्त विज्ञप्ति निकालेर सरकारलाई खबरदारी गरेको दस्ताबेज दर्जले मात्रै पुग्ने अवस्था रहेन । अहिलेको सार्वजनिक निष्कर्ष यही हो । यस्तो हुँदा पनि कांग्रेस किन बोल्दैन, केही किन गर्दैन भन्ने चारैतिर उठेको प्रश्नले नै दस्ताबेज दर्जले मात्र पुगेन भन्ने बुझायो । कांग्रेसको सक्रियता लोकतन्त्र र अर्थतन्त्र बचाउन गरिएको अपेक्षा हो । यसभित्र अर्थात् कांग्रेससँग गरिएको आग्रहबाट अराजकता आओस् भनी कसैले धमिलो पानीमा माछा मार्ने अभिप्राय लिएको भए ती नगन्य होलान् तर विरोधको लगाम त कांग्रेसले नै खिच्नुपर्छ नि आफ्नै हातमा राख्नुपर्छ ।

त्यस्तै राजनीतिको अपराधीकरण र अपराध, अपराधीको राजनीतिकरण रोक्ने नेतृत्व पनि कांग्रेसले नै लिनुपर्छ । सँगै पाटीभित्र बढेको विकृति (विचारभन्दा पैसाको बोलबालाआदि) समेत हटानुपर्ने देखिन्छ ।  संघर्ष वा योगदानको अवमूल्यन गर्ने स्वेच्छाचारी शैली पनि परास्त गर्नैपर्छ । धार्मिक विवादतर्फ अल्झिएका कतिपय महासमिति सदस्यले यस्ता राजनीतिक विषयमा ध्यान दिनै चाहेनन् । बरु उल्झनहरु थपिए । 

महाधिवेशनपछि महासमिति कांग्रेसको दोस्रो ठूलो निकाय हो । यसको बैठकका परिणामले देशभरका लोकतन्त्रवादी र कांग्रेसका शुभेच्छुकसम्मलाई भरोसा, ऊर्जा र विश्वास प्रवाहित गर्नुपर्ने हो । तर पाचौँ दिनसम्म सदस्यहरुलाई मात्र पनि त्यस्तो आत्मबल थपेको पाइएन । गाउँघरदेखि लिएर आएको उत्साह समिति बैठकको किचलोले घटेको अवस्था छ । बैठकस्थल बाहिर भेटिने समिति सदस्य र शुभेच्छुकहरुमा खासै उत्साह पाइँदैन । केहीमा झिनो आशा चाहिँ अझै भेटिन्छ । नेतृत्व पंक्ति यस विषयमा जानकार होला तर गम्भीर सन्देश वा परिणाम दिन सकेको छैन । बैठक चलुन्जेल समाधान आउला भन्ने आशा चाहिँ रहला । 

जनताबाट टाढिएको आरोपमा मुछिएको कांग्रेसले महासमिति बैठकमा संस्थागत शुभेच्छुकलाई समेट्न सकेन । मूल्यांकन, पर्यवेक्षकमा उनीहरुलाई ठाउँ दिने उदार प्रक्रिया पनि आवश्यक ठानेन । संकुचित रबैया अपनायो । जरुरी नभए पनि पर्यवेक्षीय सहभागिताले मञ्च फराकिलो हुने थियो । केही सन्देश आउने थियो । 

कांग्रेस नेता भाषणमा भन्छन् – देश संकटमा छ, लोकतन्त्र संकटमा छ, कांग्रेस संकटमा छ, आदि । तर, समाधान खोज्ने शैली यस्तै हुन्छ त ? पार्टीमा विचार समूह हुन्छन् । त्यस्ता समूह विषय वा सबालअनुसार बन्छन् । ती समूह विषय रोजाइको कारण कहिले कसैसँग र कहिले अर्कैसँग मिल्न पुग्छन् । स्वार्थी गुटजस्तो (स्थिर वा स्थायी) हुँदैन विचार समूह बरु प्रायः तरल हुन्छ । 

इतिहासदेखि नै नेपाली कांग्रेसमा साना, ठूला विचार समूह थिए । विचार समूह विकृत हुँदै, पार्दै अहिलेसम्म आइपुग्दा कठोर गुटहरु जन्मिएका हुन्, संरक्षण गरिएका छन् । गुटको विरोध पनि भइरहेछ । गुटहरु पोषित भइरहेको अनौठो अवस्था पनि छ । विचारको राजनीति कमजोर हुँदा आत्मकेन्द्रित गुटहरुले ऊर्जा पाएका छन् । 

कांग्रेसमा प्रशस्त युवा नेता छन् । सशक्त कांग्रेस चाहने युवा वा अरुले गुट अन्त्य गर्ने सामूहिक संकल्प लिन आवश्यक भयो । विचारको कांग्रेस, नीतिको राजनीति  बनाउन लाग्नुपर्ने भयो । युवा उमेरले बलबान् छन्, विचारले पनि शक्तिशाली हुनुपर्यो । जारी महासमितिले विचारलाई बढाबा दिने सम्भावन रहेन । प्राविधिक कुरा मिलाउँनै हम्मेहम्मे छ । गुट सिर्जित उल्झनहरुको दबाबमा शीर्ष मानिने नेताको प्रभाव पनि हम्मेहम्मे धानिने देखिँदैछ । धेरै छैन, बाँकी अलिकति समयमा पनि चेतेनन् भने काँध थाप्ने उत्तराधिकारी तम्तयार रहनुपर्ने बेला आएजस्तो छ ।     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC