नेपाली भाषामा तारानाथ शर्माले विसं १९१० मा ‘जङ्ग बहादुरको बेलायत यात्रा’ मुद्रित हुन गएको उल्लेख गरे पनि सामग्री भेट्न सकिएन । शरच्चन्द्र भट्टराईले पनि ‘नेपाली वाङ्मय केही खोजी : केही व्याख्या’ मा उल्लेख गरेअनुसार विसं१८७८ तिर सबभन्दा पहिले नेपाली भाषामा बाइबल मुद्रित भएको पाइन्छ, जसलाई ‘नेपाली बाइबल’ भनिन्छ । त्यसपछि विसं१९२७—१९२८ तिर जङ्ग बहादुरको अइन अर्थात् पुरानो मुलुकी ऐन मुद्रित भयो । यसलाई नेपालमा मुद्रित नेपाली भाषाको पहिलो कृति मानिन्छ । यसलाई शरच्चन्द्र भट्टराईले ‘माध्यमिक नेपाली गद्याख्यान’ मा समेत सङ्केत गरेका छन् ।
हुनत, नेपाली भाषामा जे.ए. एटनको नेपाली भाषाको व्याकरणभित्र रहेको ‘मुन्सीका तिन आहान’देखि नेपाली भाषाको मुद्रणको युग प्रारम्भ भएको मान्न सकिन्छ । विदेशीहरुले गर्ने मुद्रणमा निरन्तरता नभएकाले विसंं १९०३ पछि प्रधानमन्त्री जङ्गबहादुर राणाको शासन कालदेखि सरकारी कागज पत्र वा दस्ताबेज र अन्य पुस्तकहरु निरन्तर मुद्रण हुन थालेको बुझिन्छ । काठमाडौँको ठँहिटीमा मनोरञ्जन यन्त्रणालयको स्थापनापछि नेपाली भाषाको मुद्रणले निरन्तरता पाउन थालेको हो ।
यस शीर्षकमा सर्वप्रथम मुद्रित यस्ता सामग्रीबाट नेपाली वर्ण विन्यासका प्रवृत्ति हेर्न खोजिएको छ । मुद्रित ‘मुन्सीका तिन आहान’मा सम्पूर्ण नेपाली शब्द पदयोग गरिएका छन् । मदन पुस्कार पुस्तकालमा रहेको यसको प्रतिलिपिमा पदयोग गरिएका शब्दहरु पढ्न असजिलो र निरन्तरता नदिने मुद्रण भएकाले यसबाट वर्ण विन्यास हेरिएको छैन । मुद्रणमा निरन्तरता र नेपाली शब्दलाई प्रायः अलग अलग डिकामा नेपाली शब्द देखिन थालेका मुद्रित सामग्रीबाट वर्ण विन्यासका प्रवृत्ति हेरिएको छ । उल्लिखित सरकारी दस्ताबेजमा अलग अलग डिकामा र केही एउटै डिकामा मुद्रण गरेको भेटिन्छ । पद वियोग प्रारम्भ भएको पहिलो मुद्रण नेपाल सरकारको जङ्गबहादुरको १९२७ को अइन (मुलुकी ऐन)मा देखिएको छ । गोपालदत्त पाँडेको ‘व्यक्त चन्द्रिका’ भन्ने गणितको पाठ्य पुस्तक पूरै पद वियोग गरी मुद्रण भएको दोस्रो सामग्री रहेको छ ।
क. सरकारी दस्ताबेजमा नेपाली वर्ण विन्यास
नेपाल सरकारको ‘जङ्गबहादुरको अइन’ लाई सर्वप्रथम सर्सर्ती हेरी सङ्केतका रूपमा केही शब्द टिपोट गरी सरकारी दस्ताबेजमा वर्ण विन्यासका दिशा वा प्रवृत्ति खोजिएको छ । यसमा टिपोट गरिएका सिवालय, नैमितिक, पुजा, राजेन्द्र विक्रम साह, कंपुपल्टन, भारदारसमेत, कमि, संतमहंत, कचहरि, तपसिल, कचहरि, हुंछ, कुमारिचोक, हामि, कंपनि, मिनिष्टर, भक्त वीर, मोहि, केहि, राजिखुसिले, गुठिसदावर्त, बाबुछोरा, अघिगुठिराख्न्याकासन्तानले, बमोजिम्, बन्धक् सन्तान्, अर्का लाई, पाउँदैनन्, सुक्रि बिक्रि, केटा केटि, सन्तान्हरु मुद्रित भएका देखिन्छन् । समग्रमा जङ्ग बहादुरको अइनमा मुद्रित भएका शब्दलाई हेर्दा शब्दहरु वर्ण विन्यासको कुनै नियममा बाँधिएका देखिँदैनन् । यसको आद्योपान्तको मुद्रणका शब्द टिपोटबाट देखिने पदयोग वा पद वियोग (बहुवचन हरु प्रत्यय, विभक्ति, नामयोगी, समास, व्यक्तिवाचक नाम, द्वित्व), तत्सम, तद्भव र आगन्तुक शब्दको पदादि, पदमध्य र पदान्तमा ह्रस्वदीर्घ, सकार, अजन्त वा हलन्त र शिरबिन्दु लेखनमा देखिने वर्ण विन्यासमा निम्न प्रवृत्ति रहेको ठम्याउन सकिन्छ :
यो मुलुकी ऐनमा छोटा छोटा शब्दको पदयोग गर्ने प्रवृत्ति पाइन्छ, जस्तै बाबुछोरा, राजिखुसि, गुठिसदावर्त आदि । तर यस्ता छोटा शब्दहरुको पद वियोग प्रवृत्ति पनि देखिन्छ, जस्तै : कोटा केटि, जङ्ग बहादुर, सुक्रि विक्रि आदि । यसले प्रायः छोटा शब्दको पदयोग प्रवृत्ति लिएको छ । यसमा विभक्तिलाई धेरै ठाउँमा पदयोग र थोरै ठाउँमा पद वियोग गरिएको छ भने नामयोगीहरु पनि छिटफुट बाहेक धेरै पद वियोग गरेको देखिन्छ । बहुवचन बुझाउने हरु प्रत्ययको स्थिति पनि पदयोग र पद वियोग दुवै रहेको छ । व्यक्तिवाचक नामको लेखनमा पद वियोगात्मक प्रवृत्ति रहेको छ, जस्तै : जङ्ग बहादुर, भक्त वीर आदि । द्वित्व शब्दको लेखनमा भने पद वियोग नै देखिन्छ । यस ऐनभित्र ठाउँ ठाउँमा अघिगुठिराख्न्याकासन्तान जस्तो लामो पदयोग देख्न सकिन्छ । यस्तो पदयोग र पद वियोग देखिनुले दस्ताबेजले निश्चित धारणा बनाएको छैन । ह्रस्वदीर्घतर्फ आगन्तुक, तद्भव र तत्सम शब्दमा समेत पदान्त, पदादि र पदमध्यमा ह्रस्व लेख्ने प्रवृत्ति पाइन्छ, जस्तै उल्लिखित उदाहरणमै यस्तो देखिन्छ र अन्य उदाहरणमा सिवालय, पुजा, हामि, मोहि, तपसिल, बहादुर आदि लिन सकिन्छ । त्यसै गरी ट सँग टाँसिएर आउने शब्दमा षकार लेखन मिनिष्टर शब्दमा देखिन्छ । यसले आगन्तुक शब्दमा ट कारसँग टाँसिएका ष देखाउँछ । नत्र प्रायः तत्सम बाहेक सबै शब्दमा सकार लेख्ने प्रवृत्ति रहेको छ, सहर, तपसिल समसेर आदि । तत्सम नेपाली शब्दमा संस्कृतानुसारी वर्ण विन्यासको न्यूनता देखिन्छ, जस्तै : सिवालय, पुजा आदि । सुविधानुसारी अजन्त हलन्त प्रयोग गर्ने हस्त लिखित सामग्रीमा प्रयोग भएको प्रवृत्तिलाई यो सरकारी दस्ताबेजले पनि अनुसरण गरेको छ, जस्तै : बमोजिम्, कागत्, दिन् तेस् वा बमोजिम, कागत, दिन, तेस आदि । साथै यसले पञ्चम वर्णको सट्टा मूल प्रवृत्तिका रूपमा शिरविन्दुको प्रयोग गरेको देखिन्छ, जस्तै दंड, अंक, आदि । थोरै शब्दमा मात्र पञ्चम वर्णको प्रयोग भेटिन्छ । यो शिरबिन्दुको प्रयोग हुंछ, दिंछ जस्ता क्रियापदमा समेत विस्तार भएको छ ।
ख. पाठ्य पुस्तकमा नेपाली वर्ण विन्यास
गोपाल दत्त पाँडेले पर्वतीय भाषा (नेपाली) मा गणितको पाठ्य पुस्तकको अभाव देखी विसं.१९४० मा नेपालबाट नै ‘व्यक्त चन्द्रिका’ मुद्रण गरी प्रकाशन गरेका हुन् । यसको वर्ण विन्यास के कस्तो थियो भनी शब्द टिपोट गरी हेर्दा समग्रमा निम्न प्रवृत्ति भेटिन्छ :
=पद वियोग : समस्त शब्द, बहुवचनको हरु, विभक्ति, नामयोगी, द्वित्व, संयुक्त क्रिया आदि ।
=शब्दको पदादि, पदमध्य र पदान्तमा ह्रस्व : बिच, गरि , गोरखालि, अरु, हरु, लाइ, रुपिया, कम्पनि, जिन्सि, चादि, हिन्दुस्तानि, चालिस, ठुलो, मुरि, ति आदि ।
=तत्सम शब्द तत्समानुसारी लेखन : पर्वतीय, शून्य, अवश्य ।
=पञ्चम वर्णको सट्टा शिरबिन्द प्रयोग ।
प्रवृत्तिगत हिसाबले सरकारी दस्ताबेजको नेपाली वर्ण विन्यासमा पद वियोग, शब्दको आदि, मध्य र अन्त्यमा ह्रस्व, सुबिधानुसरी हलन्त वा अजन्त, सकार, तत्सममा संस्कृतानुसारी, पञ्चम वर्णको सट्टा शिरबिन्दु वर्ण विन्यास देखिन्छ । यस्तो यस्तो वर्ण विन्यासात्मक लेखन तत्कालीन नेपाली भाषामा मुद्रित गणितको पाठ्य पुस्तकमा देखिन्छ ।
यसले के देखाउँछ हेमराज पण्डितको चन्द्रिका व्याकरण, सोमनाथ शर्माको मध्य चन्द्रिका र नेपाली भाषा प्रकाशिनी समितिको नेपाली कसरी शुद्ध लेख्ने ? जस्ता परम्परागत व्याकरणले मुद्रणमा आएका नेपाली वर्ण विन्यासका मुख्य प्रवृत्तिलाई समेटेर नियम बनाई सम्बोधन गर्न सकेका रहेनछन् ।
विसं २०४०, २०५७ र २०७२ मा प्रकाशित नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका विसं२०५७ र २०६७ का नेपाली वर्ण विन्यास सम्बन्धी गोष्ठी र विसंं २०६६ को अनिवार्य नेपाली शिक्षण निर्देशिका एवं विसंं २०७० मा शिक्षा मन्त्रालय पाठ्य क्रम विकास केन्द्रबाट प्रकाशित प्रकाशन शैली नेपाली वर्ण विन्यासका मुख्य प्रवृत्तिलाई सम्बोधनको प्रयास गरेका रहेछन् ।
नेपाली परम्परागत व्याकरणले सम्बोधन नगरे पनि उल्लिखित सरकारी दस्ताबेज र पाठ्य पुस्तकमा देखिएका वर्ण विन्यासका मुख्य प्रवृत्तिहरु सुरुदेखि वर्तमान सार्वजनिक लेखनमा देखिने मुद्रणमा जीवित देखिन्छन् । के यी मुद्रण युगदेखि वर्तमानसम्म सर्वजनिक लेखनमा जीवन्त देखिने वर्ण विन्यासका प्रवृत्तिलाई जडसूत्रवादी वर्ण विन्यासका ठिङ्गुरामा निरन्तर कसेर राख्न सकिएला र ?