मन्त्रिपरिषद्को अध्यक्ष, प्रधानमन्त्री भइसकेपछि पनि तत्कालीन राजा ज्ञानेन्द्रको शासनमा बाह्र वर्षपछि नेपाल फर्केर उपाध्यक्ष बन्ने डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा देहावसान भयो । आफ्नो समयका यी दबंग राजनीतिज्ञलाई मन पराउनेभन्दा मन नपराउने धेरै होलान् तर उपेक्षा गर्न भने कसैले पनि सक्तैन ।
डा. तुलसी गिरीको देहावसान एउटा युगको पटाक्षेपकै उपक्रम हो । सायद, अब पञ्चायत सुरु हुँदाका निर्णायक हस्तीहरू धेरै बाँकी छैनन् । नेपाली कांग्रेसका नेतालाई ‘नायक’ ठानेर हुर्केको हाम्रो पुस्ताका लागि तुलसी गिरी ‘धोकेवाज खलनायक’ थिए । ‘‘बीपी कोइरालाका निकट र विश्वासप्राप्त भएर पनि तुलसी गिरी र विश्वबन्धु थापाले धोका दिए । यिनैको सहयोगमा राजा महेन्द्रले संसदीय लोकतन्त्र समाप्त पारेर पञ्चायत लागु गर्न सकेका हुन् । यसैले यिनीहरू कृतघ्न राजनीतिज्ञ हुन्,’’ हामी यस्तै सुनेर हुर्केका हौँ । (पछि विश्वबन्धु थापाका कुरा सुन्ने र अलिकति नजिकबाट हेर्ने मौका मिल्यो । त्यसपछि उनको राजनीति निरपेक्ष हुँदा व्यक्तिका रूपमा श्रद्धा लाग्यो । पञ्चायतमा प्रवेश गरेका नेपाली कांग्रेसका कुनै बेलाका महामन्त्रीहरू श्रीभद्र शर्मा, परशुनारायण चौधरीको संगत गर्ने मौका पाएँ । व्यक्तिका रूपमा यिनीहरू असल र लोकतान्त्रिक थिए । अहिलेका नेताहरूको दाँजोमा धेरै गुणा भद्र, शिष्ट थिए र संस्कार पनि लोकतान्त्रिक थियो ।)
डा. तुलसी गिरीका बारेमा भने उनका समकालीन कांग्रेसका नेता कार्यकर्ताले खासै सकारात्मक वा भावनात्मक निकटताको चर्चा गरेनन् जति विश्वबन्धु दाइका बारेमा गर्थे । यसैले उनका बारेमा सुनेका कुरामात्र लेख्दैछु । पक्कै पनि डा. गिरी प्रतिभाशाली र चतुर व्यक्ति हुन् । बेला र व्यक्तिको महत्त्व बुझ्न सक्ने क्षमताले उनलाई बीपी कोइरालाको निकट बनायो भने राजा महेन्द्रलाई पनि यही गुणले रिझायो । यसैले उनमा महत्त्वाकांक्षा पनि उत्तिकै चर्को देखिन्छ । राजा महेन्द्रसँग पनि उनको धेरै समय विचार मिलेन । डा. गिरी राजाबाहेक दरबारका अरू कसैलाई टेर्दैनथिए रे । सायद यही कारणले दरबारियाहरूले गिरी र राजाका बीचमा फाटो पारे । पञ्चायतकालमा डा. गिरी उपाध्यक्ष रहेका बेलाको सरकारका मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागेको थिएन । तर, राजा महेन्द्र भने त्यति चोखा थिएनन् । सायद, लोकतन्त्र विरोधी यी दुई जनाका बीचमा फाटो पार्ने यो पक्ष पनि थियो ।
नेपाल युवक संगठनबाट प्रतिनिधित्व हुने राष्ट्रिय पञ्चायतका सदस्यको निर्वाचन हेटौँडामा हुँदैथियो । डा. गिरी पनि आफ्ना उमेदवारलाई जिताउन हेटौँडा पुगेका थिए । यो २०२८ सालको घटना हुनुपर्छ । उनी त्यहीँ रहे भने सरकारी उमेदवार हार्ने देखेर डा. गिरीलाई काठमाडौं फर्काउन उनको पारिवारिक विवादको हल्ला फैलाइयो । अनि रातारात डा. गिरी फर्के र सरकारी उमेदवारमध्ये ३ जनाले जिते भन्ने हल्ला त्यति बेला चलेको थियो । अर्थात्, पञ्चहरूकै लागि पनि सहज थिएन डा. गिरीको व्यक्तित्व । त्यसो त डा. गिरीलाई पञ्चायतकालमा सुरक्षा कानुन लगाएर थुनामा पनि राखिएको थियो । राजालाई पनि घुर्की लगाउने हैसियतमा पुगेका थिए डा. गिरी । पञ्चहरूका लागि डा. गिरी अभिशप्त ‘नायक’ थिए ।
राष्ट्रिय पञ्चायतको एउटा चुनावमा डा. गिरीको दर्खास्तै खारेज भएको प्रसंग पनि सुनेको छु । सायद २०२५ सालतिरको होला । जनकपुर अञ्चलको धनुषाबाट राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचन हुने भयो । डा. तुलसी गिरी पनि चुनावमा उठ्ने भएछन् । उनलाई हराउन प्रधानमन्त्री सूर्यबहादुर थापाले उपयुक्त पात्र खोज्दै जाँदा तनहुँका सुरवीर अधिकारी तयार भएछन् । उनलाई अञ्चल न्यायाधीशका रूपमा पठाइएछ । निर्वाचन अधिकृत नै अञ्चल न्यायाधीश हुने व्यवस्था थियो ।
अञ्चलभित्रका सबै जिल्ला पञ्चायतका सदस्यहरू निर्वाचक मण्डलका सदस्य हुन्थे । चुनाव भएमा डा. गिरी जित्न सक्थे । अर्का उमेदवार रुद्रप्रसाद गिरी थिए सायद । विसं २०१८ सालपछि ६ वर्ष जेलमा बिताएर रिहा भएका रुद्र गिरीले पञ्चहरूको चुनावमा जित्न सजिलो थिएन पनि होला । अञ्चलभरकाले मत दिने भए पनि प्रस्तावक र समर्थक जिल्लाभित्रका नै हुनुपर्थ्यो । षड्यन्त्र हुने शंकाले डा. गिरीले रुद्र गिरीको दर्खास्त परेपछि प्रस्तावक र समर्थक हेरेर फरक व्यक्तिलाई राखेर दर्खास्त दर्ता गराएछन् । तर, निर्वाचन अधिकृत नै उनलाई हराउन खटिएका । रुद्र गिरीको दर्खास्त फेरेर डा. गिरीकै प्रस्तावकलाई प्रस्तावक राखिदिएछन् । दाबी विरोध गर्नेबित्तिकै पहिले परेको रुद्र गिरीको दर्खास्त सदर गरेर तुलसी गिरीको उमेदवारी खारेज गरेछन् । यस्तै खेलको सिकार गोरखामा विनोदप्रसाद धिताल पनि भएका थिए रे !
अर्को एउटा पुस्तकको प्रसंग कसैले सुनाएको थियो । यो २०३२ सालपछिको घटना हो । दरबारका सचिवहरू मन्त्रीहरूलाई पुस्तक पढ्न प्रेरित गरिरहन्थे । दरबारले ‘टेक्नोक्य्राट’ हरूलाई राजनीतिमा अगाडि बढाउने नीति अपनाएको थियो ।
सरकारी सेवाबाट डा. भेषबहादुर थापालाई मन्त्री बनाइएको थियो । डा. हर्क गुरुङ पनि मन्त्री बनाइएका थिए । डा. मोहम्मद मोहसिनलाई गाउँफर्क राष्ट्रिय अभियानको सदस्य सचिव बनाइएको थियो । यस्तैमा दरबारका सचिवहरूको पुस्तक चर्चाबाट दिक्क भएका डा. गिरीले डा. मोहसिनलाई कुनै एउटा काल्पनिक लेखक र उसको पुस्तकका बारेमा सुनाइदिएछन् । बिस्तारै त्यस पुस्तकको चर्चा फैलँदै गएर दरबारका कुनै सचिव अहिले सम्झना छैन नारायणप्रसाद श्रेष्ठ हुन् चिरन शमशेर थापाले डा. गिरीलाई त्यही पुस्तक पढ्न सुझाएछन् । पछि डा. गिरीले यो प्रसंग पञ्चहरूलाई सुनाएका थिए रे !
डा. तलुसी गिरीले जनमत संग्रहको घोषणालाई राजाले पञ्चलाई धोका दिएको रूपमा व्याख्या गरेका थिए । पञ्चायतमा राजाको सक्रिय नेतृत्व हुनुपर्छ भन्ने उनको मत थियो । त्यसैको पैरवी गरे । सुधारिएको भनिएको पञ्चायतको राजनीतिमा सहभागी भएनन् । पञ्चायतलाई सूर्यबहादुर थापाको चातुर्यले मात्रै जिताउन सक्तैन भन्ने ठानेर कट्टर पञ्चहरूले तुलसी गिरीलाई जनमत संग्रहमा संलग्न गराउन खोजे । उनलाई ‘पञ्चायतकी आमा’ भने । त्यतिबेला लाग्थ्यो, पञ्चहरू तुलसी गिरीको खराउलाई गुरु थापेर राजनीतिक मैदानमा उत्रेका छन् । भारदारहरू, सूर्यबहादुर थापा समूह र तुलसी गिरीका समर्थकहरू बीच त्रिकोणात्मक संघर्ष र सहकार्य थियो जनमतमा बहुदलीय शासन व्यवस्थालाई हराउन ।
देशभित्र बस्ने हो भने पञ्चायतको समर्थन गर्नुपर्छ नभए रक्सौल पारी गए हुन्छ भन्ने कट्टर पञ्च हुन् तुलसी गिरी । राजाको प्रत्यक्ष शासनमा मात्र नेपालको भलो हुन्छ भन्ने उनको विश्वासमा सायद बाँचुन्जेल कायम रहे । पञ्चायतका अरू प्रधानमन्त्रीहरू उनका सामु ‘पुड्का’ देखिन्थे । सूर्यबहादुर थााप पञ्चायतमा पनि धेरैपटक प्रधानमन्त्री भए तर पञ्चहरूको श्रद्धाका पात्र भने बन्न सकेनन् । गिरी व्यक्तिगत जीवन रसिक रहेको उनी, सुरा र सुन्दरीका पारखी रहेका अनेकौं किस्सा सुने र सुनाउनेहरू अझै धेरै नै छन् । तर यी प्रत्युत्पन्न मतिका र हठी राजनीतिज्ञलाई भ्रष्टाचारको आरोप लागेको भने सुनिएन ।
लोकतन्त्रविरुद्ध बीपी कोइराला र देशलाई दिएको धोकाका लागि भने डा. तुलसी गिरीलाई इतिहासले क्षमा गर्दैन । बेलायतको संसद्ले पुरुषलाई नारी बनाउन सक्तैन तर नेपालका राजाले सक्छन् भन्ने आत्मविश्वास नेपालमा अरू राजनीतिज्ञमा बरिलै भेटिएला !