site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सरकार र प्रतिपक्ष दुवैमा विद्रोह
Sarbottam CementSarbottam Cement

राजनीतिक दलहरूमा आन्तरिक विवाद सामान्यरुपमा लिइन्छ । तर, गत साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रतिपक्षी दल नेपाली कांग्रेस आआफ्नै समस्यामा बढी नै उल्झिएका देखिए । गत साताको शुरुमा नेकपामा चार शीर्ष नेताले पार्टीको शीर्ष तह सचिवालयको बैठक बहिष्कार गरेर विवाद सुरु गरे । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका हुन् । जम्मा नौ सदस्यीय सचिवालयमा अर्को कुनै एक सदस्यले बहिष्कार गरेको भए बहिष्कार गर्नेको बहुमत पुग्थ्यो । नेकपा स्रोतअनुसार बहिष्कार गर्नेको बहुमत पुगेको भए उनीहरूले छुट्टै भेला गरेर सचिवालयको बैठक भएको निर्णय गर्ने थिए । तर, चारजना शीर्षको बहिष्कारपछि दुई अध्यक्षसहित अन्य तीन सदस्य विष्णु पौडेल, ईश्वर पोखरेल तथा रामबहादुर थापाले बैठक बसेर मंसिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरे ।

यस विषयमा नयाँ पत्रिकाले सबैभन्दा ठूलो समाचार बनायो । सो पत्रिकाले अध्यक्ष ओलीले बैठक बोलाए पटकपटक आउन ढिलो गरेको र अपमान गरेको भन्दै नेताहरूले बहिष्कार गरेको समाचार प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्ट, नागरिक, हिमालय टाइम्सले मुख्य समाचार बनाए भने कान्तिपुरले पनि पहिलो पृष्ठको मध्य भागमा सो समाचारलाई स्थान दियो । 

यी पत्रिकामध्ये नयाँ पत्रिका, नागरिक तथा हिमालय टाइम्सले बहिष्कारको विषयमा सोमवार सम्पादकीय टिप्पणी गरे । नयाँ पत्रिकाले भन्यो, ‘नेताहरूको बहिष्कार केबल देखाइएको कारणमात्र नभएर अध्यक्ष केपी ओलीले यसबीच पार्टी एकीकरणका सन्दर्भमा देखाएको बेवास्ता पनि हो ।’ नयाँ पत्रिकाले नेकपालाई लोकतान्त्रिक तथा गतिशील हुन सुझाव दिँदै अहिलेको जनता र पार्टीबीचको सम्बन्धको खाडल लामो समय रहन दिनु हुँदैन भनेको छ । नागरिकले पनि आन्तरिक समझदारीमा जोड दिँदै यस मुलुकका नेताहरूमा व्यवस्थापकीय कुशलताको कमी भएको टिप्पणी गरेको छ । हिमालय टाइम्सले चार नेताको बहिष्कार समय गतिशील छ, कसैलाई पर्खँदैन भन्ने तथ्य नेकपाका अध्यक्ष द्वयले आत्मसात गर्न पर्याप्त छ भनेर सम्पादकीय लेखेको छ । यसै सन्दर्भमा राजधानीले शुक्रवार नेकपा एक पार्टी भए पनि एकताको सात महिनासम्म पनि संसदीय दलको कार्यालय छुट्टाछुट्टै चलिरहेको समाचार प्रकाशित गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाको कचिंगलको समाचारले साताको सुरुका दिनमा प्रभाव देखायो भने सप्ताहान्तमा प्रमुख प्रतिपक्षी कांग्रेसको समस्याका विषयमा केही समाचार अघि आए । महासमितिको बैठक शनिबार बस्ने परिप्रेक्ष्यमा पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलका बीच चर्काचर्की भएको समाचार कान्तिपुरले शुक्रवार प्रकाशित गरेको छ । बिहीवार बसेको बैठकमा पौडेलले स्थानीय, प्रदेश र संघको निर्वाचनमा देउवाको कमजोर नेतृत्वको कारणले पराजय भोग्नु परेको रोष प्रकट गरे । उनले सरकार, संसद् र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग भएको आरोप लगाउँदै समग्रमा पार्टीको ‘पोस्टमार्टम’ गरिनुपर्ने माग गरेका थिए । सभापति देउवाले पराजयको जिम्मेवारी लिन अस्वीकार गर्दै आफैँले केन्द्रीय समितिमा नियुक्त गरेका सदस्यले समेत आफ्नो आलोचना गरेकोमा आक्रोश व्यक्त गरे । नयाँ पत्रिकाले पनि ‘कांग्रेस बैठकमा जुहारी’ शीर्षकमा समाचार लेख्दै देउवालाई रामचन्द्र पौडेलले लगाएको हारको आरोपमा देउवाले आफैँ हारेकाले नेतृत्वलाई गाली गर्न सुहाउँदैन भनेको समाचार प्रकाशित गरेको छ । शुक्रवारको हिमालय टाइम्सले भने देउवा–पौडेल विवादलाई धेरै महत्त्व नदिई सहमति नजुटेको विषय महासमितिबाट टुंग्याउने समाचार प्रकाशित गर्‍यो । 

यसअघि आइतवार नयाँ पत्रिकामा प्रकाशित एक लेखमा कांग्रेस नेता अर्जुननरसिंह केसीले नेतृत्वले मन विभाजनको अवस्था हटाउन नसकेको भन्दै महासमितिको बैठकमा के कस्तो निर्णय लिइनु पर्छ भनेर विचार प्रकट गरेका थिए । 

Global Ime bank

अन्य समाचार

गत साताका उल्लेख्य समाचारमा अन्नपूर्ण पोस्टले प्रकाशित गरेको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले छाया शासकको भूमिका खेलेको विषय रह्यो । सिहंदरबारमाथि डाडु र पन्यु बोकेर बसेका रिमालको ठूलो कार्टुनसहित ६ कोलममा प्रकाशित सो समाचारमा देशमा छाया शासन चलेको विषय उठाइएको छ । मुख्य सल्लाहकार रिमालले सचिवहरूको ‘ब्रिफिङ’ लिने तथा हरेक विषयमा प्रधानमन्त्री सरह काम गर्ने गरेको तथा मन्त्रीहरूमाथि पनि प्रभुत्व जमाएको समाचार अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ । 

कान्तिपुरले शनिबार खोज पत्रकारिता केन्द्रको सहयोगमा घरधनी सांसदले कसरी भाडाको पैसा उपभोग गरिरहेका छन् भन्ने लामो खोजमूलक समाचार प्रकाशित गरेको छ । कान्तिपुरका रिपोर्टर मकर श्रेष्ठले लेखेको सो समाचारमा खोपकेको कस्तो प्रकारको सहयोग भन्ने स्पष्ट नभएता पनि समाचारले धेरै विसंगति खोतलेको छ ।  समाचारको मुख्य जोड घर भएका सांसदले घर छैन भनेर भाडाको रकम लिइरहेको मात्र होइन सरकारी भवनमा बसेर पनि भाडा खाएको विषयमा केन्द्रित छ । पूर्व सभामुख ओनसरी घर्तीले आफ्ना पति ऊर्जा मन्त्री वर्षामान पुनसँग मन्त्री क्वार्टरमा बसे पनि घर भाडा लिइरहेकी छिन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसँगै मन्त्री क्वार्टरमा बस्ने उनकी पत्नी सत्या पहाडीले पनि घरभाडा लिने गरेको विवरण रहेको कान्तिपुरले प्रकाशित गरेको छ । 

अन्नपूर्ण पोस्टले सोमवार प्रकाशित गरेको ‘तेल चोर्न आन्दोलन’ समाचार पनि उल्लेख्य छ । ढुवानीमा हुने चुहावटको मिलान गर्ने मापदण्ड बढाउन माग गर्दै ट्यांकर चालकले आन्दोलन गरेको विषयलाई राजेश वर्माले सशक्त ढंगले उठाएका छन् । डिजेलमा पहिले चुहावट बापत् प्रतिट्यांकर १५ लिटर छुट दिएकोमा अहिले ९० लिटर माग गरिएको तथा पेट्रोलमा प्रति ट्यांकर २१ लिटर छुट दिएकोमा त्यसमा पनि ९० लिटर माग गरिएको छ । समाचारअनुसार यसरी माग गरेअनुरुप ट्यांकरलाई छुट दिने हो भने प्रतिदिन नेपाल आयल निगमलाई थप तीन करोड मूल्यको भार थपिन जानेछ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC