– अक्षर काका
यतिबेला म देशको प्रशासनिक मुख्यालय सिंहदरबार परिसरभित्रको प्रधानमन्त्री कार्यालयमा छु । मेरोसामु दुई तस्बिर छन् ।
पहिलो तस्बिर— गाला ओढार पसेको अनुहार । सुकेनासले हड्डीमात्रै बाँकी राखेको खिरिलो जिउ । आँखामा पारदर्शी चश्मा र तिलचामल कपाल ।
द्विविधामा पर्न जरुरी छैन । यो तस्बिर झापा विद्रोहको क्रान्तिकारी राप–तापबाट हुर्किएका आगोका फिलिंगोजस्ता केपी शर्मा ओलीको हो ।
पूर्वकोशी प्रान्तीय कमिटीमातहत रहेको झापा जिल्ला कमिटीले देशको सुदूरपूर्व झापामा ‘वर्गशत्रु खत्तम’ अभियान थालनी गर्दा केपी ओलीका ओठमाथि झुसिला रौं देखापरेका थिएनन् । टाँकीझैं स्याप्प थियो पेट । खुट्टामा जुत्ता थिएनन् । खालीखुट्टै उनले संघर्षको आँधीबेहरी निम्त्याएका थिए ।
त्यही हतियारबन्द संघर्षका कारण १४ वर्ष जेल परे र जेलबाट रिहा भएलगत्तै कैद गरिएको छायाछवि हुनुपर्छ त्यो ।
क्षयरोग र कुपोषणले निर्मम चुसेको भए पनि अनुहारमा तिलस्मी आभा छ । मृत्युलाई जितेर अघि बढेको जीर्ण कायाले पनि परिवर्तनको सुनामी आमन्त्रण गरिरहेको प्रतीत हुन्छ ।
पहिलो तस्बिरले उनीप्रति श्रद्धाले मुटु ढक्क फुल्छ । तन्नेरी नशामा परिवर्तनको रगत दौडन थाल्छ । मुटु गर्वले ढक्क फुल्छ । सपनाले शिखरको बाटो समात्छ ।
तर, जब दोस्रोपटक प्रधानमन्त्री पदमा वरण भएलगत्तै खिचिएको दोस्रो तस्बिरमा आँखा पर्छ, त्यो श्रद्धा एकाएक शून्यमा विलुप्त हुन्छ । विश्वासले नूर निहु¥याउँछ । भरोसा कोमामा पुगेको बिरामीझैं मृत्युवत् हुन्छ । निराशाले गोमन साँपझैं फणा उठाएर ठाउँकुठाउँ डस्न थाल्छ । खड्गप्रसाद ओलीको यो तस्बिर हेर्दा लाग्छ— उनी खड्ग उचालेर आफ्ना ‘प्रजा’लाई मार हानिरहेछन् ।
दोस्रो तस्बिरले पहिलोलाई नमीठोसँग गिज्याइरहेको र उपेक्षा गरिरहेको भान हुन्छ । मानौं— समृद्धिलाई दिशा दिने सवालमा यी दुई तस्बिरबीच गम्भीर मतमतान्तर छ । र, आमुन्नेसामुन्ने भएका छन् ।
० ० ०
इशापूर्व ३७ ताका जन्मिएका रोम सम्राट नीरोका सन्दर्भमा एउटा चर्चित आहान छ— रोम शहर आगोले जलेर भग्न बनिरहँदा उनी बाँसुरी बादनमा मग्न थिए । यतिसम्म भनिन्छ कि, आगोबाट आह्लादित भएर नीरो आफैंले रोम जलाउन लगाएका हुन् ।
वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको हकमा पनि यो ‘मिथ’ प्रतिच्छवित् हुन्छ । सारा देश गरिबी, अभाव, पछौटेपन, बेरोजगार, हत्या, हिंसा, बलात्कारबाट ताडित भइरहँदा उनी रेल र पानीजहाजको रागविहीन मुरली बजाइरहेका छन् । करोडौं जनताले सदियौंदेखि भोग्दै आएका कोटी समस्यामाथि भद्दा मजाक पस्किएर क्रूर ठट्टा गरिरहेछन् । उनका उखान र टुक्काले परिवर्तनको चाहमाथि तीव्र व्यंग्य गरिरहेको प्रतीत हुन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ— परिवर्तन उनको ओठेभक्तिमात्रै हो, आशक्ति होइन । र, त उनको प्रत्युत्पन्नमति विमति तह लगाउने ब्रह्मास्त्र बनेको छ । हिजो गोली थापेर परिवर्तनको पक्षमा कलम चलाउनेहरूलाई ‘थला बसाल्दिन्छु’ भन्दै गाली दिन कत्ति पनि हिच्किचाहट मान्दैनन् । ‘भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ’ भनेर पाइलैपिच्छे किरिया त खान्छन् तर आफैं बेथितिको विम्ब बनिरहेको तथ्यलाई आँखा चिम्लिइरहेछन् । इन्कार गरिरहन्छन् ।
त्यसैले त भन्न करै लाग्छ— चुनावअघि हिरोको छवि सत्ता सम्हालेको १० महिनामै नीरोमा परिणत भइसकेको छ ।
समृद्धिको ब्ल्याकमेलिङ
चुनावअघि वाम (तत्कालीन एमाले र माओवादी केन्द्र)का कार्यकर्ता गाउँगाउँ पुगे । हातका राता झन्डा अभागी झुप्रोअघिल्तिर अड्याए र डाँडामा डुब्नै लागेको घाम देखाउँदै तिनले भने, “बा ! अब तपाईंका दुःखका दिन गए, यी हेर्नुहोस् त, चम्किलो सूर्य तपाईंकै दैलोमै आइसकेको छ ।”
“घाम.....? ओहो ! वृद्धभत्ता !” गरिबीले डसेको तिनको अनुहारमा तुरुन्तै सूर्य सञ्चार भयो । आँखा धेरै बेर विस्फारित भए ।
“के गर्नुप¥यो त नानी ?” तिनको टीठलाग्दो अनुहारले प्रश्न गर्यो ।
“केही गर्नु पर्दैन, एक भोट सूर्यलाई हाल्नुहोस्, पाँच हजार वृद्धभत्ता पक्का ! छोरा–नातिले नहेरे एमालेले हेर्छ तपाईंलाई !”
सम्पत्तितुल्य छोराहरू विदेश पलायन छन् । आँगन पोलेर ल्याएकी बुहारी शहर पसेको वर्षौं भयो । तामाका टुसाजस्ता नातिनातिना जन्मिएका छन् भन्ने सुनेका छन् तर देख्न नपाएर मन तड्पिएको छ । डाँडापाखा बसाउँदै चाडबाड वर्षैपिच्छे आउँछन् तर छोरा–बुहारी आउँदैनन् । उमेर घर्कंदै गएकाले हुनुपर्छ— आफ्नै आँगन परदेश भएको छ । अभिशापजस्तै छ, बुढ्यौली । वृद्धले झल्याँस्स सम्झिए, “सूर्य छँदै छ नि ! केको फिक्री ?”
निराशाले भरिएको झुप्रोमा उमंग छिर्यो ।
चुनावपछि सिंहदरबारमा रापिलो सूर्य त उदायो तर उनको गरिब झुप्रोमा पाँच हजार वृद्धभत्ता आएन । न, समृद्धि छारो–धूलो उडाउँदै आयो ।
भाग्यले ठगेको वृद्धकायालाई सिंहदरबार र बालुवाटारले समेत जालसाजी गर्यो । अहिले उनी ‘जुन जोगी आए पनि कानै चिरेको’ आदिम आहान सम्झिएर मन बुझाउँदैछन् ।
सपनाको बोझ
खड्ग ओलीनेतृत्वको सरकार पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल दौडाउने सपना देखिरहेको छ । तर, आफू चिप्लेकीराजत्तिको पनि वामे सर्दैन । लाग्छ— सरकार सपनाको भारीले उठ्नै नसक्ने गरी थला बसेको छ । सपनाको बोझले किचेको छ । सिंहदरबारको मोजले थिचेको छ । सत्ता र शक्तिको दोहनमै अलमलिएको छ । सम्होनमा परेझैं रछ्यानदेखि ओछ्यानसम्म भ्रष्ट र तस्करहरूबाट घेरिएको छ ऊ । आफैं हिँड्ने बाटो कोर्न नसकेको सरकारले चारैदिशा रेल आउने बाटो कोरिसकेको सेप्रो गफ गरिरहेकै छ । परन्तु, उसको बेतुकको भाषण सुनेर समय खेर फाल्ने पक्षमा कोही छैनन् ।
पाइलैपिच्छे रेल र पानीजहाजको ख्याली पुलाउ पस्किने सरकारलाई काठमाडौंका खाल्टाखुल्टीले दिनहुँ धारे हात लगाउँछन् । एकाबिहानै उड्ने छारो र धूलोले सरकारको सपनालाई धुमिल तुल्याइदिएका छन् । आफैंले व्यवस्थापन गर्न नसकेको छारो र धूलोले कुहिरोको काग बनेको छ र आफ्नै जनमतको तिरस्कारमा परेको छ— तीन चौथाइको ‘कम्युनिस्ट’ सरकार ।
स्वाभाविक हिसाबले समृद्धि र स्थायित्वको सम्मोहनकारी नारा पस्किएकाले वाम गठबन्धनले दुईतिहाइ सन्निकट मत प्राप्त ग¥यो । जादुयी सपनामा लट्ठिँदै मत हाले पनि मन्त्रीमण्डल गठनपछिका सरकारी कार्यशैली र आफ्नो निर्णयमा समेत उभिन नसक्ने निकम्मापनले सरकारप्रतिको मोह क्षणभंगुर भइसकेको छ । विश्वासमा धाँजा फाटिसकेका छन् । सपनाहरू क्रमशः मुर्झाउन थालेका छन् ।
जनताका अपेक्षालाई सरकारले निरन्तर उपेक्षा गरेपछि विरोधको स्वर बढ्नु अस्वाभाविक होइन । तर, विरोध गर्नेजत्तिलाई वैरी देखेर सरकारले आफ्नै मतदाताप्रति गम्भीर बेइमानी गरिरहेछ ।
पहिलो पटक सत्ता सम्हाल्दा सिमानामा टायर बालेर आगो तापिरहेका मधेसकेन्द्रित दल अहिले खड्गप्रसाद ओलीनेतृत्वकै सरकारलाई सघाउने तहमा आइपुगेका छन् । सत्तापक्षको लबीमा बसेर सरकारको निर्णयलाई ताली बजाएर समर्थन व्यक्त गर्ने ठाउँमा छन् । आफ्नै गृहकलह साम्य पार्न नसकेकाले प्रतिपक्षको दुर्भीक्ष्य छिट्टै हट्ने छाँट छैन । सरकारालाई हाराबारा खेलाउने त निक्कै परको कुरा ! यस्तो अनुकूलतामा पनि सरकारले फड्को मार्न नसक्नु प्रधानमन्त्रीको अकर्मण्यताशिवाय अरूलाई दोष दिने ठाउँ छैन ।
सरकारका मन्त्री र सल्लाहकार भिजाएका सिस्नोजस्ता छन् । दुःख, दर्दले आहत भएका निमुखा–निम्छराको मर्ममा बारबार बिझिरहन्छन् । जनताको समृद्धिको सपनामाथि प्रधानमन्त्रीकै सचिवालय तगारो बनिरहेको तथ्यबाट प्रधानमन्त्री निकै टाढा छन् । तसर्थ, गरिबको पोल्टामा समृद्धिको सुस्वादु सपना थमाएर हासिल गरको सत्ताले ‘लुटको धन फुपूको श्राद्ध’को आदिम लोकोक्तिलाई ओझेलमा पारिदिएको छ ।
जनताको एकएक मतबाट आर्जेको राज्यसत्ता विरासतमा प्राप्त वपौतीझैं बफादार र भाइभारदारहरूलाई बाँड्न तल्लीन छन् । बौद्धिकहरूको थाप्लोमा मिथ्या आरोप खन्याएर आफ्नो अकर्मण्यता ढाकछोप गर्ने भगिरथ प्रयत्न गरिरहेछन् । सरकारको रवैया हेर्दा यस्तो लाग्छ— खड्गप्रसाद ओली दुईतिहाइको कम्युनिस्ट सरकार चलाइरहेका होइनन्, देशभित्र प्राधिकार लादिरहेका छन् ।
सात दशकको संघर्षपछि प्राप्त उपलब्धि खड्गप्रसाद ओलीले आफ्नै पोल्टामा पार्लान्, आफ्नै कोटरीकालाई मात्रै पोस्लान् र समृद्धि र समुन्नतिको सपनामाथि यति छिट्टै चिसोपानी खन्याइएला भनेर शायदै नेकपाका कुनै नेता–कार्यकर्ताले सोचेका हुँदा हुन् ।
निमुखा–निम्छरा–अबला नागरिकहरूले आफ्नो मत यसरी खुलेआम दुरूपयोग होला भनेर पनि शायदै कल्पना गरेका हुँदा हुन् ।
तर, नियति निर्मम हुन्छ । ज्यानको बाजी थापेर ल्याएको परिवर्तन बालुवाटार र सिंहदरबारले धुस्नु बनाएको टुलुटुलु हेरिरहन अभिशप्त छन्, आम–नागरिक !
उपसंहार
“एक जुगमा एक दिन
एक चोटि आउँछ
उलटपुलट उथलपुथल,
हेरफेर ल्याउँछ !”
चुनाव ताका गाउँपाखामा खुब गञ्जियो यो गीत । वाम कार्यकर्ताको ऊर्जाशील ओठहरूमा झुन्डिए, यी हरफहरू ।
माथिका हरफ लेखिरहँदा गोपालप्रसाद रिमालले कस्तो दिनको परिकल्पना गरेका थिए होलान् ? उनको क्रान्तिकारी दिमागले कोरेका युगीन कविताले कस्तो युगको निम्तो दिएको हुँदो हो ? नेकपा पंक्तिले शायदै ठम्याउन सक्छन् ।
भन्न सकिन्छ– एक जुगमा एक दिन एकपटक मात्रै आउने उलटपुलटकारी परिवर्तन खड्ग ओलीहरूको आँगनमा आएको छ । तर, आम जनताले त्यही युगको प्रतीक्षामा अझ धेरै जुग फटाइबस्नुपर्नेछ ।