site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजनीतिक नेतृत्वमा सांस्कृतिक चेतै छैन
Sarbottam CementSarbottam Cement

– राजेश थापा (महाप्रबन्धक, सांस्कृतिक संस्थान)


(बितेका तीन वर्षभन्दा बढी समयदेखि संस्कृतिकर्मी राजेश थापाले सांस्कृतिक संस्थानको कमान सम्हालेका छन् । उनी आएपछि संस्थानले गर्ने कामहरूमा पनि गतिशीलता देखिएको छ । हालै संस्थानका महाप्रबन्धक थापासँग उनी संस्थानमा आएपछि भएका कामका विषयमा कुराकानी भए । प्रस्तुत छ, थापासंग ‘बाह्रखरी’का राजेश खनालले गरेको कुराकानीको सार ।)

एकसमय शून्यको अवस्थामा रहेको संस्थान तपाईं आएपछि चलमल भएको देखियो । के–के गर्नुभयो ?

Prabhu Bank
Agni Group
NIC Asia

नाचघर मूलतः संस्कृतिकर्मी, स्रष्टा, कलाकारहरूकै संस्था हो भन्ने सबैले बुझ्नुपर्छ । जुन–जुन समयमा यो संस्थानमा सर्जक तथा कलाकारहरूले नेतृत्व लिनुभयो, तत्तत् समयमा संस्थानले राम्रो काम ग¥यो । त्यो समयमा यो संस्थान जीवन्त रूपमा क्रियाशील रहेको पाइन्छ । चाहे त्यो नारायण गोपालको समयमा होस् वा गणेश रसिक वा हरिहर शर्माको समयमा । त्यसबेला संस्थानका गतिविधि शून्यमा हराएका थिएनन् । त्यसबेला नियमित नाटक हुन्थे । सांस्कृतिक कार्यक्रमहरू भइरहन्थे । जब लक्ष्मण रायमाझीपछि यो संस्थानको जिम्मा विभिन्न व्यक्तिहरूका हातमा आयो, त्यसपछि संस्थानका गतिविधि शून्य भए । त्यो उहाँहरूको दोष होइन । किनभने, उहाँहरू सांस्कृतिक क्षेत्रसँग जोडिएका व्यक्ति हुनुहुन्थेन । त्यसैले उहाँहरूले केही गर्न सकेको पनि देखिएन ।

तपाईं त यसै क्षेत्रको हुनुहुन्छ । काम गर्न सजिलो भयो होला नि !

Global Ime bank

म निकै लामो समय संस्कृति र संगीतको क्षेत्रका क्रियाशील रहें । म नृत्यकर्मी हुँ । नृत्य कलाकारका रूपमा संस्थानमा प्रवेश गरें । त्यसपछि म वाद्यवादनको क्षेत्रमा काम गर्न थालें । त्यसपछि गीत–संगीत एरेन्ज गर्न थालें । यसरी मैले यो क्षेत्रलाई मिहिन रूपमा बुझेको थिएँ । यसका साथै मैले नेपाल टेलिभिजनका लागि पनि विभिन्न काम गरें । अर्थात् कुनै न कुनै रूपमा म सांस्कृतिक र कलाका क्षेत्रसँग जोडिएर रहें । त्यसैले पनि मलाई यो क्षेत्रमा काम गर्न सजिलो भयो ।

जुन बेला म संस्थानमा आएँ, त्यसबेला संस्थानमा गतिहीनताको अवस्था थियो । तर, त्यसलाई गतिशील बनाउन नसकिने स्थिति भने थिएन । मैले जीवनमा जे–जे अनुभव हासिल गरेको थिएँ, त्यसकै आधारमा संस्थानलाई सांस्कृतिक रूपमा गतिशील बनाउने प्रयत्न गरें ।

म आउनुभन्दा दुई दिनअघि यो संस्थानलाई विघटन गर्नुपर्छ भन्ने कुरा उठेको रहेछ । यो संस्थानको काम छैन भन्ने भइसकेको थियो । तर, सुशील कोइराला प्रधानमन्त्री र कृपासूर शेर्पा संस्कृतिमन्त्री हुँदा म नियुक्त भएर यहाँ आएँ । आउनासाथ यहाँको समस्या बुझ्ने प्रयास गरें । त्यसपछि समस्या कसरी हल हुन सक्छ भन्ने बाटो खोज्न थालें । त्यसले संस्थानलाई अलिकति गति दियो । यसरी समस्याको खोजी गर्दै तिनको समाधान गर्दै गइयो । र, आज बाटोभन्दा बाहिर रहेको संस्थानरूपी गाडीलाई बाटोमा ल्याएर गुडाइरहेका छौं । ट्र्याकमा ल्याएर हिँडाउन शुरु गरेका छौं ।

गाडीले गति लिएको छ त ?

अझै पनि गर्नुपर्ने तमाम काम बाँकी छन् । अहिले गरिएका काम पूर्ण हुन् भन्ने अवस्थामा हामी छैनौं ।

संस्थानको उद्देश्यले के भन्छ ?

संस्थानको उद्देश्यअनुरूप नै पनि हामीले धेरै काम गर्न बाँकी छ । संस्थानको उद्देश्यले ‘नेपालको लोकसंस्कृति, लोक नाच, लोक वाद्यको संरक्षण, प्रवद्र्धन, अभिलेखीकरणमा जोड दिनू’ भन्छ । तर, हामीले त्यति गर्न सकेका छौं जस्तो लाग्दैन । हामीले सन्तोष गर्ने ठाउँ छैन । तथापि हामी हाम्रो कर्ममा लागिरहेका छौं । हामीले केही नयाँ काम गर्ने सोच बनाएका छौं । केही नयाँ नाचको खोजी र अनुसन्धान गर्ने, त्यसको प्रस्तुतिमा नयाँपन ल्याउने काममा जुटेका छौं ।

आम दर्शकहरूले संस्थानबाट गरेको अपेक्षा पूरा भएको छ ?

यसलाई हामी दुईवटा पाटोबाट हेरौं । एउटा— हिजो नाचघर वा सांस्कृतिक संस्थान कलाकर्मीहरूका बीचमा अपरिचित स्थानजस्तै थियो । शून्यको स्थितिमा थियो । तर आज त्यो अवस्था छैन । कलाकर्मीहरूले यो हाम्रो संस्था हो, यो थलो हाम्रो हो भन्ने आभास पाउँदै गएका छन् । अर्थात्, काम हामीले गरेका छौं । दोस्रो— जुन मात्रामा सांस्कृतिक संस्थानले लोकसंस्कृतिका क्षेत्रमा काम गर्नुपथ्र्यो, त्यसको अभिलेखीकरणमा जुट्नुपथ्र्यो, त्यो हुन सकिरहेको छैन ।

त्यो किन बाँकी रह्यो त ?

वास्तवमा म आउँदा संस्थान थला परेको बिरामीजस्तै थियो । त्यसलाई बल्ल उपचार गरेर चलाउने अवस्थामा आइपुगेका छौं । केही काम गर्न हामी सफल पनि भएका छौं । बाँकी रहेका काम पनि अगाडि बढाउने तयारीमा छौं । मलाई लाग्छ— मपछि आउने नेतृत्वले हामीले थालेको कामलाई सजिलैसित अगाडि बढाउन सक्नुहुन्छ । यतिबेला संस्थान चल्छ कि चल्दैन भन्ने द्विविधा समाप्त भएको छ । तर, चलाउनका लागि पुराना लोकनाच र लोकसंस्कृति अनि गीत–संगीतको खोजी÷अनुसन्धान भने उहाँहरूले गर्नु नै पर्ने हुन्छ । तिनै लोकसंस्कृतिको आलोकमा बसेर अब आउनेले नयाँ–नयाँ काम गर्दै जानुपर्छ । यसले नै संस्थानको क्रियाकलापलाई गति दिन्छ । यद्यपि यो काम कठिन पनि छ । हामीले पुराना संस्कृति जोगाएनौं भने हाम्रो अगाडि जाने बाटो पनि बन्द हुन्छ ।

आज मुलुक संघीय संरचनामा छ । संस्थान पनि सोही स्वरूपमा जानुपर्ने होइन ?

हो । सांस्कृतिक संस्थानका शाखा, प्रशाखा सातै प्रदेशमा खोल्न सकियो भने नेपालको मौलिक लोककला, लोकसंस्कृतिका क्षेत्रमा व्यापक काम गर्न सकिन्छ । त्यसमा घनिभूत छलफल गरेर त्यसको विकास र विस्तारमा लाग्न सकिन्छ । यसका लागि सरकारका सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ । तर, सरोकारवालाको ध्यान पुगेको छ भन्ने मलाई लाग्दैन । खासगरी राजनीतिक नेतृत्वमा सांस्कृतिक चेतको कमीका कारण संस्कृतिमा लगानी गर्ने, संस्कृतिलाई संरक्षण गर्ने कुरामा तिनको पर्याप्त ध्यान पुगेको छैन ।

हाम्रो नेतृत्व जहिले पनि यहीँ आएर किन चिप्लिन्छ ?

मलाई के लाग्छ भने हामी ०४६ सालपछि जुन राजनीतिक अस्थिरताका बीचमा बाँच्यौं, त्यसले हामीलाई अन्त कतै सोच्ने मौका नै दिएनन् । त्यसकारण जबसम्म मुलुकमा राजनीतिक स्थिरता रहँदैन, त्यसको कुप्रभाव सांस्कृतिक क्षेत्रमा परी नै रहन्छ । अब राजनीतिले स्थायी स्वरूप ग्रहण गर्दै छ । अब पक्कै पनि केही हुन्छ ।

सांस्कृतिक संस्थान स्वायत्त छैन भन्न सकिन्छ ?

यो संस्थान अर्धस्वायत्त छ भन्न सकिन्छ । किनभने यो नेपाल सरकारको पूर्ण स्वामित्वको संस्थान हो । यद्यपि कतिपय कामहरू हामीले स्वायत्त ढंगबाट गर्न सकिरहेका छैनौं । हामीले कतिपय स–साना विषयमा पनि सरकारको अनुमति लिनुपर्छ । मैले कुनै देशको सांस्कृतिक निकायसँग मिलेर काम गर्नुपर्ने अवस्था आइप¥यो भने पनि काम गर्न सक्दिनँ । यसका लागि सरकारको अनुमति लिनैपर्छ । यतातिर सरकार अलिकति नरम भइदिए मुलुकको सांस्कृतिक विकास र विस्तारमा संस्थानले अझै बढी काम गर्न सक्ने थियो ।

कतिपय विषयमा हामीलाई फैलिएर काम गर्ने मौका दिनुस् भनेर सरकारसँग भनिरहेका पनि छौं । हामी आशावादी छौं । मलाई लाग्छ— आगामी वर्षदेखि हामीले फराकिलो ढंगबाट काम गर्न सक्नेछौं ।

संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले थिच्ने प्रयास पनि त गर्ला !

हेर्नुस्, संगीत नाट्य प्रज्ञा प्रतिष्ठान एउटा विशुद्ध अनुसन्धानमूलक र सांस्कृतिक क्षेत्रमा सरकारको सल्लाहकार हो । तर, हामी ०१६ सालदेखि नै विशुद्ध रंगमञ्चीय प्रदर्शन गर्ने कामबाट अगाडि बढिरहेका छौं । त्यसैले यो रहँदा प्रतिष्ठान नरहने र प्रतिष्ठान रहँदा यो नरहने कुरा दुबै अतिवादी हुन् । प्रज्ञा प्रतिष्ठानले अनुसन्धान, प्राज्ञिक तथा नीतिगत कार्यमा सरकारलाई सुझाव र सल्लाह दिने हो । यता कला र संस्कृतिको मञ्चीय प्रयोगमा सांस्कृतिक संस्थानको भूमिका महत्वपूर्ण रहन्छ । तथापि दुबै एक–अर्काबीच नङ र मासुको सम्बन्धमा रहेका छन् । म आएपछि प्रतिष्ठानसँग कुनै तिक्तता र अन्योल भएन । प्रतिष्ठानले राम्रो सहयोग पनि गरेको थियो ।

अचेल तपाईंहरूले संस्थानको प्रेक्षालयमा विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएको छ । कविता वाचन, नाट्य प्रस्तुति, गजल प्रस्तुति, सांगीतिक प्रस्तुतिहरू । यस विषयमा केही बताइदिनुहुन्छ कि ?

सबैभन्दा पहिले त सांस्कृतिक संस्थानले कुनै न कुनै गतिविधि सञ्चालन गरिरहनुपर्छ, सांस्कृतिक केन्द्र बनिरहनु पर्छ भनेरै गत वैशाखदेखि यस्ता कार्यक्रमको शुरुआत गरेका हौं । अघिल्लो वर्षदेखि नै हामीले शास्त्रीय संगीतको कार्यक्रम थालेका हौं । हामीले हरेक दुई महिनाको पहिलो शनिबारका दिन ‘जुगलबन्दी’ कार्यक्रम सञ्चालन गर्दै आएका छौं । त्यसबाहेक स्रष्टा र सिर्जना, काव्याँकुर, गजल सिर्जना, एकल वाद्यवादन लगायतका कार्यक्रम पनि प्रस्तुत गर्दै आएका छौं, जुन कार्यक्रम दर्शकले रुचाउनु पनि भएको छ । काव्याँकुरमा कविताका भावमा नाटक मञ्चन गरिन्छ । यसरी विभिन्न ६ वटा कार्यक्रम हामीले प्रस्तुत गर्दै आएका छौं । यी सबै कार्यक्रमले हामीलाई राम्रो माइलेज दिएका छन् ।

यस्ता कार्यक्रमले हाम्रा नाट्य कलाकार, गीत–संगीत क्षेत्रका कलाकारलाई कविता र गजल के हो, साहित्य के हो भन्ने बुझ्ने मौका पनि प्रदान गरेका छन् । साहित्यिक रुचि बढेको छ कलाकारहरूमा । तिनमा साहित्यिक चेत पनि बढेको छ । यसले तिनमा सकारात्मक ऊर्जा पनि थपिएको छ । कवितामा नाटक मञ्चन एकदम जटिल काम हो । यसले हाम्रा नाट्यकर्मीलाई पनि गम्भीर बनाएको छ । तिनको सिर्जनात्मक क्षमता बढ्दै गएको छ ।

कविताका कार्यक्रमलाई लिएर एउटा टिप्पणी पनि सुनियो— संस्थानको कार्यक्रम प्रगतिशील लेखक संघले गरेको कविता वाचन कार्यक्रमजस्तो भयो भन्ने ! त्यस्तै हो ?

हामीले राजनीतिक हिसाबले पनि यस्ता कार्यक्रमलाई समावेशी बनाऊँ भन्दै त्यस्तो प्रयास गर्दै आएका हौं । यसमा विचार बोकेका र स्वतन्त्र दुवै खाले कविलाई ल्याउने गरेका छौं । हामी कुनै एक पक्षलाई मात्रै समेटेर हिँडेका छैनौं । सबैलाई समेट्ने प्रयास गरेका छौं । हामी सन्तुलन मिलाउने क्रममा छौं । प्राप्त भएका नामहरूलाई हामीले निराश तुल्याएका छैनौं ।

नाटक मञ्चनमा संस्थानले केही गर्न सकेको देखिन्न भन्ने लाग्दैन ?

हो । हामीले त्यति धेरै नाटक गर्न सकेका छैनौं । यद्यपि संस्थानको संस्थागत धारणा त्यस्तो होइन । मैले अगाडि नै पनि भनें— हरिहर शर्मा वा गणेश रसिक हुँदा नाटक भएका हुन् । किनभने उहाँहरूको लगाव त्यसतर्फ विशेष थियो । तर, म संगीत र नृत्य क्षेत्रको परें । त्यसैले पनि नाटक मञ्चन केही कम भएको हो । अर्को कुरा— हामीसँग नाट्य क्षेत्रका कलाकारहरू कम हुनुहुन्छ । शायद त्यसैले पनि हामीले चाहेजति काम गर्न सकिरहेका छैनाैं । तर पनि मैले नाटकलाई विशेष जोड दिइरहेको छु । केही समयअघि पनि ‘बहुला काजीको सपना’, ‘एक चिहान’, ‘देउकाशी’ (सोलो नाटक) गरेका थियौं । ‘याज्ञवल्क्य’ नाटक गर्दागर्दै रोक्नुपरेको थियो । त्यो नाटक पनि पुनः मञ्चन गर्ने तयारी गर्दै छौं । अरु पनि केही नाटकमा काम भइरहेका छन् । तर, पनि यो स्वीकार्नै पर्छ कि नाटकमा नेतृत्वको अभावका कारण सोचेजस्तो काम हुन सकिरहेको छैन ।

पुराना रंगकर्मीहरू अधिकांश खाली छन् त । तिनलाई बोलाएर काम गराउन सकिन्न ?

पुराना कलाकारलाई प्रयोग गर्न नसकिने होइन । त्यसैले पनि हामीले निर्देशक बद्री अधिकारीलाई ‘याज्ञवल्क्य’को जिम्मा दिएका थियौं । हामीले सहकार्यमा केही नाटक गरेका पनि हौं । नयाँ पुस्ताका निर्देशकहरूसँग पनि केही काम नगरिएको होइन तर त्यसलाई पर्याप्त मान्न सकिन्न । म अझै चाहन्छु नाटकका क्षेत्रमा केही होस् । म नाटकप्रति अझै पनि प्रतिबद्ध छु । मैले प्रभाकर शर्मा र वीरेन्द्र हमाललाई नाटकमा केही गरौं भनिरहेको छु । पक्कै पनि नाटकमा केही राम्रो काम गर्छौं हामीले । र, पुराना कलाकारलाई पनि रंगमञ्चमा ल्याउनेछौं ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC