site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसमा विद्रोहको खाँचो

यसै साताको सुरुमा नेपाली कांग्रेसका एक जनाले नेतासँग भलाकुसारी हुँदा मलाई सोधे – ‘‘तिमीलाई महासमितिलाई सम्बोधन गर्न भनियो भने के भन्छौ ? ’’ उनको ठट्टामा मैले भने – ‘‘नेताहरूविरुद्ध विद्रोह गर्न आह्वान गर्थेँ’’ । उनी हाँसे र भने ‘‘तिमीले त गम्भीर कुरा पो ग¥यौ त’’ । (विसं २०४२ सालमा पोखरा राष्ट्रिय भेलापछि कांग्रेसको कुनै बैठकमा मैले भाग लिएको वा बोलेको छैन । पोखरा भेलामा सहभागीमध्ये अहिले कति नै पो पार्टीमा होलान् र ? आधाउधी त परमधामै पुगी सके होलान् । त्यतिबेला मञ्चमा रहेका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तीनै जनाको मृत्यु भइसक्यो ।)  

कांग्रेस कुनै बेलाको रोमाञ्चक शब्द थियो । अहिले त थाकेको गलेको गन्तव्यहीन यात्रीजस्तो देखिएको कांग्रेसमा आकर्षण पनि बाँकी छैन । यथार्थमा कांग्रेसले आकर्षणमात्र हैन पहिचानसमेत गुमाउँदै गएको छ । बाह्र बुँदे दिल्ली सम्झौतापछि कम्युनिस्टहरूले घिसार्दै र ठेल्दै हिँडाएको कांग्रेसले बाटो नफेर्ने हो भने कुनै पनि विन्दुमा पुग्दा थला पर्न सक्छ । 
विसं २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला देश संकटमा पर्ने जोखिम देखेर ज्यानको बाजी थापेर नेपाल फर्केका थिए । उनैको पार्टीका नेताहरू अहिले पार्टीको विधानमा आफूलाई फाइदा कसरी हुन्छ भन्दै बखेडा झिक्तैछन् । यस्ता नेताविरुद्ध विद्रोहको आह्वान गर्नु पक्कै पनि अर्घेल्याइँ हुनेछैन ।

जनाधारित पार्टीमा उज्यालो र भरपर्दो छविको लोकप्रिय नेतृत्व हुनुपर्छ । अहिले नेपाली कांग्रेसको नेतृत्व पंक्तिमा रहेका नेताहरूको न छवि नै उज्यालो छ न उनीहरू जनताका आँखामा प्रिय र अनुकरणीय नै छन् । तैपनि, अनेकौं तिकडम गरेर नेतृत्वमा टाँसिन चाहन्छन् । नमरुन्जेल नेतृत्वमा बसेर युवा पुस्तालाई अगाडि आउनै नदिएपछि पार्टी कमजोर हुँदै समाप्त हुन्छ । पार्टी नै समाप्त हुने अवस्था उत्पन्न गरेर नेतृत्वमा टाँसिन चाहनेहरूका विरुद्ध महासमिति सदस्यलाई विद्रोह गर भन्नुलाई कसरी अनुचित भन्न सकिन्छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिस्टहरूको त दीक्षा नै अधिनायकवादी हो । तर, तिनीहरूसँग प्रतिस्पर्धा गर्न पर्दैमा कांग्रेसले पनि त्यही बाटो अपनाउन हुन्छ ? अहिलेको कांग्रेसको नेतृत्वको मानसिकता त कम्युनिस्टहरूकै जस्तो देखिन्छ । आफ्ना समर्थक कार्यकर्ता पालेर पार्टी कब्जा गर्ने नेताहरूको नियत नबदलिने हो भने जनतामा आधारित दल भएको कांग्र्रेसको मौलिक विशेषता लोप हुन्छ । पार्टीको इतिहास, पहिचान र प्रकृति नै लोप हुने अवस्थामा आदर्शप्रति आकर्षित भएर राजनीतिमा होमिएका युवाले यस्ता नेतृत्वविरुद्ध विद्रोह नगरेर के गर्ने ? कांग्रेस ‘क्याडर बेस’ हुन खोज्नु पहिचान बदल्नु हो । त्यसपछि नाम रहे पनि आत्मा कांग्रेस रहँदैन । नेपाली कांग्रेस मूलतः उदार लोकतन्त्रवादी पार्टी हो । 

संगठनमा अहिले सदस्यता वितरणमा नियन्त्रण गरेर पार्टी संगठनमा प्रभुत्व जमाउने प्रवृत्तिबाट समस्या देखिएको हो । यसले गर्दा पार्टी संगठनमा गलत तत्त्वको बाहुल्य बढ्दै गएको देखिन्छ । कांग्रेसको आदर्श र सिद्धान्तसँग कुनै साइनो नै नभएकाहरू पार्टीको केन्द्रीय समितिमा चुनिने र चक्र बास्तोला वा बलदेव मजगैयाँहरूले चुनाव हार्ने संगठन अहिलेका नेताहरूको स्वार्थका कारण बन्न पुगेको हो । यसैले क्रियाशील सदस्यता कायमै राख्ने तर पार्टीका पदाधिकारीलाई साधारण सदस्यले पनि मतदान गर्न पाउने प्रावधान राखियो भने धेरै समस्या समाधान हुनसक्छ । यस्तो व्यवस्थाले संगठनमा सक्रिय युवाले पार्टी कब्जा गर्लान् भन्ने डर बूढा नेतालाई हुनसक्छ । त्यसका लागि अगिल्लो अधिवेशनभन्दा पहिले सदस्यता लिएकाले मात्र मतदान गर्न पाउने व्यवस्था गरे हुन्छ । 

Global Ime bank

जाति र क्षेत्रका आधारमा आरक्षणको व्यवस्था गरेर अहिलेकै ठालुहरूलाई सत्ताको स्वाद दिलाइरहन ‘नेपाली कम्युनिस्ट’ले ल्याएको कार्यसूची बीपी कोइरालाको पार्टीकै अगुवाइमा अनुमोदन गरियो । अब फर्कने सजिलो बाटो छैन । समाजलाई यसको दीर्घकालीन प्रतिकूल प्रभावबाट जोगाउन आर्थिकरूपमा कमजोर परिवारलाई राज्यका सुविधामा प्राथमिकता सुनिचित गर्ने नीति अगाडि सार्न नसक्नेहरूविरुद्ध विद्रोह गर्न आह्वान गर्दा अर्घेल्याइँ हुन्छ र ? जातिगत आरक्षणको समाजमा परेको दुष्परिणामा हेर्न चाहने हो भने भारत उदाहरण नै छ । लोकतन्त्रको अभ्यास गरेको ७० वर्षपछि भारतको राजनीति अहिले धर्म, जाति र क्षेत्रमा सीमित भएको छ । चर्को आर्थिक असमानता र गहिरो सामाजिक भेदभावसमेतका कारण सामाजिक विकासका धेरै क्षेत्रमा नेपालभन्दा पनि भारत पछाडि छ ।    

कांग्रेसले सबैभन्दा धेरै बाटो बिराएको त आर्थिक नीतिमा हो । बीपीको आर्थिक नीति नेपालको यथार्थ सुहाउँदो थियो । त्यसलाई कार्यान्वयन गरिएको भए देश आत्मनिर्भर हुन्थ्यो । आत्मनिर्भर मुलुकमात्र स्वतन्त्र र स्वाभिमानी हुनसक्छ । बीपीले नपालका लागि र संसारकै लागि पनि अनुपयुक्त ठानेका हेनरी फोर्डको विकास ढाँचा कम्युनिस्टहरूले पनि अपनाए । तर त्यसले देशको अर्थतन्त्र बलियो बनाउन सकेन । अहिलेको नेपालको आर्थिक अवस्था यथार्थमा सुन्निएर मोटाएजस्तै अस्वस्थकर छ । कांग्रेसले गुजारामुलक वातावरणमैत्री, दिगो, श्रमप्रधान र आत्मनिर्भर अर्थतन्त्रको बीपीकै नीति अनुसरण गर्ने हो भने नेपालको भलो हुन्छ ।

उदार लोकतन्त्रवादी दलले कम्युनिस्ट पार्टीको जस्तो सामूहिक नेतृत्वको सिको गर्ने हो भने ‘न हाँसको चाल न कौवाको चाल’ भनेजस्तो हुन्छ । कम्युनिस्टहरूको जनवादी केन्द्रीयतामा पार्टीबाहिर बोल्ने स्वतन्त्रता हुँदैन । यसैले प्रतिपस्र्धीलाई भौतिकरूपमै सिध्याउने षड्यन्त्र हुन्छ । नेपाली कांग्रेसमा त प्रतिबन्धित कालमा समेत त्यस्तो कट्टरता थिएन । पार्टीका कार्यवाहक सभापति सुवर्ण शमशेरको नीतिविरुद्ध सरोज कोइरालाहरूले विद्रोह नै गरेका थिए । बोल्न नपाउने संगठनमा मात्रै कथित सामूहिक नेतृत्वको अभ्यास उपयुक्त हुनसक्ला । त्यसमाथि नेतृत्व त जति नै सामूहिक भने पनि एकल नै हुन्छ । त्यसैले विधानमा सभापतिलाई कमजोर बनाउन खोज्नु अन्ततः कांग्रेसको अस्तित्व समाप्त पार्ने उपक्रमको प्रस्थान विन्दु हुनसक्छ । सिद्धान्ततः यो गलत हुनेछ । महासमिति सदस्यहरूले यसमा विवेक प्रयोग गर्नुपर्छ । उदार लोकतन्त्रवादी जनताधारित दलमा एक जना नेताले नै हाँक्ने हो ।

व्यवहारिकरूपमा सभापतिलाई कमजोर बनाउन खोज्नु प्रकारान्तरले शेरबहादुर देउवालाई हराउन सकिन्न भनेर हरेस खानु हो । सभापतिबाट देउवालाई हराउनै नसक्ने टुंगोमा कांग्रेसका अरू नेता पुगेका हुन् भने यो पार्टीलाई विघटन गरिदिए हुन्छ । कारण देउवाकै नेतृत्व रहिरहने हो भने नेपाली कांग्रेस समाप्त हुन धेरै बेर लाग्दैन । माझीले नै डुबाउन लागेको डुंगामा तमासा हेरेर बसिरहने कि बहाना खोसेर डुंगा पार लगाउने प्रयास गर्ने ? महासमिति सदस्यहरूले नेताहरूको दौराको फेर समातेर हैन आआफ्नै धरातलमा उभिएर बीपीले भनेजस्तै ‘एक मुठी माटो’ हातमा लिएर विवेक प्रयोग गर्नुपर्छ ।  

कांग्रेसका पार्टी सभापति र संसदीय दलका नेता न सदनमा सुनिन्छन् न सडकमा देखिन्छन् । शून्यमा बिलाउँदै गएको यही नेतृत्व, नीतिहीनता र अकर्मण्यता रहने हो भने नेपाली कांग्रेसको भविष्य समाप्त हुनसक्छ । कम्युनिस्टहरूको विकल्पमा उग्र कम्युनिस्ट वा दक्षिणपन्थी अधिनायवादीहरू चुनावबाटै सत्तामा पुग्न सक्छन् । कांग्रेसलाई त्यही कुनामा पु¥याउने बाटामा घचेट्ने नेतृत्वविरुद्ध विद्रोह नगर्ने हो भने तरुणहरूको भविष्य समाप्त हुनेछ ।  महासमिति सदस्यहरूले हस्तक्षेप गरेरै पनि ७० वर्षे प्रावधान लागु गराउन सके सायद पार्टी बौरिन्छ । भारतमा ४० वर्षे राहुलको हातमा गएको वर्ष दिनभित्रै कांग्रेस बौरिएको देखियो । भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांगेसबीच धेरै समानता छ । केही देशमा बाहेक संसारभर युवावर्गले देशको नेतृत्व गरेको छ । भारतमै पनि राहुल गान्धीले पार्टीको नेतृत्व गरेको १ वर्षमै भारतीय राष्ट्रिय कांग्रेस पुनः उदाएको छ । यही गति कायम रहे आउने वर्षको निर्वाचनमा कांग्रेस पुनः सत्तामा पुग्नेछ । पार्टीको भविष्य संकटमा पारेर पनि आफ्नो स्वार्थ पूरा गरिरहनुपर्ने लोभीपापीहरूलाई विद्रोह गरेर भए पनि तह लगाउन गरिएको आह्वानले हित त कांग्रेस र देशकै गर्ने हो । 

नेपाली कांग्रेससँग नेपालको लोकतन्त्रको पनि भविष्य गाँसिएको छ । यसैले कांग्रेसको दलगत राजनीतिमा चासो नराख्नेहरू पनि यसका शुभेच्छुक छन् । लोकतन्त्रको संघर्षमा अहिलेसम्म अरू कुनै पार्टीले नेतृत्व गरेको पनि त छैन । गौरवमय इतिहास भएरमात्र भने नपुग्ने रहेछ । कांग्रेसको वर्तमान नेतृत्व हेर्दा यो पार्टी त्यही नेपाली कांग्रेस हो भन्ने पत्याउनै मुस्किल हुन्छ । कांग्रेसले आफ्नो भूमिका पहिल्याओस् भन्ने चाहना राखेरै मैले महासमितिका सदस्यले विद्रोह गर्नुपर्छ भनेको हो ।  


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC