site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समृद्धि संवाहक इन्जिनियर
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गुणस्तरीय इन्जिनियरिङ शिक्षा र यसको उचित प्रयोगले नै देश बन्नसक्छ भन्ने कुरा चीन, कोरिया, मलेसियाजस्ता देशले गरेको तीव्र विकासले देखाइसकेको छ ।  नेपालको विकास र समृद्धिमा राज्यले इन्जिनियरहरुलाई उचितरुप परिचालन गर्न सक्नुपर्छ र नेपाल इन्जिनियर्स एसोसियसनले यसको अगुवाइ गर्नु पर्छ । यसै सन्दर्भमा नेपाली इन्जिनियरहरुको प्रतिनिधि संस्था नेपाल इन्जिनियर्स एसोसियसन (नेईए) निर्वाचनमा होमिएको छ । नेपाल संघीयतामा गएपछि नेपाल इन्जिनियर्स एसोसियसन पनि संघीय ढाँचामा गएको छ । सम्भवतः नेपालका पेसागत संस्थाहरुमध्ये यसरी संघीय ढाँचामा जाने नेपाल इन्जिनियर्स एसोसियसन पहिलो संस्था हो । नेपाल इन्जिनियर्स एसोसियसनको अब ७ प्रदेशमा एक एक प्रदेश कार्यसमिति र केन्द्रमा एउटा केन्द्रीय कार्यकारी समिति रहने छ । प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सकियोस भन्ने हेतुले प्रदेशमा नेईएको एक कार्यसमिति रहने गरी विधान परिवर्तन गरिएको हो । त्यसैअनुरुप नै निर्वाचन हुन लागेको छ । यो चुनाव काठमाडौं तथा केही क्षेत्रीय सदरमुकाममा कार्यरत इन्जिनियरहरूको लागि मात्र सहज हुने गर्छ । विश्वसनीय अनलाइन भोटिङमार्फत संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्ने सक्ने पद्धतिको विकास गरेर उदाहरणीय बन्नुपर्ने इलेक्ट्रोनिक भोटिङ गर्ने प्रयासलाई पनि इन्जिनियरकै केही समूहहरु संकीर्ण सोचबाट ग्रसित भई विरोध गर्दै आएका छन् ।  यो समग्र इन्जिनियरहरूकै निम्ति लज्जाको विषय हो । हामी आफँै नयाँ नयाँ प्रविधिको विकास गरेर उदाहरणीय बन्नुपर्नेमा किन यसो गरियो भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ ।
रोयल एकेडेमी अफ इन्जिनियरिङले केही समयअघि प्रकाशित गरेको एउटा प्रतिवेदनले नेपालको इन्जिनियरिङ सूची एसियामै पनि अति कम  रहेको जनाएको छ । यसको अर्थ हाम्रो हरेक क्षेत्र घरदेखि विद्यालय, सार्वजनिक सेवा, विश्वविद्यालय, निर्माण तथा सूचना संचार आदिमा नयाँ नयाँ प्रविधि र इन्जिनियरिङको प्रयोग खासै भएको छैन । इन्जिनियरहरुले खुलेर आफ्नो प्रतिभा देखाउन पाएका छैनन् वा सकेका छैनन् भन्ने हो । विकासका थुप्रै सम्भावना भएको हाम्रो देश नेपालका दुई ठूला छिमेकी राष्ट्रहरु चाीन र भारतमा इन्जिनियरिङको उच्चतम प्रयोग भइरहँदा हाम्रोमा केही अपवादबाहेक केही नहुँदा देशका इन्जिनियरहरु के गर्दैछन् भन्ने प्रश्न उठ्नु अस्वाभाविक पक्कै होइन । ठूला आयोजनाका हकमा नेपालमा जहिले पनि विभिन्न किसिमको विवाद हुने भएकाले विकास निर्माणमा ढिलो हुने प्रवृत्ति बढेको छ । दोस्रो अन्तराष्ट्र्रिय विमानस्थाल, द्रूत मार्ग, बुढीगण्डकी उच्च बाँधयुक्त जलविद्युत् परियोजना, पश्चिम सेती, रेल मार्ग, माथिल्लो कर्णाली, जलमार्गजस्ता कार्यन्वयनमा जान लागेका र चर्चा सुरु भएका दुवै खालका ठूला आयोजनाहरूको लागत, यसले पार्ने वातारणीय तथा आर्थिक प्रभाव र यस परियोजना नेपालीले बनाउन सक्ने वा नसक्ने विषयमा राजनीतिक वृत्तमा ठूलो बहस हुँदा नेईएले आफ्नो दृष्टिकोण दिन सक्नुपर्छ । यस्ता परियोजनाको वास्तविक प्राविधिक कुरा के हो त्यसलाई जनता समक्ष नेईएले ल्याउन सक्ने हो भने जनतामा इन्जिनियरप्रति सम्मान र विकास निर्माणको गति पनि बढ्छ । सबै राजनीतिक पार्टीको नारा विकास र समृद्धि हुँदाहुँदै पनि राष्ट्रले विकासको सही मार्ग पहिल््याउन र उचित गति लिन सकिरहेको छैन । किन यस्तो भएको छ त ? आगामी ५, १०, र २० वर्षमा के के गर्न सकिन्छ त्यसको सल्लाह सुझाव पनि नेईएले दिनुपर्छ भने राज्यले पनि विकासका संबाहक इन्जिनियरहरुलाई योग्यता अनुसारको काम, सेवा, र सुविधा दिने तथा क्षमता अभिवृद्धिको लागि राम्रो अवसर दिनुपर्छ । राष्ट्रिय आवश्यकता र प्राथमिकताका विषयहरु के के हुन सक्छन् सल्लाहा र सुझाव दिनुपर्छ । त्यसमा नेपाली इन्जिनियरहरुको भूमिका कस्तो हुनुपर्छ भनेर बहस नेईएले बहस थाल्नुपर्छ ।  
विश्वका धेरै मुलकहरूका नेईएजस्ता पेसागत संस्थाहरू अध्ययन अनुसन्धानको माध्यम बन्ने, प्राविधिक नीतिहरू तर्जुमा गर्न सरकारलाई सुझाव दिने, विभिन्न आचारसंहिता निर्माण गरी लागु गराउन सक्रिय पहल गर्ने गर्छन् । उदाहरणका लागि करिब एक हजार चार सय सदस्य भएको क्यानेडियन जियोटेक्निकल सोसाइटीले प्रकाशित गर्ने क्यानेडियन फाउन्डेसन इन्जिनियरिङ म्यानुअल क्यानाडामा सिभिल इन्जिनियरिङमा धेरै प्रयोग हुने डकुमेन्ट हो । करिब ४० हजार सदस्य रहेको जापानिज सिभिल इन्जिनियरिङ सोसाइटीले सयौँ अनुसन्धानमूलक पुस्तक, जर्नल र डकुमेन्ट्स प्रकाशित गर्छ । जुनसुकै देशमा पनि ठूलो विपद पर्दा जापानिज सिभिल इन्जिनियरिङ सोसाइटीले अनुसन्धानको लागि आफ्नो समूह पठाएको पाइन्छ । आफ्नो सदस्यहरुको क्षमता अभिवृद्धि गर्न थुप्रै कार्यक्रमहरु संचालन गरिरहेको हुन्छन् । नेईएमा नेपालका सबै विधाका इन्जिनियरहरु र आर्कीटेक्चरहरु समावेश भएकाले नेईए केन्द्रीय समितिले समूहगत समिति बनाएर विषयगत रुपमा काम गर्न सक्छ । विधागत समितिले आफ्नो विषयसँग सम्बन्धित सरकारी निकाय र त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने संस्थान तथा क्याम्पसहरूसँग समन्वय गरी नियमितरूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यशाला तथा गोष्ठीहरू गर्नुपर्छ । त्यस्तै विषयगत आचारसंहिता निर्माण गर्ने काम गर्नुपर्छ । नेईएको एउटा आफ्नो व्यवस्थित लाइब्रेरी जसमा ईन्जिनियरिङ्ग विधासँग सम्बन्धित पुस्तक तथा जर्नल पढ्ने तथा हेर्ने साथै चर्चित जर्नलहरूमा लाइब्रेरीबाटै बसेर पहुँच पुराउन सक्ने व्यवस्था गर्न सकिन्छ । संसारमा नेपाली इन्जिनियरहरुले ठूला परियोजनाहरुको नेतृत्व गरेका छन् तथा विश्वका उत्कृष्ट विश्वविद्यालय तथा संस्थाहरुमा अनुसन्धानमा संलग्न छन् ।  बाहिर रहेका उच्चतम अनुभव र ज्ञान भएका इन्जिनियरहरुको अनुभव र ज्ञानलाई नेपाल भित्र्याउने माध्यम नेपाल इन्जिनियर्स एसोसियसन बन्नुपर्छ, बन्न सक्छ । यसको केही सुरु भएको पनि छ । हामीले हाम्रो दायरालाई फराकिलो बनाउन जरुरी छ । 
विगत केही कार्यकालदेखि नेईएले केही राम्रा कामहरु गर्दै आएको छ । तर, यी कामहरु नै सम्पूर्ण भने होइनन् । प्रत्येक साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रविधि, इन्जिनियरिङ शिक्षा, विकास निर्माण तथा उत्प्रेरणासम्बन्धी प्रस्तुतीकरण निरन्तर चलिरहेको छ । हेर्दा सामान्य लागे पनि यस कार्यक्रमको ठूलो महत्त्व छ। नेपालमा हरेक साता यस्तो कार्यक्रम गर्ने पेसागत संगठनमा नेपाल इन्जिनियर्स एसोसिएसनमात्र हुनुपर्छ । यस्ता कार्यक्रमले हामीलाई धेरै कुराको ज्ञान दिन्छ जुन किताब तथा इन्टेरनेटबाट नपाइन पनि सक्छ । नेईएले केही गरेन भनिरहदाँ यस्ता कार्यक्रममा कहिलेकहीँ न्यून उपस्थिति हुनु दुःख लाग्दो हो । यसमा हामी सबै सजग हुनुपर्छ । इन्जिनियरहरुको दक्षता अभिवृद्धि गर्न जुनरूपमा कार्यक्रम गर्नुपर्ने हो त्यो विभिन्न कारणले हुन सकेको छैन तर अब त्यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता साथ अगाडि बढाउनुपर्छ । 
केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय इन्जिनियरिङ समुदायसँग पनि साझेदारी गर्न अहिले कार्यसमिति सफल भएको देखिन्छ । चाहे त्यो जुरे पहिरो जाँदा होस् वा भूकम्पपश्चात भूकम्पको असर र क्षतिबारे सर्वसाधरणलाई सुसूचित गर्ने कार्य होस् त्यति बेला नेईएको कार्यसमितिले राम्रो काम गरेको थियो । करिब ३ हजार ५०० इन्जिनियरहरूलाई स्वंयमसेवकरूपमा खटायर हजारांै घरको अवस्थाको बारेमा घरधनीलाई जानकारी गराउने अतुलनीय कार्य भएको थियो । त्यस्तै ठूलो सख्याका इन्जिनियरहरुलाई भवन प्रबलीकरण तथा भूकम्प प्रतिरोधी निर्माणका तालिम पनि संचालन गरेको थियो । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट बनेको बाँधले पार्न सक्ने जोखिम अध्ययन गर्न विज्ञ टोली बनाएर अध्ययन गरी सरकारलाई सुझाव दिएको थियो नेईएले । खासमा नेईएको काम भनेको विशेष अवस्थामा राज्यलाई प्राविधिक सल्लहा दिनु पनि हो । विभिन्न कारण यस्ता कार्यको निरन्तरता नभए पनि अब आउने कार्यसमितिले यस्ता कार्यलाई निरन्तरता दिनुपर्छ ।  
अहिलेको कार्यसमितिले अनलाइनबाटै नेईएको सदस्य बन्न र नवीकरण गर्न मिल्ने पद्धतिको विकास, केन्द्रीकृत नेईएलाई राज्य संरचनाअनुसार प्रदेश संरचना लगेको, पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको माग सम्बोधन गर्न पहल, भूकम्प प्रतिरोधी निर्माण सम्बन्धी तालिमहरु सञ्चालन, गरेको छ । यस्तै, नेपाल भ्यालुयर्स एसोसियसनको आन्दोलनमा सहयोग र समर्थन, इन्जिनियरहरुमाथि भएको आक्रमणको कडा विरोध, संघीय राज्यमा इन्जिनियरहरुको  सम्मानित व्यवस्थापनाको लागि छलफल र सरकारलाई सुझाव, सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रमा इन्जिनियरहरुलाई गरिएको विभेदको कडा विरोध जनाएको छ । सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, इन्जिनियरिङ स्टाफ कलेजको लागि पहल, नेपाल टेलिभिजनसँग सहकार्य गरी पूर्वाधार विकास सम्बन्धी कार्यक्रम सञ्चालन, इन्जिनियरहरुको स्वास्थ्य बिमा गर्ने सम्वन्धमा आवश्यक प्रक्रिया सुरु गरेको छ । यसैगरी नेईएको भवनमा अध्ययन अनुसन्धान गर्न स्रोत केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको जस्ता धेरै उल्लेखनीय कार्य गरेको छ । 
इन्जिनियरहरुलाई आफ्नो व्यवसाय सुरु गर्न प्रोत्साहनका लागि आवश्यक सुविधासहितको कार्यकक्ष पनि सञ्चालनमा ल्याएको छ। तत्कालीन सरकारले प्राविधिक मन्त्रालयहरु पनि प्रशासन समूहको सचिव रहने गरी प्राविधिक इन्जिनियरहरुलाई पाखा लगाउन ल्याएको विधेयकको नेईएको नेतृत्वमा कडा विरोध भएको थियो । फलस्वरुप, केही प्राविधिक मन्त्रालय इन्जिनियरहरु सचिव भएका छन् । यी कार्यहरु पूर्ण भने छैनन् र नेईएले गर्नसक्ने र गर्नुपर्ने अझै धेरै कार्यहरु छन् । जे होस, चुनावका बेलामात्र सदस्यहरुकहाँ जाने प्रचलन भएकोमा विगतका २ कार्यसमितिहरुले वर्षभर केही न केही कार्यक्रम गरेर सदस्यहरु माझ जाने कार्यको सुरु गरेको देखिन्छ ।
अहिले प्रविधिको विकास र प्रयोग दिनमा दुई गुना र रातमा चार गुनाको भनेजस्तो भइरहेको छ । सन् २००० तिर ५ – १० बर्षमा हुने कामलाई अहिले १ वर्ष पनि लाग्दैन । फच्र्युन मयागाजिनले विश्वका ५० अगुवामध्ये एकको सूचीमा पारेको पिटर डायमान्डिसका अनुसार सन् १९०० देखि २००० सम्म १०० वर्षको अवधिमा जति विकास भयो, त्यति विकास वा परिवर्तन अहिले ५–६ वर्षमा गर्न सकिन्छ र हुनेछ । अब संसार हाम्रो गतिभन्दा धेरै छिटो कुद्दै छ । संसार हाम्रो सोचाइभन्दा पनि आज बढी  गतिमा अगाडि बढिरहेको छ । हामी इन्जिनियरहरु पनि नयाँ नयाँ प्रविधिमा अभ्यस्त हुन जरुरी छ । नत्र, हाम्रो विकास निर्माणले फड्को मार्न सक्दैन ।  आधुनिक प्रविधिसँग परिचित नहुने हो भने हामी इन्जिनियरहरुमाथि राज्य र जनताको विश्वास घट्छ र हामी वास्तविक इन्जिनियर हुन पनि सक्दैनौ ।
केही नयाँ र ठूला परियोजनामा विज्ञको नाम धेरै विदेशी इन्जिनियर राख्ने गरिन्छ । किन यसो गरियो ? आखिर हामीले पढेको कोर्स अन्य विदेशी विश्वविद्यालयहरुको सरह नै छ ।  त्यसले नेईएको ध्यान इन्जिनियरहरुको अनवरत व्यावसायिक अभिवृद्धिमा हुनुपर्छ । यसका लागि इन्जिनियरिङ स्टाफ कलेज अपरिहार्य भएको छ । यसको लागि अहिलेको कार्यसमितिले पनि ठूलो पहल गरेको थियो । गर्दा गर्दा पनि राज्यले यसको आवश्यकता नबुझ्दा इन्जिनियरिङ स्टाफ कलेज कार्यन्वायनमा आउन सकेको छैन ।  अब आउने कार्यसमितिले इन्जिनियरिङ स्टाफ कलेज उच्च प्राथमिकता राख्नुपर्छ । सरकारले पनि इन्जिनियरिङ स्टाफ कलेजलाई मूर्तरुप दिनुपर्छ । 
नेपाली विश्वविद्यालयहरुको इन्जिनियरिङ पाठ्यक्रम र अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि विकसित देशहरुका विश्वविद्यालयहरुको पाठ्यक्रममा खासै अन्तर पाइँदैन । तर, नेपाली इन्जिनियरहरुले उक्त स्थानमा मान्यता पाउन सकेका छैनन् । नेपाली इन्जिनियरहरुले उक्त ठाउँमा गएर फेरि अध्ययन गरी र विभिन्न परीक्षा उत्तीर्ण गरेरमात्र इन्जिनियरको मान्यता प्राप्त गर्छन् । यस्तो बिभेदलाई अन्त्य गरी नेपाली इन्जिनियरहरुले विश्वको कुनै पनि देशमा मान्यता दिलाउन पहल गर्नुपर्छ । त्यसका लागि नेपालमै व्यावसायिक इन्जिनियरको पद्धति सुरु गर्न राज्य तथा इन्जिनियरिङ परिषद्लाई दबाब दिनु नेईएको प्राथमिक कार्य हुनुपर्छ । 
हामीले इन्जिनियरिङको पढाइलाई अन्तर्राष्ट्रियरुपमा मान्यता दिने वासिंगटन एकर्ड जस्ता संस्था वा सहमतिमा समावेश गर्न किन पहल नगर्ने ? सार्क राष्ट्रकै भारत, श्रीलंका, पाकिस्तान र बङलादेश जस्तादेशहरु समावेश भइसक्दा हामी किन हुन सक्तैनौ ? अब त्यसको पहल गर्नुपर्छ ।  
इन्जिनियरले आफ्नो सिप र ज्ञानको प्रयोग निर्धक्क गर्ने र उनीहरुको निर्णयमा कुनै अनुचित दवाब नदिने र उनिहरुको निर्णय जिम्मेवारी उनीहरुले नै लिनु पर्ने पद्धतिको विकास गर्न राज्यलाई सकारात्मक दबाब दिनु नेईएको प्रमुख अभिप्रायः हुँदैआएको छ । विगतमा नेईएले यसमा राम्रै पहल गरेको देखिन्छ । वरिष्ठ इन्जिनियरहरुलाई कनिष्ठ प्रशासकको अधीनमा राखी प्राविधिक कर्मचारीहरुको मनोबल गिराउने जुन काम भएको छ त्यसको अन्त्य गर्न पनि नेईएले पहल गर्नुपर्छ र हामी सबैले यसमा साथ दिनुपर्छ ।
सडक, खानेपनी, ढल, सिँचाइ, ऊर्जा, विपद व्यवस्थापनजस्ता पूर्वाधारसँग सम्बन्धित संस्था वा मन्त्रालयको नेतृत्व इन्जिनियरले गर्ने व्यवस्था गर्न सकियो भने विकास निर्माणले गति लिने अपेक्षा गर्न सकिन्छ । यसका लागि हामी सबैले आफ्नो स्थानबाट पहल गर्नुपर्छ । नगरपालिका, जिसस लगायतका निकायहरूमा आफ्नो प्राविधिक ज्ञानभन्दा पनि राजनीतिज्ञको दबाबमा परेर गलत काम गर्न पर्नु लोकतन्त्रको उपहास हो । साथै यसरी दबाब स्वीकार गर्नु इन्जिनियरिङ संहिता विपरीत पनि हो । त्यसैले गर्दा उचित लोकतान्त्रिक व्यवस्था र पद्धतिविना हामी जस्ता प्राविधिकले निर्धक्क र निष्पक्ष काम गर्न सकिँदैन भनिएको हो । एकातिर धेरै नेपाली इन्जिनियरहरुले आफ्नो योग्यता र क्षमताअनुरुपको काम पाइरहेका छैनन् भने अर्काेतिर राज्यका धेरै निकायमा दक्ष इन्जिनयर नहुँदा विकास निर्माणको काम हुन सकेको छैन । यस सम्बन्धममा नेईएले राज्यलाई उचित सल्लाह र दबाब दिनुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यता, इन्जिनियरिङ आदर्श एवं पेसागत स्वतन्त्रताप्रति प्रतिबद्ध समूहले मात्र नेईएमा पनि माथिका काम प्रभावकारी रुपमा सम्पादन गर्न सक्छ ।
इन्जिनियरहरूको हकहितको लागि लड्ने र यस पेसालाई अझ उन्नत र मर्यादित बनाउने नेईएले नै हो । एसोसियसनप्रतिको इन्जिनियरहरूको गुनासोलाई मन्थन गर्न व्यावसायिक, शैक्षिक र बौद्धिक क्षेत्रमा सफल तथा उदीयमान नेतृत्व आवश्यक छ । हामी सबै मिलेर नेईएलाई यसले राष्ट्रको प्राविधिक  सल्लाहकारको रूपमा सेवा गर्न सक्नेगरी अझ नवीननतम कार्य गर्ने एक बलियो ‘थिन्क ट्यांक’को रुपमा विकास गर्नुको विकल्प छैन । साथै गुणस्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरहरुको सेवा सुविधा तथा क्षमताको अभिवृद्धि, इन्जिनियरहरुको सम्मानजनक रोजगारी, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास र इन्जिनियरको हक हितको संरक्षणमा पनि नेईएले ध्यान दिनुपर्छ । 
विश्वका अन्य यस्तै संस्थाहरुले जस्तै नेईएले पनि आफ्ना सदस्यहरुलाई गर्ने स्वास्थ्य तथा जीवन बिमा, विभिन्न क्षेत्रमा छुट आदिको व्यवस्था गर्नु पहल गर्नुपर्छ जसले गर्दा सबै इन्जिनियरहरुले नेईएलाई आफ्नो ठानून् । नेईए सबै इन्जिनयर तथा आर्किटेक्चरहरुको साझा संस्था हो । हामीले नै यसलाई बलियो र प्रभावकारी बनाउने हो । त्यसैले हामी सबैले निरन्तररुपमा सुझाव दिन, झक्कझक्याउन र आवश्यक पर्दा सकारात्मक आलोचना गर्न पनि पछि पर्नु हुँदैन । 
  (आर्किटेक्चर इन्जिनियर) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC