काठमाडौं । तीन दिनदेखि उकालो लागिरहेको बहुमूल्य धातु सुनको भाउ बुधबार (आज) २ सयले घटेर तोलाको ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार भने एकैचोटि ६ सय रुपैयाँ बढेर तोलाको ६० हजार पुगेको थियो ।
यसअघि गत कात्तिक २० गते सुनको भाउ तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । गत सोमबार ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको दाँजोमा बुधबार छापावाल सुनको भाउ प्रतितोला २ सयका दरले घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा अडेको छ । मंगलबार तेजाबी सुन तोलाको ५९ हजार ७ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंसिर २६ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ मंसिर २५ मा तोलाको अधिकतम ६० हजार रुपैयाँसम्म पुगेको थियो । यसअघि मंसिर २४ गते ५९ हजार ४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर १९ मा छापावाल सुनको भाउ प्रतितोला ५८ हजार ४ सय, मंसिर २० मा ५८ हजार ७ सय, मंसिर २१ मा ५८ हजार ५ सय, मंसिर २३ मा ५९ हजार, मंसिर २४ मा ५९ हजार ४ सय र मंसिर २५ मा ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।