काठमाडौं । काठमाडौंमा देखिएका समस्या समाधान गर्न काठमाडौं महानगरले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा– २०१८ आयोजना गर्ने भएको छ ।
काठमाडौंमा देखिएका समस्याको पहिचान गर्न र नवीन र प्रविधियुक्त तरिकाले निराकरण गर्न ६ महिना लामो प्रविधि प्रतिस्पर्धाको महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार राष्ट्रियसभा गृहमा सुभारम्भ गरेका हुन् ।
नवीन ज्ञान र सीप, क्षमता भएका उद्यमीले प्रतिस्पर्धामा भाग लिन सक्ने र उनीहरूको प्रविधियुक्त उद्यमशीलतालाई महानगरको हितमा प्रयोग गर्ने शाक्यको भनाइ थियो ।
“आज पनि रोजगार नपाएर थुप्रै युवा विदेशिइराखेका छन्,” कार्यक्रमको सुभारम्भ गर्दै शाक्यले भने, “आफ्नै देशमा स्वरोजगारसहितको अवसर सिर्जना गर्न हामीले यस्तो प्रतिष्पर्धा शुरू गरेका हौं ।”
निजी क्षेत्रले यस्तो प्रतिस्पर्धात्मक तवरबाट ‘इनोभेसन’मा जोड दिएको भए पनि सरकारी तवरबाट भने यो पहिलो भएको सहरी विकास आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए ।
समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामूदायिक सेवा र महानगरपालिका सार्वजनि प्रशासन र व्यवस्थापना चार विषयमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धीहरूले यी क्षेत्रमा देखिएका समस्या आधुनिक प्रविधि प्रयोग गरी हल गर्ने सोच बोकेको या कार्यरत हुनुपर्नेछ ।
प्रतिस्पर्धा ६ चरणमा गरिने र समूहगत विजेतालाई पाँच लाख प्रोत्साहन पुरस्कार दिइने महानगरले घोषण गरेको छ । त्यस्तै प्रत्येक समूहमा द्वितीय हुनेलाई रु दुई लाख र रनरअपलाई रू एक लाख प्रोत्साहन पुरस्कार दिइने महानगरको भनाइ छ ।
प्रतिस्पर्धाको पहिलो चरणमा १०० जना त्यस्ता सोच बोकेका युवालाई छनोट गर्ने र तीन महिना तालिम दिई परिपक्व बनाउने महानगरले जानकारी दिएको छ । प्रतिस्पर्धा ६ महिना चल्ने छ ।