site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड–किन गुम्यो अनुसन्धानप्रति नागरिकको विश्वास ? कहाँ चुक्यो प्रहरी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै उन्मुक्ति मिल्छ ?,” संसदीय समितिमा सांसद चक्र स्नेहीले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सोमबार गरेको प्रश्न हो यो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँचमहिना बित्न लाग्दासमेत प्रहरी अनुसन्धानले गति लिन नसकेपछि संसदीय समितिमा प्रहरी प्रमुखलाई बोलाएर सांसदहरुले यसरी प्रश्न गरेका हुन् ।

समितिकै बैठकमा सांसद रमेशजंग रायमाझीले निर्मला हत्याकाण्डलाई ‘नमिता सुनिता काण्ड’ जस्तै बनेको टिप्पणी गरे । उनले यस घटनामा ठूलै व्यक्तिको हात रहेको हुन सक्ने भन्दै आक्रोश व्यक्त गरे ।

आईजीपी खनाललाई नै आरोप लगाउँदै सासंद रायमाझीले प्रश्न गरे, “शक्तिशाली व्यक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको छ । आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएको भन्ने आरोप छ । यस्तो अवस्थामा न्याय कसरी पाइन्छ ?” 

Prabhu Bank
Agni Group
NIC Asia

समितिमा एकपछि अर्को गरी प्रहरी प्रमुखमाथि प्रश्न तेर्सिए । संसदीय समितिमा एक सांसदले त निर्मला हत्याकाण्डमा लापरवाही गरेको भन्दै प्रहरी प्रमुखकै राजीनामा माग गरिन् ।  सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन भनिन् ।

उनले भनिन्, “निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईँले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।” संसदीय समितिमा प्रहरी प्रमुखलाई नै बोलाएर प्रहरीले गरेका कामप्रति जनताका प्रतिनिधिले राखेका प्रश्न थिए यी ।

Global Ime bank

यी मात्रै होइन, अहिले हरेक नागरिकले ‘हत्यारालाई प्रहरीले नै संरक्षण दिएको त छैन ?’ ‘होइन भने किन समात्न सकेको छैन त ?’ भन्दै प्रहरीमाथि नै प्रश्न गरेका छन् । तर प्रहरीले यसको जवाफ कामबाट मात्रै दिन सक्छ । अहिले प्रहरीमाथि र प्रहरीले गरेको अनुसन्धानप्रति सर्वसाधारणले लगातार प्रश्न किन उठाइरहेका छन् त ?

निर्मला हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याएका दुई युवाका परिवारले समेत प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै आफूहरुका छोरा निर्दोष रहेको दाबी गरेका छन् ।

कतिसम्म भने प्रहरी हिरासतमा हत्या स्वीकार गरेका भनिएका विशाल चौधरीका बुबाले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो छोरालाई नसा दिएर बयान लिइएको दाबी गर्दै आएका छन् । नसामा रहेको छोराले हत्या स्वीकार गरेको बताएका छन् ।
निर्मला हत्यामा दिलिपसिंह विष्ट र जीवन घर्तीमगरलाई प्रहरीले पक्राउ गरेदेखि नै स्थानीय जनता प्रहरीको कामप्रति आक्रोशित छन् ।

यति हुँदाहुँदै पनि गत साउन ११ गते मृत अवस्थामा फेला परेकी कञ्चनपुर भीमदत्तनगर–२ कि निर्मला पन्त प्रकरणको अनुसन्धान जारी राखेको छ ।

तर प्रहरी अनुसन्धानमाथि भने अनेक किसिमले प्रश्न उठिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो बनेको निर्मला हत्याकाण्डमा दुई प्रहरी अधिकारी नै बर्खास्तीमा परेका छन् भने अनुसन्धानमा लापरवाही गरेको केही प्रहरी अधिकारीमाथि छानबिन हुँदैछ ।

भदौ ४ गते प्रहरीले हत्यामा संलग्न रहेको भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्‍यो । तर दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वाव’ सँग मिलेन । दिलिपलाई पक्राउ गरेपछि स्थानीय प्रहरीविरुद्ध आन्दोलित भए । आन्दोलनले अप्रिय रुप लियो । प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक शनि खुनाको ज्यान गयो । अन्य कयौं घाइते भए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डाराले गोली लागेको खुट्टा नै गुमाउनुपर्‍यो । अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उनको उपचार जारी छ ।

हालसम्म ९ जनाको डीएनए परीक्षण गरिएको छ । तर कसैको मिलेन । प्रहरी निर्मला हत्याको अनुसन्धानका लागि फेरि दुईजनामाथि अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानबारे प्रहरीले आधिकारिक रुपमा त केही बोलेको छैन तर पक्राउ परेका भीमदत्तनगर–१८ का प्रदीप रावल र विशाल चौधरी पनि निर्मलाको हत्यामा संलग्न युवक नभएको स्थानीयको  धारणा छ ।

प्रहरीको यस्तो कामले कञ्चनपुरमा फेरि आन्दोलन चर्किने संकेत देखा परेको छ ।  अनुसन्धानमा अब्बल भनिएको नेपाल प्रहरी निर्मला हत्याकाण्डमा किन आलोचित बनेको छ त ?

किन विश्वासको संकट देखियो ? नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्र सिँह भण्डारी प्रहरीप्रति नागरिकको विश्वास कम हुनुका पछाडि विभिन्न कारण औल्याउँछन् । भण्डारी भन्छन्– “गृह मन्त्री र गृह प्रशासन सम्हालेनेहरु नै गम्भीर भएनन् । जस्तो कि साढे ३३ किलो सुन प्रकरणको कुरा गरौं । गृह मन्त्रीले आफैँले भने ‘ठूला माछा, ठूला माछा’ कहाँ गए त अहिले ठूला माछा ?”

निजामती कर्मचारीबाट फौजदारी कसुरका घटनाको अनुसन्धान गर्नै नहुने उनको भनाई छ । निर्मला प्रकरणको अनुसन्धानमा साधनस्रोत र संयन्त्रको परिचालनमा त्रुटि देखिएको भण्डारी बताउँछन् । 

विकसित मुलुकमा पनि कतिपय घटनाको अनुसन्धानमा समय लागेको बताउँदै भण्डारीले भने, “कतिपय घटनाको अनुसन्धानमा समय लाग्छ नै । तर निर्मला प्रकरणमा जनता र प्रहरीबीचको सम्बन्ध जसरी बिग्रियो यो चिन्ताको विषय हो ।”

तत्काल नतिजा खोज्ने सरोकारवाला सबैको प्रवृत्तिले पनि अनुसन्धान प्रभावित भएको हुनसक्ने भण्डारीको बुझाइ छ । तत्काल नतिजा खोज्न प्रहरीमाथि दबाब दिन नहुने बताउँदै भण्डारीले सीमित स्रोत साधनका बाबजुत प्रहरीले उदाहरणीय कार्य गरेको बताए । 

प्रहरी संगठनमा व्यावसायिक अधिकृतको वृत्ति विकासमा ध्यान नदिदा पनि प्रहरीभित्र बिचलन आएको भण्डारी बताउँछन् ।  प्रहरी नेतृत्वले पनि संगठनका विषयमा कठोरताका साथ प्रस्तुत हुनुपर्ने भण्डारीको सुझाव छ । 
कुनै पनि घटनाको अनुसन्धानमा नागरिकको विश्वास जित्नैपर्ने बताउँदै भण्डारीले भने, ‘‘अनुसन्धान नटुंगिएसम्म पहिल्यै कुरा बाहिर ल्याउने र निर्दोषलाई फसाउने नियत राख्नुहुँदैन ।’’  कतिपय घटनामा प्रहरी चुकेको बताउँदै भण्डारीले आफूमाथि लागेको आरोपबाट मुक्त हुन व्यावसायिकतामा ध्यान दिनुपर्ने बताए । 

पूर्वडीआईजी हेमन्त मल्ल निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी–स्थानीय–नागरिक सम्बन्ध बिग्रनुको ४ कारण यसरी औल्याउँछन् । 

पहिलो कारण– प्रहरीले पीडितका गुनासा समयमै सुन्नुपर्थ्यो । पीडितले उठाएका प्रश्नको सम्बोधन प्रहरीले नगर्दा पनि सुरुदेखिनै शंकामाथि शंका बढ्दै गयो । 

दोस्रो कारण–सामाजिक सञ्जालका कारण पनि केही समस्या भयो । घटनास्थलमा दक्ष जनशक्ति नभएको हो कि भन्ने लाग्छ । पछिल्लो समय मिडियाभन्दा सामाजिक सञ्जाका कारण नागरिकले घटनाप्रति धारणा बनाउने क्रम बढ्दा पनि केही असहजता भएको हो । मिडियासँगको सहयोग र सम्बन्धसँगै जनताको मनोविज्ञान बुझ्न प्रहरी चुकेको हो कि भन्ने देखिन्छ । यस्तो घटनाको अनुसन्धानमा प्रहरी निकै सतर्क हुनुपर्छ । 

तेस्रो कारण– स्थानीय अर्थात त्यही क्षेत्रका अधिकारीलाई आफ्नै क्षेत्रमा खटाउनु । यस्तो गर्दा विभिन्न प्रकारका दबाब हुन्छन् । यो घटनामा पनि स्थानीय अधिकारी नै हुँदा जनताको आक्रोश बढेको हो की ? त्यसकारण कार्यक्षेत्रमा पठाउँदा यी पक्षमा पनि ध्यान दिन आवश्यक हुन्छ । 

चौथो कारण –प्रहरी र जनताको दुरी बढ्दै गयो । यस्तोमा स्थानीय प्रशासन, सरोकारवाला सबै निकायले दुरी बढाउनेभन्दा घटाउनेतर्फ लैजानुपर्छ । प्रहरीले अनुसन्धानमा पुराना अवकाशप्राप्त अधिकारीको सहयोग लिन सक्थ्यो । नेपाल प्रहरीमा कयौं अवकाश पाएका राम्रा दक्ष अधिकृतहरु छन् । यस्तोमा प्रहरी संगठन, सम्बन्धित मन्त्रालयले सोच्नुपथ्र्यो । अहिले नै सबै बिग्रिएको छ भन्ने त होइन तर जनताको विश्वास भने जित्नैपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC