काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका सबै प्रकारका विद्यालय एकै दिन खुल्ने र एकै दिन बिदा दिने गरी शैक्षिक क्यालेण्डर लागू गर्ने तयारी थालेको छ । यद्यपि यसअन्तर्गत विदेशी कूटनीतिक नियोगबाट संचालन भएका विद्यालय भने पर्ने छैनन् ।
महानगरको शिक्षा विभागले संचालनमा ल्याएको ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत महानगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयको बिदामा एकरुपता ल्याउन यो व्यवस्था लागू गर्नेे तयारी थालेको हो ।
विदेशी सम्बन्धन लिएका विद्यालयमा अलग अलग बिदा दिने प्रचलन रहेकोमा विभागले अब यस्तो प्रचलन बन्द गरिने जनाएको छ । विभागको सुधार कार्यक्रममा ‘महानगर शिक्षा विभागले तयार गरेको शैक्षिक क्यालेण्डर लागू गर्नु सबै विद्यालयको अनिवार्य कर्तव्य हुनेछ, उल्लेख रहेको छ ।
“काठमाडांै जिल्लामा कुनै एउटा विद्यालयको शिक्षकको मृत्यु भए जिल्लाभरीकै सम्पूर्ण विद्यालय बन्द हुने अवस्था रहेको थियो,”’ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले भने, “तर अब यस्तो प्रवृत्तिको अन्त्य गरी शिक्षक कार्यरत विद्यालयमा मात्र शोकसभा गरी विद्यालय बन्द गर्न र अन्य विद्यालयमा आवश्यकता भए शोकसभा गरी विद्यालय सुचारु राख्ने व्यवस्था गरिने छ ।”
स्थानीय विदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दासमेत शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने उनले बताए । उनले विभिन्न परीक्षाको वहानामा समेत अनावश्यक बिदा दिन नमिल्ने बताउँदै भने, “‘बिदासम्बन्धी शैक्षिक क्यालेण्डर अब चाँडै नै लागू हुनेछ ।”
काठमाडौं महानगरमा हाल ९१ वटा सामुदायिक र ६ सय ४० वटा संस्थागत गरी कूल ७ सय ३१ वटा विद्यालयहरु रहेका छन् । त्यस्तै विशेष र खुला विद्यालयको समेत व्यवस्था रहेको छ ।