site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशमा भ्रष्टाचार छ कि छैन भन्ने थाहा पाउन सामान्य जनतालाई कुनै विदेशी संस्थाको प्रतिवेदन चाहिँदैन । दिनहुँ काम पर्ने सरकारी अड्डा गए पुग्छ । यसैगरी शासकहरू पनि उत्तरदायी हुने हो भने मूलतः राज्यका संयन्त्रमा भ्रष्टाचार व्याप्त भएको सम्झन कुनै दिवस पर्खनु पर्दैन । सरकारको मूल काम नै नियमन हो । सही अर्थमा नियमन हुने हो भने भ्रष्टाचार हुँदैन । तर, नेपालका शासकहरूलाई कसैले सम्झाएपछि देशमा भ्रष्टाचार भएको हेक्का आउँछ र उनीहरू भ्रष्टाचार नियन्त्रण गर्न आकाशपाताल जोडेर गफ दिन्छन् । शासकहरूले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’को गुड्डी हाँके पनि उपल्लोे तहमा हुने ठूला भ्रष्टाचार राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नताविना सम्भव हुँदैन ।

मुहानै धमिलो भएपछि चुहान कसरी सफा हुन्छ र ? यसैले सबैभन्दा पहिले भ्रष्टाचारको दलदलबाट मुलुकलाई बाहिर निकाल्ने हो भने शासन शैली र शासकको मानसिकतामा परिवर्तन आवश्यक छ । ‘‘म नै राज्य हुँ’’ भन्ने शासकहरूले भ्रष्टाचार नियन्त्रण गर्छु भन्नु कटु उपहासमात्रै हो । भ्रष्टाचार नियन्त्रणको पहिलो खुड्किला लोकतान्त्रिक मूल्य, मान्यता र नैतिक आचरणको सम्मान हो । तर, राजनीतिक नेतृत्वमा ‘‘जोगी हुन राजनीति गरेको हो र ?’’ भन्नेहरूको बाहुल्य भएको समाजमा भ्रष्टाचार ‘रहरलाग्दो पाप’ बन्न पुग्दोरहेछ । 
घुस खाने छोरालाई बाबुले समेत ‘पौरखी’ ठान्छ । ठूलाठालु अधिकांशले राज्यको साधन, स्रोत र सम्पत्तिको दोहन गरेको देखेपछि समाजमा ‘महाजनो येन गतः स पन्था’ को मानसिकता विकास हुनु स्वाभाविकै हो । यस्तो समाज र सरकारमा दण्डको भयले भ्रष्टाचार रोकिँदैन । नत्र, अहिले नेपाल पनि न्युजिल्यान्डकै हाराहारीमा उभिने थियो होला भ्रष्टाचार कम हुने मुलुक भएर । शासकहरूको एकाधिकार र तजबिज प्रेम एवं पारदर्शिता तथा जबाफदेहीसँगको वैर भ्रष्टाचारको मूल कारक हो । परन्तु, भ्रष्टाचार नगर्ने किरिया खाने कर्मचारीतन्त्र र खुवाउने राजनीतिक नेतृत्व एकाधिकार र तजबिज प्रयोग गर्न रुचाउँछ भने पारदर्शी र उत्तरदायी हुन मन पराउँदैन । यसैले नेपालमा भ्रष्टाचार नियन्त्रणका उपाय र संयन्त्र पनि सफल नभएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पाार्टीको कार्यक्रम सरकारी निवासमा गर्नु, सरकारी मोटरमा निजी नम्बर प्लेट हालेर चलाउनु, सुरक्षा निकायका बहालवाला र अवकाशप्राप्त अधिकृतहरूले तालिमप्राप्त सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउनु, राजनीतिक दलको सदस्य भएकै भरमा ‘ऐरेगैरे नत्थुखैरे’ लाई सुरक्षाका नाममा निजी सहयोगी र घरेलु कामदार राज्यले खटाउनु सबै भ्रष्टाचारकै विभिन्न स्वरूप हुन् । प्रशासन र राजनीतिक नेतृत्व एकातिर तजबिजमा निर्णय गर्ने तर निर्णयको जिम्मेवारी नलिने प्रवृत्तिबाट ग्रस्त छ भने अर्कातिर तजबिजमा गरिएका निर्णयबाट राज्यलाई हानि हुँदा पनि कसैले जिम्मेवारी लिँदैन । 

बूढीगण्डकी जलविद्युत् परियोजना चिनियाँ निर्माण कम्पनी गेजुवालाई सुम्पने निर्णये निर्णय तजबिजमा भएको थियो । यसैले निर्णयमा गलत प्रक्रिया र खराब मनसाय झल्कन्छ । त्यसपछि सरकारले नै अध्ययन गराएर नेपालले त्यो परियोजना बनाउने आफैँ निर्णय भयो । प्रधानमन्त्री ओलीको सरकारले गेजुवालाई फेरि बूढीगण्डकी सुम्पने निर्णय गरेको छ । गेजुवालाई नै सुम्पने निर्णय तजबिजमा भएकाले भ्रष्टाचारको सन्देह हुन्छ । यही कम्पनीको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री ओलीले भ्रमण गरेको समेत चर्चाले स्वार्थको द्वन्द्व भएको पनि देखिन्छ । यस्तै अपारदर्शी निर्णय नेपाल वायुसेवा निगमको जहाज खरिदमा भएको छ । प्रक्रिया पूरा गर्न गलत उपाय अपनाइएको महालेखा परीक्षकको विभागले टिप्पणी गरेको छ । यस्ता विषयमा नीतिगत सुधार र दोषीलाई कारबाही गर्न पटक्कै ध्यान नदिने प्रधानमन्त्रीले ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’को नारा दिँदा कसरी पत्याउने ? यसैले प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रण गर्न चाहन्छन् भने सबैभन्दा पहिले तजबिज र एकाधिकारको अन्त्य तथा पारदर्शिता र उत्तरदायिताको वृद्धि गर्न ध्यान दिऊन् ।

Global Ime bank

केही अवकाश प्राप्त कर्मचारीले गरेको सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने माग गरेका छन् । यो माग पनि संविधानबाहिरबाट समाधान खोज्न सरकारलाई उक्साउने काम नै हो । लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने व्यक्तिले यस्ता गैरसंवैधानिक उपाय वा संयन्त्रमा विश्वास गर्दैन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता पूरै कब्जा गरेपछि सम्पत्ति छानबिन आयोग गठन गरेका थिए । संविधानबाहिरबाट समाधान खोज्दा त्यो आयोग नै आतंकको पर्याय बनेको थियो । त्यसो त त्यसभन्दा पहिले पनि सम्पत्ति छानबिनका लागि आयोगहरू बनाइएका थिए । कुनै पनि आयोग प्रभावकारी त भएनन् तर सबै विवादास्पद भने भएका थिए । विभिन्न मन्त्रालयमातहतका प्रभावशाली निकायलाई प्रत्यक्ष नियन्त्रणमा राखेर शक्तिशाली देखिने रहर भएका प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठनको मागले लोभ्याउन सक्छ ।

तर, त्यस्तो कदम तत्कालीन राजा ज्ञानेन्द्रका लागि कति प्रत्युत्पादक साबित भयो भन्ने हेक्का राख्ने हो भने अख्तियार र अन्य विद्यमान निकायलाई नै प्रभावशाली बनाउन ध्यान दिनुपर्छ । त्यसमाथि सर्वोच्च अदालतले शाही आयोगविरुद्ध गरेको निर्णय नजिर पनि छ ।   
भ्रष्टाचार नियन्त्रणका लागि व्यवस्था गरिएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि तजबिजी शैलीका कारण  भने धेरैजसो विवादमा पर्नेगरेको छ । त्यसमाथि मूलतः अवकाश प्राप्त निजामती कर्मचारीलाई यसको हर्ताकर्ता बनाउने प्रचलनले पनि यसलाई कमजोर बनाएको हो । प्रशासकमा न्यायिक मन भएको व्यक्ति बिरलै भेटिन्छन् । प्रशासनिक नेतृत्वमा रहेको व्यक्ति आफ्ना पूर्व सहयोगी वा प्रतिस्पर्धीप्रति निस्पृह रहन सक्तैन । गलत व्यक्तिको चयनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै राज्यका लागि चुनौती बनेको अनुभव धेरै पुरानो हैन ।

परन्तु, यस्ता अनेकौं कमजोरी सुधार गर्नुपर्ने भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्षम, निष्पक्ष र प्रभावकारी बनाउनु नै अहिलेका लागि भ्रष्टाचार कम गर्ने सबैभन्दा उत्तम उपाय हो । भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई प्रभावकारी बनाउन त्यसमा राजनीतिक भागबन्डा गर्ने वा सत्तारुढ पार्टीका नेताका कृपापात्रलाई टीका लगाउने प्रथा सबैभन्दा पहिले बन्द गर्नुपर्छ । राजनीतिक र प्रशासनिक नेतृत्व इमानदार हुने, शासनमा तजबिज र एकाधिकार अन्त्य गरेर पारदर्शिता र उत्तरदायिता बढाउने हो भने नेपाल पनि न्युजिल्यान्डको पंक्तिमा उभिन सक्छ । र, यति गर्न कुनै संस्थाको प्रतिवेदन वा दिवस पर्खिनु पर्दैन ।   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC