site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अति विशिष्ट व्यक्तिको आवागमनका नाममा सडकमात्र हैन आकाशमा पनि ‘सवारी’ जाम हुन थालेको छ । गणतन्त्र घोषणा भएको एक दशकमा विशिष्ट व्यक्ति र सामान्य जनताका बीचको अन्तर झन् बढेर गएको देखिन्छ । सडक यातायातमा यसको स्पष्ट झल्को दिनहुँ देखिन्छ । सडकमा साइरन बजाएर अगुवा पछुवा मोटरको ताँती लगाउँदै ट्राफिक नियम उल्लंघन गर्दै हुइँकिनेहरूको संख्या अहिलेजति धेरै पहिले कहिल्यै देखिएको थिएन । हुँदाहुँदा अब अति विशिष्ट व्यक्ति हवाई मार्गबाट आउँदा वा जाँदा आकाशमा समेत विमानहरू रोकेर राख्न थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार पोल्यान्ड भ्रमणबाट फर्कँदा आधा घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अरू उडानलाई आकाश र जमिनमा रोकेर राखियो । फलस्वरूप, कतिपय उडान घन्टौं ढिलो भए भने केही आन्तरिक उडान रद्द नै गरिए ।

सडक र आकाशमा विशिष्ट व्यक्तिको आवागमन हुनेबित्तिकै सामान्य जनतालाई सास्ती हुन्छ । यस्तो सास्तीले जनतामा सम्बन्धित विशिष्ट व्यक्तिप्रति मात्र हैन सिंगो शासन प्रणालीप्रति नै क्षोभ र वितृष्णा उत्पन्न हुन्छ । साथै, यसरी घन्टौं आवागमन रोकिँदा रोकिने व्यक्तिहरूका साथै देशले पनि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्छ । यस्तै औपचारिक कार्यक्रमहरूमा राष्ट्रपतिको आवागमनमा मूल सडकै बन्द गरिन्छ । त्यसबाट हजारौं सर्वसाधारणले घन्टौं सास्ती र नोक्सानी पनि सहनुपर्छ । यस्ता कार्यको सामाजिक सञ्जाल र सञ्चार माध्यममा तीव्र आलोचना हुँदैआएको छ । तैपनि सामन्ती संस्कार झल्कने यस्ता आडम्बरहरू भने घट्नुको साटो बढ्दै गएको छ । यो सामन्ती आडम्बरको औचित्य सिद्ध गर्न सम्बन्धित अधिकारीहरूले ‘सुरक्षा जोखिम’को डर देखाउने गरेको बताइन्छ । के साँच्चै नै नेपालका विशिष्ट व्यक्तिहरूलाई यति चर्को ‘सुरक्षा जोखिम’ छ त ? कि सामन्ती सान देखाउनैका लागि सुरक्षाको बहाना बनाइएको हो ? 

Agni Group

सडकमा सामन्ती संस्कारको प्रदर्शन हुँदा गरिँदा जनताले मूलतः राष्ट्रपति वा अन्य विशिष्ट व्यक्तिलाई आफूले पाएको सास्तीका लागि सराप्ने गर्छन् । कतिपयले त लोकतान्त्रिक गणतन्त्रलाई समेत दोषी ठानेको देखिन्छ । व्यक्ति विशेषको दोषका लागि लोकतान्त्रिक गणतन्त्रलाई दोषी ठान्नु बदनियत हैन भने मूर्खता हो । यस्तै, सुरक्षा प्रबन्धका नाममा जनतालाई दिइने सास्तीका लागि सम्बन्धित विशिष्ट व्यक्तिलाई पूरै दोष दिनु अन्याय हुन्छ । आकाश जाम गर्न वा सडकमा जनतालाई सास्ती दिन राष्ट्रपति वा अरू कुनै विशिष्ट व्यक्तिले भनेको वा चाहेको पक्कै हुँदैन । 

आवश्यकभन्दा बढी तामझाम देखाउने काममा सुरक्षा अधिकारीहरू नै बढी जिम्मेवार हुन्छन् । अति विशिष्ट व्यक्तिको आवागमनमा अगुवापछुवाको लस्कर तैनाथ गर्न सके सुरक्षा निकायमा प्रमुखहरू आफूले पनि रोब देखाउन पाउँछन् । यसैले उनीहरू नयाँ प्रबन्ध गरेर जनतालाई असुविधा नपारी विशिष्ट व्यक्तिलाई सुरक्षा दिन सके पनि अगाडि सर्दैनन् । तर, राष्ट्रपतिलगायतका विशिष्ट व्यक्ति पनि दोष मुक्त भने छैनन् । उनीहरूले सामन्ती रोब र तामझाम बन्द गर्न आदेश दिएमा सुरक्षा अधिकारीहरूले पनि पक्कै जनमुखी उपाय खोज्ने र अपनाउने छन् । सुरक्षा जोखिम छ भने जनतालाई पनि जानकारी दिए हुन्छ र त्यस अवस्थामा पनि असुविधा न्यूनतम हुने उपाय खोज्नुपर्छ । अन्यथा, राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरूलाई सडकमा ट्राफिक नियम उल्लंघन गर्ने छुट दिनुहुन्न । यस्तै, तिनलाई साइरन जडित गाडीमा अगुवापछुवा खटाउन बन्द गर्नुपर्छ । जनतालाई दुई नम्बरको नागरिक ठान्न शासकहरूले छाडून् !   
  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC