site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटा अपूरो यात्रा
Sarbottam CementSarbottam Cement

–अनुज घिमिरे


मानव सभ्यतासँग खोला वा पानी धेरै अगाडिबाट जोडिएको छ । धेरैजसो प्राचीन सभ्यता सबै पानीको वरिपरि बसेको पाइन्छ । कतै जंगलतिर हराए पनि पानी वा पानीको मुहान खोज्दै जाँदा एउटा न एउटा बस्तीमा अवश्य पुगिन्छ ।

यो कथा पनि त्यस्तै एउटा खोजाइको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कथा मार्दीको हो । त्यो बेलाको मार्दी, जुन बेला मादी अहिलेको जस्तो हिट भइसकेको थिएन । अलि–अलि मान्छेहरूको पोस्ट कतै–कतै देखिने गर्थे । त्यसरी नै सोसल मिडियामा देखेको भरमा मार्दीबारे धेरैले बिस्तारै थाहा पाउँदै थिए । अन्नपूर्ण रुट धेरै पटक डुलेकोले मार्दीबारे थाहा भए पनि खसै जान भने पाएको थिइनँ । ईश (काफ्ले) दाइ एक हप्ताअगाडि मात्र पुगेर आएका थिए ।

“लास्ट दामी छ यार, यस्तो हरिप भ्यु छ कि,” उनले एक्साइटेड भएर सुनाएका थिए । त्यसपछि मन थाम्न सकिएन । ईश दाइलाई फेरि जान मनाएँ, उनी पनि तयार भए ।

Global Ime bank

धेरै दिनको बिदा मिलाउन गाह्रो हुने भएर शुक्रबार बेलुकीको गाडीमा हिँड्ने निर्णय गरियो । ईश दाइले पहिले पनि त्यसरी नै गएको बताएका थिए । ६ बजे बागलुङको नाइट बस चढेका ईश दाइ ९ बजे बल्ल कलंकी पुगेका थिए । बस नहिँड्दै अगाडि स्क्रिनमा लगाइएको ‘छक्का पञ्जा’ कलंकी नपुग्दै सकिएछ । तर, बिहान ६ बजेतिर काँडे पु¥याएकाले खासै घाटा भने भएनछ । यो पालि पनि त्यस्तै होला भन्ने सोचेर नाइट बसमा जाने योजना बनाइयो । तर, हाम्रो पालोमा भने ६ बजे हिँडेको बसले एक घण्टा नहुँदै कलंकी कटायो । मध्यरातमा काँडे लगेर छोडिदिने हो कि भनेर मनमा तनाव थियो ।

तर, धन्न बस छुटेर हायलकायल भएकी एकजना दिदीले पुलिसलाई रोक्न लगाइन् । उनकै कारण बस कलंकीमा एक घण्टाजस्तो रोकियो । अबचाहिँ बिहानमात्रै पुगिन्छ भनेर ढुक्क भइयो । बसमा फिल्म चलिरहेको थियो । हामी आफ्नै कुरामा व्यस्त थियौं । साँझ खाना खाएपछि हामी गफ गर्दै थियौं, ईश दाइ लास्ट लिस्टमा मस्त सुतिसकेछन् । म भने अन्धकारमा बसको झ्यालबाट बाहिर हेर्दै समय बिताउने प्रयास गर्न थालें ।

२ बजेतिर त पोखरा नै पु¥यायो बसले । परेन तनाव ? गर्ने के ३ बजे पुगेर ? न कहीँ बस्नु न हिँड्नु । पोखरामा कतै रोकेर लग्ला कि भनी सोच्दासोच्दै ३ः२० तिर काँडेमा झारिदियो बसले ।

काँडेका सबै पसल बन्द थिए । चारैतिर अन्धकार थियो, कतै बत्ती बलेको थिएन । त्यहाँ बसेर केही नहुने देखियो । बरु हिँड्दा नै ठीक हुन्छ भन्ने निर्णयमा पुगियो । अन्धकारमा बाटो खोज्दै १० मिनेटजति भौतारिएपछि ईश दाइले बाटो पत्ता लगाए । एक हप्ताअगाडि मात्र आए पनि अन्धकारमा ठाउँ चिन्न सकेनन् । एउटा पसलको छेउबाट तल झरियो । तर त्यसपछि फेरि बाटो चिन्न सकिएन । आधी घण्टा त बाटो खोज्दै बित्यो । केहीसीप नलागेपछि एउटा घरको ढोका ढक्ढकाएरै सोध्नु पर्‍यो ।

“अस्ट्रेलियन बेस क्याम्प जाने बाटो कुन हो ?”

एउटा बूढा मान्छे ढोकाबाहिर निस्किँदै भने, “ऊऽऽ यो बाटो उकालो लाग्नुस् । अनि यति राति कहाँ हिँडेको त ?”

“बसले यतिखेरै ल्याएर छोडिदियो, त्यसैले यहाँ बस्नुको सट्टा जाऊँ भनेर हिँडेको बा,” उनलाई यति भनेर हामी आफ्नो बाटो लाग्यौं ।

अन्धकारमा अन्धाधुन्द हिँडेर एउटा डाँडाको टुप्पोमा पुग्यौं । ईश दाइले यो बेलासम्म बाटो चिनिसकेका थिए । बाटोमा ‘अस्ट्रेलियन बेस क्याम्प जाने बाटो’ लेखिएको बोर्ड पनि भेटियो । गाउँ छोडेर डाँडाको टुप्पोमा पुगेपछि कतै टाढाको पोखरा शहरमाथि प्रदूषण मज्जाले देखिन्थ्यो ।

ईश दाइ र म बिस्तारै हिँड्दै ‘अस्ट्रेलियन बेस क्याम्प’ पुग्यौं । मिलेसम्म र होटेल खुला भएसम्म त्यहाँ ब्रेकफास्ट गरेर अगाडि बढ्ने योजना थियो । तर, अस्ट्रेलियन क्याम पुग्दासम्म अझै अन्धकार थियो । कुनै होटल खुला थिएनन् । त्यसैले त्यहाँ बसेर काम छैन भन्दै हिँड्न थाल्यौं । अन्धकारमै घना जंगलबीच पुगियो । अगाडिबाट झ्याप्प केही दौडिँदै हाम्रो अगाडि आयो । दुबै जनाको सात्तो उड्यो । जिन्दगी यहीँ सकिन लेखेको रहेछ भन्ने लाग्यो । कुकुर रहेछ । डराउँदै वरपर चनाखो भएर हेरिरहेको थियो । डर लागेर नै होला– त्यो कुकुर हाम्रो पछिपछि लाग्न थालयो । छिनछिनमा यताउता हेर्दै हिँडिरहेको थियो, केही देखेझैं । चितुवा हुन सक्ने सम्भावना थियो तर आक्रमणै गरिहाल्ला भन्ने डरचाहिँ थिएन । तर, पनि हामी चनाखो भएर हिँडिरहेका थियौं । जंगलको एउटा ठाउँमा पुगेर हामी बाटो अल्मलियौं । एकातिर अन्धकार, अर्कातिर टर्च लाइट पनि त्यति तेजिलो थिएन । केही नदेखिने अन्धकार जंगलको बीचमा पुग्यौं ।

एउटा त हराएको तनाव, त्यसमाथि अन्धकारको अर्को डरलाग्दो यातना । त्यत्तिमै कता हराएको कुकुर पछाडिबाट आएर हामी दुबैलाई छुने गरी अगाडि गयो । दुबै सात्तो गएझैं जोडले उफ्रियौं । बाटो पत्ता लगाउन नसकेपछि दुबै जना फेरि पुरानै बाटो फर्किने र उज्यालो नहुँदासम्म कुर्ने निर्णयमा पुग्यौं । त्यतिबेला ५ बजिसकेको थ्यो । सुनसान जंगलमा हिँड्दै गर्दा एक्कासि ‘वेक अप, वेक अप’ भन्दै ईश दाइको फोनमा चर्को आवाजमा अलार्म बज्यो । हामी कम्तीमा पनि एक फिट माथि उफ्रियौं होला डरले । एकछिन त सासै रोकियो दुबैको । त्यो क्षण सम्भवतः अहिलेसम्मकै डरलाग्दो थियो ।

कुकुर र अलार्मले तर्साइसकेपछि उज्यालो नहुँदासम्म नहिँड्ने निर्णय गर्‍यौं । एउटा चौतारीजस्तो भेटियो । एकछिन त्यहीँ बस्यौं । आधा घण्टाजस्तो बसेपछि अलिअलि उज्यालो भयो । ईश दाइ ‘ल मैले अब बाटो चिनें’ भन्दै अगाडि बढे । र, फेरि यात्रा शुरु भयो ।

बिस्तारै उज्यालो हुने क्रम जारी थियो । घना जंगलबीच हिँड्दै गर्दा एउटा कुनामा सेतो बादलझैं देखियो । एकछिन रोकिएर हेर्दा थाहा भयो— अन्नपूर्ण दक्षिणको चुचुरो रहेछ । हजारौंचोटि त्यो हिमाल देखिसकेको भए पनि त्यो बेला देख्न पाउँदाको खुशी बेग्लै थियो । एउटा त हराएको चिन्ता, त्यसमाथि अलिअलि भोक । हिमाल देखिसकेपछि उत्साह पनि बढ्यो र हामी दौडिन थाल्यौं । केहीबेरमै देउरालीको होटेल देखियो । हिमाल जतिचोटि देखे पनि पहिलोचोटि देखेझैं रमाइलो लाग्ने । तर, अरु ठाउँबाट देखिने अन्नपूर्ण दक्षिणभन्दा देउरालीबाट देखिने अलि राम्रो लाग्यो मलाई । एकछिन बसेर चिया खाँदै हामी हिमालको तस्बिर खिच्नतिर लाग्यौं । चियासँगै ब्रेकफास्टको नाममा रोटी र अन्डा खाइयो । त्यसपछि फेरि आफ्नो गन्तव्यतिर लागियो ।

देउराली छोडेको केही बेरपछि नै जंगलबीचमा अलिअलि हिउँ देख्न थालिएको थियो । जीपीएसमा हेर्दा २२०० मिटर देखाइरहेको थियो । बिस्तारै एलिभेसन बढ्दै जाँदा हिउँ पनि बाक्लो हुँदै गयो । फरेस्ट क्याम्प पुग्दासम्म लटरम्मै हिउँ जम्मा भइसकेको थियो । फरेस्ट क्याम्पमा भात खान बसियो । ईश दाइले पहिले त्यहीँ खाएर ‘मीठो थ्यो’ भनेको भएर त्यहीँ खाने निर्णय गरेका थियौं । नभन्दै खाना मीठो रहेछ । झन् अचारको त के कुरा गर्नु !

खाना खाइवरी निस्किँदा लग्भग १० बज्न लागिसकेको थियो । फरेस्ट क्याम्प छोड्न नपाउँदै ठाडो डाँडा आउने रहेछ । बिस्तारै बात मार्दै त्यो उकालो पनि काटियो । बीचमा धेरैचोटि रतुवा मृग देखियो । २–४ चोटि कालिज पनि देखियो । केहीबेरमा सानो उकालो चढेपछि आँखाअगाडि माछापुच्छ्रे देखियो । तल्लो लो–क्याम्पमा करिब आधा फिट हिउँ थियो होला । हिउँले पुरिएको होटलको जस्ता र भुइँ अनि पछाडि माछापुच्छ«ेको दृश्य अति मनोरम थियो । लो–क्याम्पमा एकछिन विश्राम गर्‍यौं । पानी खाएर फेरि उकालो चढ्यौं । लो–क्याम्पभन्दा अलि माथि एकजनाको गोठ रहेछ । उनलाई बाटोमा भेटेका थियौं । उनले रमाइलो कुरा गरे र चिया खान निम्ता दिए । एकछिन उनको चौंरीगोठबाहिर बसेर चिया खाँदै देशको अवस्थाबारे गफ ग¥यौं । खाडी बसेर आएका रहेछन्, त्यति दुःख त देशमै गर्न सके अरुलाई अवसर नि मिल्ने, आफ्नै परिवारसँग बसेर काम पनि गर्न पाइने भनेर फर्केका रहेछन् ।

त्यसपछि फेरि आफ्नो बाटो लाग्यौं । त्यहाँबाट उकालो लागेपछि एउटा डाँडाको टुप्पोमा पुग्यौं, जहाँबाट अन्नपूर्ण दक्षिणको अझै राम्रो दृश्य देखिने रहेछ । डाँडाको टुप्पोमा एउटा घर अनि घरको पछाडि ठ्याक्कै अन्नपूर्ण । त्यहाँ एकछिन तस्बिर लिएर फेरि आफ्नो बाटो ततायौं । साँझ पर्न लाग्दा हाई–क्याम्प पुग्यौं । हाई–क्याम्पमा कोठा बाँकी रहेनछन् । डाइनिङमै सुतियो । तीन–चार जना नेपालीको समूह पनि आएको रहेछ । खाना खानुअघि आगो ताप्दै घुमाइबारे धेरै कुराकानी भयो । त्यही बेला एउटा नेपाली र अर्को विदेशी समूहले बेसक्याम्पभन्दा धेरै तल तीन फिटसम्म हिँउ भएको र हिँड्न सक्ने अवस्था नभएको भन्दै नजान सुझाव दिए । तर, हामी भने एकचोटि आफैं गएर हेर्ने भनेर ४ बजे उठ्न भनी अलार्म सेट गरेर सुत्यौं ।

भोलिपल्ट बिहानै ४ः३० मा उठेर चिया बनाउन लगायौं अनि बेसक्याम्पतिर लग्यौं— थर्मसमा चिया र दुइटा ग्लास बोकेर । हाई–क्याम्पबाट हिँड्न नपाउँदै लगभग एक फिटभन्दा धेरै हिउँ भेटियो । ‘यत्तिको त सकिन्छ’ भन्दै हामी माथितिर लाग्यौं । बिस्तारै जाँदै गर्दा पो थाहा भयो— होटलका साहुजीले किन भनेका रहेछन् ! त्यही पनि पछि नहटी हामी माथि चढ्दै गयौं । लगभग तीन घण्टाको हिँडाइपछि एउटा डाँडाको टुप्पोमा पुग्यौं र चिया खान बस्यौं । थर्मसबाट चिया झिकेर होटलबाट ल्याएका ग्लासमा हाल्यौं । पहिले घुट्का पिउन नपाउँदै दोस्रो त हिउँजस्तो चिसो भइसकेको ! किन यस्तो भयो भनेर सोच्दा आफ्नो गल्ती थाहा पाएँ । फोटो खिच्न भनेर एकछिन कप हिउँमा राखेको थिएँ, हिउँले बर्बाद गरिसकेछ । चिसै भए पनि चिया खाइयो रमाइलो मानेर । त्योभन्दा माथि जाँदै गर्दा हिउँ झन्–झन् बढेको थियो । बाटो पनि पत्ता लगाउन नसकिने भइसकेको थियो ।

हिउँका कारण माथि जान नसकिने देखेपछि तलै फर्किने निर्णय ग¥यौं । हाई–क्याम्प झरेर आफ्ना सामान बोकी हामी सिधिङतिर लाग्यौं । त्यहीँ गएर खाने सल्लाह भयो । फटाफट तल झ¥यौं । चिप्लो बाटोमा दौडिँदै सिधिङ पुग्यौं । सिधिङमा मासुभात खाएर शरीरमा ऊर्जा थप्यौं र फेरि तल झर्न शुरु ग¥यौं । सिधिङभन्दा तलको गाउँबाट पोखरासम्म गाडी जाने रहेछ । त्यहाँसम्म हिँड्ने सल्लाह भयो । ५ मिनेटजस्तो हिँडेपछि दोबाटो आयो । एउटा पश्चिम जान्थ्यो, अर्को पूर्व ।

ईश दाइले पश्चिम जाऊँ भन्दै थिए, मैले पूर्व । मैले ‘पूर्वै हुनुपर्छ, खोला नि तलै छ’ भनेपछि त्यतै लाग्यौं । केहीबेर अगाडि गएपछि एउटा घर भेटियो । त्यहाँ गएर सोध्यौं । एकजना बूढाले भने, “बाटो त पश्चिमबाटै हो । तर, पूर्वपट्टिबाट तल झरे पनि पुगिन्छ ।”

खेतैखेतबीच सानो बाटो हुँदै तल लाग्यौं । बाटो त थियो तर धेरै समयदेखि कोही नहिँडेको जस्तो देखिन्थ्यो । बाटोमा नेपालीको ‘छाप’ थियो— प्लास्टिक र जंकफुडका खोलैखोल । धेरै तल ओर्लिसकेपछि एउटा ठाउँमा गएर बाटो हरायो र जंगलै जंगल देखियो । त्यही पनि जबर्जस्ती बाटो बनाउँदै, ठाउँठाउँमा निगालो समात्दै तल झ¥यौं । एउटा ठाउँमा पुगेर त बाटो ठप्पै बन्द भयो । एउटा डाँडाको ढिस्को थियो पहिरो गएको, बाटोको नामोनिशान थिएन । त्यहाँबाट सन्तुलन बिग्रिएर खस्ने हो भने कम्तीमा पनि हजार फिट तल पुगिन्थ्यो । माथि फर्किने भन्ने उपाय थिएन । एउटा त बाटै थिएन । कहाँबाट आइयो भनेर पत्तै लगाउन सकिन्नथ्यो । अर्कातिर अँध्यारो हुन लागिसकेको थियो । त्यसमाथि ईश दाइको भोलिपल्ट अफिस जानैपर्ने बाध्यता । अनि तल्लो गाउँबाट ६ बजेपछि गाडी नचल्ने । परेन फसाद ?

हराएपछि केही न केही उपाय त लाउनै पर्‍यो । सबैतिर झाडी थियो, कतै केही नदेखिने । अनि एकातिर भीर । टाढा कताकता पानी बगेको सुनिन्थ्यो । सोच्यौं— पानी छ भने त पक्कै तल झरेको छ र केही न केही गरी बाटो खोज्न सकिन्न्छ ।

झारै झारबाट छिर्दै, निगालो समात्दै बल्लतल्ल खोलाको किनारमा पुग्यौं । बल्ल सास आयो । त्यही खोला समातेर सडकसम्म पुग्यौं । त्यो दिन त्यहाँ जंगलमा हराएको भए, बाटो नभेटेको भए शायद बाँचिन्थेन होला । त्यतिबेलै त्यस्तो चिसो थियो, हामीसँग पिउने पानीसमेत थिएन । सडकमा पुगेपछि हामी दौडिन थाल्यौं । ६ बजेअगाडि नै बस्ती पुगेर बस समात्नु पर्ने थियो । तर, भनेजस्तो नजिक भने रहेनछ । जति हिँडे पनि नपुग्ने । दौडिँदै गएपछि परबाट बस्ती देखियो । हाम्रा कानले बसको अन्तिम हर्न सुने । हामी केही मिनटमात्रै ढिलो भएछौं ।

धन्न सिधिङमा हामीले खाना खाएको होटेलको एउटा जिप चार यात्रु बोकेर पोखरा जाँदै रहेछ । हामीलाई पोखरासम्म छोडिदियो ।

बाँचेर सकुशल घर फर्किनुजत्तिको आनन्द यो धर्तीमा अरू केही छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC