site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गोरखापत्र’ सुधार्ने मिसन
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


लगाव वन्यजन्तुप्रति थियो । पक्षी र माटोप्रति थियोे । एसएलसीपछि उनलाई कृषि विषय लिएर पढ्न मन लाग्यो । कृषिको पढाइ हुन्थ्यो रामपुर (चितवन)मा मात्रै । भक्तपुरमा पनि हुन्थ्यो तर त्यहाँको पढाइले शिक्षकमात्रै भइन्थ्यो । शिक्षण पेशा छोडेर अन्य पेशा समाएका बुवाले कृष्णमुरारीलाई ‘तँ पनि शिक्षक नै हुन्छस्’ भनेपछि उनले कानुन पढ्न थाले । 

कानुन पढे, पत्रकारिता गरे । तर, जीव र कृषिप्रतिको उनको रुचि हराएको रहेनछ । मंगलबार बिहान बौद्धस्थित उनको घर पुग्दा आँगनमा चार–पाँच वटा कुकुर थिए । उनले प्रत्येक कुकुरको फरक–फरक नाम राखेका छन् । उनले नाम बोलाएर ‘क्यानलभित्र पस्’ भन्दा पस्थे र बाहिर निस्की भन्दा निस्किन्थे । आँगनमा खोर छ । खोरभरि विभिन्न प्रजातिका चरा छन् ।

Agni Group

० ० ०

विष्णुबहादुर मानन्धर वामपन्थी नेता थिए । उनको विद्यार्थी संगठन थियो । त्यही संगठनको सदस्य भए कृष्णमुरारी । रसियाबाट इन्जिनियरिङ गरेर आएका काका थिए ।  नीलाम्बर आचार्य, चन्द्रदेव जोशीलाई त्यतिबेलै चिने उनले । नारायणमान बिजुक्छे आउँथे, चिने । पञ्चायतविरुद्ध रहेका दलहरू आपसमा नजिक रहेका कारण कांग्रेस, कम्युनिस्ट दुवै दलका नेता आउँथे काकासँग । उनकाे सम्बन्ध भने बाममन्थी नेताहरूसँग धेरै थियाे । 

Global Ime bank

कांग्रेसले सशस्त्र संघर्ष गर्‍यो । त्यहीबेला क्याप्टेन यज्ञबहादुर र भीमनारायण श्रेष्ठ मारिए । त्यो घटनापछि कृष्णमुरारी पञ्चायतविरुद्ध खुलेरै लागे ।

बार एसोसिएसनको कार्यालयमा मुकुन्द रेग्मीले एउटा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रको आशय थियो— यसरी मान्छे मारिनु ठीक होइन । कार्यक्रममा त्यो बेलाका ठुल्ठूला वकिल सहभागी थिए । कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, लक्ष्मण अर्याललगायत थिए ।

भारत प्रवासमै रहेका बेला ०३५ साउन ७ गते नयाँदिल्लीस्थित ‘अल इन्डिया मेडिकल इन्स्टिच्युट’मा उपचार गर्दागर्दै पुष्पलाल श्रेष्ठको मृत्यु भएको थियो । उनको अस्तु नेपाल ल्याउने कुरा भयो तर पञ्चायतले ल्याउन नदिन सकेको तयारी गर्‍यो । त्यो सबै थाहा पाएका पुष्पलालका समर्थकले नयाँ उपाय अपनाए । दिल्लीबाट रेलमा रक्सोलसम्म आए । त्यहाँबाट वीरगन्ज हुँदै सिमरा आए । सिमराबाट काठमाडौंको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । प्रहरीले दिल्लीबाट आएका विमानमा विशेष निगरानी गरिरहेको थियो । अस्तु ल्याएको देख्नेबित्तिकै जफत गर्न तयार थियो । विमानस्थलमा जम्मा भएका पुष्पलालका शुभेच्छुक, शुभचिन्तक, आफन्त तथा कार्यकर्तामा निराशा छाइसकेको थियो । कृष्णमुरारी पनि त्यही भीडमा थिए । ठीक त्यति नै बेला सिमराबाट आएका एक व्यक्तिले हातमा घैटो बोकेर झुल्किए । दिल्लीबाट आएको फ्लाइटलाई निगरानीमा राखेको प्रहरीले पत्तै पाएन । ती व्यक्तिले ‘पुष्पलालको अस्तु ल्याइयो’ भने । नाराबाजी भयो । जुलुसकै रूपमा हिँडेर उनीहरू शोभाभगवती पुगे । नेवारी परम्पराअनुसार उनको अस्तु सेलाइयो । राजनीतिक कार्यक्रममा कृष्णमुरारी सडकमै उत्रिएको त्यो नै पहिलो दिन थियो ।

त्यसपछिको विद्यार्थी आन्दोलनमा कृष्णमुरारी सक्रिय भएर सशक्त रूपमा लागे । त्यो बेला पञ्चायतले उनलाई पक्राउ गरेर थुनामा समेत राख्यो । त्यही बेलादेखि उनले पत्रपत्रिकामा लेख्न थाले । विद्यार्थी संगठनको बुलेटिनमा पनि लेख्थे ।

भेषजंग बादलको सम्पादकत्वमा ‘आवाज’ साप्ताहिक निस्किन्थ्यो । त्यसमा समाचार लेख्थे कृष्णमुरारी । प्रुफ हेर्नेदेखि समाचार लेख्नेसम्म काम गर्थे । प्रतिबन्धित कांग्रेस र कम्युनिस्टलाई सघाएको भन्दै अञ्चलाधीशको कार्यालयले दबाब दियो । 

पोखराबाट ‘भन्ज्याङ’ नामक पत्रिका दर्ता भयो । पोखराबाट दर्ता भए पनि काठमाडौंबाट प्रकाशन हुन्थ्यो । त्यसमा पनि केही समय काम गरे ।

०४० मा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । उनीविरुद्ध अविश्वासको प्रस्ताव आयो । उनले पत्रिका दर्ता गर्न दिने निर्णय गरे । त्यहीबेला पत्रकारिताका (हाल)प्राध्यापक बद्री पौडेलको नाममा ‘माध्यम’ साप्ताहिक दर्ता भयो । बद्री छात्रवृत्तिमा पढ्न रुस गए । उनले ‘माध्यम’को प्रकाशन तथा सम्पादन सबै कृष्णमुरारीको जिम्मा लगाए । कृष्णमुरारी सम्पादक तथा प्रकाशक भएको पहिलो पत्रिका त्यही थियो ।

“त्यो बेला अहिलेको जस्तो थिएन । समाचार संकलन गर्नेदेखि सम्पादक, प्रकाशक तथा वितरण गर्नेसम्मको काम आफैं गर्नुपथ्र्यो,” कृष्णमुरारी सम्झन्छन्, “पत्रिका बाँड्ने मान्छे आएन भने आफैं काँधमा हालेर बेच्न हिँडिन्थ्यो ।”

० ० ०

०४१ मा गोदावरीमा विद्यार्थी संगठनको भेला हुने भयो । पत्रकारका रूपमा विद्यार्थी संगठनले कृष्णमुरारीलाई पनि बोलायो । उनी रिपोर्टिङ गर्न गए । झन्डै ३ सय मान्छे थिए । खाना खाने तयारी भइरहेका बेला अचानक प्रहरीले चारैतिरबाट घेरा हाल्यो । लाठीचार्ज गर्न थाल्यो । दुई–चारपटक थुनामा परिसकेका र राजनीतिक कार्यक्रममा हिँडिसकेका कृष्णमुरारीले सोधे, “किन कुट्छौ मलाई ?”

प्रहरीले मुख छाडेर भन्यो, “तँ को होस् र नकुट्नलाई ?”

कृष्णमुरारीले भने, “म पत्रकार हुँ ।”

प्रहरीले ‘साले पत्रकार, यसलाई पनि लैजा’ भन्दै कृष्णमुरारीको कठालोमा समात्यो । पालतो ज्यान भएका कृष्णमुरारीलाई प्रहरीले झुन्डाउँदै लगेर गाडीमा कोच्यो । उनीसँगै त्यहाँ समातिनेमा जितेन्द्र देव, ठाकुर शर्मा, सुनील मानन्धर, केदार कोइराला पनि थिए । जितेन्द्र, ठाकुर र सुनील पछि मन्त्री भए ।

उनीहरूलाई डीएसपी कार्यालयमा पाँच दिन राखियो । शान्ति–सुरक्षामा खलल पुर्‍याएको पुर्जी दिएर उनलाई नख्खु जेल लगियो । “जाउलाखेलको त्यो चौकीमा बस्दा मैले पहिलोपटक हो, सैनिकको परेडझैं उडुस देखेको । शरीरभरि उडुसले टोकेर डाबरै डाबर भएको थियो । त्यहाँबाट नख्खु जेल लगेपछि बल्ल आनन्द भयो । साढे चार महिना राख्यो नख्खुमा ।”

नख्खुमा कांग्रेस र कम्युनिस्ट नेताहरूसँग भेट भयो । लामा–लामा राजनीतिक बहस हुन्थे । यातनाको अनुभव सुनाउँथे । सीपी मैनालीसँगै जेल तोडेर भागेकाहरू पक्राउ परेर फेरि बन्दी बनाइएका रोचक किस्सा सुनाउँथे उनीहरू । कृष्णमुरारी भन्छन्, “त्यो जेल मेरा लागि राजनीतिक पाठशालाजस्तै भयो ।”

त्यहाँबाट निस्किएपछि अञ्चलाधीशले फेरि कृष्णमुरारीलाई हायलकायल पार्ने प्रयत्न गरे । ‘पत्रकारलाई यसरी थुन्ने ?’ भन्दा अञ्चलाधीश उत्तर दिन्थे, “फेरि पनि पत्रिका निकाल्यौ भने यसैगरी पक्राउ गरेर थुनिन्छ ।”

पत्रिका निकाल्न प्रेस पाउनै छाडे । पञ्चायतविरोधी पत्रिका प्रकाशन गरे प्रेसै जफत गर्ने रवैयाका कारण पत्रिका छाप्न प्रेसहरू मान्दैनथे । कृष्णमुरारीले बल्लबल्ल बागबजारमा एउटा प्रेस भेटाए, जसले छाप्छु भन्यो । पछि बुझ्दै जाँदा उनी पनि पञ्चायतनिकट रहेछन् । उनले ‘माध्यम’ छाप्न त छापे तर समयमा कहिल्यै छापिदिएनन् ।

असारको महिना थियो । उनी डिल्बजारको प्रेसमा थिए । त्यही बेला ठूलो आवाजमा विष्फोट भयो । उनले सोचे— कोही आयो होला, तोप पड्काए । त्यहाँ रहेकाहरूले भने, “होइन, ठूलो आवाज छ । अरु नै केही भएको होला ।”

साँझ प्रेसको काम सकेर निस्किँदा थाहा भयो— रामराजाप्रसाद सिंहले बम पड्काएका रहेछन्, सिंहदरबार र अन्नपूर्ण होटलमा ।

त्यही रात प्रहरी कृष्णमुरारीको घरमा आयो । उनी र काकालाई समात्यो । कोठाभरि वामपन्थी र बीपीबारेका किताब थिए । छानी–छानी बोरामा हालेर लैजाने तयारी गरिरहेका बेला एकजनाले भन्यो, “ह्या, यो राति बोरा कसरी लैजानू, छोड्दे, हिँड् ।”

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा लगेर डेढ महिना थुनियो । गजेन्द्रनारायण सिंह, गणेश शाह, चन्द्रवेव जोशी, कल्याण शाह, रमण श्रेष्ठ, निरजञ्जनगोविन्द वैद्य, अनारसिंह कार्कीलगायतलाई पनि पक्राउ गरिएको थियो । जनकपुरबाट ल्याएका लक्ष्मीनारायण र सांकेत चौधरी पनि थिए ।

उनीहरूसँगै पक्राउ परेका चार जनालाई राज्यले बेपत्ता बनायो । त्यो बेला डेढ महिनासम्म कृष्णमुरारी कहाँ छन् भन्ने परिवारलाई थाहा थिएन । परिवारले माया मारिसकेको थियो ।

अढाई महिनामा कृष्णमुरारी हिरासतबाट मुक्त त भए तर समाजले भने बहिष्कार गरेजस्तो गर्न थाल्यो । छिमेकीहरू कर्के नजरले हेर्थे । बाटोमा आमनेसामने भयो भने टाउको अर्कोतिर फर्काएर हिँड्थे । उनीसँग बोल्यो भने प्रहरीले पक्राउ गर्छ भन्ने डर थियो छिमेकीलाई ।

पीएल सिंहले त्यो बेला कृष्णमुरीलाई निकै ठूलो सहयोग गरे । निर्दोष पत्रकारलाई अनाहकमा हिरासतमा राखिएको भनेर बीबीसी तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिए । उनी छुटेपछि एमनेस्टी इन्टरनेसनललगायत विभिन्न मानवअधिकारवादी संघसंस्था तथा सञ्चारमाध्यम कृष्णमुरारीलाई भेट्न आए ।

पीएल सिंहका कारण गणेशमान सिंहसँग राम्रो सम्बन्ध भयो कृष्णमुरारीको । ०४३ सालको एकदिन उनले गणेशमानको अन्तर्वार्ता लिए । तेस्रा पृष्ठमा छापिएको पेजभरिको अन्तर्वार्ताको शीर्षक थियो— संवैधानिक राजतन्त्रका पक्षपाती हौं, निरंकुशको होइन ।

त्यो अन्तर्वार्ता पञ्चायतलाई पचेन । पत्रिकाको दर्ता नै खारेज गरिदियो राज्यले । उनी त्यो बेला राज्यले दिएको पीडा सुनाउँछन्, “हजारबाट शुरु भएको सर्कुलेसन जब ४ हजार पु¥याउँथ्यौं, अबचाहिँ राम्रो भयो भन्ने हुन्थ्यो, ठीक त्यही बेला राज्यले पत्रिका बन्द गरिदिन्थ्यो ।”

० ० ०

सरकारले पत्रिका प्रकाशन बन्द गरिदिएपछि उनी फुर्सदिलो भए । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्न थाले । काम गर्ने बानी परेको थियो । काम त गर्नै प¥यो । अधिवक्ताको लाइसेन्स लिए । कानुन अभ्यास शुरु गरे ।

त्यही समय ०४६ सालको जनआन्दोलन शुरु भयो । त्यसमा उनी पनि लागे । आफ्नै पत्रिका नभए पनि अरुको पत्रिकामा समाचार तथा लेख लेख्थे । ०४६ मा पनि उनी केही समय भूमिगत भए । फेरि पक्राउ परे ।

सरल जीवनशैली हुनुपर्छ भन्ने उनको सिद्धान्त थियो । त्यही सिद्धान्तका कारण नेताहरूसँग बढेको सम्बन्ध धेरै सुमधुर हुन सकेन ।

०४६ सालसम्म उनले गरेको पत्रकारिता मिसन पत्रकारिता थियो । त्यसपछि व्यावसायिक पत्रकारिता गर्नुपर्छ भन्ने लाग्यो । उनलाई ‘सुरुचि’ले बोलायो । त्यसमा ९ महिना काम गरे । ४ हजार सर्कुलेसन रहेको पत्रिकाको सर्कुलेशन उनले छोड्दा २५ हजार पुगेको थियो । शिव अधिकारी सम्पादक थिए । उनी कांग्रेसनिकट, कृष्णमुरारी वामपन्थीनिकट । दुबैका समाचार तथा अन्तर्वार्ता आउने भएकाले ‘सुरुचि’को सर्कुलेशन बढेको थियो ।

वामपन्थी पृष्ठभूमिबाट आए पनि कृष्णमुरारी सधैं एउटै थिममा हिँडे, त्यो थियो— नेपालको प्रजातान्त्रिक आन्दोलन सफल हुनका लागि कांग्रेस र कम्युनिस्ट एक नभई हुँदैन । नभन्दै उनले भनेजस्तै भयो । कांग्रेस र कम्युनिस्ट मिलेपछि बल्ल पञ्चायतले घुँडा टेक्यो । ‘माध्यम’ प्रकाशन गर्नुको मुख्य उद्देश्य पनि त्यही नै थियो । त्यसपछिका आन्दोलनमा पनि उनले ‘प्रजातान्त्रिक शक्ति र कम्युनिस्ट शक्तिको एकता नभई नेपालमा प्रभावकारी हुँदैन’ भनेर नै लेखे ।

‘सुरुचि’मा काम गरिरहेका बेला ‘कान्तिपुर’ प्रकाशन हुने भयो । डमी पेजबाटै उनी ‘कान्तिपुर’ आए । फिचर रिपोर्टरबाट ‘कान्तिपुर’ प्रवेश गरेका कृष्णमुरारी फिचर पेज प्रमुख, चिफ रिपोर्टर, डेस्क एडिटर तथा नाइट डेस्क प्रमुखसम्म भए । १८ वर्ष काम गरेपछि उनले ‘कान्तिपुर’ छाडे ।

‘कान्तिपुर’ छोड्दा उनी ‘अब पत्रिकारिता गर्दिनँ’ भनेर निस्किएका थिए । “शुरुका १० वर्ष मैले जति सिकें, बाँकी ८ वर्ष त्यसकै निरन्तरतामात्रै भयो । त्यसैले अब यहाँ बसेर भुत्ते हुनेबाहेक केही उपलब्धि हुँदैन भनेर छोडें,” उनी भन्छन्, “दुई महिनासम्म त ठिकै थियो, त्यसपछि जिन्दगी कसरी चलाउने भन्ने समस्या होलाजस्तो भयो । तर, हजार अवसरहरूले मान्छेलाई पर्खिरहेका हुने रहेछन् । त्यसपछि मैले जे काम गरें, त्यसबाट ‘कान्तिपुर’मा काम गर्दाभन्दा राम्रै भयो । स्वतन्त्र भएँ । विभिन्न ठाउँ घुमें । नयाँ जानकारी र सूचना प्राप्त भयो । त्यही मेरो स्तम्भका लागि नयाँ खुराक भए । अझै सहज भयो जीवन ।”

० ० ०

‘कान्तिपुर’मा काम गर्दा उनले ‘अर्को पाटो’ नामक स्तम्भ शुरु गरे । त्यसमा उनी समाजमा चिनिएका व्यक्तिका नदेखिएका कुरा लेख्थे । केपी ओलीको अर्को पाटो उनले लेखेका थिए । केपी ओलीका सन्तान छैनन् तर उनले दर्जनौं बालबालिकालाई ‘एडप्ट’ गरेका छन्, उनीहरूको अभिभावकत्व ग्रहण गरेका छन्, जसले उनलाई बुवा भन्छन् । पढाउनेदेखि विवाहसमेत गराइदिने गरेका छन् ।

ओलीको अर्को पाटो हो— उनी घण्टौंसम्म केटाकेटीसँग खेलेर बस्छन् । स–साना केटाकेटीसँग उनी घण्टौं खेलेर बिताइदिन्छन् । यो आम नेपाली जनतालाई थाहा छैन ।

यस्तै ओलीको जिन्दगीको अर्को पाटो पनि छ, जुन कमैलाई थाहा छ । गीत–संगीतमा उनलाई असाध्यै रुचि छ । केपी ओली गीत–संगीत भनेपछि हुरुक्कै हुने व्यक्ति हुन् । उनी गीत–संगीतमा लीन हुन पाए समय बितेको पत्तै पाउँदैनन् । यी र यस्तै नदेखिएका पाटा खोतलखातल पारेर लेखेको कृष्णमुरारीलाई अझै ताजै छ ।

ओली हरेक बिहान टेबलटेनिस खेल्थे । जेलमा हुँदा ओलीले टेबलटेनिस खेलेको कृष्णमुरारीले सुनेका थिए । पछि ओलीले घरमै टेबलटेनिस खेल्ने ठाउँ बनाएका थिए ।

कृष्णमुरारीले नामी अधिवक्ता गणेशराज शर्माको पनि अर्को पाटो लेखे । उनी नाताले बीपीका साढु भाइ थिए । हरेक दिन माटोसँग खेल्नै पर्ने उनको बानी थियो । फूलबारीको माटो भए पनि नांगो हातले माटो चलाउने उनको दैनिकी थियो । उनी हिँड्न रुचाउने । हिँड्दा हरेक व्यक्तिको अनुहार हेरेर व्यक्तिलाई मूल्यांकन गर्ने ।

“उहाँले साँखुमा जग्गा किन्नुभएको थियो । मैले थाहा पाउँदा एकपटक दुईजोर गोल्डस्टार जुत्ता किन्नुभएको थियो । शनिबार धोबीधाराबाट एकजोर जुत्ता लगाएर अर्को झोलामा बोकेर जानुहुन्थ्यो । त्यहाँ पुगेर लगाएको जुत्ता धोएर सुकाउनु हुन्थ्यो र अर्को लगाउनु हुन्थ्यो । त्यो दिन त्यहीँ बसेर आइतबार बिहानै हिँडेर अदालतमा बहस गर्न आइपुग्नुहुन्थ्यो,” कृष्णकुमारी गणेशराजको अर्को पाटो सुनाउँछन्, “संसारका जुनसुकै कुनामा निस्किएको राम्रो पुस्तक उहाँको हातमा १५ दिनभित्र आइसक्थ्यो ।”

कृष्णमुरारीले अर्को स्तम्भ लेखे, ‘मोही माग्ने ढुंग्रो लुकाउने’, जसले उनको पहिचान बनायो । नेपाली आहानलाई सापटी लिएर उनले आफ्नो स्तम्भको नाम राखे । यसको अर्थ ‘मान्छे भन्छ एउटा तर गर्छ अर्कै’ भन्ने हो । यही विषयलाई केन्द्र बनाएर उनले लेख्न थाले । यो नाम जुराउनमात्रै उनलाई एक हप्ताभन्दा धेरै लाग्यो । ०५८ सालबाट लेख्न थालेको यो स्तम्भ ‘कान्तिपुर’, ‘अन्नपूर्ण’ हुँदै नागरिकसम्म पुग्यो । ‘अन्नपूर्ण’ मा जिवेन्द्र सिम्खडाले उक्त कोलम लेख्न जबरजस्ती गरेको उनी अहिले पनि सम्झन्छन् । अहिले ‘गोरखापत्र’को कार्यकारी पद अध्यक्ष बनेपछि भने उनले यो स्तम्भ रोकेका छन् ।

पत्रकारिता नै पेशा भयो । अनुभव लामो समयको भयो । त्यसैले समाचार कक्षको नेतृत्व गर्ने रहर उनमा पनि पलाएको थियो । त्यसमा पनि सरकारी पत्रिका ‘गोरखापत्र’को सम्पादक हुने चाहना थियो नै । तर, समयले उनलाई समाचार कक्षमात्रै होइन, पूरै संस्थान नै नेतृत्व गर्ने जिम्मेवारी थमायो । ‘गोरखापत्र’मा उनले समाचारकक्ष भन्दा पनि पूरै ‘गोरखापत्र संस्थान’कै नेतृत्व सम्हालिरहेका छन् । केपी ओलीनेतृत्वको वर्तमान सरकारले उनलाई अध्यक्ष बनाइदियो । त्यसैले उनी अहिले समाचारभन्दा पनि व्यस्थापनको काममा व्यस्त छन् । रनभुल्लमा रहेको ‘गोरखापत्र’को व्यस्थापनलाई सही ट्र्याकमा ल्याएर समाचारको विषयवस्तुमा ध्यान दिने योजना सुनाउँछन् उनी । आफ्नो डायरीमा ‘गोरखापत्र’लाई कसरी सुधार गर्न सकिन्छ र कस्तो सुधारको आवश्यकता छ भनेर नोट गरेका छन् ।

सरकारी प्रकाशनको निरन्तरताका रूपमा मात्रै पहिचान बनाएको ‘गोरखापत्र’लाई देशको मुहार बोल्ने पत्रिका बनाउने सपना उनले सुनाए । यसो गर्छु भन्ने नेताको भाषण होइन, चुनाव जितेपछि के गर्नुभयो भन्ने प्रश्न सोधेर जनप्रतिनिधिलाई उत्तरदायी बनाउने उनको योजना छ । प्रत्येक दिन स्थानीय निकायका प्रगति विवरण छापेर एकले अर्कोसँग विकासका लागि प्रतिस्पर्धी भावनाको विकास गराउने उनको रहर छ । उनको डायरीमा रहेका यी योजना ‘गोरखापत्र’को प्रवृत्तिले डायरीमै थन्काइदिने हो कि होइन, त्यो त आगामी दिनले नै देखाउनेछन् ।

अहिलेको पत्रकारिता

व्यक्तिको सबै पक्षलाई हेरेर पत्रकारिता गर्नुपर्ने हो तर आजको पत्रकारिता व्यक्तिको एउटा पक्षलाई मात्रै हेरेर गर्ने चलन रहेको कृष्णमुरारी बताउँछन् । नेताको समाचार लेख्ने पत्रकार अहिले कुन नेताले के कमायो भन्नेतर्फ मात्रै सोच्छ र लेख्छ । उसले समाचार लेख्दै गरेको नेताले विगतमा उसले कति योगदान गरेको छ, ऊ जेल बस्दा उसका श्रीमती र परिवारले कसरी जीवन यापन गरे, छोराछोरी पढ्न पाए कि पाएनन्, त्यो पाटो नसोची आजको अवस्थामात्रै लेख्ने गरेकोमा कृष्णमुरारीलाई चित्त बुझ्दैन ।

पञ्चायतकालमा जसरी पनि पञ्चहरुको विरोध गर्नुपर्छ भन्ने नकारात्मक समाचार लेखेर आएका पत्रकारले आफू त्यो प्रवृत्तिबाट कति थिचिएको छु भन्ने पत्तै नपाएको उनी बताउँछन् ।

पत्रकारले व्यावसायिकताभन्दा पनि आफ्नो मर्यादाबाहिर गएर काम गर्ने गरेको उनलाई चित्त बुझेको छैन । कतिपय पत्रकार आर्थिक लाभ लिने दिशातर्फ अग्रसर भएको उनी स्वयंले देखेका छन् । “यसले समग्र पत्रकारिताको बदनाम गरिरहेको छ,” उनी भन्छन्, “अहिले पत्रकार बजारमा मोलतोल गर्ने वस्तुजस्तो भएको छ । पत्रकारले दलाली गर्छ र यसलाई बजारमा सस्तो भाउमा किन्न सकिन्छ भन्ने आमधारणा बदल्न अहिले नसोचे कहिले सोच्ने ?”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC