site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रिकेटमा ‘सिन्डिकेट’ भन्नेसँग ‘फेस टु फेस’ गर्न तयार छु 
Ghorahi CementGhorahi Cement

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तयारीमा व्यस्त छन् । ईपीएलमा साबिक बिजेता विराटनगर वारियर्सको नेतृत्व गरिरहेका पारस उपाधि रक्षाको योजनासहित टिमलाई तयार पारिरहेका छन् । मैदानभित्र ब्याट र बलसँगको नाता खरो रुपमा प्रस्तुत गर्ने पारसका विचार पनि त्यतिकै खरो हुने गर्छन् । क्रिकेट प्रशासनप्रतिको असन्तुष्टि प्रकट गर्ने क्रममा पारस कहिल्यै सम्झौता नगर्ने खेलाडीका रुपमा दरिएका छन् ।
मैदानमा टिमलाई सफलताको बाटोमा डोर्‍याउन रणनीति बनाउन सक्ने भएकै कारणमात्र उनी नेपाली क्रिकेटको सफल कप्तान भएका होइनन्, अत्यन्तै अप्ठेरो अवस्थामा पुगिसक्दा पनि टिमलाई त्यहाँबाट फर्काउन सक्ने क्षमता पनि उनीमा छ । 
मैदान बाहिर पनि उनी सम्पूर्ण खेलाडीको प्रतिनिधिका रुपमा अत्यन्तै निर्भिकतापूर्वक आफूलाई प्रस्तुत गर्ने गर्छन् । टिम र क्रिकेटको हितमा बोल्दा उनी मैदानभित्रको कप्तानभन्दा बिल्कुल फरक नेताझैँ देखिन्छन् । मैदानमा रणनीति बनाउँदा जस्तो जोडघटाउ उनको बोलीमा देखिँदैन । नेपाली खेलकुदमै एउटा स्पष्टवक्ताको पहिचान बनाएका पारससँग बाह्रखरीका अजय फुयालसुजन श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तयारी कस्तो भइरहेको छ ?
ठिक छ । गतवर्षको च्याम्पियन भएकाले हामीमा स्वभाविक दबाब छ । गतवर्ष हामीले असाधारण क्रिकेट खेल्दै अपराजित रहन सफल भएका थियौं । यसपाली पनि सबैले राम्रो मेहनत गरेका छन् । टिम राम्रो बनेको छ । हामी उच्च मनोबलका साथ तयारीमा छौं । तर प्रदर्शन कस्तो हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । पहिलो एक हप्ताले हाम्रो बाटो तय गर्छ । 

उपाधि रक्षा गर्न सक्नुहुन्छ त ?
अरु टिम पनि राम्रा छन् । सबैले राम्रा खेलाडी ल्याएका छन् । लिगमा हेर्ने हो भने विदेशी खेलाडी मुख्य देखिएका छन् । खेलाडी र टिमको रुपमा हामी विश्वस्त छौं । सुरुमा शीर्ष दुईमा परेर क्वालिफायरको फाइनल पुग्नुपर्छ । हामी अहिले त्यसमै केन्द्रित छौं । आशा गरौं, उपाधि रक्षा गरिएला । 

Agni Group

नेपालमा हुने ट्वान्टी–२० लिगमा विदेशी खेलाडी हावी भइरहेका छन्, नेपाली खेलाडीको स्तर खस्किएको हो ?
होइन, विदेशी खेलाडी बढी अनुभवि छन् । त्यसैले उनीहरुको प्रदर्शन राम्रो छ । नेपाली खेलाडीको पनि प्रदर्शन राम्ररी मुल्यांकन गर्ने हो भने नराम्रो छैन । नेपालीले पनि राम्रै खेलिरहेका छन् । विदेशीको हकमा धेरै अनुभव भएका खेलाडीले राम्रो खेल्दा त्यस्तो देखिएको हो । हामी एकदिवसीय अन्तर्राष्ट्रिय देश भए पनि सिक्नुपर्ने धेरै कुरा बाँकी छन् । हामी सिक्ने क्रममै छौं ।

हाम्रो क्रिकेट अहिले विकास गर्ने मोडमा पुगेको छ । उनीहरुको खेलबाट हामीले धेरै सिक्न सक्छौं । यसले भविश्यमा हामीलाई फाइदा पुग्छ । कस्ले प्रदर्शन गर्‍यो, नेपालीले खेलेन जस्ता कुरा गर्नुभन्दा कुनै पनि टिमले प्रतियोगिता जित्दा धेरै साना कुराको पनि ठूलो महत्व भइरहेको हुन्छ भन्ने बुझ्नुपर्छ ।

Global Ime bank

एउटा असाधारण क्याच, एउटा राम्रो रनआउट, टिमभित्रको वातावरणलगायतका कुराले प्रदर्शन र नतिजा प्रभावित गरिरहेका हुन्छन । पक्कै पनि विदेशीले असाधारण खेलेका छन् । नेपालीले पनि राम्रो खेलेका छन् । 

\"\"

नेपालीको तुलनामा राम्रा विदेशी खेलाडी ल्याइएको हो ?
पक्कै पनि नेपालमा लिग खेल्न आउने विदेशीहरु राम्रा खेलाडी नै हुन् । उनीहरुको एक्सपोजर राम्रो छ । जुन नेपालीले पाएका छैनन् । नेपालीले त एक्सपोजर नै पाएका छैनन् । यी विदेशीसँग खेल्दा बरु थोरै मात्रामा भए पनि नेपाली खेलाडीलाई फाइदा पुगेको छ । 

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । अबको योजना चाहिँ के हो त ?
नेपालको क्रिकेट सबै आईसीसीको हातमा छ । हामीले तीन–चार महिना अगाडि नै हाम्रा आवश्यकता र इच्छा समेटेर सबै योजना आईसीसीमा पठाएका छौं । तर आईसीसीले पनि नेपालको क्रिकेटमामात्र केन्द्रित हुन पाउँदैन । दूर्भाग्यपूर्ण रुपमा क्रिकेट संघ नभएको अवस्थामा हामी आफैँ केही योजना बनाउन सक्ने अवस्थामा छैनौं ।

आईसीसीबाट सीमित कुरामात्र पास हुन्छन् । नेपाली क्रिकेट बडो अप्ठेरो अवस्थामा छ । यो अवस्था आउनुको कारण व्याख्या गर्ने हो भने फेरि मैले सबै अन्तर्वार्तामा भन्ने गरेका क्रिकेट संघमा यो भएन, त्यो भएन भन्ने कुरामात्र दोर्‍याउनुपर्छ । तर मुभिङ फरवार्ड हामीले एउटा देशको रुपमा हामीलाई यति म्याच चाहिन्छ भनेका छौं । हेरौं, आईसीसीले के निर्णय गर्छ । 

२०२२ सम्ममा आईसीसीको क्यालेन्डरअनुसार नै ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पक्का छ । योबाहेक दुईदेशीय शृंखलाको कुरा तपाईंहरुको प्रस्तावमा छ ?
हामीले प्रस्ताव गरेका छौं । आईसीसीबाट पास हुन बाँकी छ । जनवरीमै यूएईमा दुई देशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुन सक्छ । आईसीसी र यूएई क्रिकेट बोर्डको सहमतिमा निर्णय हुने हो । त्यसो भयो भने दुई महिनापछि हाम्रो टिम भ्रमणमा निस्कने छ । 

नेपालमा चाहिँ नगर्ने ?
त्यसका लागि मान्यताप्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मैदान चाहिन्छ । हामीसँग भएको एउटामात्र ढंगको मैदान भनेको कीर्तिपुर हो । त्यसले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।  आईसीसीले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल गर्न सक्छ भनेर सुपरिवेक्षण टिम पठायो र त्यो टिमले कीर्तिपुरलाई मान्यता दियो भने मार्च–अप्रिलतिर घरेलु शृंखला पनि हुन सक्छ । 

\"\"

घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भए कसलाई निम्त्याउन चाहनुहुन्छ ?
हामी नेदरल्यान्ड्स, स्कटल्यान्ड्ससँग खेल्न पाए खुसी हुन्छौं । अहिले देशका घरेलु लिगमा त्यहाँका खेलाडीहरु आएर खेलिरहेका छन् । यूएई पनि नेपाल भ्रमणका लागि इच्छुक छ । यो सबै हाम्रो योजना कसरी गर्छौं भन्नेमा भर गर्छ । अरु सबै देशले वर्षभरीको योजना बनाएका हुन्छन् । त्योसँग पनि हाम्रो प्रस्ताव मिल्नु पर्‍यो । 

नेपाली प्रशिक्षककै नेतृत्वमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । तर तपाईंहरु विदेशी प्रशिक्षक चाहिन्छ भन्नुहुन्छ, किन ?
कस्ले कस्लाई पुर्‍यायो भन्दा पनि टिमको ‘इन्टर्नल फङसनिङ’को कुरा हो । पारस खड्काले गर्दा नेपालको क्रिकेट यहाँ पुगेको होइन, शक्ति गौचनले गर्दा होइन, जगत टमाटाले गर्दा यहाँ पुगेको पनि होइन । यसमा हरेक खेलाडी र प्रशिक्षकको उत्तिकै योगदान छ । त्यसमा जगत गुरुको होस्, पुबुदु दासानायकेको होस वा रोए डायसकै किन नहोस् ।

त्यसले गर्दा कुन प्रशिक्षकले कहाँ पुर्‍यायो भन्दा पनि अबको अर्को चरणमा हामी कहाँ पुग्ने भन्ने सोच्नुपर्छ । हामीले प्रतिस्पर्धा गर्ने भनेको वर्षभर क्रिकेट वातावरणमा रहने राम्रा खेलाडीहरुसँग हो । त्यहीअनुसार हामीले पनि योजना बनाउनुपर्छ । त्यसैले गर्दा नेपाल क्रिकेटलाई विदेशी प्रशिक्षक चाहिएको छ ।

अझ भन्ने हो भने प्रशिक्षकमात्र होइन, प्रशिक्षकहरु चाहिएको छ । ‘एक्सपर्ट कन्सल्टेन्ट’ चाहिएको छ । हामी स्थिर भइसक्यौं । हामी सिनियर खेलाडीले जुनियरलाई दिने सल्लाह, टिम मिटिङमा गर्ने कुरा पनि केही बाँकी छैन । हामी आफैंलाई पनि नयाँ भ्वाइस, नयाँ तरिकाहरुको कुरा चाहिन्छ भन्ने फिल भएको भएर विदेशी प्रशिक्षकहरु चाहियो भनेका हौं ।

नेपाल क्रिकेटलाई अब अर्को उचाईमा पुर्‍याउन वा यही उपलब्धि जोगाउन पनि ब्याटिङ र बलिङमा विशेषज्ञ प्रशिक्षक चाहिन्छ । 

पछिल्लो समय सिनियर खेलाडीको प्रदर्शन खस्किएको हो ?
सिनियर भन्दा पनि धेरै खेलाडीहरु एउटा निश्चित स्तरमा प्रदर्शन गरिरहेको अवस्थामा अलिकति तलमाथि हुँदा प्रश्न उठनु स्वभाविक हो । तर हाम्रो टिम अत्यन्तै युवा छ । राष्ट्रिय टिम हेर्ने हो भने म, ज्ञानेन्द्र (मल्ल), वशन्त (रेग्मी) र शरद (भेषावकर) बाहेक सबैजना अन्यन्तै कम उमेरका छन् ।

विनोद भण्डारी र सागर पुनहरु टिममा ‘इन–आउट’ भइरहेका छन् । बाँकी सात–आठ जना खेलाडी अत्यन्तै युवा छन् । टिम एकैपटक फेरिने होइन । पहिला राजु खड्का दाईहरु हुनुहुन्थ्यो, विनोद दास दाईहरु हुनुहुन्थ्यो, शक्ति गौचन दाईहरु हुनुहुन्थ्यो । पछि हामी आयौं । ‘ट्रान्जिसनको फेज’मा सिनियर खेलाडीले पनि राम्रो गर्नुपर्छ । 

सिनियरलाई स्थानान्तरण गर्ने युवाहरु आउने बाटो छैन । कसरी थेगिएला नेपाली क्रिकेट?
यो त क्रिकेट सुरु भएदेखि नै नेपालमा संरचना भएकै छैन । यो हामीले स्वीकार्नुपर्ने कुरा हो । जति पनि क्रिकेटका पदाधिकारीहरुले ‘हामीले अन्डर १५ गर्‍यौं । हामीले अन्डर १७ गर्यौं’ भन्नुहोला । त्यो सिस्टमबाट खेलाडीहरु आए, खेले । तर अबको अवस्थामा हामी एकदिवसीय अन्तर्राष्ट्रिय देश भइसकेपछि पहिलाकै तरिकाले अगाडि बढ्न खोजे एकदम गाह्रो हुन्छ ।

पक्कै पनि राष्ट्रिय टोलीमा अहिले प्रतिस्पर्धा धेरै छ । दुई वर्षअघि २० जनाबाट टिम छान्नुपर्थ्यो भने अहिले ३० जना पुगिसकेको छ । देशभरी सानोतिनो भए पनि, व्यवस्थित नभए पनि प्रतियोतिगाहरु भइरहँदा खेलाडी आफैँ उत्पादन भइरहेका छन् । 
इटहरी प्रिमियर लिग हुन्छ, कहिले तिलोत्तमा प्रिमियर लिग हुन्छ । देशमा क्रिकेट भइरहेको छ ।  राष्ट्रिय स्तरमा भएन भन्ने हो । स्थानीय स्तरका प्रतियोगितालाई राष्ट्रिय स्तरमा समेटने सिस्टम पहिला पनि थिएन, अहिले झन क्यान नभएको बेला हुने कुरै भएन । 
भएका खेलाडीलाई हामीले ह्यान्ड पिक गरेर राम्रो वातावरण दिने प्रयास गर्दै यहाँसम्म आइपुग्यौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायौं । हामीले आजभन्दा १० वर्षपहिला नै ढंगको संरचना बनाउनुपर्थ्यो ।  सिस्टम बनाउन १० वर्ष ढिलो भइसक्यो । अब पनि सिस्टम नबने नेपाली क्रिकेट धरासायी हुन सक्छ । हामी ठूलो आकाशको बादलको रुपमा छौं । ‘एभ्री क्लाउड ह्याज अ सिल्भर लाइनिङ’ भनेजस्तो ‘होराइजन’मा पुगेका छौं । 

त्यसैले यो स्तरमा बसिरहन पनि हामीलाई चुनौती छ । अरु टिम, अरु खेलाडीको एक्सपोजर हेर्ने हो भने हामीसँग केही छैन । तर हामीसँग अर्को एउटा ठूलो एडभान्टेज चाँही छ, अहिले २०–२१ वर्षका केटाहरु हामी त्यो उमेरमा हुँदाभन्दा धेरै रामो क्रिकेट खेल्छन् । त्यसले गर्दा आशा गर्ने ठाउँ छ । राम्रो वातावरण दियो भने यिनीहरुले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउन सक्छन् । त्यसको लागि विशेषज्ञ प्रशिक्षकहरु र राम्रो घरेलु क्रिकेट संरचना चाहियो भनेको हो । 

\"\"

क्यान विवाद के भइरहेको छ ?
अहिले मुद्दामा अड्किएको छ । निर्वाचित समितिले मुद्दा फिर्ता लिनेबित्तिकै आईसीसीले नयाँ निर्वाचनको प्रक्रियाबाट लगेर टुंग्याउने भनेको छ । मुद्दा फिर्ता लिने मौखिक कुरामात्र भएको छ । मुद्दा फिर्ता लिनेबाहेक सबै कुरा सम्पन्न भइसक्यो, मुद्दा फिर्ता लिनेबित्तिकै समस्या समाधान हुन्छ । 

खेलाडी, कप्तान, छनोटकर्ता, क्यान, आईसीसी प्रतिनिधिलगायत धेरै भूमिकामा हुनुहुन्छ । खासमा तपाईं के हो ?
पारस खड्का सबभन्दा पहिला क्रिकेटर हो । त्यसबाहेक क्रिकेटलाई फाइदा हुने जति पनि कुरा छ, त्यसमा आफूले आफूलाई अगाडि प्रस्तुत गर्न तयार छ । 

एउटै मानिस खेलाडी, छनोटकर्ता र अरु प्रशासनिक भूमिकामा हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुँदैन ?
हुँदैन । मलाई भन्दा पनि अरुलाई ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ होला । एउटा कप्तान र खेलाडीको रुपमा सकेसम्म राम्रो प्रदर्शन गरेर टिमलाई जिताउन कोशिष गर्ने हो । अहिले विदेशी प्रशिक्षक नहुँदा जगत गुरु, म र आईसीसीको प्रतिनिधि मिलेर खेलाडी छानिरहेका छौं । हामीले खेलाडी छान्ने नेपाल क्रिकेटका लागि हो ।

मैले चिनेका आफ्ना मानिस छानेको होइन । नेपालको क्रिकेटमा जिम्मेवारी लिने मानिस नभएकाले आफूले बाध्यतावश धेरै काम गर्नुपरेको हो । क्रिकेटको सिस्टम राम्रो भएको भए मेरो काम खेल्नेमात्र हुन्थ्यो । तर दूर्भाग्यवश म खुला रुपमा भन्न सक्छु, जिम्मेवार मानिस नभएकाले मैले जुन जुन ठाउँमा नेपाली क्रिकेटका लागि राम्रो हुन्छ त्यहाँ त्यहाँ प्रस्तुत हुनु परेको हो । 

पीपीएल आयोजनामा आफैं लाग्नुभयो नि, किन ?
त्यो ठाउँ क्रिकेटको सम्भावना भएको ठाउँ हो । क्रिकेटलाई काठमाडौं बाहिर पुर्याउनुपर्छ भन्ने हो । चार महिना लाग्दा पहिलो पटक नेपाली क्रिकेटको इतिहासमा ‘स्पाइक’ लगाएर प्रतियोगिता भयो । 

तपाईंहरु आफैँ नेपालमा ट्वान्टी–२० होइन, लामो स्वरुपको क्रिकेट चाहिन्छ भन्नुहुन्छ । अनि आफैँले गर्दा चाहिँ २० ओभरकै प्रतियोगिता गर्नुहुन्छ नि ?

५० ओभर र दुई दिने प्रतियोगिताका लागि प्रायोजक छैनन् । राखेपसँग धेरै योजनाहरु छन्, तर हुँदैनन् । हामीले त्यस्तो प्रतियोगिता गर्न सक्दैनौं । अहिले डीपीएल, पीपीएल र ईपीएलजस्ता प्रतियोगिताले क्रिकेटको माहोल स्थापित गरेका छन् । खेलाडीलाई राम्रो हुन थालेको छ । स्तरीय खेलाडीसँग नेपाली खेलाडीले खेल्न पाउन थालेका छन् ।

नेपालमा तीनवटा राम्रा लिग हुन्छन् भनेर विश्वलाई सन्देश दिन सफल भएका छौं । विश्वभरका खेलाडीहरु आउन इच्छुक छन् । नकारात्मक हुने हो भने जत्ति पनि सकिन्छ । तर सकारात्मक हुने हो भने यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई अगाडि बढाइरहेका छन् । नेपाली क्रिकेटको सम्भावना थप उजागर गरेका छन् ।

दुई दिने र तीन दिने प्रतियोगिता गर्ने भनेको क्यान वा राखेपले हो । क्यान हुँदा पनि एक पटक दुई दिने प्रतियोगिताको सोचसम्म आएको थियो । तर हुँदा चाँही उही एकदिवसीय प्रतियोगितामात्र भयो । बरु क्यान प्रतिबन्धमा परेपछि धेरै प्रतियोगिता भएका छन् । यसले पनि मान्छेको भिजन र सोच देखाउँछ । जिम्मेवार व्यक्ति जिम्मेवार ठाउँमा नहुँदा खेलाडी नै प्रतियोगिता आयोजनामा होमिनु परेको हो । क्रिकेटको लागि म आफूलाई जहाँ पनि प्रस्तुत गर्न तयार छु । 

कहिलेसम्म खेल्नुहुन्छ ?
म सायद तीन महिना खेलुँला वा तीन वर्ष खेलुँला । पाँच वर्षभन्दा बढी त खेल्दै खेल्दिन । जुन दिन मलाई खेल्न सक्दिन भन्ने लाग्छ त्यो दिन म सन्यास घोषणा गर्छु । त्यो दिन भोलि पनि हुन सक्छ । बढीमा पाँच वर्ष हो । 

\"\"

कप्तानकै हैसियतमा संन्यास लिने हो ?
कप्तान भन्दा पनि टिमलाई कहाँसम्म लान सकिन्छ भन्ने कुरा हो । धेरै मानिसको धेरै सोच होला । क्रिकेट अहिले पारसको, ज्ञानेन्द्रको, शरदको,  प्रचण्डको, केपी ओलीको र शेरबहादुर देउवाको भन्दा पनि नेपालको हो ।

त्यसैले गर्दा हामीमाथि नेपाली क्रिकेटलाई माथि उठाउने जिम्मेवारी छ । एउटा कप्तानको नाताले खेलाडीको सम्मान पाएसम्म र आफूले राम्रो गर्न सकेसम्म निरन्तरता दिने हो । विस्तारै युवा कप्तानलाई ग्रुम गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ । 

तपाईंपछिको कप्तान को हो त ?
पारस भए पनि नभए पनि क्रिकेट रहन्छ । टिमले अहिले युवा खेलाडीमा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, रोहित पौडेल वा आरिफ शेखमा कप्तान हुने सम्भावना धेरै देखेको छ । उनीहरुलाई राम्ररी ‘ग्रुमिङ’ गर्‍यो भने उनीहरु भावी कप्तानको दाबेदार हुन् । आजको अवस्थामा उनीहरुको सम्भावना बढी देखिए पनि उनीहरुले आफूलाई कसरी प्रस्तुत गर्छन भन्ने कुरा महत्वपूर्ण हुन्छ । 

खेल्न छोडेपछि तपाईं क्यानको अध्यक्ष हुने चर्चा छ नि, हो ?
नयाँ विधानअनुसार खेल्न छोडेको दुईवर्षसम्म संघमा आउन पाइन्न । तर अध्यक्ष नभए पनि व्यवस्थापनमा आउन सक्छु । खेल्न छोडेपछि मैले व्यवस्थापकको रुपमा  काम गरेर पनि देखाउनुपर्छ । व्यवस्थापनमा आउने इच्छा छ । अध्यक्ष नै हुनुपर्छ भन्ने छैन । जिम्मेवार ठाउँ चाहियो ।

टिमले काम गर्ने हो । पारस खड्का एक्लैले काम गरेर क्रिकेट अगाडि बढ्ने होइन । क्रिकेट टिमको रुपमा हामी सफल छौं । सबैको सहयोगले कप्तानका रुपमा पनि सफल छु । भोलि क्रिकेट संघमा जाने हो भने पनि टिमले नै काम गर्नुपर्छ । सबैको सहकार्य हुनुपर्छ । एउटा मात्र व्यक्तिले हाक्ने हो भने घर चलाएमात्र हुन्छ ।  

नेपाली क्रिकेटमा पारस खड्काको सिन्डिकेट छ भन्ने आरोप तपाईंलाई छ नि ?

त्यो सिन्डिकेटको कुरा व्यक्तिगत रुपमा आफ्नो स्वार्थ पूरा गर्न नसकेपछि लगाइएका हुन् । जति पनि आरोप लगाउने व्यक्तिहरुसँग म ‘फेस टु फेस’ कुरा गर्न तयार छु ।  खासगरी क्यानका पदाधिकारीहरुलाई तपाईले क्रिकेटका लागि के गर्नुभयो भन्ने प्रश्न गर्‍यो भने उहाँहरुसँग एउटा पनि जवाफ छैन । 
अब कसले के भन्छन् भन्दा पनि म नेपाल राष्टिय टिमको कप्तान हुँ । क्रिकेट देशमा लोकप्रिय छ । सय जनामा १० जनाले गाली गरे पनि ९० जनाले माया गर्छन भने म १० जनाको गाली सहन तयार छु ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC