site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विष पिएका पूर्वलडाकुको आक्रोश– गणतन्त्र जनताको बैरी बन्यो
Sarbottam CementSarbottam Cement

२०५८ साल । आगाको फिलिङ्गोजस्तो जेठको धूप । त्योभन्दा चर्को थियो– माओवादी सशस्त्र सङ्घर्षको राप–ताप । मध्यपश्चिम माओवादी आन्दोलनको ‘आधार इलाका’ थियो । मर्ने र मारिने क्रम तीव्र भएर हुनुपर्छ– मान्छे मरेका समाचार आश्चर्य र अनौठा हुँदैनथे ।

राज्य र विद्रोही दुवैतर्फका बन्दुकले गाउँ घेराबन्दी गरेकाले मृत्यु दैलामा कतिखेर आइपुग्ने हो, यसै भन्न सकिन्नथ्यो । चैत ४ गतेको मध्यरात अछाम सदरमुकाम मंगलसेनमाथि माओवादी छापामारले धावा बोले । सीडीओसहित ७७ प्रहरी, ५५ सैनिक, तीन कर्मचारी र दुई सर्वसाधारणलई जनयुद्धको आगाले निल्यो । मङ्गलसेन बजार क्षणभरमै भग्न बन्यो ।
त्यसपछि रिसाहा अरिङ्गालझैँ सेना मध्यपश्चिमका अक्करे भीर उक्लिएका थिए– माओवादी छापामार खोज्न ।

मङ्गलसेन आक्रमणको दुई महिनापछि हुनुपर्छ, सेनाको एक जत्था कुलप्रसाद भट्टराईको घर पुग्यो । “ओई ढोका खोल् !,” १३ वर्षका थिए कुलप्रसाद, टाटेपांग्रे लुगा लगाएका सेनाका हतियारधारी समूहले यति भनेको सम्झना छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ढोका खोल्नै परेन । सेनाले आफैँ फुटाएर भित्र पस्यो । शुरूमा दमका दीर्घरोगी बाबुआमालाई कठालोमा समातेर धम्क्यायो– “माओवादी कहाँ लुकाएको छस् भन् ?” “थाहा छैन हजुर !,” बाबुआमा लुगलुग काँपिरहेका थिए । हतियारसहित गाउँ पसेका सेनासँग सुन्ने धीरता कहाँ हुनु ?

“फुकेका राँगाजस्ता, हान्ने गोरुजस्ता, अनेक देखिन्थे ती,” मृत्युको पञ्जाबाट उम्किएको त्यस रात उनको दिमागमा ताजै छ । त्यसपछि सेना जवानहरू दाजु हंषराजमाथि जाइलागे । पिठ्युँमा डङडङ लात्ती बजार्न थाले ।

Global Ime bank

घोडाको टापजस्ता बुट लगाएका सेनाको लात्ती कत्तिञ्जेल सहन सक्थे र दाजु, मुच्र्छा परिहाले । त्यस्तै एक घन्टा वितन्डा मच्चाएर तत्कालीन शाही सेना गाउँ छिर्‍यो । र, धेरैलाई बन्दुकको निशाना बनायो ।

सेना गएपछि बल्ल उनीहरूले सास फेरे– धन्न बाँचियो ।

“राज्यको बुट दाजुको पिठ्युँमा बज्रिएपछि १३ वर्षकै उमेरमा माओवादी आन्दोलनमा समाहित हुने निष्कर्ष निकालेँ,” भूमिगत हुँदाका शुरूआती दिन सम्झन्छन् कुलप्रसाद ।
१३ वर्षको किशोरवय । टाउकामाथि गरिबीको कालो बादल । घरिघरि वर्षने दुःखको वर्षात्–झरी ।

दाजु हंषले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्रमा अल्झिएका थिए । निर्धनले खिइएको दुब्लो अनुहार सुम्सुम्याउँदै कुलप्रसादलाई आमाले भनिन्, “सेनाले मारेछन् भने सँगै मरौँला, माओवादीमा चाहिँ नजा है !”

बाल मस्तिष्कमा विद्रोहको आगो फुकिसकेका थिए कुलले । गृष्ममास भएकाले रित्ता थिए फगटा । गहुँका ठोसाले चस्चस् बिझाउँथ्यो । त्यो भन्दा पीडादायी थियो–गरिबी । अझ दुःखदायी थियो– शाही सेनाको ज्यादती ।

भेडाको बगाल लिएर चौरतिर जाँदै थिए । खेतका गह्राभरि हँसिया–हथौडा अंकित राता झन्डा देखे र बजिरहेको थियो– हामी राता मान्छे...! माओवादीसँग मिसिने मौका खोजिरहेका कुललाई के चाहियो ? भेडालाई चौरमै छाडेर उनी माओवादीको कार्यक्रमको दर्शक बने । 

“बुर्जुवा शिक्षा पढेर परिवर्तन आउँदैन,” झन् पढ्नु पर्दैन भनेपछि किशोर मन खुसीले बुरुक्क उफ्रिने भइहाल्यो । “तत्कालीन राज्यले दाजुको पिठ्युँमा लात्ती नबजारेको भए म शायदै माओवादी बन्थेँ । दमनले प्रतिरोध निम्त्याउँछ भन्थे, मेरो हकमा पनि लागु भयो,” कुल अहिले सम्झन्छन् ।
\"\"सानैदेखि दुःख र अभावको कखरा सिकेका उनले माओवादी आन्दोलनमा समाहित हुँदा तीन कक्षा पढेका थिए । मनबहादुर बम ‘मयुर’ उनको सहयोगी बनेर ज्यान हत्केलामा राखेर हिँडेको जनयुद्धमा अभिभावकत्व निभाए ।

“बम र बारुदको मुस्लोका बीच उहाँले मलाई काँधमा राखेर लिएर हिँड्नुभो,” ‘मयुर’प्रति कृतज्ञ देखिन्छन् उनी । माओवादी आन्दोलनको अङ्ग बनिसकेपछि उनलाई शुरूमै बन्दुक चलाउन र ‘वर्गदुस्मन’ ‘सफाया गर्न’ रहर थियो । शक्तिको आडमा नागरिकका पिठ्युँमा लात्ती बजार्नेहरूलाई निमिट्यान बनाउने ‘सपना’ थियो । तर, उमेर बाधक भइदियो ।
“बाबु तिमी सानो छौँ, शुरूमा सञ्चारमा काम गर,” तिनताका जनमिलिसियाको कमान्डिङ गरिरहेका कसैले उनलाई ‘आदेश’ दियो । उनले दह्रोसँग बालमुट्ठी उचाल्दै आदेशको शिरोधार्य गरे । वल्लो गाविसबाट पल्लो गाविससम्म चिट्ठीपत्र आदानप्रदान गर्ने उनको ‘परिभाषित जिम्मेवारी’ थियो ।

यात्रा सजिलो थिएन । दिउँसो बम, गोली र दिउँसो नाइटभिजन हेलिकप्टरसँग छलिँदै चिट्ठिपत्र गन्तव्यमा पुर्‍याउनुपथ्र्यो । बीचमै पक्राउ परिए जनयुद्धको फौजी र राजनीतिक लडाइँका गुप्त योजना ‘दुस्मन’को पोल्टामा पुगिहाल्थ्यो ।

एउटा दुःखदायी घटना स्मरण गर्छन् उनी–

जेठमा भूमिगत भएका, साउनको दिन थियो त्यो । रात्रीको समय झमझम पानी परिहेको छ । जमिन नै थर्कनेगरी आकाश गर्जन्छ । त्यो भन्दा डरलाग्दो आवाज छ– कालिकोट सदरमुकाम मान्मा, खाँडाचक्रबाट सेनाले गर्ने फायरिङको ।

पार्टीले खड्गबहादुर विश्वकर्मालाई दिनू भनेर चिट्ठीको मुठो थमाइदिएको छ । सेनाको बमबारुद छिचोलेर पारी गाउँ पुग्नै मुस्किल छ । जसोतसो घना जंगलमा वनबुट्यानले निलेको बाटो पहिल्याउँदै हिँडिरहेका छन् । वनको बीचमा पुग्नेबित्तिकै रात र निद्रा दुवैले छोप्यो । सामसून्न जंगल भएकाले बाघभालुको भय उस्तै छ । निद्राले अपहरण गरेपछि उनी जंगलकैबीच ओढारमा पल्टिए र छ्याङ्ग उज्यालो बनाए ।

“समाजवादको स्वादिलो सपना पस्किएकाले जस्तोसुकै चुनौती नाघ्ने साहस थियो । भोलि बिहान नहुँदै समाजवाद, साम्यवादमा पुगिन्छ भनेर जनयुद्धका कयौँ रात ओढारमा बितायौँ । अहिले सम्झन्छु– कसरी धूलाम्य भयो ती सपना ? नेतृत्वले परिवर्तनलाई कसरी अपहरण गरे । र, हाम्रो थाप्लामा मरण सुम्पिए,” विगतप्रति निकै पश्चाताप हुन्छ र, निकैबेर चुकचुकाउँछन् उनी ।

सञ्चार सम्हालेको ६ महिनामा बढुवा भएर उनी जिल्ला मिलिसियाको सदस्य बने । त्यसपछि लिस्ने गाउँ तेस्रो बटालियनअन्तर्गत जिल्ला प्लाटुनको सदस्य बने, २०५९ तिर । त्यसको ६ महिना नबित्दै मिलिसियाबाट सेनामा पदोन्नति भयो । र, बन्दुकसँग बल्ल चिनापर्ची भयो । शुरूको दिन बन्दुक चलाउँदाको रोचक अनुभूति छ उनीसँग । त्यतिबेला उनको भागमा भरुवा बन्दुक परेको थियो ।

आफूभन्ला तीनबित्ता लामो बन्दुक देखेर अताल्लिए उनी । सेना प्रवेश गर्ने सपनाले मस्तिष्कमा डेरा जमाएकाले बन्दुकप्रति मोह त थियो । तर, भरुवा बन्दुकमा गजले बारुद र लत्ता खाँद्दाखाँद्दा कहालिए । “पड्काउन पनि उस्तै गाह्रो भएको थियो, जे होस् बन्दुकसँगको सामीप्ता बाक्लिँदै गयो भनौँ,” अनुभूति पस्किन्छन् उनी ।

जनमुक्ति सेनामा रहँदा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ठूला मोर्चामा फस्र्ट एसल्टमै रहेर आक्रमण–प्रत्याक्रमणमा भाग लिए ।

० ० ०
जनयुद्धका अधिकांश समय तरवारको धारमा बित्यो । जीवन जनयुद्धलाई ‘पैँचो’ दिइसकेकाले उनी बाँचेको समय नाफाको थियो । तर, एकदिन जीवनबाट मृत्यु अनायास उम्कियो । जम्काभेट भइसकेको मृत्युले त्यसरी उन्मुक्ति देला भनेर उनले शायदै कल्पना गरेका थिए ।

समय र साल ठ्याक्कै याद छैन उनलाई । विस्मृतिको गर्तमा गइसक्यो शायद । घटनामा ठाउँमात्रै याद छ । जनयुद्ध उत्कर्षमा पुगेको थियो । युद्धविराम भङ्ग भएर राज्यसँग आमनेसामनेको अवस्था थियो । गुरिल्ला वारबाट आमनेसामने भीडन्तको अवस्थामा पुगिसकेको थियो, जनयुद्ध ।

कुलप्रसादसहित नौजना माओवादी छापामार कमान्डो ‘डेमो’का लागि कैलालीको धनगढी प्रस्थान गर्‍यो । लमीफाँटामा पुग्दा झमक्क साँझ परिहाल्यो । त्यही बास बसे उनीहरू । साउने सङ्क्रान्तिको महिना, उमंगले पुलकित थियो चौधरी बस्ती । त्यही उमंगमा मिसिए उनीहरू र बाह्र बजेतिर सेल्टर लिएको घरमा पुगे ।

उनीहरू आइपुगेको सेनाको सुराकीले थाहा पाइसकेछ ।  पाँच–पाँच जनाको ड्युटी बाँडियो । आधालाई कमाण्डरले सुत्न आदेश दिए । कुलप्रसाद पनि सुत्नेमै परे । भोलिपल्ट चार बजे ‘सक्रियता’ भन्ने प्लाटुनकी सदस्यले कुलप्रसादलाई उठाइन् र आफू सुतिन् । कुलप्रसाद ड्युटी गर्न बाहिर निक्लिएका मात्रै थिए, शाही सेनाले इँटाको पर्खालमै नाल तेस्र्याइसकेछ । फायर खोल्न तयारी हालतमा थियो बन्दुक ।

शाही सेनाले होइन, कालले घेरैझैँ भयो उनलाई । उम्किने छाँट छैन । अँध्यारो फाट्न केही समय त बाँकी छ । उनी भित्र पसे र मदन भन्ने कमाण्डरलाई ‘ब्रिफिङ’ गरे, “बाहिर सेनाले घेरिसकेको छ । जसरी हुन्छ, यहाँबाट हामीहरू उम्कनुपर्छ ।”

शुरूमा कमान्डर निस्किए । जस्केलापट्टिको ढोका खोलेर बाहिर मूल सडकमा निस्कन खोज्दै थिए । कम्मरबाट पेस्तोल त निकाले तर फायर खोल्न पाएनन् । सेनाको गोली लागेर उनी त्यहीँ ढले ।
\"\"कमाण्डर ढलेपछि छामापार छिन्नभिन्न भए । उताबाट सेनाको कमाण्डर चिच्याउँदै थिए, “गोली नहान् ज्यूँदै समात् !” तर हातमा पेस्तोल लिएका छापामारलाई नियन्त्रणमा लिने कसको हिम्मत ? सेनाले एकएक गर्दै सबैलाई निशाना बनायो । कोही धानखेतमा ढले । कोही सडकमा बजारिए ।

उनको साथमा त्यही ‘सक्रियता’ थिइन् । उनी पनि हातमा पेस्तोल लिएर सिधै पर्खाल नाघेर दश मिटरजति अगाडि बढे । दैवसंयोग भनौँ उनको अगाडि माछा पोखरी रहेछ । ज्यानको पर्वाह नगरी उनी त्यहीँ हामफाले । बङ्करजस्तो भयो त्यो । उनलाई हानेको गोली सक्रियतालाई लाग्यो । “ऐया..” उनले कंकलाशब्द सुने तर सक्रियतातर्फ फर्केरसम्म नहेरी सीधै धानखेततिर लागे ।

महावीर रेञ्जर बटालियनका तालिम प्राप्त सेनाले उनी भएतिर गोली बर्साउन थाल्यो । दश राउन्ड गोली चलेको आवाज उनले सुने । भाग्य नै भनौँ, त्यसमध्ये एउटा गोलीले पनि उनको शरीर छेडेन ।
अति नै भएपछि उनले हातको सकेट बमको पीन थुतेर पछाडि हुर्‍याए । करिब १५ मिटर पर पुगेर सकेट बम पड्कियो । उनी निहुरिएर धानखेतभित्र अलप भए ।

सकेटको धुवाँले सेना किंकर्तव्यविमूढ भयो । हुन सक्छ, दुईचारजना सैनिक घाइते पनि भए ।  बमको गन्ध हराएपछि धानको गाँजबाट मुन्टो निकालेर बम पड्काएको दिशातिर हेर्छन् त सेना नजिकै पो आइसकेछ, कुलेलम ठोके उनी ।

भाग्दै धानखेत काटिसकेका थिए । विशाल नहरमा पो पुगेछन् उनी । साउनमास, पानी बेस्करी परेकाले होला नहर उर्लिएर निल्ने आकारमा थियो । जनयुद्धका सुप्रिमो प्रचण्डले भनेको झल्याँस्स सम्झिए– पीडाका नुनिला आँसु पिएर मर्नुभन्दा गोली पिएर मर्नु बेस ।

मर्न अब गोली पिउनु पर्दैनथ्यो, पानी पिए पुग्थ्यो । झ्याम्म हाम फाले । त्यहाँ पनि भाग्य दाहिने पर्‍यो । रूखको लहरामा हात परेछ । पौडिएर नहर पार गरे । मुत्युबाट छलिए उनी । “पारी पुगेपछि पनि मुत्युको भय हटिसकेको थिएन । हसुलिया बेसक्याम्पको छेवैमा पुगेको थिएँ । दिउँसो र राति पनि त्यहीँको एउटा ठूलो रूखको टुप्पामा बसेर ज्यान जोगाएँ । भोलिपल्ट सेना गस्तीमा गएको मौका पारेर रूखबाट ओर्लिएँ र जंगल नजिकैकी वृद्ध आमैको घरमा सेल्टर लिएँ,” उनी सुनाउँछन् ।

चारदिनपछि मात्रै प्लाटुनको सम्पर्कमा पुगे उनी । त्यतिञ्जेल लमीफाटामा कुलप्रसाद पनि सहादत भएको खबर प्लाटुनमा पुगिसकेको रहेछ । प्लाटुनका सदस्यले घरमा पनि खबर पठाइसकेछन् ।
“बाबुआमा, दाइ त मेरो लास कुरेर पो बस्नुभएको रहेछ,” अझै दङ्ग पर्छन् उनी ।

० ० ०

२०६० साल चैत ७ गतेको मध्यरात । बेनी आक्रमणका लागि उनी बाग्लुङको ताराखोलाबाट म्याग्दीतर्फ सोझिए । अगाडि एक हजार बढीको डफ्फा हुँदो हो । लडाइँ जितिछाड्ने दृढ मनोबल थियो सबैको ।
उनीहरू बेनी पुग्नुअगावै आक्रमणको सूचना पुगिहालेछ । बजार नकट्नेबित्तिकै सेनाले फायर खोली हाल्यो । म्याग्दीको आकाशमा आगाका फिलिङ्गा उछिट्टिन थाले । 

आँखै अगाडि दुईजना ब्रिगेड भीसी ढले । पानीसमेत भन्न पाएनन् उनीहरूले । त्यसपछि निशानामा उनी परे । उनको कोखमा पनि आगाको झिल्को गाडिएझैँ भयो । तररर्र रगत बग्यो ।
उनी एसल्ट छाडेर चिकित्सकको सम्पर्कमा आए र प्राथमिक उपचार गरे ।

रगत बग्न रोकिएपछि उनी पुनः मोर्चातिर जाँदै थिए । “अहिले नजानू, फायर खोल्दा रगत पुनः बग्न सक्छ,” चिकित्सकले रोके उनलाई ।

ग्रिनेडको छर्रा लागेजस्तो भएको थियो उनलाई । तर एम३६ को छर्रा रहेछ । जनयुद्धले थमाएको बल्झिइरहने घाउ बन्यो । जनयुद्ध समाप्त भएको १२ वर्षसम्म उनी त्यही पीडा बोकेर हिँडिरहेका छन् ।
१६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ माओवादी गुमाएको म्याग्ली लयमा फर्किइसकेको छ । तर, उनी विथोलिएका सपना र गिजोलिएको जिन्दगी बोकेर सडकमा भौँतारिइरहेका छन् ।

० ० ०
शान्ति प्रक्रियामा आइसकेपछि लामो समय जुटपानी बसे, जनमुक्ति सेनाको अस्थायी क्याम्पमा । केही समय नवलपरासीको अरूणखोला, झ्याल्टुङ डाँडाको चौथो डिभिजनमा पनि अटाए । ०५८ मा भूमिगत भएका उनी ०६३ सम्म परिवारबाट विमुख भए । उनी घर पुगेनन् तर उनी मरेको खबर भने पटकपटक पुग्यो ।

जनयुद्धको भुंग्रोबाट उछिट्टिएर आएको सन्तान आँखा अगाडि पाउँदा परिवारको मन द्रविभूत त हुने नै भयो । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)को पहिलो प्रमाणिकरणमा परे उनी । दोस्रोका बेला भने बज्रपात आइलाग्यो । प्रमाणिकरणको समय शुरू हुँदै थियो, उनको उनको टाउकामा बमको असर देखिन थाल्यो । कहिले टाउको अतिशय दुख्ने, कहिले नाकबाट रगत बग्ने । चितवनको बालकुमारी मेडिकल कलेजमा भर्ना भए । बालकुमारीमा समस्याको निदान सम्भव भएन । अस्पतालले अन्यत्रै ‘रेफर’ गर्‍यो ।

दोस्रो प्रमाणिकरणमा छुटे उनी । न समायोजनमा पर्न सके, न स्वेच्छिक अवकासको बाटो हिँड्न पाए । न ‘अयोग्य’ नै हुँ भन्न सक्छन् उनी । जनयुद्धमा पाँच वर्ष बगाएको रगत–पसिना बालुवामा पानी खन्याए सरह भो ।

०० ०
कुलप्रसादका लागि ‘जनयुद्ध’को उपलब्धि भन्नु वीर अस्पतालको हनुमान फार्मेसीको पाँच लाख र नेपालगञ्ज मेडिकल कलेजको साढे दुई लाख ऋण हो । नेपालीमा आहान छ– ऋण लागोस् तर दीन नलागोस् । ऋण र दीन दुवै लागेपछि मर्नु न बाँच्नु भएका छन् ।

१२ वर्षको अवधिमा सरकारलाई थुप्रैपटक झक्झक्याए । मन्त्री–सभासद् र ‘जनयुद्ध’का तत्कालीन हर्ताकर्ता सबैका टेवल धाए । कागजपत्र लिएर सत्ताको उपरी तहमा समेत पुगे । तर, गणतन्त्रको कुर्सीमा विराजमान सत्ताले उनलाई आँसुबाहेक केही दिएन ।

व्यवस्था बदल्न बन्दुक उठाउन हौस्याउनेहरू नै आज सत्ताशीन छन् । विडम्बना ! तिनको अनुहारमा पनि राजा–महाराजकै छायाछविले पुलुक्क चिहायो । यता औषधिको बिल भुक्तानी गर्न नसक्दा पेटको छर्रा निकाल्न सकिएको छैन । छर्रा ननिकाल्दा कतिबेला मृत्युले फणा उठाउने हो, भन्न सकिँदैन । माओवादीका तत्कालीन सैन्य कमाण्डर रामबहादुर थापा ‘बादल’ अहिले गृहमन्त्री छन् । किताबकापी बोक्ने उमेरमा बन्दुक थमाएका उनले उपचार खर्चको व्यवस्था गरिदेलान् भन्ने आश थियो । 

उपचार खर्च दिनु त परको कुरा, गृहमन्त्रीलाई भेट्ने समय पाउन समेत छाडे । गणतन्त्र ल्याउन बन्दुक उठाएकालाई नै सिंहदरबारले अघोषित प्रतिवन्ध लगायो । ‘गणतन्त्र’को चर्तिकलाबाट दिक्किएका उनले गत मङ्सिर पाँच गते गृहमन्त्रीकै कार्यकक्षमा विष पिए । “जब जीवन विकल्पहीन बन्छ, मान्छेले विषको प्याला उचाल्न बाध्य हुँदो रहेछ,” मृत्यु छल्दै शान्ति प्रक्रियामा अवतरित उनी गणतन्त्रमा आइपुग्दा आत्महत्या गर्ने तहमा पुगे ।

छर्रा निकाल्न उपचार खर्च नदिएको सरकारले मृत्युको मुखबाट तत्कालका लागि बचायो । “बाँच्छु भन्दा राज्यले उपचार खर्च दिँदैन, मर्छु भन्दा मर्न पनि दिँदैन । गणतन्त्रले मलाई मर्नु न बाँच्नु बनाएको छ,” आँसु झारूँलाझैँ गर्छन् उनी । अस्पतालको शैय्यामा हुँदा उनलाई विषले पोल्यो । अस्पतालको शैय्याबाट बाहिर आउँदा ऋणले पोल्न थालेको छ ।

पोहोरमात्रै बिहे गरेकी जीवन–संगिनी, बाबुआमा, दाइप्रतिको कर्तव्य छँदैछ । यी सबै जीर्ण शरीरले कसरी धान्नू ! केही दिनअघि उनी पुनः गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । अचम्म ! ‘सिंहदरबार’ले उनलाई प्रतिवन्ध लगाएछ । “तपाईंलाई भित्र नपठाउने आदेश छ,” उनीमाथिको ‘फर्मान’ गेटमा तैनाथ सुरक्षाकर्मीले सुनाएपछि रुँदै फर्किए ।

“सिंहदरबार जनताको बैरी बनिसकेछ ! ज्यान अर्पेर ल्याएको परिवर्तन हाम्रै लागि शत्रू !,” त्यसदिनदेखि सरकारप्रतिको भरोसा टुटेको छ उनको । “दाइ ! बमको छर्रा बोकेर सडकमा दिनरात भौँतारिन कहाँ सकूँला र ! तर मेरो मृत्यु राज्यका लागि महँगो हुन्छ,” कुराकानीको अन्तिममा आँसु लुकाइरहन सकेनन् कुलप्रसादले ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC