काठमाडौं । केही दिनदेखि उतारचढावपूर्ण रहेको बहुमूल्य धातु सुनको भाउ बढेर बिहीबार तोलाको ५८ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको दाँजोमा बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ सयका दरले बढेर ५८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँ रहेको छ । बिहीबार तेजाबी सुन तोलाको ५८ हजार १ सय र चाँदी तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंसिर २० (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । आजको भाउ र मंसिर २ गतेको भाउ बराबर थियो । त्यसयता विस्तारै यसको भाउ ओरालो लाग्दै आएको छ ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर १३ मा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ५ सय, मंसिर १४ मा ५७ हजार २ सय, मंसिर १६ मा ५७ हजार २ सय, मंसिर १७ मा ५७ हजार ४ सय, मंसिर १८ मा ५८ हजार ३ सय र मंसिर १९ मा ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।