‘दोस्ती’को गीत सुनाएर ‘माइतीघर’मा गाउन पाएँ

प्रेमध्वज प्रधान, वरिष्ठ गायक

‘दोस्ती’को गीत सुनाएर ‘माइतीघर’मा गाउन पाएँ

बाल्यकालमा साथीसङ्गातीसँग समय बितेको पत्तै हुँदैन । सबैलाई महसुस हुने यस्तै नै हो । उनीहरुको जमात पनि यस्तै रौसे थियो । सबै एकैखाले थिए । टेबल ठोक्थे । गीत गाउँथे । तथापि, यिनीहरु सबै गीतसङ्गीतका विषयमा गम्भीर थिए । टेबुलै ठटाए पनि सङ्गीतको ज्ञानचाहिँ लिएका थिए । हारमोनियम र तबला बजाउँथे । पुराना हिन्दी गीत गाए पनि सुरतालमा ध्यान दिन्थे ।
यो त्यो जमातको प्रसङ्ग हो, जसमा प्रेमध्वज प्रधान, माणिकरत्न, नारायणगोपाल, राममान तृषितहरु थिए । 
प्रेमध्वज प्रधान (८२) को बाल्यकालको धेरैजसो समय पिताजीले चलाएको कपडा पसलमा बित्यो । पसलबाट निस्केर साथीहरुको जमातमा पुग्थे । अनि गाउँथे गीत । कोही लेख्थे । कोही गाउँथे । 
र, साँझ बिहान आमासँग सङ्गीत सिक्थे । हारमोनियम बजाउँथे । गीत गाउने अभ्यास गर्थे । रियाजमा रमाउँथे । उनकी आमा प्राणदेवीलाई सङ्गीतको राम्रो ज्ञान थियो । उनकी आमोल रेडियो नेपालमा केही गीत पनि गाएकी थिइन् । त्यसबेला गीत प्रत्यक्ष प्रशारित हुने हुँदा प्रेमध्वजकी आमाका गीतहरु रेकर्ड भने भएनन् ।  
आमाबाट सङ्गीतको तालिम पाएका प्रेमध्वज एक दिन रेडियो नेपालमा हुने भ्वाइस टेस्ट हेर्न गए । २००९ सालको कुरा हो, हरेक आइतबार भ्वाइस टेस्ट हुन्थ्यो । त्यहाँ एक जना फुच्ची केटीले हारमोनियम बजाएर गीत गाउँदै गरेको उनले देखे । उनलाई लाग्यो, हारमोनियम बजाएर त म पनि गाउन सक्छु । उनले त्यहीँ कसैलाई सोधे, ‘म पनि गीत गाउँ ?’ उनलाई अनुमति दिइयो । उनले तलत महमुदको गीत हारमोनियममा सुर मिलाउँदै गाए, ‘जिन्दगी देने बाले सुन...’ र ‘ए रात सुहानी...।’  
भ्वाइस टेस्ट हेर्न रेडियो नेपाल पुगेका प्रेमध्वजले भ्वाइस टेस्ट नै दिए । गत मङ्गलबार उनको बागबजारस्थित निवासमा उनले भने, ‘मलाई भ्वाइस टेस्ट लिनेले तीनचार दिनपछि आउनु भने । म उनले बोलाएकै जाँदा त ‘तपाईं ‘क’ श्रेणीमा पास हुनुभएको छ’ भनेर सुनाए । त्यो बेला ‘क’ श्रेणीकाले एउटा गीत गाएको दस रुपैयाँ पाउँथे भने ‘ख’ लाई आठ र ‘ग’ लाई पाँच रुपैयाँ पारिश्रमिक थियो । यो सुनेर म त दङ्ग भएँ ।’
नोस्टाल्जिक बनेका उनको अनुहारमा गम्भीर मुस्कान छरियो । यस्तो लाग्थ्यो, उनी उही पुरानो दिनमा डुब्न पुगे । उनले सङ्गीतकार भैरवबहादुर थापालाई चिनेका थिए, त्यसैले उनले आफू भ्वाइस टेस्ट ‘क’ श्रेणीमा पास भएको उनलाई सुनाए । र, आफ्ना लागि गीत बनाइदिन आग्रह गरे । केही समयपछि उनले भैरवबहादुरको सङ्गीतमा दुई वटा गीत लाइभ गाए । र, बीस रुपैयाँ कमाए । त्यसबेला उनले एसएलसी पनि पास गरेका थिएनन् ।  
मधुर आवाजमा उनले सुनाए, ‘यसरी मैले एउटा गीत गाएर पाएको पारिश्रमिक दस रुपैयाँमा एक रुपैयाँ आफूसँग राख्थेँ र नौ रुपैयाँ आमालाई दिन्थेँ ।’ त्यसबेला एक मोहरमा दुई माना चामल आउँथ्यो । खसीको मासु १२ रुपैयाँ धार्नी र राँगाको मासु ५ रुपैयाँ धार्नी रहेको पनि उनलाई सम्झना छ ।  
०००
सिन्धुपाल्चोकको चौतारामा १९९३ साल असारमा जन्मिएका प्रेमध्वजको नाम पहिला गणेशध्वज थियो । बाल्यकालमा उनलाई गणेशध्वज नामबाटै बोलाइन्थ्यो । 
परिवार काठमाडौँ आएपछि उनका बुवाले नयाँसडकमा कपडापसल खोले । बाङ्गेमुढामा घर बनाए । परिवारका सबै त्यही घरमा बस्थे । त्यहीँ रहँदा किशोरवयमा उक्लिँदै गरेका सङ्गीतकर्मीहरुको भेटघाट बाक्लिन थाल्यो । पछि यसले नवकलाकार समूहको रुप लियो । 
गणेशध्वज ६–७ वर्षको हुँदा उनका माता–पिता छुट्टिए । गणेशध्वज अर्थात् प्रेमध्वज आमासँग बस्न थाले । बुवाले कान्छी आमा भित्राए पनि उनी बुवाकहाँ भने गइरहन्थे । बुवाको कपडा पसलमा बस्नैपथ्र्यो उनले । 
प्रेमध्वज भन्छन्, ‘म आठ वर्षको उमेरमा स्कुल भर्ना भएँ र पढ्न थालेँ ।  विश्व निकेतन स्कुलका हेडमास्टर हुनुहुन्थ्यो प्रेममान श्रेष्ठ । उहाँले यति राम्रो मानिसको नाम गणेशध्वज सुहाएन । प्रेमध्वज लेख्न भन्नुभयो । म प्रेमध्वज प्रधानका नामबाट एक कक्षामा भर्ना भएँ । त्यहीँबाट म प्रेमध्वज भएँ ।’
आठ वर्षको उमेरदेखि पढ्न–लेख्न सुरु गरेका उनले तीन–चार वटा स्कुल चहारे । उनले शान्ति निकुञ्जमा पनि पढे । त्यसपछि प्रौढ शिक्षा निकेतनमा पढे । र, २०१० सालमा एसएलसी दिए । तर संस्कृतको परीक्षा बिग्रेकोले उनी फेल भए । 
फेल भएको प्रसङ्ग सुनाउँदा प्रेमध्वज एकछिन हाँसे । अनि भने, ‘एसएलसीमा संस्कृतमा फेल हुनु स्वाभाविक थियो । किनभने भोलिपल्ट जाँच थियो, अघिल्लो दिन म भने उर्मिला नाम गरेकी एक जना गायिकाको गीत सुन्न हिँडेको थिएँ । गीतसङ्गीतले यति तानेको थियो कि भोलिपल्ट दिनुपर्ने परीक्षाको पनि वास्ता गरिनँ ।’
आज वरिष्ठ गायक प्रेमध्वज प्रधानले गीतसङ्गीतमा समय दिएको पनि  ६५ वर्ष बितिसकेको छ । उनी यो उमेरमा पनि दैनिक रियाज गर्छन् । आफूलाई यही रियाजले, यही तपस्याले यहाँसम्म ल्याइपुर्याएको उनको बुझाइ छ ।
आमाबाट सङ्गीतमा दीक्षित प्रेमध्वज गीतसङ्गीतमै रमाउन थाले र पुनः एसएलसी दिनेतर्फ चासो नै राखेनन् । कहिलेकाँही रेडियोमा गीत गाउँदा प्रतिगीत १० रुपैयाँ आउँथ्यो नै । उनकी आमा भने कपडाको सानासाना पुतली बनाएर बेच्थिन् । 
नयाँसडकतिरको बसाई । उनको परिचय साहुहरुसित हुनु पनि स्वाभाविक थियो । उनलाई दुई जना सेठले दिल्ली र बम्बइ आफूसँगै जान भने । उनी उनीहरुसितै हिँडे । र, दुई महिना दिल्ली र बम्बईमा बिताए । जब काठमाडौँ फर्किए, उनलाई अनुभूत भयो, पढ्नुपर्ने रहेछ । त्यसैले उनी आमासँग सल्लाह गरेर पद्मोदय हाइस्कुलमा भर्ना भए । त्यसबेला पद्मोदयमा उनका सहपाठीहरु थिए राजनीतिज्ञ नवराज सुवेदी, प्रकाशचन्द्र लोहनीलगायत । 
यसरी २०१३ सालमा प्रेमध्वजले राम्रो नम्बर ल्याएर एसएलसी पास गरे । र, आईएस्सीमा भर्ना भए । तर गीतसङ्गीतको शोख, पिताजीको पसलमा बस्ने जिम्मेवारीले उनलाई आइएस्सी पढ्न दिएन । त्यसपछि उनी सरस्वती कलेजमा आईएमा भर्ना भए । 
कहिलेकाहीँको गायन र आमाले बनाएको कपडाको पुतलीको बिक्रीबाट घर चलाउन गाह्रो थियो । त्यसैले उनले जागिर खाने मनस्थिति बनाए । आफ्नो शोखको विषय सङ्गीत भएकोले उनले पहिले रेडियो नेपालमा जागिरका लागि पहल गरे । तर पाएनन् ।
त्यसैबेला उनले थाहा पाए, अमेरिकन लाइब्रेरीमा कर्मचारी चाहिएको छ भन्ने । उनी त्यहाँ गए । त्यहाँ पनि तत्काल कर्मचारी नचाहिएको जानकारी आयो । उनले सोचे, यतिकै बस्नुभन्दा स्वयम्सेवा गर्छु । उनी अमेरिकन लाइब्रेरीमा स्वयम्सेवक भएर काम गर्न थाले । २०–२५ दिन काम गरे । यहाँ मान्छे राख्नुपरे तपाईंलाई नै बोलाउँछौ भनेपछि उनी लाइब्रेरी जान छोडे । 
यसैबीच उनको दिमागमा अनेक सोच जन्मियो । जीवनयापनका लागि केही न केही गर्नु जरुरी थियो । काम खोजे, पाएनन् । एकचोटी दिल्ली र बम्बई पुगेर आइसकेकोले त्यतैतिर जानसकिने मन पनि बनाए । श्याम थापा नामका उनका साथी थिए । उनी पनि भारततिर जान राजी भए । 
सन् १९५९, डिसेम्बर महिनाको १८ तारिख बुधबारको दिन उनी र उनका साथी भारत पस्ने विचारमा थिए । काठमाडौँमा काम पाइएको थिएन । त्यसैले भोलिपल्ट बिहानै साझा बस चढेर काठमाडौँ छोड्ने निधोमा दुवैले पुगेका थिए । खर्चबर्चका लागि पैसाको जोहो पनि गरिसकेका थिए । त्यसपछि टिकट लिन साझाको काउन्टरमा पुगे । काउन्टरमा टिकट काट्नेले टिकट पाइन्छ, भोलि बिहानै आउनुस भनेर पठाए । 
प्रेमध्वजले सम्झिए त्यो दिन, ‘साँझ म घर पुग्दा आमाले अमेरिकन लाइब्रेरीबाट मानिस बोलाउन आएको कुरा सुनाउनुभयो । म भोलिपल्ट बिहान समयमै अमेरिकन लाइब्रेरी पुगेँ । त्यहाँका हाकिमले मलाई लाइब्रेरीमा काम गर्न बोलाएको बताए । मैले त्यसै दिनदेखि काम सुरु गरेँ । मेरो तलब दिनको पाँच रुपैया तोकियो । मलाई लाग्छ, म भारत नजाओस् भन्ने भगवान्को नै इच्छा थियो होला । त्यसैले पनि त्यो दिन लाइब्रेरीबाट खबर आएको हुनुपर्छ ।’ 
यसरी २०१५ सालमा उनले जागिर पाए । सुरुमा दैनिक पाँच रुपैयाँ तलब तोकिएको उनको त्यहीँ स्थायी भएपछि २ सय ४० रुपैयाँ पुग्यो । त्यसबाहेक बेलाबेलामा रेडियो नेपालमा गाइने गीत तथा कार्यक्रमहरुमा गाउँदा आउने रकमले जीवन सहज तुल्याउँदै लग्यो ।  
०००
२००६ सालमा जनसेवा हल सुरु भइसकेको थियो । तर सिनेमा हेर्न पैसा हुन्थेन । लक्ष्मण श्रेष्ठ नाम गरेका उनका एकजना साथी थिए । उनीसँग खल्तीमा पैसा भइरहन्थ्यो । उनैले यो जमातलाई सिनेमा देखाउँथे । यी चारैजना केटाहरु सिनेमा हलमै फिल्मको गीत सार्थे । अनि गीत गाएर हिँड्थे । कहिलेकाहीँ त एउटा गीत कन्ठ गर्न तीनचारचोटी पनि फिल्म हेरेको सम्झना छ, प्रेमध्वजलाई । 
२०१४ सालतिर अमेरिकी दूतावासले रेडियो नेपाललाई एउटा रेकर्डर मेसिन दिएको थियो । त्यसमा गीत रेकर्ड हुन्थ्यो । त्यसैमा एउटा कलाकारको एउटा गीत रेकर्ड गरिने कुरो सुनेपछि प्रेमध्वज पनि रेडियो नेपाल पुगे । उनले सङ्गीतकार नातिकाजीसँग कुरा गरे । उनले तारादेवीको आवाजमा साथ दिँदै कवि भूपी शेरचनको एउटा राष्ट्रिय भावनाको गीत रेकर्ड गरे, जुन गीत उनको पहिलो रेकर्डेड गीत बन्यो, ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ...।’
त्यसअघि त उनी लाइभ गीत नै गाउँथे । प्रत्यक्ष प्रशारणमा गीत गाउन सजिलो थिएन । एकदमै गाह्रो थियो । त्यसैले लाइभ गाउनुलाई तपस्या र ध्यान नै मान्छन्, प्रेमध्वज । एउटा गीत गाउनका लागि महिनौ रियाज गर्नुपथ्र्यो । त्यसपछि मात्रै रेडियोमा गीत गाउन सकिन्थ्यो । त्यो बेला आफूले एउटा गीतको लागि दैनिक तीनचार घण्टा रियाज गरेको सम्झन्छन् उनी । 
प्रेमध्वजले गायनलाई सधैँ तपस्या माने । अल्लारे उमेरमा साथीभाइसित टेबल ठटाए पनि गायनमा गम्भीरता र शास्त्रीयतामै ध्यान दिए । त्यसैले पनि उनको गीत आमस्रोतामा लोकप्रिय हुँदै गयो । 
एकपटक रेडियो नेपालले गीत रेकर्ड गर्न कलकत्ता पठाउने भयो, गायक–कलाकारहरुलाई । तर त्यसैबेला प्रेमध्वजको भोकल कर्डमा समस्या उत्पन्न भयो । एउटा सानो घाउ भोकल कर्डमा आएकोले त्यसको अपरेसन नगरी केही हुन नसक्ने स्थिति थियो । 
डा. लक्ष्मीनारायणले उनको उपचार गरे । पछि उनको अपरेसन पनि भयो । अपरेसनपछि आराम गरिरहेकै बखत उनले गिटार सिके । अपरेसनपछि उनको स्वर झनै राम्रो भएर आयो । त्यसपछि मात्रै उनले कलकत्ता गएर केही गीत रेकर्ड गरे । जसमध्येको एउटा गीत थियो, ‘गोरेटो त्यो गाउँको लौन आज...।’ यो गीतले प्रेमध्वजलाई सर्वत्र परिचित गरायो । 
कलाप्रति अथाह प्रेम राख्ने प्रेमध्वजकी आमा प्राणदेवीले नै गोरेटो त्यो गाउँको बोलको गीतका लागि कन्सेप्ट दिएको प्रेमध्वजलाई सम्झना छ । आमा–छोराबीच गीतसङ्गीतका विषयमा छलफल हुन्थ्यो, सरसल्लाह हुन्थ्यो । त्यसै क्रममा उनकी आमाले सुझाइन् एउटा कथा । र, त्यही कथामा लेखे रत्न शमशेर थापाले यो कालजयी गीत । जुन गीतमा प्रेम–माणिकले धुन हाले । प्रेमध्वजले गाए । जुन गीत आज पनि स्रोताको प्रिय छ ।  
प्रेमध्वज भन्छन्, ‘गोरेटो मात्रै होइन, ‘घुम्तीमा नआउ है’ पनि मेरी आमाले सुझाएको सिक्वेन्स हो । यही सिक्वेन्समा रत्न शमशेरले गीत लेख्नुभयो ।’
त्यही समयमा नेपालमा पहिलो पटक निजी क्षेत्रबाट नेपाली फिल्म बन्दै थियो, माइतीघर । यसको चर्चा प्रेमध्वजले पनि सुनेका थिए । यसै क्रममा उनको परिचय किशोर तिमिल्सिनासँग भयो । उनी माइतीघरको प्रोडक्सन टिममा थिए । उनैले न्युरोडको पारस होटलमा लगेर माइतीघरका सङ्गीतकार जयदेवसँग प्रेमध्वजको चिनापर्ची गराइदिए ।
उनले जयदेवलाई दोस्ती फिल्मको सबै गीत सुनाए । र, घर फर्किए । जयदेवले उनको गायकी मन पराएछन् । त्यसैले केही दिनपछि उनलाई खबर आयो, माइतीघरमा गीत गाउने प्रस्तावसहित । 
उनी भन्छन्, ‘म दङ्ग थिएँ । मैले सुनेका लता र रफी भएको सहरमा जान पाउनु मेरा लागि ठूलो कुरो थियो । त्यो बेला किरण खरेल, प्रदीप रिमाल, किशोरसँगै बम्बई गएका थियौँ ।’ 
माइतीघरमा उनले गीत गाए, ‘नमान लाज यस्तरी...।’ यो गीत खासमा आशा भोसलेसँग गाउनुपर्ने थियो । तर उनी फूर्सदमा नभएकोले उनकी बहिनी उषा मङ्गेशकरसँग गाउनुपर्यो । यो गीत पनि खुबै चल्यो ।  
त्यसैबेलादेखि प्रेमध्वजलाई बम्बईमा बसेर गीत गाउन भनिएको थियो । तर एक्ली आमालाई छोड्ने कुरो थिएन । त्यसैले उनी स्वदेश फर्किए । 
०००
नवकलाकार समूहका सदस्यहरु प्रेमध्वज प्रधान, माणिकरत्न, राममान तृषित, नारायणगोपालका बीचमा सङ्गीतलाई लिएर गम्भीर कुराकानी, छलफल र टिप्पणी–प्रतिटिप्पणी गर्ने प्रचलन रहे पनि गायन क्षेत्रमा आइसकेपछि प्रेमध्वज र नारायणगोपालको संयुक्त आवाज वा सङ्गीतमा एउटै गीत बन्न सकेन । 
नारायणगोपालसँगको सम्बन्धबारे सोध्दा उनी भन्छन्, ‘नारायणसित मेरो सौहाद्र्र सम्बन्ध रह्यो । हामीबीच प्रतिष्पर्धाको भाव कहिल्यै रहेन । कहिलेकाहीँ विभिन्न विषयमा उनी मसँग सरसल्लाह गर्थे । मेरो घरमा आउनेजाने गरिरहन्थे । मेरी आमासँग खुबै कुरा मिल्थ्यो उनको । किनभने नारायणलाई पनि चुरोट पिउनुपर्ने, मेरी आमाको पनि त्यही आदत । दुवै चुरोटप्रेमी थिए ।’  
प्रेमध्वजका अनुसार नारायणगोपाल दार्जीलिङबाट पेमलासँग बिहे गरेर काठमाडौँ आउँदा उनले प्रेमध्वजकी आमालाई दुलही देखाउन ल्याएका थिए । त्यसपछि नारायणगोपाल दम्पत्ति पोखरा गयो र एउटा स्कुलमा पढाउन थाले ।
त्यसको एकडेढ वर्षपछि अमेरिकन लाइब्रेरीमा एकजना अपरिचित केटो प्रेमध्वजलाई खोज्दै आए । उनले आफूलाई नारायण गोपालले पठाएको सन्देश सुनाए । नारायणलाई पोखराको स्कुलमा पढाउन मन नलागेकोले काठमाडौं जागिर खोजिदिन भनेका रहेछन् ।
प्रेमध्वज भन्छन्, ‘मेरा एकजना साथी कन्हैया तिमिल्सिनाका काका नाचघरमा डेपुटी डाइरेक्टर थिए, गोविन्द तिमिल्सिना । त्यसैले मैले कन्हैयासँग नारायणले भनेको कुरा सुनाएँ र काकालाई भन्न भनेँ । कन्हैयाले काकालाई भनेछन् । उसका काकाले नारायणलाई बोलाउन भनेछन् । त्यसपछि नारायण काठमाडौँ आए र नाचघरमा काम गर्न थाले । त्यसबेला नाचघरमा पार्टटाइम कामको तीन सय रुपैयाँ र पूरा काम गर्दा छ सय रुपैयाँ तलब दिइन्थ्यो ।’

 


 


 

प्रतिकृया दिनुहोस

राजेश खनाल

संबन्धित समाचार

‘दोस्ती’को गीत सुनाएर ‘माइतीघर’मा गाउन पाएँ

बाल्यकालमा साथीसङ्गातीसँग समय बितेको पत्तै हुँदैन । सबैलाई महसुस हुने यस्तै नै हो । उनीहरुको जमात पनि यस्तै रौसे थियो

छोडिसकेको त्यो बाटो

— राजेश खनाल सधैं साँझको थलो बन्थ्यो— नाचघरछेउको फलामे रेलिङ । सभागृहको सिँढी । अनि प्रज्ञा प्रतिष्ठानको चौर । कुनै दिन

ए.के. हंगललाई पनि गाली गर्ने टीका 

उनी मुम्बई (त्यसबेलाको बम्बई) मै थिएटरमा व्यस्त थिए । पुना फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा गरिसकेपछि उनी प्रतिष्ठित नाट्य

शाही शासकको इच्छा धेरै राजनीतिक नेतालाई थुनोस् भन्ने थियो

उनी आफ्नो दृष्टिबिन्दुमा सधैं दृढ रहेको दाबी गर्छन् । आफूलाई जिम्मा लगाइएको कामलाई पूर्णता दिनु उनको कर्तव्य हुन्थ्यो । त्यसैले