सामाजिक पुँजी र सामाजिक सञ्जाल

डा. राजिब सुब्बा

फ्रान्सका कूटनीतिज्ञ, वैज्ञानिक एवं ‘अमेरिकामा लोकतन्त्र’ पुस्तकका लेखक अलेक्सिस डी टोकभिलले सन् १८३० ताका संयुक्त राज्य अमेरिका भ्रमण गर्दा सबै अमेरिकीहरू कुनै न कुनै सामाजिक संघसंस्थामा आबद्ध भएको पाए । उनको बुझाइअनुसार त्यस समयमा अमेरिकामा लोकतन्त्र फस्टाउनुमा त्यहाँको बृहत् नागरिक सहभागिता नै महत्त्वपूर्ण रहेको देखिन्छ ।

परन्तु, करिब डेढ सय वर्षपछि अमेरिकीहरूको सामाजिक संघसंस्थामा सहभागी हुने प्रवृत्तिमा ह्रास आएको देखिन्छ । सन् १९७३ बाट १९९८ सम्ममा अमेरिकामा नागरिक सरोकारका कार्यक्रममा सहभागी हुने प्रवृत्ति २२ प्रतिशतबाट १३ प्रतिशतमा झरेको देखिन्छ । ‘बउलिइङ एलोन’ पुस्तकका लेखक तथा हार्डवर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट पटनमका अनुसार असीको दशकताका अमेरिकामा समूहमा खेलिने खेल बउलिङ खेल्ने त धेरै भए तर समूहमा नखेलेर एक्लाएक्लै खेल्ने थाले । उनका अनुसार एक आपसमा अन्तरक्रिया नगरी एक्लाएक्लै हिँड्ने समाजमा डिजिटल प्रविधिको अत्याधिक प्रयोगले समाज एकांगी बन्दै जानुका साथै सामाजिक पुँजीमा समेत ह्रास आउँछ । 

यस्तो अवस्थामा उक्त समाजलाई ऐक्यबद्ध राख्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले प्रविधिमा आधारित सामाजिक सञ्जालको निर्माण गर्नु स्वाभाविक देखिन्छ । एकांगी समाजका सदस्यलाई एक आपसमा आबद्ध वा ‘कनेक्टेड’ रहन कुनै न कुनै माध्यमको आवश्यकता पर्छ । उदाहरणका लागि मार्क जुकरवर्गले साथीहरू एकआपसमा सम्पर्कमा रहून् भनेर फेसबुक नामक सामाजिक सञ्जालको स्थापना गरे । उनी पढेको स्कुलमा बच्चाहरूलाई सानैदेखि साथीहरुको टेलिफोन नम्बर संग्रहित गरी राख्न प्रोत्साहन गरिन्थ्यो । साथीभाइहरुसँग पछिसम्म सम्पर्कमा रहने साधन त्यही ठेगाना पुस्तक हुन्थ्यो । यसरी सामाजिक पुँजी कमजोर भएको एकांगी समाजका सदस्यलाई आजको सन्दर्भमा प्रविधिमा आधारित सामाजिक सञ्जाल निर्माण गरिनु आवश्यक देखियो होला । तर, नेपालजस्तो सामाजिक पुँजी बलियो भएको समाजमा फेसबुकजस्ता प्रविधिमा आधारित सामाजिक सञ्जालले कसरी हाम्रो सामाजिक पुँजीलाई बलियो बनाउँछन् भन्ने अध्ययन हुनु जरुरी छ । सामाजिक पुँजी बलियो भएको र सजिलै एकआपसमा अन्तरक्रिया गर्ने समाजका सदस्य कतै प्रविधिको लत र गलत प्रयोगले एकाङ्गी बन्दै गएका पो छन् कि ?

नेपाली समाजमा सामाजिक पुँजीको प्रादुर्भाव धेरै वर्ष अगाडि नै भएको हो । उदाहरणका लागि काठमाडाैंका नेवारहरूको गुठीलाई लिन सकिन्छ । गुठी व्यवस्थापनमार्फत समाजले आफ्नो सामाजिक आवश्यकता पूर्ति गर्दैआएको देखिन्छ । त्यस्तै गरी हाटबजार तरकारी वा अन्य कुनै वस्तुको बेचबिखन गर्ने थलोमात्र नभएर एक आपसमा भलाकुसारी गर्ने चौतारी पनि हो । त्यस्तै माइली दिदीको चिया पसल अथवा जोगिन्दरको पान पसल पनि हाम्रा लागि बात मार्ने ‘अगोरा’ हो । आज पनि हाम्रो समाजमा बाबुआमाले हेरिदिएको केटाकेटीसँग जीवन बिताउन तयार रहने युवायुवतीको कमी छैन । चाहे सरकारी जागिरमा होस् वा गैरसरकारी सेवामा आफ्नो नातागोता जातभातको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । हाम्रो समाजमा अझै पनि सामाजिक पुँजी बलियो छ भन्ने देखिन्छ । यसरी बलियो सामाजिक पुँजी रहेको समाजमा फेसबुकजस्ता सामाजिक सञ्जालको प्रचुर प्रयोग आफैँमा अनौठो मान्नुपर्छ । 

‘कल्चर अफ कनेक्टिभिटी’ पुस्तकका लेखक प्राध्यापक होसेभान डिकका अनुसार सामाजिक सञ्जालको निर्माण तथा प्रयोग एक आपसमा परिनिर्माणात्मक (कन्सटिचिउटिभ) हुन्छन् । सुरुमा जुन प्रयोजनका लागि सामाजिक सञ्जाल निर्माण भए पनि प्रयोगकर्ताले उक्त सञ्जालको प्रयोग आफ्नो इच्छाअनुसार गर्छ र त्यसले सामाजिक सञ्जालको निरन्तर निर्माणमा प्रभाव पार्छ । उदाहरणका लागि सामाजिक सञ्जालमा आफ्नो देशको बारेमा अनर्गल प्रचारप्रसार गर्ने फेसबुक ग्रुपलाई जेविस डिफेन्स फोर्सका सदस्यहरुले ध्वस्त बनाइदिएका थिए । त्यस ग्रुपलाई पछि फेसबुकले हटाइदिएको थियो । त्यसैगरी हैटीमा विपद व्यवस्थापनका लागि स्थापना भएको फेसबुक ग्रुपमा घृणात्मक अभिव्यक्ति (हेट स्पिच) देखिन थालेपछि उक्त समूहका सदस्यले एकजुट भएर फेसबुकमा आफ्नै नियमसमेत बनाई घृणा ओकल्नेहरुसँग प्रतिवाद गरेका थिए ।

नेपालमा नाकाबन्दीको समयमा धेरै व्यक्तिले अरुलाई आफ्नो सवारी साधन प्रयोग गरी ‘कारपुल’ नामक फेसबुक ग्रूपमार्फत सेवा प्रदान गरेका थिए । सन् २०१३ मा १ सय ४५ वर्ष पुरानो ‘पपुलर साइन्स’ नामक पत्रिकाले आफ्नो वेब साइटमा प्राप्त हुने टिप्पणी (कमेन्ट) हरुलाई निगरानी गर्न नसकेर ‘कमेन्ट बक्स’ नै हटाइदियो । कतिपय अवस्थामा सामाजिक सञ्जाल निर्माण गर्ने संस्थाहरुले समेत समयको आवश्यकताअनुसार आफ्नो नीति परिवर्तन गर्ने गरेका छन् । 

सामाजिक सञ्जालको प्रयोगले नागरिकको दैनिक व्यवहारमा समेत परिवर्तन आइरहेको छ । बिहान नित्यकर्म गर्नुभन्दा अगाडि नै मोबाइल फोनमा सामाजिक सञ्जालको फिड पढ्ने बढेका छन् । हिजो शौच गर्दा पत्रिका पढ्नेहरु आजकल मोबाइल फोनमा अनलाइन पत्रिका पढ्छन् । अफिसबाट घर जाँदै बाटोमा पर्ने साथीभाइसँग भेट हुने माईली दिदीको चीया पसलमा भित्र छिरेर हेर्ने, साथीभाइ छन् भने बात मार्ने, नभए घरतिर जाने हिजोको हाम्रो बानी आजको ‘तेस्रो स्पेस’ जस्तै फेसबुक च्याटमा पनि देखिन्छ । साथीहरू च्याटमा छन् भने कुरा गर्ने नभए ‘अफ लाइन‘ भयो । तर सबै अन लाइन व्यवहारहरू सकारात्मक छैनन् । अहिले ‘फेक न्युज’ लाई रातारात भाइरल बनाउने जमात केहीवर्षअघिसम्म वास्तविक घटना पनि विश्वास गर्दैनथे ।

आफ्नै टोलछिमेकमा रहेका व्यक्तिहरूसँग भन्दा फेसबुके मित्रहरूसँग सधैँ च्याटमा व्यस्त रहने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । साइबर संसारमा रमाउने र कम्प्युटर खेलहरूमात्र खेल्ने मान्छेमा एकांगीपन बढ्नुका साथै ऊ आपराधिक क्रियाकलापमा समेत संलग्न हुन सक्छन् भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । आफ्नो सजिलोको लागि छोराछोरीलाई मोबाइल फोन खेल्न दिने अभिभावकहरूले यो बुझ्नुपर्ने कुरा हो ।

मनोविज्ञानका प्राध्यापक जोन सुलेरले भनेजस्तै अनलाइनमा कम्प्युटरको पर्दा पछाडि रहँदा व्यक्तिमा चिडचिडापन (‘डिसइन्हिविसन’) बढ्न सक्छ । फलस्वरूप, हामीले नकारात्मक व्यवहार देखाउँछौं । त्यसमाथि हाम्रोजस्तो अर्धशिक्षित समाजमा कम्प्युटरको सही प्रयोगको ज्ञान नहुँदा अपराध बढ्दै गएको देखिन्छ । समाजमा भएका वैमनस्यहरु सजिलै सामाजिक सञ्जालमा देखा पर्छन् । स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा हामी सजिलै अरूहरूको उपहास गर्न पनि पछि पर्दैनौ । त्यतिमात्र होइन कतिपयले त जातिगत वा राजनीतिक निकटताआदिको कारणले अरूले सामाजिक सञ्जालमा गरेको अभीष्टलाई पनि समर्थन गरेको पाइन्छ । 

कुनै मान्छे अभियुक्त भनेर समातियो भने कतिपयले उसको जातिगत हुर्मतसमेत लिएको देखिन्छ । नेपालको परिप्रेक्ष्यमा हेटस्पिच प्रचुरमात्रामा बढेको देखिन्छ । अझ यो प्रवृत्ति कुनै ठूलो दुर्घटना वा संकट वा प्राकृतिक विपदमा सामाजिक सञ्जालमा सजिलै देखिने गरेको छ । पहाडमा होस् वा मधेसमा सवारी दुर्घटना हुँदासमेत सामाजिक सञ्जालको केही हिस्सा ‘हेटस्पीच’ले भरिन्छ । हाम्रो समाजमा हाकाहाकी प्रस्फुटन हुन नसकेका भावना, कुण्ठा सामाजिक सञ्जालमा सजिलै देखिने गरेका छन् । परन्तु, यस्तो प्रयोगको लागि त फेसबुकजस्ता सामाजिक सञ्जालको सुरु भएको होइन । तसर्थ, हामीले सामाजिक सञ्जालको सही प्रयोगलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ । खासगरी आजका युवा  र बालबालिकालाई डिजिटल लतबाट सचेत रहन र सामाजिक सञ्जालको सही प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बेला भइसकेको छ । नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग र यसका असरहरुका बारेमा भने विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ ।

(संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट ‘कम्युनिकेसन एन्ड इन्फर्मेसन साइन्स’मा विद्यावारिधि, नेपाल प्रहरीका डीआईजी)
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सामाजिक पुँजी र सामाजिक सञ्जाल

फ्रान्सका कूटनीतिज्ञ, वैज्ञानिक एवं ‘अमेरिकामा लोकतन्त्र’ पुस्तकका लेखक अलेक्सिस डी टोकभिलले सन् १८३० ताका संयुक्त राज्य अमेरिका भ्रमण गर्दा सबै

प्रधानमन्त्री दम्पतीलाई आशिर्वाद, सामाजिक सञ्जालमा तीखो टिप्पणी

काठमाडौं । राजधानीमा हुन लागिरहेको एशिया प्यासिफिक समिटमा  युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी

राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा 'भाइरल', सल्लाहकार भन्छन्– कसरी यस्तो भो, बुझ्दैछौं

काठमाडौं । दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा

ने क पामा सल्कियो ‘भुसको आगो’, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप

काठमाडौं । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेताले स्थायी कमिटी सदस्यहरूलाई बोलाएर चिया खुवाए । दसैँको सम्मुखमा नेताहरूले चियापान कार्यक्रम