site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवादास्पद सम्मेलनले थप्ने चुनौती

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेता जिसस क्राइस्ट(येसु)को एकमात्र छोरी भएको दाबा गर्ने कोरियाली महिलाको दर्शन, आशीर्वाद पाएर गौरवान्वित भएको हुनुपर्छ । स्वागत यी नेताकै थियो । प्रायोजक ‘छद्म’रूपमा जो भए पनि आयोजक यिनै थिए । सम्मेलन संयोजक त नेकपाका वरिष्ट नेता माधवकुमार नेपाल । येसु नभेटे पनि उनकी छोरीको दर्शन यिनका लागि र रमाइलो मानेर ताली पिट्नेका लागि पनि गद्गद् हुने कामै भयो । राष्ट्रिय धुकुटीको अपव्यय र समयको बर्बादी भलै किन नहोस् ! 

तामझामका साथ सम्मेलन सकियो तर दुष्प्रभाव लामो समयसम्म आइरहने जोखिम छ । सोल्टी होटलको इतिहासमा मुलुकको प्रधानमन्त्री तीन चार दिन रातवासै बसेर आतिथ्य लिए दिएको यो पहिलो घटना हुनुपर्छ । पाहुना सरकारी निवास बालुवाटारमा बोलाई दुईतीन घन्टामा पालैपालो भेटे पुग्ने थियो । तामझाम सकियो । परिणाम नेकपा भन्नेलाई ‘खिन्नता’को अनुभूति हुनथाल्यो होला र त केही नेता सामाजिक सञ्जालमा रोइलो गर्दैछन् । यतिमात्रै होइन । तर, यो सम्मेलनले दिएको सन्देश र चुनौती भने मुलुकको भावी दिनका लागि खतरनाक छ । देखल एकलाख डलरको पुरस्कार प्रधानमन्त्रीले हात थापे । देशको विधिविधान उल्लंघन गरेर । त्यो पनि नेतृत्व र सुशासनका लागि रे ! सुशासनका लागि नेतृत्व ? यो काम यो सरकार बनेदेखि भएकै छैन । 

पार्टी चलाउन वर्षौंदेखि नदेखे, नदेखाइएको सहयोग रकमको गुन तिर्ने एक हिस्सा हुनुपर्छ पूर्व एमालेका नेतालाई यो  सम्मेलन । त्यसो थिएन भने विवादास्पद संस्थाका लागि स्वयं विवादमा पर्ने थिएनन् नेकपाका नेता । सम्मेलन गरे तर यसको उद्देश्य, उपलब्धि र भावी परिणामबारे ठोकेर केही भन्न वा किन मुख खोल्न सकेनन् यिनले ? यो कर्तुतले देश, समाज र आफ्नै पार्टीलाई पनि विवादमा पारे माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीले ? सारा विवादबीच पूर्व एमाले महासचिव नेपाल संयोजक बस्नुले उनकै बेलादेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को रकम एमालेमा अधिक भित्रन ढोका खुलेको स्पष्ट हुन्छ । युनिभर्सल पीस फेडरेसनसँग उनको गहीरो र पुरानो दोस्तीले यही साबित गर्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

पैसाको बलमा स्वघोषित जिससकी छोरी ‘देवदूत’ सँग आशीर्वाद लिने रुढीग्रस्त संस्कारको नयाँ संस्करण एक्काइसौँ शताब्दीको पूवाद्र्धमा प्रगतिशील दावा गर्ने नेपालका कम्युनिस्टले देखाए । (जिससको छोरी दावा गर्ने मुनका पतिले पनि आफूलाई जिससको दूत अर्थात् ‘देवदूत’ घोषणा गरेका थिए ।) आशीर्वचन कार्यक्रममा आउन स्थानीय तहका पदाधिकारीलाई उर्दी गरे । भनिन्छ, अपेय मानव तत्त्व मिसाएको कथित पवित्र रक्सी (वाइन) पिएर आशिर्वाद थाप्ने लाममा सबैभन्दा अघि नेकपाका वरिष्ट नेता माधवकुमार नेपाल नै भए ।  सारा राज्य संयन्त्र दुरुपयोग गरे, किन ? यसका पछिल्तिरको कारण राजस्व भर्ने नेपाली नागरिकले माग्नैपर्छ, खोज्नैपर्छ । सधैँ सत्ता देऊ ‘माता’ यस्तै आशीर्वाद मागे होलान् त ? 

युनिभर्सल पिस फेडरेसन नामको गैरसरकारी संगठन । येसुकी एकमात्र छोरी दावा गर्ने हाक जा हान मुनको धारणाअन्तर्गतको विवादास्पद क्रिस्चियन धर्म प्रचारक (युनिफिकेसन चर्च) संस्था । मूलधारका क्रिस्चियन (प्रोटेस्टेन्ड, क्याथोलिक) हरूबाट समेत अस्वीकृत (मान्यता नदिइएको ), मुन सम्प्रदाय (?) नेपालको क्रिस्चियन समुदायले पनि नरुचाएको र कतिपय मुलुकले दण्डित र प्रतिबन्धित गरेको, यही सम्प्रदायको मनखुसीमा नेपालमा भएको कथित एसिया प्यासेफिक सम्मेलन । त्यो सम्मेलनको द्वारपालजस्ता अभ्यर्थी (प्रार्थी) यहाँका केही कम्युनिस्ट नेता र सरकार प्रमुख । यसका लागि भएको सरकारी संयन्त्रको समर्पण सबैले देखे, सुनेकोले थप भन्नुपरेन । 

Global Ime bank

यो पृष्ठभूमि उल्लेख गर्नुको कारण, सम्मेलनले खडा गर्ने भावी चुनौती पहिचानका लागि हो । मुख्यतः चार क्षेत्रको दुष्परिणाम सम्मेलनले उद्घाटित गरेको छ । पहिलो, मुलुकमा आईएनजीओको गहिरो जकड र पकडसमेत खेलमैदानको स्पष्ट खुलासा हो । नेपाललाई आईएनजीओ र एनजीओकरण गर्ने आरोप पहिलेदेखि एमालेलाई लाग्दै आएको हो । आरोपमात्रै होइन यसअघिका उदाहरण दिएर पनि आरोपको पुष्टि भएको छ । सम्मेलन त्यही शृंखलाको एउटा कडी थियो । 
दोस्रो, खतरनाक चुनौती अब मुलुकले थप धार्मिक ध्रुवीकरणको कठिन स्थिति बेहोर्नुपर्ने हुन्छ । त्यसो नहोस्, नेपाली जनता सहिष्णु छन् भन्दाभन्दै पनि नेकपा र यो सरकारले त्यस्तो दुर्नियति भित्र्याउने अक्षम्य गल्ती गरेको छ । धार्मिक सहिष्णुता कायम तर हिमाल तराईदेखि पहाडसम्म जोड्दा बहुसंख्यक नागरिक हिन्दु धर्मप्रति आस्थावान रहेको मुलुक हो यो । गरिबीको शोषण गरेर, प्रलोभन दिई, धर्म परिवर्तन गराउने चिन्ता बढ्दै गएको समाजमा यस घटनाले त्यो चिन्तालाई थप बढाउने छ । धर्मनिरपेक्ष राज्यको सरकार नै एकखाले क्रिस्चियन सम्प्रदायको समर्थनमा स्पष्ट लागेको मान्ने हिन्दुसमेत अन्य धर्मावलम्बीको मत गाढा हुदैछ । स्वागतार्थी, संयोजक नेता आर्थिक हैसियतमा गरिब थिएनन् तर यिनले चिन्तन र दायित्वबोधको गरिबी भने देखाए ।    

तेस्रो, सरकारको परराष्ट्र नीति असफल हुँदै गरेको द्योतक हो यो सम्मेलन । सम्मेलनका सहभागी अन्तर्राष्ट्रिय मञ्चमा आलोचित पात्र र उल्लेखनीय हैसियत नभएका मात्र छन् । कूटनयिक क्षमतामा ह्रास आएको लघुताभास उत्पन्न हतारो वा सरकारी हतासामा यो तमासा गरिएको हो । छिमेकीलगायत पश्चिमा कसैले पनि महत्त्व नदिएको र प्रभावशाली अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अलिकति पनि चासो नराखेको यो जमघट आयोजक र सहआयोजकका लागि रकमको जोहो र भेटघाट आदानप्रदानको रमाइलो हुनसक्छ । 

निकट चुनावी बेला, हिन्दुत्वको हुरी आएको छिमेकी भारतका पूर्वप्रशासक र कुनै दिन नेपालमा राजदूत भएर गएका केभी राजनले चर्च सम्मेलनको कथित घोषणापत्र वाचन गरेको जानकारी सार्वजनिक भएको छ । सत्तासीन भारतीय जनता पार्टीका सांसद् विजय जोली पनि सम्मेलनमा सहभागी भए ।  उनले ‘एक तीर दुई सिकार’ भने जस्तै गरे । सन् १९५० मा भारत नेपालबीच सम्पन्न सन्धिसम्झौतालाई परिमार्जन गर्न तयार सुझाव, प्रतिवेदन भारतका लागि अमान्य रहेको जनाउ सांसद जोलीले सम्मेलनको बहानामा यहाँ आएर दिए । 

दुवै मुलुकको सहभागितामा, नेपालका तर्फबाट परराष्ट्रविद् भेषबहादुर थापा र भारतका राजनीतिज्ञ भगतसिंह कोशियारीको नेतृत्वमा बनाइएको संयुक्त प्रबुद्ध समूहले झन्डै चार महिनाअघि तयार गरेको सन्धी परिमार्जनको सुझाव प्रतिवेदन त्यसै थन्किएको छ । यही बेला सांसद् जोलीले सरोकारवालासँग कुनै परामर्श नगरी बन्द कोठाबाट केहीले दिएको सुझाव भारतलाई मान्य छैन भनिदिए ।  भारतीय संस्थापनको आधिकारिक धारणा सांसद् जोलीको बोलीमा व्यक्त भएको हुनुपर्छ । उनी सत्तारुढ भाजपाका नेता पनि हुन् । यसरी व्यक्त भारतको अनिच्छा सन्धीको सुझावप्रति मात्रै हो कि, सरकारको पराराष्ट्र नीतिको आयतनप्रति असन्तुष्टि या असन्तुलनप्रतिको गुनासो ? वेत्ताले विश्लेषण गर्लान् परराष्ट्र नीतिको धरातलीय सरकारी हैसियत ।

सरकार परराष्ट्र सम्बन्ध सञ्चालनमा असफल हुँदैगएको अन्य संकेत पनि प्रष्ट देखिएका छन् । छिमेकी चीनको चासो सुस्ताएको छ । सरकार बन्नेबित्तिकै चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने दाबा सरकारी पक्षले खुबै प्रचार गरेको थियो । तर, अहिलेसम्म भएन । भारतको चासो पहिलेजस्तो सतहमा प्रष्ट छैन तर गम्भीर छ । भारतीय स्थल सेनाध्यक्ष बीके रावतले सुरक्षा विषय (रक्षा सामग्री)प्रति केहीअघि नेपाल, भूटान समतुल्यतामा गरेको टिप्पणी त्यसै होइन होला । प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताले मात्रै नभ्याएको हो त ?

चौथो प्रसंग, राजनीतिक कूटनीतिलाई पछि राख्दै वर्तमान विश्व आर्थिक कूटनीतिमा लागेको छ । यसअघि नेपालमा पनि आर्थिक कूटनीतिका कुरा निकै भएका हुन् । मित्र राष्ट्रमा स्थापित प्रतिनिधि निकायलाई आर्थिक कूटनीति बढाउन भनिएको थियो । तर, अहिले यो सबै शून्य छ ।

निजी क्षेत्र लगानी गर्न उत्साहित देखिँदैन । वैदेशिक लगानीलाई विश्वस्त हुने आकर्षण छैन । मुलुकको आर्थिक सूचक मानिने सेयरबजार (नेप्से) विगतभन्दा झन्डै आठ खर्बमा ओरालो लागेको छ । उद्योग क्षेत्रमा वैदेशिक लगानी गत वर्षभन्दा करिब १८ प्रतिशत (१७.९३ )ले घटेको तथ्यांक उद्योग विभागले सावजनिक गरेको छ ।  कारोबारमुखी एडीबी र विश्व बैंकबाहेक केही मुलुकले हामीलाई निर्धन मानेर दिएको परम्परागत सामान्य आर्थिक सहयोगभन्दा बढी उल्लेखनीय उपलब्धि छैन । कारण परराष्ट्र नीति प्रभावकारी नहुनु हो र  अन्तर्राष्ट्रिय जगतमा सरकारको विश्वसनीयता कायम नहुनु हो । यस्तो नीतिगत दयनीय अवस्थालाई ढाकछोप गर्न फलदायी हुने ठानेर अर्थात् सहारा(त्राण) खोज्दै विवादास्पद संस्थासँग मिली गरिएको विचारहीन, विवादित सम्मेलन प्रत्युत्पादक हुने नै भयो । 

राज्यको विधि अनुसार सभ्य संस्थाले सभ्य सम्मेलन गर्न हुन्छ । यो संस्थाको सम्मेलनप्रति टिप्पणी आवश्यक होइन । तर, संस्था विवादास्पद, धर्म प्रचारक र यसका लागि राज्य संयन्त्रको  विवेकहीन प्रयोग वा दुरुपयोग गरिनु भने टिप्पणीमात्रै हैन तिरस्कारको विषय हो ।    

प्रचारमुखी तर गैरजबाफदेही र अपारदर्शी सरकारले सबै संयन्त्र प्रयोग गरेर सम्मेलनको शोभा बढायो, स्वघोषितलाई नेपाली भूमिमा भगवानको दर्जा, प्रमाण दिलायो । तर, देशको मर्यादा र जनताको इज्जत घटायो । यही कारण सचेत नेपाली समाजले तीव्र प्रतिक्रिया व्यक्त गरेको छ । तर सरकार र सरकारी दल नेकपा ‘रोम जली रहेछ, निरो बाँसुरी बजाइ रहेछ’ जस्तो संवेदनहीन र प्रतिक्रिया विहीन चुपचाप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC