आखिरी अन्तर्वार्ता 

नारायण पोखरेल

आखिरी अन्तर्वार्ता 

१. मे १६, २०१८
बिहान ९ बजे । 
मेरो पछिल्लो अन्तर्वार्ताका लागि तोकिएको मिति र समय । आजभन्दा १६ वर्षअघि एडमन्टन आई पुग्नेबित्तिकै एउटा यस्तै प्रकारको अन्तर्वार्ताको अवसर आएको थियो । तर ऊ बेला म सिकारु ड्राइभर भएकाले कार पार्क गर्नै सकिन र त्यो अन्तर्वार्ता त्यहीँ छुट्यो । पहिलो अन्तर्वार्तामा जस्तै अहिले पनि दिएको समयमा पुग्न त कठिनै भयो तर धन्न छुटेन । 

आफू बेलैमा पुग्दा अन्तर्वार्ता लिनेको भने अत्तोपत्तो थिएन । प्रतीक्षा कक्षमा रहनु र जे जे मनमा आउँछ सम्झनु, घोत्लिनु र अल्मलिनुबाहेक गर्न सकिने केही थिएन । एकै छिनमा सुनेजाने र भोगेगरेका थुप्रै कुरा मनमा खेले बर्मुडा ट्रेंगलका छालजस्तै रहस्यमय बनेर पसे मनमा र छोए अन्तरकुन्तर । 

किन रुमल्लिन्छन् त्यति धेरै कुरा बेसन्दर्भमा पनि ?                                           

उहिल्यै कहिले हो पढेको होवर्ड फास्टको उपन्यास ‘स्पार्टाकस’ भित्रका हरेक ढुकढुकी किन गुञ्जिए त्यो बेला मेरो कानमा? के म स्पार्टकस हँुदै थिए र ? त्यस्तो त हुँदैहोइन । त्यो मिथ्या संदेह हो मेरो । तर, पनि म जब जब ग्लानिले क्लान्त हुन पुग्छु किन हिम्मत दिन आइपुग्छ त्यो ग्लाडिएटर? दास प्रथाको घडेरीमाथि ऊठेको रोमन सभ्यताविरुद्धमा ऊत्रिएको ग्लाडिएटर स्पार्टकस किन मेरो सुसुप्त मनभित्रको हिरो भई बस्छ? म आफैँलाई सोधिरहेको थिए त्यो बेला ।

मैले त्यो ऊपन्यासको अमृत रायले गरेको हिन्दी अनुवाद ‘आदि विद्रोही’ पढेको थिए । रोमन साम्राज्यका बारेमा केही नसुनेकाहरुले यतिमात्रै बुझे पुग्छ दासहरुमध्येबाट बलिया र निर्भीकहरुलाई कवच नलगाईकन एकअर्का विरुध्द काटमार गर्न बाध्य गराइन्थो । र ऊनीहरुको दर्दनाक मृत्यु अभिजात वर्गमा पर्ने शासक, भूस्वामी तथा अन्य वर्गका दर्शकका लागि मनोरञ्जनका पात्र बन्थ्यो । अर्थात्, रोमन नागरिकको मनोरञ्जनका लागि यी गुलाम योद्धा (ग्लाडिएटर)ले कवचहीन स्थितिमा शस्त्रयुद्ध गर्नुपथ्र्याे । यस्ता युद्धमा मृत्यु हुनु साधारण घटना मानिन्थो । 

स्पार्टाकसले इतिहासमै पहिलोपल्ट सबैभन्दा शक्तिशाली दासविद्रोहको नेतृत्व गरेको थियो । इसापूर्व ७३ तिरको कुरो थियो रे त्यो । युवा बेलामा फास्टको त्यो ऊपन्यास पढ्ने मजस्ता धेरैले ग्लाडिएटरहरुको त्यो वीर नेता स्पार्टाकसलाई मनभित्र अझै राखेका छन् होला । 

मेरो जीवनको यो आखिरी अन्तर्वार्ताका लागि पालो पर्खिबसेको मभित्रको मनमा उपन्यासको अंतिमतिरको दृश्य आइरह्यो । रोमको सैन्य शक्तिले अंततः स्पार्टाकसले बटुलेका गुलामहरुबाट बनेको जनसेनालाई तहसनहस पार्छ । उसलाई सहरकोबीच चोकमा किला ठोकेर झुन्ड्याइदिन्छ । स्पार्टाकसले आफ्नो शरीरबाट चुहिएको रगतको थोपासँगै आफू मर्दैगरेको अनुभव गर्छ र जिउँदो हुँदा आफूले देखाएकोे अदम्य साहसप्रति गर्व गर्दै आँखा चिम्लिन्छ । तर, मेरो मनलाई नै थाहा छैन किन यस्ता तस्बिर आएर मलाई जोसिलो बनाउँछन्, हरेसलाई लखेट्छन् । मजस्ताहरु भित्रका स्पार्टाकसलाई मर्न नदिन हो कि ?
(२) 

गजब हुन्छन् संझनाका ओइरा पनि । यिनके न कुनै शृंखला हुन्छ न क्रमबद्धता । घान पनि कसैले लगाउनु पर्दैन । पटकथा पनि लेख्नु पर्दैन । धारा प्रवाह मनपरी चलिरहन्छन् ।

चालिस वर्षको उमेरमै नाजीहरुद्वारा मारिएका चेकोस्लोवाकियाली क्रान्तिकारी र देशभक्त पत्रकार जलियस फुचिकको नाम लिँदैमा श्रद्धाले शिर झुक्छ। ऊनलाई गेस्टापो (हिटलरका जासुस) ले दिएको यातनाको कल्पनामात्रैले पनि मेरो मुटु ढक्क फुल्छ। ऊन्ले गेस्टापोको जेलबाट कागजका सासाना टुक्रामा खण्डखण्ड गरी लेखेर पठाएका नोटहरुको अनुवाद ‘फाँसी के तख्ते से’ शीर्षकमा प्रकाशित पुस्तक कुनैबेला पढेको थिएँ । त्यस पुस्तकमा जुलियसले वर्णन गरेकोे ‘माकुराको जालोमा फसेको झीँगाको तस्बिर’ पनि मेरो स्मृतिपटमा थियो । 

म सन् १९८६/८७ तिर लियो टल्स्टायको जन्मथलो यास्नाया पोल्याना पुगेको थिएँ । यही ठाउँमा टालस्टायले उनका अमर कृतिमध्ये दुई ऊपन्यास ‘अन्ना करेनिना’ र ‘युध्द र शान्ति’ लेखेका रहेछन् । यी दुवै ऊपन्यास मैले पनि पढेको थिएँ । धनधान्यले परिपूर्ण, पदप्रतिष्ठाका टाकुरामा रहेका अब्बल साहित्यिक व्यक्तित्व भएर पनि उनको मनमा शान्ति र चैन थिएन । त्यसैको खोजीमा छटपटिएका उनले जीवनको ऊत्तरार्धमा परिवार र संपत्ति परित्याग गरेका रहेछन् । त्यतिमात्र नभएर ऊनले बेसहारा एक गरिब अनि बिरामी वृद्धका रुपमा रेलवे स्टेसनको पेटीमा मृत्यु वरण गरेको घटनाले मेरो मनभित्र उनीप्रति गहिरो श्रद्धा पैदा भएको थियो र दयाका कहिल्यै नसकिने तरंगहरु पनि ऊठेका थिए । तर, ती पनि विशृंखलित थिए ।

(यी तरंगको कुरा मैले कुनै प्रसंगमा गोविन्द वर्तमानलाई पनि सुनाएको थिएँ । यो सुनेर उनले ‘‘दाइ! यसको संस्मरण लेख्नुहोस्’’ भनेका थिए । उनी र म एकताका ‘जनएकता साप्ताहिक’को मझेरीमा भेटिन्थौँ । संस्मरण लेख्ने प्रेरणा पाए पनि मैले समय भने कहिल्यै पनि मिलाउन सकिन । मेरो मन नेपालभित्रै छटपटिई रहन पटक्कै मानिरहेको थिएन । आफूलाई लेखनमा एकाग्र गर्न सकिन ।  म विदेसिएको ऊनले थाहा पाए पाएनन् कुन्नि मैले उनको मृत्युको खबर पनि बासि भएपछि पाएँ । यास्नाया पोल्यानाको त्यो सेतो घर र गोविन्द वर्तमान पनि यो ‘अन्तिम अन्तर्वार्ता’का बखत मेरो स्मृति पटमा थिए । खासगरी टालस्टायको बुढ्यौली चाँहि आँखै अगाडि ठिंगै ऊभिए झैँ भयो ।) 
के कारणले ती मेरा अवचेतनबाट यति बेलै आएका हुन् मसँग चित्त बुझ्दो जबाफ छैन । तर, म मेरो यात्रामा अविरल छु ।
प्रतीक्षा कक्षको मौन भंग गर्दै कसैले बाँसुरीमा गीत बजाई रहेझैं लाग्यो  – ‘‘जाऊ समाऊ आर्तहरुको चहराई रहेको घाउ’’ ।


खार्पामा भुंइचालाले त्राहीत्राही पारेका बारी र कान्लाका माटा थिए । बारीमा राम्ररी हुने भनेको कोदो र फापर थियो । कान्लाले कतैकतै खनिउँ लुकाएको हुन्थ्यो । त्यै पनि हामी रमाएकै थियौँ । तिनै माटामा साँडे पाँच फिटे भुईँ तला भएको घर थियो हाम्रो । त्यही भुर्इँ तलाको माझमा एउटा अँगेनो हुन्थ्यो। बिर्नेले सीप लगाएर बनाएको ओदानमाथि भैँसीको कुँडो पाक्थ्यो । त्यही कुँडोको वरपर हाम्रो ‘लिभिङ रुम’ हुन्थो । अँगेनामा हालेका चिलाउने, अँगेरी र पात्लेका काँचा ठुटा जोतेर आमा आगो सल्काउने प्रयत्न गर्नुहुन्थो। धुँवा पत्पति ऊठ्थो ।

आगोको सम्पर्कमा आएका काँचा ठुटाबाट मिर्गीले टोपेको बिमारीका मुखबाट आएजस्तै गजगजी फिँज आउँथ्यो । त्यो फिँज उठेको ठाँउनेरै मुख लगेर आमा फेरि फुक्नु हुन्थो । धुँवा जिस्किएर इत्तरिएको ठिटोजस्तो झन् तीतो र अमिलो भएर उम्लिन्थो र उहाँका आँखामा बादल भएर बसिदिन्थो । न चिम्लिनु न उघार्नुको अवस्थामा पुगेका आमाका आँखा आफूभित्र भएजत्ति सबै शक्ति लगाएर बच्ने प्रयत्न गर्थे । आमाका चाउरिन थालेका गालाबाट झरेका आँशुका धारा प्रष्ट देखिन्थे तर केही हँुदै नभएजस्तो गरी पुछपाछ पारेर ऊठ्ने प्रयत्न गर्नु हुन्थो । नमीठो गन्धको त्यो धुँवा आमाको नाक र मुखको बाटो भएर श्वास प्रणालीभित्र छिर्थो । आमा हुरुक्क भएर अगेनाका डिलमै मुर्छित हुनुहुन्थ्यो । आमालाई मद्दत गर्न जाँदा मैमाथि खनिएको त्यो पुतपुते धुँवाको विषाक्तता मैले पनि कैयौंपटक भोगेको छु । आमाले त कत्ति हो कत्ति ! तर ऊ बेला थाहा थिएन त्यो धुँवा ज्यानमारा ग्यास कार्बन मोनोअक्साइड हो भनेर । थाहा भएको भए जोगिने प्रयत्न गरिन्थो होला ।

अब के गर्नु अहिले थाहा पाएर? 

ज्यादाजसो मन त्यही पुग्दो रहेछ जहाँ निर्दोष बालापन बितेको हुन्छ । त्यसैले होला मान्छे अतीत र स्मरणमा रमाउँदै गर्दा वर्तमानलाई कोस्ने गर्छ । आफ्नै रहरले बसाइँ सरे पनि, सुखसुविधाको मुहानमै पुगे पनि, सन्तुष्टि मापक घडीको सुई ऊच्चतम विन्दुमै बसेको भए पनि मन जिंग्रिएको जिंग्रियै रह्यो भने आँगमा छोएको जस्तोसुकै तातोले पनि पोल्दैन उसलाई । बसाइँ आएको ठाँउ जुनीभर उसको हुँदैन । तर ऊ आफ्नो बनाउने प्रयत्नमै सारा जीवन बिताउँछ । तुलना गर्छ र खुसी हुनुको अर्थ भेट्टाउँछ । म पनि यतिबेला त्यसै गर्दै थिए । यता भास्सिएको १६ वर्ष पुगिसक्ता पनि म एउटा मनले ‘‘बसाइँ नसरेको भए पनि हुन्थो, नेपाल नत्यागेको भएपनि हुन्थ्यो’’ भनेर आफ्नै हुर्मत लिँदैथिएँ भने अर्को मनले चाहिँ ‘‘ जे भयो ठीकै भयो, अब झन् ठीक हुन्छ’’ को मुडमा तिर्सना अझै थप्दै थिएँ । 

अन्तर्वार्ताका लागि ‘‘पालो आयो’’ भनेर मेरो नाम बोलाई हाल्छन् कि भन्दै कान ठाडा पारेर र चनाखो भएर अझै बसिरहेछु प्रतीक्षा कक्षमा ।
(बाँकी अर्को भागमा)
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

आखिरी अन्तर्वार्ता 

४–बसाइँ सर्नु मेरो रोजाइ थियो बाध्यता थिएन । तर, बसाइँ सराइको अनुष्ठान चाँहि मेरो पैतृक प्रवृत्ति हो । बसाइँ सर्नका

आखिरी अन्तर्वार्ता 

१. मे १६, २०१८ बिहान ९ बजे ।  मेरो पछिल्लो अन्तर्वार्ताका लागि तोकिएको मिति र समय । आजभन्दा १६ वर्षअघि एडमन्टन आई