site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नारायणगोपाल : आधुनिक नेपाली सङ्गीतका धरोहर 

अठ्ठाइस वर्ष भयो नारायणगोपाल (१९९६–२०४७) को इहलीला समाप्त भएको । यसबीचमा नारायणगोपालका बारेमा थुप्रै लेख लेखिए । सकारात्मक नकारात्मक टिप्पणी, आलोचना वा चर्चा परिचर्चा पनि भइरहे । कुनै पनि व्यक्तिको सबल र दुर्बल दुवै पाटो हुन्छ । यस अर्थमा नारायणगोपाल मात्र अपवाद हुने कुरै आउँदैन । कतिपय लेखकले आफ्ना पुस्तकादिमा लघु टिप्पणी पनि गरेको पाइयो । नारायगोपाल तुच्छ र आफू महान् भएको उल्लेख पनि गरेका छन् कतिपयले । तर, नारायणगोपालको कीर्ति, कृति वा सुकर्म सिर्जनादिले ती दुर्बल, दुरुह अनि दारुण आलोचना सर्लक्कै छिमली दिएको देखिन्छ ।  

कतिपयले नारायणगोपाललाई दानव त कतिपयले देवकै दर्जामा हेर्ने वा राख्ने गरेका छन् । कतिपयले रक्स्याहा, मत्थु वा दुव्र्यसनी ठानेका छन् । र उनको असली सिर्जनशील ब्यक्तित्व ओझेलमा पर्ने वा पार्ने प्रयास गरिएको छ । उनलाई जस्तै प्रसिद्ध कवि गीतकार हरिभक्त कटुवाललाई पनि ‘बोन्साइ’ बनाउने प्रयास गरिएको देखिन्छ । त्यसप्रकारका आलोचना प्रतिभा र सिर्जनाले उनलाई जित्न नसक्ने हुलको कुत्सित चालमात्र थियो । हिजोआजका नवसुरकर्मीहरू नारायणगोपाल हुने वा उनलाई उछिन्ने होडमा तल्लीन अनि लालायित छन् । तथ्याङ्क सङ्कलन गर्ने हो भने नारायणगोपाल नेपाली सङ्गीतका धरोहर र धराहरा भएर उठिसकेका छन् ।

वि.सं. २०१२ साल अघिसम्म नेपालका सङ्गीतकर्मीले गीत रेकर्ड गर्न कलकत्ता वा बम्बै जानुपर्ने वाध्यता थियो । सेतुराम, मेलवादेवी, मित्रसेन वा उस्ताद साहिँला, धर्मराज थापा, नातिकाजी, शिवशङ्कर, पुष्प नेपाली, बच्चुकैलाश, प्रेमध्वज, तारादेवी, कृष्णमान डंगोल, अम्बर गुरुङ आदिका पहिलो चरणका नेपाली गीत गायनका रेकर्डहरू भारतीय भूमिमै बनेर आएका हुन् । त्यही कारण उसबेलाका गीति रेकर्डमा बाजा र वादनशैली कलकत्ता र बम्बैया शैली संयोजनमा आए । ती सङ्गीत रेकर्डका केन्द्रहरू दोस्रो विश्वयुद्धलगत्तै खुलेका थिए । भारतमा इस्ट इन्डिया कम्पनीको व्यापार प्रवद्र्धन र प्रशासन थालिएसँगै नेपाली गीत सङ्गीतमा त्यसको प्रभाव अनि परिवर्तन देखापर्छ । त्यसताका सङ्गीतकार तथा सङ्गीत योजक भी बल्सरा चर्चित थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नारायणगोपालकै हकमा भन्ने हो भने उनी विसं २०१६ सालदेखि गायनमा देखा परेका हुन् । खासमा भन्ने हो भने नारायणगोपाललाई विभिन्न कोणबाट हेरिनु जरुरी छ । नारायणगोपाल एक व्यक्तिमा धेरै वटा व्यक्तित्व पाइन्छ । प्रतिभा, सिर्जना, दृष्टिकोण र सामथ्र्य सबैसँग हुने कुरा होइन । तर, उनीसँग यी सबै सबलरूपमा थिए । 

नाराययणगोपाल बौद्धिक व्यक्तित्व, मिलनसार र प्रज्ञानी थिए । यसको एउटै प्रमाण हो, ‘बागीना’ (२०३०–२०३५) पत्रिकाको प्रकाशन । विद्वानादिसँग पनि उनको सघन संंगत थियो । त्यसैले उनले ‘बागीना’ त्रैमासिक पत्रिकाको सम्पादन प्रकाशन गरेका थिए । अनुज कलाकर्मीहरूलाई प्रेरणा दिँदै व्यावहारिकरूपमा सरल संगत गर्नु । हरेक नवीन कृति सिर्जनासँग ताजगीपूर्ण जानकारीमा रहनु उनको स्वभाव थियो । त्यो पुस्तक होस् वा साङ्गीतिक कृति अनि देशको होस् या विश्व परिवेशको । उनको दृष्टि सर्वत्र पुगेको थियो । 

Global Ime bank

नेपाली गायनको गोरेटोमा उनले पहिलो पाइला राममान तृषितको रचना र प्रेम माणिकको सङ्गीतबाट राखेका थिए । नारायणगोपालको उल्लेख्य साङ्गीतिक कृति ‘द ब्लु नोट्स’ पनि हो ।  

‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ’ 

नारायणगोपाल मिथक बनेका छन् यसबेला । उनका साङ्गीतिक कृति, सुकीर्तिहरू नेपाली जनमनमा ऋचाझैं अभिलिखित छन् । जसले नेपाली सङ्गीत जगतलाई निर्देशक सिद्धान्तजस्तै मार्ग निर्देश गरिरहको छ । यस अवधिमा नेपाली सङ्गीतका कतिपय प्रशंसकहरू वा उनको गायकी शैलीलाई अवलम्बन गर्नेहरू पनि स्थापित गायक बनिसकेका छन् । यसो हुनुमा सुरकर्मी नारायणगोपाल प्रभावशाली सङ्गीतकर्मी थिए भन्ने नै हो । यसले ‘नारायणगोपाल स्कुल अफ थट्स’ पनि स्थापित गरेको देखिन्छ । 

‘मेरो गीत म उभेको धुलोले सुनोस्, मेरो गीत यहीँको चुपचापले सुनोस्’ 

नेपाली सङ्गीतका साधक नारायणगोपालको योगदान अतुलनीय रहिआएको छ । उनले के आधुनिक, के लोकगीत वा के देशभक्ति गीत सबै किसिमका गीतहरू गाएका छन् भने ती सबै चर्चित पनि भएका छन् । देशभक्तिले ओतप्रोत भएका थोरै गीत हुन् वा नेपाली चलचित्रका गीतहरू ती सबै चर्चित, लोकप्रिय र प्रसिद्ध बनेका छन् । पाश्र्वगायनमा पनि उनी उत्तिकै चर्चित र स्थापित बन्न सकेका छन् । यसो हुनुमा स्वरमाधुर्य मिठास, शब्द उच्चारण र ओजपूर्ण आवाज नै हो । जसको ओजनदार आवाज रहन्छ, त्यसको प्रभाव र आकर्षण पनि हुन्छ । सङ्गीतकर्मी नारायणगोपालसँग ती सबै गायकी गरगहनादि थिए र त्यसको प्रभाव वा जनआकर्षण नेपाली जनमनमा रहन गयो । उनले गाएका प्रायः सबै गीतहरू प्रसिद्ध र चर्चित छन् । 

‘दुईटा फूल देउरालीमा सँगै राख्यौँ जस्तो लाग्छ, कतै टाढा जाँदाखेरी सँगै हिँड्यौ जस्तो लाग्छ’

प्रसिद्ध सुरकर्मी नारायणगोपालले आफ्नो गायन यात्रामा गीतकारभन्दा गीत छनोट गरेको पाइन्छ । सङ्गीतकारभन्दा नवीन सङ्गीत रचना उनको रोजाइमा परेको देखिन्छ । उनी शास्त्रीय साङ्गीतिक घरानाबाट उठेका थिए । उनीमात्र होइनन् उनका सहोदर भाइहरू गायक हेमगोपाल, रामगोपाल आदि पनि सुरकर्मी हुन् । यतिबेला दुवै भाइहरू ओझेलमा परेका छन् । ठूलो रुखमुनिका साना बोटबुट्यानादि झैँ भएका छन् । उनका बुबा र पितामह पनि शास्त्रीय सङ्गीतका धुरन्धर साधक थिए । यस अर्थमा पनि नारायणगोपाल वंशानुगत साङ्गीतिक रगत सञ्चरण भएका गायक मानिन्छन् । 

‘‘सधैँ म हाँसे तिमीलाई रुवाइ, आज सारा खुसी दिन म चाहन्छु’ 

सङ्गीत साधक नारायणगोपाल सरल अनि अलिअलि रौसे पनि थिए । उनी मुडी पनि थिए । वाग विहार, वन उपवनादि अवलोकन गर्न उनलाई खुबै मन पथ्र्याे । उनी प्रकृति प्रेमी थिए । सुन्दर पार्क वा बगैँचा अर्थात् फूलबारीका सौखिन थिए उनी । पार्टी पिकनिक वा साथी सङ्गतीसँग घुम्नडुल्न र रचनात्मक काममा लाग्न उनी लालायित हुन्थे । 

‘मैले गाएको गीतमा तिम्रै रसिलो प्यार छ’

शक्ति वा सत्ताका ताबेदार अथवा पिछलग्गु थिएनन् । जनसाधारणको मनोविज्ञान बुझेका उनी चाकरीमा भन्दा श्रमशालीनतामा विश्वास राख्थे । सर्जनामा विश्वास थियो उनको । विभेदका बिरोधी, समानताका समर्थक थिए उनी । त्यसैले उनको जीवनशैली सामान्य थियो । सरल, सहज र आकर्षक थियो । त्यसैले उनी सफल थिए । नेपाली समाजको धरातलीय अवस्थाको ज्ञान थियो उनीसँग । समाजसँगै नेपाली लोकसंस्कृतिको पनि भरपुर जानकारी थियो । त्यही कारण उनले लोकशैलीका वा शब्दले भरिएका गीतहरू लोकका लागि गाएका हुन् । र, लोकले सुने,

‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो’

सुरकर्मी नारायणगोपाल शास्त्रीय कुशल तबलावादक पनि थिए । पाश्चात्य सङ्गीतको ज्ञान पनि उनीसँग भरपुर थियो । सोह्रौं शताब्दीको पश्चिमा सङ्गीतकार तथा प्रसिद्ध गायकादिको यथेष्ट जानकारी उनीसँग थियो । पूर्वीय शास्त्रीय र पाश्चात्य हर्मोनाइजेसन वा प्रोग्रेसन आदिको विशेष ज्ञान उनीसँग रहेको थियो । यसैले उनको गहन संगत विशिष्ट सङ्गीतकर्मी गोपाल योञ्जनसँग हुन पुगेको हो । गोपालद्वयको साङ्गीतिक साइनो सेतुले नै नेपाली सङ्गीत रचना वा सिर्जनालाई विशेष उचाइ दिलाएको हो । गोपालद्वय सिर्जित सङ्गीतकृति नेपाली जनमन वा मनमन्दिर गाढा अनि अमिट भएर रहनुको तात्पर्य पनि यही हो । नेपाल र नेपाली सङ्गीतको रूप, स्वरूप अनि शैली, गन्तव्य परिवर्तन भइसकेको छ । यस अवस्थामा पनि नारायणगोपाल नेपाली जनमनका ध्वजा धरोहर बनेका छन् । 

‘सम्हाल घुम्टोहरू सजाऊ केशहरू म आएँ आँधी बोकेर सम्हाल डेगहरू’  

bulumukarung@gmail.com


     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC