संसार हेर्ने प्रकाशको चाहना

संसार हेर्ने प्रकाशको चाहना

वि.सं. २०४५ साल भदौ ५ गते भूकम्प गयो । उदयपुरको मुर्कुर्चीलाई केन्द्र बनाएर गएको ५.५ रेक्टर स्केलको भूकम्पले देशभर ७५० जनाको ज्यान लियो । हजारौं अंगभंग भए । भूकम्पसँगै कोशी नदीमा आएको बाढी सुनसरीको प्रकाशपुरमा पस्यो र प्रकाश तिमल्सेनाका आमाबुवा र हजुरबुवा गरी तीन जनाको ज्यान लियो । एक वर्षे प्रकाशलाई बाढीले आफैंसँग लिएर गयो । 

प्रकाशका दिन सायद सकिएका रहेनछन् । उनलाई बचाउनु थियो । भगवान माझीको भेषमा आए । माझीले माछा पार्न फ्याँकेको जालमा प्रकाश परे । जालमा शिशु देखेपछि माझीले साथीसर्कल र यात्रुहरूसँग पैसा उठाएर कोशी अञ्चल अस्पतालमा उनको उपचार गराए । जालमा बच्चा परेको खबर भुसको आगोझैँ फैलियो । कोशी अञ्चल अस्पतालमा नै उपचाररत हजुरआमाले प्रकाशलाई आफ्नो नाती भएको पहिचान गरिन् । 

ज्यान त बच्यो । तर प्रकाशले आँखाको ज्योती गुमाए । “हुन त मलाई थाहा छैन । म देख्थेँ या देख्दिन थिएँ । किनकी १ वर्षकोमात्र थिएँ,” प्रकाश अरुले सुनाएको आफ्नो विगत खोतल्छन्, “हजुरआमाले भने अनुसार म आँखा देख्न सक्थेँ । जुन दिन बाढीले मलाई बगायो । त्यसपछि म देख्न नसक्ने भएको हुँ रे !”

एउटा उखानसँग जोडिएको जिन्दगीको क्रुर नियति सुनाउँछन् प्रकाश, “लोभले लाभ लाभले विलाप भन्ने एउटा उखान छ । त्यही उखानसँग मेरो परिवारको कहानी मिल्छ । मेरो बुवाआमा भएको घरखेत बेचेर ऐलानी जग्गामा बस्नु भएको थियो । ऐलानी जग्गाको लोभ नगर्नुभएको भए सायद हाम्रो परिवारले बाढीको त्यो नियति सायद भोग्नु पर्दैनथ्यो कि !” 
उनी आफू जन्मिनु अगाडिको कुरा गर्छन् । गुमेको परिवार र आफ्नो गुमेको दृष्टिप्रति फर्किन नसक्ने अनुमानित आशाको कुरा गर्छन् । जिन्दगीले उज्यालोको अनुभूत गर्न नपाउँदै प्रकाशको जीवनबाट आँखाको दृष्टिले बिदा लियो ।

प्रकाशले उज्यालोको बयान सुन्नमात्रै पाए । रङ्गीन संसार नदेख्दै बाढीले उनीबाट अलग गरिदियो । हजुरआमाले प्रकाशलाई आफूसँगै राखेर पालनपोषण गर्न थालिन् । अरुको घरमा काम गरेर आफू र प्रकाशको जीजिविषा धान्नु उनको दैनिकी बन्यो । 

० ० ०
प्रकाशलाई तीन वर्ष हुँदादेखिको आफ्नो जीवन वृतान्त सम्झनामा छ । संयोग भनौं या आश्चर्य ! उनलाई जिन्दगीको पहिलो स्मरण क्यासेट प्लेयर छामेको याद छ । 
“हजुरआमाले मलाई एक जना लाहुरेको बिहेमा लैजानु भएको थियो । त्यो बिहेमा गीत बजिरहेको थियो र त्यही क्यासेट प्लेयर छामेको मलाई याद छ । त्यहाँभन्दा अगाडिको स्मरण छैन,” प्रकाश भन्छन्, “यसले खान्छ, करेन्ट लाग्छ छुनु हुँदैन भन्थे । तर यति राम्रो सुनिन्छ भने यसले कसरी खान्छ ? म प्रश्न गर्थेँ ।” 

गीतको त्यो मेलोडीप्रति उनी एडिक्टेड नै भए । विस्तारै गीत नसुनी भात खानै मन लाग्न छोडेको थियो उनलाई । गीत भन्ने उनलाई थाहा थिएन । त्यसैले उनलाई क्यासेटले जस्तै भन् त भनेर अरुले भन्थे । प्रकाशले क्यासेटले जस्तै गाइदिन्थे । चकलेट, बिस्कुट दिन्थे । गाए चकलेट, बिस्कुट खान पाइनेरहेछ भनेर उनी गाउन थाले । 
६ वर्षको उमेरमा हो प्रकाशले गीत रिलमा भरिँदोरहेछ र त्यो बज्दोरहेछ भन्ने थाहा पाएको । 

के बन्ने भाइ भनेर सोध्दा उनी रिलमा गीत भर्ने मान्छे बन्छु भन्न थालेका थिए । गीत गाउन लगाएर कसैले ५ रुपैयाँ दिन्थे, कसैले १० रुपैयाँ । गीत गाएपछि पैसा पाइन्छ भन्ने थाहा पाएपछि उनले एउटा गीत गाएको ५ रुपैयाँ रेट तोके । दिनमा २–३ सय रुपैयाँ हुन थालेपछि उनकी हजुरआमाले पनि काम गर्नै पर्न छोड्यो । प्रकाशले गीत गाएर कमाएको पैसाले नै हजुरआमा र नातीलाई पुग्न थाल्यो । 

९ वर्ष पुगेपछि प्रकाशले थाहा पाए, गीत त क्यासेटले होइन मान्छेले गाउने रहेछ भन्ने । यसपछिको बेग्लै किस्सा छ प्रकाशसँग । रेडियोमा बसेर गीत गाउने मान्छे कस्ता हुन्छन् भन्ने उनलाई कौतूहल भयो । आफ्नो घरमा त रेडियो थिएन । छिमेकमा लिम्बूहरूको घर थियो । उनीहरूका घरमा रेडियो थियो । “रेडियो फुटाएर गीत गाउने मान्छे भेट्न खोज्दा म लिम्बूनी दिदीहरूको फेला परेँ,” प्रकाश नोस्टाल्जिक हुन्छन्, “लिम्बूनी दिदीहरूले सिर्कनुले सुम्लो बस्नेगरी हिर्काएको कहिल्यै बिर्सिन सकिन । मान्छे खोज्न रेडियो फुटाएको तार र चुम्बक बाहेक केही भेटिएन ।”

मान्छेले गीत गाउँदा रहेछन् भन्ने थाहा पाएपछि म पनि गीत गाउने मान्छे बन्छु उनले उद्देश्य लिए । बन्ने कसरी थाहा थिएन । बाटो देखाउने गुरु थिएनन् । तर उनलाई रहर लाग्यो । सपना देख्नु नै त के थियो र देखिदिए । 

० ० ०
धनकुटाबाट नास्पाती बेच्न धरान झर्दा ढाक्रेहरूले प्रकाशलाई देखेका थिए । मायाले नासपाती पनि दिन्थे उनलाई । धनकुटाको सिँधुवामा दृष्टिविहिनहरूलाई पढाउने स्कुल खुलेछ । नासपाती बेच्न धनकुटाबाट धरान हुँदै विराटनगर झर्ने तिनै दाइहरूले आँखा नदेख्ने एक जना बालक मोरङको लेटाङमा पनि छ भनेपछि उनलाई खोज्दै नेमधारी मण्डल लेटाङ आइपुगे । उनलाई पढ्नुपर्छ भन्दै लेटाङबाट धनकुटाको सिँधुवा लगे । प्रकाशले त्यहाँ ५ कक्षासम्म पढे । कक्षा एक देखि ५ सम्म पढ्दा उनी सधैँ प्रथम भए । त्यो बेला उनी स्कुलमा गीत गाउँथे । रामकृष्ण ढकालका गीत उनलाई खुब मनपथ्र्यो । ‘ओराली लागेको...,’ ‘हिरा काट्ने हिरैमा राखेर...’ उनी सबैभन्दा धेरै गाउँथे । 

नारायण गोपालका गीत भने उनलाई काठमाडौं नआउञ्जेलसम्म थाहा भएन । “धरानमा हिन्दी गीत बज्थे । त्यहाँ बज्ने हिन्दी गीत मलाई सबै आउँथ्यो । रामकृष्ण ढकालका गीत पनि आउँथ्यो । गाउँथेँ । एक दिन एक जनाले मलाई भक्तराज आचार्यको ‘मुटु जलिरहेछ...’ गाऊ, दुई सय रुपैयाँ दिन्छु भन्नुभयो । मैले भक्तराज आचार्यको नाम पनि सुनेको थिइन । गीतको त कुरै भएन,” प्रकाश सुनाउँछन्, “दुई सय रुपैयाँ दिने भनेपछि साथीहरूसँग भनेर गीत सुनेर भक्तराज आचार्यको ‘मुटु जलिरहेछ...’ भोलिपल्टै गाएँ । दुई सय रुपैयाँ पाएँ ।”
कक्षा तीनमा पढ्दा जोवाना स्टुवर्ड नामकी बेलायती नागरिकसँग उनको भेट भएको थियो । उनले अंग्रेजी पढाउने व्यवस्था मिलाइदिएकी थिइन् । तिनै जोवानाले प्रकाशलाई काठमाडौं ल्याब्रोटरी स्कुलमा पढ्ने व्यवस्था मिलाइदिइन् । 

कक्षा ४ मा बल्ल एबीसीडी पढ्न थालेका प्रकाशलाई ल्याब्रोटरी स्कुलमा अंग्रेजी माध्यमबाट पढ्नुपर्ने भयो । तोरीका फूल देखे उनले । पढाइ छोड्दिऊँ कि जस्तो पनि लाग्यो । कुखुरा बनाएर दण्ड दिए । कुखुरा बनेपछि उनले एक कक्षाको अंग्रेजी पुस्तक खोजेर पढ्न थाले । 

उनी राति अबेरसम्म बसेर ‘भ्वाइस अफ अमेरिका’को ‘हेलो अमेरिका’ भन्ने कार्यक्रम सुन्न थाले । जसले अंग्रेजी बोल्न सिकाउँछ । अरुलाई रेडियो राख्न र सुन्न स्कुलले दिँदैन थियो तर प्रकाश रेडियो राख्न पाउने र सुन्न पाउने सर्तमा ल्याब्रोटरी स्कुल भर्ना भएका थिए ।

उनलाई अंग्रेजी सिक्नु थियो । बीबीसी र सीआरईले सिकाउने अंग्रेजी भाषको कार्यक्रम पनि नछुटाई सुन्न थाले । प्रकाशले जोवानालाई आफूलाई अंग्रेजी पढ्न गाह्रो भएको बताए । उनले विलियम रोवर्ट नामक शिक्षक नै राखिदिइन् प्रकाशका लागि । प्रकाश आफैँले आफैँलाई प्रश्न गर्थे अनि जवाफ पनि उनी आफैँ दिन्थे अंग्रेजीमै । भाषा बुझ्दै गए । लेख्न र पढ्न पनि अब्बल हुँदै गए । सुरुमा अंग्रेजी नजानेको देखेर साथीहरू हाँस्थे । कक्षा ८ मा पुग्दा प्रकाश अंग्रेजीमा यति तेजिलो भइसकेका थिए कि स्कुल नै टप गरिदिए । 

अनुशासनमा स्कुल कडा थियो । एकातिर होमवर्क गर्नुपथ्र्यो अर्कातिर म्युजिकप्रति प्रकाशको भोक । उनी संगीतको साधना गर्दा होमवर्क छुट्थ्यो । टिचरले सोध्थे । प्रकाश भन्थे, सर एउटा गीत प्राक्टिस गरेको होमवर्क गर्न भ्याइन । बरु सुन्नुस् न । गीत गाएर सुनाउँथे । सजायट पाउनबाट जोगिन्थे ।

कक्षा ८ मा पढ्दा नेपाल टेलिभिजनमा ‘ब्राइटर तिम्रो स्वर मेरो गीत’ भन्ने प्रतियोगिता सुरु भयो । प्रकाशलाई त्यो प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास थियो । दुर्भाग्य त्यो कार्यक्रम टप–१२ मा पुगेपछि बन्द भयो । “प्रतिस्पर्धा नै जित्छु भन्ने लाग्न थालेको थियो, शो नै बन्द भएपछि बबुल टुथपेस्टमै चित्त बुझाएँ”, लामो हाँसो हाँस्छन् प्रकाश । 
कक्षा १० मा पढ्दा ‘डिजेवल स्टार’ कार्यक्रम आयोजना भयो । त्यसमा प्रकाश दोस्रो भए । एउटा गीत रेकर्ड गर्ने अवसर पाए । गीत रेकर्ड पनि गरे २०६२ मा । तर, प्रकाश आफैँलाई गीत मन परेन । उनले त्यो गीत रेडियोलाई बजाउन नै दिएनन् । 

०६९ मा एसएसली पास गरे । सगरमाथा मल्टिपल कलेज पढ्न थाले । किहानको कक्षा थियो । दिनभर समय कसरी कटाउने भन्ने तनाव हुन्थ्यो । ठिक त्यही समय ‘साउथ एसियन स्टार नेपाल’ नामक सिङगिङ रियालिटी शो इमेज च्यानलले आयोजना गर्ने भयो । प्रकाशले ख्यालख्यालमै आवेदन दिए । 

चार हजार जनाले अडिसन दिएको उक्त शोमा प्रकाशले जगदिश समालको ‘जब दिन ढल्दै गयो...’ गाए । सुरुमै क्लासिकल गाएर राम्रो इम्प्रेसन पार्ने उनको योजना थियो । नभन्दै निर्णायक राजु सिंह, विजय मुनाल र रिमा गुरुङ प्रभावित भए उनको गायनबाट । प्रकाश टप–५० मा पुगे । त्यहाँ उनले जगदिशकै ‘अलिअलि भन्दा भन्दै धेरै पिउने भइसकेछु...’ गाए । टप–२० मा रामकृष्ण ढकालको मेरो खुकुरीको नौलो कथा...’ गाइदिए । प्रकाशले गाएको सुनेर रामकृष्ण ढकाल ‘मैलेभन्दा यो गीत राम्रो गाउने को आएछ भनेर प्रकाशलाई भेट्नै आए । पछि ढकाल सुमधुर साँझ तीनमा प्रकाशले सहकार्य गर्ने अवसर पाए । 

टप–१० मा ‘१९७४ एडी’को ‘जसो गर जे भन जता सुकै...’ गाए । त्यो गीतले प्रकाश रक गीत पनि गाउन सक्ने प्रतिभा हुन् भन्ने पुष्टि गरिदियो । प्रकाशले ‘साउथ एसियन स्टार नेपाल’ नै जितिदिए । 

० ० ०
नेपालबाट भारतको कोलकता गए । त्यहाँ उनले ‘बेष्ट इङ्लिश प्रोनाउन्सेसन’को टाइटल जिते । कलकतामा उनले केही अनुभव संगाल्ने अवसर पनि पाए । जुन नेपाल बाहिरको पहिलो नौलो अनुभव थियो उनका लागि । तर त्यहाँ उनले राम्रो भन्दा पनि नराम्रो अनुभव धेरै संगाले । “त्यो शोको विनर म हुन्थेँ । तर त्यहाँ केही सर्तहरू राखिए, जसका कारण म विनर हुन सकिन,” उनी तीतो विगत सुनाउँछन् । 

कस्तो सर्त ?

“अमुल सापकोटा, आसुसेन लामा र म थियौं नेपालका तर्फबाट । हामीलाई त्यहाँ सुरुमै हेपियो । अंग्रेजी नआउने होला, हिन्दी कि नेपाली बोल्नुपर्छ होला हैन भनियो । मैले मलाई हिन्दी आउँदैन कि अंग्रेजी कि नेपाली बोल्नुपर्छ भनेँ । मैले एमएलटीआरको ‘एक्ट्रेस’ भन्ने गीत गाएपछि त्यहाँको प्रोडुसर श्रुतीले नेपालीहरू कि रिक्सा चलाउने कि ढोकामा बस्ने मात्रै हुन्छन् भनेको त इङ्लिस बोल्ने पनि हुँदारहेछन् भनेपछि मलाई झन रिस उठ्यो । मैले पनि ‘तपाईंको अनएजुकेटेड नेपालीसँग मात्रै संगत रहेछ । एजुकेटेड नेपालीसँग संगत गर्ने भए काठमाडौं आउनू’ भनिदिएँ । त्यसपछि उनीहरू मसँग झनै रिसाए । मैले लगातार अंग्रेजी गीतमात्रै गाएँ । हिन्दी गीत पनि गाउँछु भनेर चार वटा ट्रयाक त लिएर गएको थिएँ हिन्दीका तर मैले अंग्रेजीमात्रै गाएँ,” प्रकाश भन्छन्, “देशप्रेमको भाव यति धेरै थियो कि अहिले सम्झँदा लाग्छ उग्र राष्ट्रवाद थियो ममा त्यो समय । युनिभर्सल सोनी बीएमजीको चारवटा एल्बम रद्द गरेर म नेपाल फर्किएँ ।”

उनी अगाडि भन्छन्, “मलाई छुट्टै राखेर भने, ‘हिन्दी गीत गाऊ र आइएम बर्न इन कलकत्ता भन, फ्ल्याट र गाडीको चावी तिम्रै हो ।’ म नेपालकै हुँ, नेपाली नागरिक नै हुँ । म यसो गर्न सक्तिन भनेपछि उनीहरूले मलाई चौथो बनाइदिए ।” तीन पटक डेन्जर जोनमा पुगेका बंगलादेशका सुभो प्रथम भए । उनले भनिदिए पनि– ‘आइएम बर्न इन कलकाता ।’
प्रकाशको गायन प्रतिभा चुलिँदै गयो । म्युजिक कम्पनीहरू उनलाई लगानी गर्न तयार भए । ०६५ मा पहिलोपटक ‘दिव्यदृष्टि’ एल्बम निस्कियो । राष्ट्रपटि डा. रामवरण यादवले शीतल निवासमै विमोचन गरेको एल्बम थियो त्यो । त्यो एल्बममा समावेश गीत खासै चलेनन् । 

०६६ मा आफूले कम्पोज गरेको गीत रेकर्ड गर्दा कस्तो हुँदोरहेछ भनेर रिवेल क्रिएशनमा पुगेका थिए । त्यहाँ राजनराज सिवाकोटी भेट भए । उनले मसँग एउटा गीत छ गाउने हो प्रकाशजी भनेर सोधे । ढुङ्गा खोज्दा देउता पाएझैं भयो प्रकाशलाई । गीत रेकर्ड भयो । गीत थियो, ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ... ।’ गीत रातारात हिट भयो । प्रकाशको जिन्दगीले यू–टर्न गर्यो । यही गीतबाट उनले अन्नपूर्ण र कालिका एफएमको बेष्ट न्यू आर्टिस्ट अवार्ड पनि जिते । अवार्ड थाप्दाको पहिलो अनुभव थियो प्रकाशका लागि त्यो । 
रिवेलले फेरि प्रकाशमाथि लगानी गर्यो । ०६७ मा ‘प्रकाश’ नामक एल्बम आयो । यो एल्बमका ‘तिम्रै हातको सिन्दुर लाउँछु..., हृदय भित्र..., कतिञ्जेल बस्नु सहेर पीडा’ लगायतका गीत हिट भए । 

०६८ मा ‘श्रद्धाञ्जली’ नामक एल्बम निस्कियो रिवेलकै लगानीमा । नातीकाजी, शिवशंकर र गोपाल योञ्जनको सम्मानमा उनीहरूको कम्पोजिसनमा उदित नारायण झाले गाएका गीत रिमेक गरिएको थियो त्यो एल्बममा । जसको ‘तिमीलाई देखेर’ र ‘बल्लबल्ल भेट भाको दिन’ हिट भए । रिवेलकै लगानीमा ‘प्रकाश–२’ एल्बम आयो । यसको ‘खली...’ बोलको गीत सुपरहिट भयो ।

त्यसयता उनले करिब ५० भन्दा धेरै गीत गाइसकेका छन् । स्टेज कार्यक्रममा प्रस्तुति दिँदै आएका छन् । झगेन धिमालको शब्द रहेको गीत ‘जुनभन्दा नि राम्री छौ...’ भर्खरै रेकर्ड गराए प्रकाशले । अहिले यसको भिडियोको तयारीमा छन् । लिला शिवाकोटीको शब्दमा नयाँ गीतको तयारीमा छन् प्रकाश । 

० ० ०
सुरुमा गीत गाउने रहर थियो प्रकाशलाई । कालान्तरमा त्यो रहर पूरा भयो । अंग्रेजी बोल्ने धोको थियो, त्यो पनि पूरा भयो । अब उनलाई अमेरिका जाने रहर छ । प्रकाशकै शब्दमा त्यहाँ बस्न होइन । ‘अमेरिका गट ट्यालेन्ट’मा प्रतिस्पर्धा गर्न । 

आगामी मेमा हुँदैछ ’अमेरिका गट ट्यालेन्ट’ । यसमा सहभागी हुने उनको अहिलेको सपना हो । आफूसँग भएका विभिन्न प्रतिभा देखाउन पाइने उक्त शोमा प्रकाश सहभागी हुन पाए अंग्रेजी गीत गाउने योजनामा छन् । ‘इफ टुमरो...’, र ‘नो प्रमिसेस..’ सुरुमा गाउने उनको सोच छ । 

गीत गाउन सक्ने प्रकाशमा प्रतिभा छ । शोमा अब्बल प्रस्तुति दिने आत्मविश्वास पनि छ । तर केवल उनलाई अभाव छ त आर्थिक सहयोगको । गट ट्यालेन्टका लागि आर्थिक सहयोगको खोजिमा रहेका उनी भन्छन्, “म बाह्रखरीका पाठकमार्फत् सबैलाई भन्छु, मेरो इमेल आईडी [email protected] मा अथवा मेरो फेसबुकमार्फत् मसँग सम्पर्कमा आएर मलाई सहयोग गर्न सक्नुहुन्छ । यो अपिल विश्वभर रहेका सबै नेपालीसामु गर्न चाहन्छु ।”

“गट ट्यालेन्टमा मैले हेर्दाहेर्दै फिलिपिनीले २० मिलियन युएस डलर लिएर गए,” प्रकाश हाँस्दै भन्छन्, “मलाई त टेन्सन नै भयो नि ! उसले पैसा लग्यो भनेर होइन, त्यति धेरै पैसा भए त मेरो गुमेको दृष्टि फर्काउनका लागि उपचार खर्चको जोहो हुनेथियो र मेरो पहिचान पनि विस्तार हुने थियो । २० मिलियन नै मैले ल्याउन नसके पनि अडिसनमात्रै पार गरे पनि त्यो मेरा लागि हलिउडमा एउटा खुट्किलो हुनेछ । किनकी अमेरिकामा नेपालमा जस्तो ब्लाइन्ड भएकै आधारमा विभेदको शिकार हुनु पर्दैन ।”

मेमा कार्यक्रम सुरु हुन्छ । प्रकाशले अप्रिलसम्ममा पुगिसक्नुपर्छ । त्यसका लागि करिब तीन लाख रुपैयाँ प्रकाशलाई सहयोगको खाँचो छ । त्यही सहयोगको पर्खाइमा छन् उनी अहिले । 

प्रकाशलाई यो रंगीन संसार हेर्ने रहर छ । पैसा भयो भने त्यो सम्भव पनि छ । डाक्टरले उनको आँखाको उपचार सम्भव रहेको बताएका छन् । तर अड्केको छ खर्चले । 
टोकियो युनिभर्सिटीमा र पुसान हस्पिटल कोरियामा पनि प्रकाशले आफ्नो आँखा चेक गराए । नेपालमा डाक्टर सगुनलाई पनि देखाए । उनीहरूका अनुसार प्रकाशको आँखा र मस्तिष्कको कनेक्सन टुटेको छ । जुन नयाँ आँखा फेरेर जोड्नुपर्छ । यो उपचार अष्ट्रियाबाहेक अन्य देशमा सम्भव छैन । उनका अनुसार भियनास्थित मिसनाइज हस्पिटलले मात्रै प्रकाशलाई संसार देखाउन सक्छ । “मेरो जस्तो ६ वटा केस मिसनाइज हस्पिटलले सल्टाएको छ रे । यसका लागि हस्पिटलको फिमात्रै ५० लाख रुपैयाँ लाग्छ भनेको छ । यसकै लागि म गट ट्यालेन्टमा जान लागेको हुँ,” आफ्नो योजना सुनाउँदा मात्रै पनि प्रकाशको मुहारमा संसार देख्ने आशामा खुसीका लाभा दौडिएको प्रष्टै देखिन्छ । 

उनको अर्को सपना सबैभन्दा धेरै भाषामा गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम राख्ने छ । प्रकाश २० भाषामा एकजना स्पेनिशले राखेको रेकर्ड २१ भाषामा गाएर तोड्ने सपना साँचेर बसेका छन् । अहिले प्रकाश ८ वटा भाषामा गीत गाउन सक्छन् । नेपालीसँगै चाइनिज, थाई, अंग्रेजी, हिन्दी, वंगाली, फ्रेन्च भाषामा गीत गाउने उनी जर्मन, आइस्ल्याण्डिक लगायत युरोपकै विभिन्न देशका भाषामा गीत गाउने सोच रहेको सुनाउँछन् । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

उपियाँको रमाइलो कथा 

काठमाडौं । केही महिना अगाडि म्युजिक नेपालले एउटा गीत सार्वजनिक गर्यो । श्रद्धा पराजुलीको स्वर रहेको गीतले नेपाली व्याकरणको नियम

समयअनुसार चल्न सकेनन् कि, बजारले पत्याएन ?

काठमाडौं । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल र राजेश हमाल आफ्नो समयमा नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता

निःसन्तान दम्पतीको छटपटी र खटपटी 'प्रसाद'

“राम्रो फिल्म हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि

‘गोरखापत्र’ सुधार्ने मिसन

– नरेश फुयाँल लगाव वन्यजन्तुप्रति थियो । पक्षी र माटोप्रति थियोे । एसएलसीपछि उनलाई कृषि विषय लिएर पढ्न मन लाग्यो ।