गत मे मा फेसबुकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक मार्क जुकेरबर्ग युरोपेली संसद्मा आएका बेला मैले उनले आफ्नो कम्पनीमा नियन्त्रण गुमाइसकेको भनेको थिएँ । जुकेरबर्गसँग प्रत्यक्ष्य भेट गर्ने थोरै राजनीतिकर्मी हुन पाएकोमा म खुसी पनि थिएँ । तर, उनले मेरा प्रश्नहरूको कुनै ठोस उत्तर नदिँदा भने निराश भएँ ।
यस्तो अनुभव गर्ने म एक्लै भने हैन । संसारभर नै राजनीतिकर्मीहरू नाफाका लागि जबाफदेहीलाई उपेक्षा गर्ने फेसबुकको निरन्तरको प्रयत्नप्रति दिक्क भइसकेका छन् । फेसबुकका हकमा मनग्गे पैसा पाउने मतियारहरूमार्फत् हामी सबैमाथि सधैँका लागि ‘आत्म नियमन’को हौवा थोपरिएको छ । जुकेरवर्गले अमेरिकी कांग्रेस र युरोपेली संसद्मा बयान दिएको पनि महिनौ भइसक्यो तर फेसबुकको व्यावसायिक अभ्यासका सम्बन्धमा उठेका महत्त्वपूर्ण प्रश्नहरू भने अझै अनुत्तरित नै छन् ।
क्याम्ब्रिज एलालाइटिकाको काण्डका सन्दर्भमा फेसबुकले कहिले र के थाहा पायो भन्ने अझै स्पष्ट भएको छैन । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव र बेलायतको युरोपबाट बहिर्गनमको जनमत संग्रहको परिणाममा फेसबुकका माध्यमबाट वैदेशिक हस्तक्षेप कुन मात्रामा भयो भन्ने पनि अझै अस्पष्ट नै छ ।
के फेसबुकबाट निरन्तर गरिने लक्षित प्रचारवाजीको जोखिम लोकतान्त्रिक निर्वाचनमा अझै पनि कायमै छ? फेसबुकले ढाँटी रहेकाले यस विषयमा कसैलाई पनि स्पष्ट थाहा छैन । फेसबुकले गोपनीयताको सुरक्षामा सुधार गरेको दाबी गरेको छ । परन्तु, युरोपेली संसद्ले अनुरोध गरेजस्तो क्याम्ब्रिज एनालाइटिकाको विस्तृत आन्तरिक लेखापरीक्षण गर्न फेसबुक विफल भएकाले युरोपेली संसद्को मेमा हुने निर्वाचन पनि विदेशी हस्तक्षेपको जोखिममा छ भन्ने विश्वास गर्ने पर्याप्त आधार छन् ।
फेसबुक र अरू पनि डिजिटल कम्पनीहरूले युरोपियन कमिसन (ईयु) को घृणत्मक अभिव्यक्ति र भ्रामक सूचनासम्बन्धी ‘आचार संहिता’मा हस्ताक्षर गरेका भए पनि गर्नुपर्ने धेरै बाँकी छ । आचार संहिता धेरै कमजोर छ कम्पनीहरूले तिनले गरेको प्रतिबद्धता पूरा गर्ने म्याद तोकिएको छैन । साथै, प्रविधि कम्पनीहरूले वैयक्तिक सूचनाको दुरुपयोग गर्दा तिर्नु परेको जरिवानालाई कारोबार गर्दाको सामान्य खर्चमात्र नठान्नका लागि ईयुको नयाँ ‘जेनरल डाटा प्रोटेक्सन रेगुलेसन’ लागु गर्ने ठूलो साधनस्रोत आवश्यक हुन्छ ।
युरोपमा प्रविधि कम्पनीहरूलाई उत्तरदायी बनाउन प्रतिबद्ध अभियोजन अनुसन्धान गर्ने निकायको पनि अभाव छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको रुसी हस्तक्षेपको अनुसन्धानकर्ता रबर्ट म्युलरले अमेरिकामा दर्जनौ अभियोगहरू प्रस्तुत गरेका छन्, कतिपय आरोप लगाएका छन् र पनि सामाजिक सञ्जालका हकमा अधिकारसम्पन्न अभियोक्ताको आवश्यकता रहेको देखाएका छन् । युरोपले पनि हालैका चुनावमा भएका अतिक्रमणको अनुसन्धान र अभियोजन तथा तथ्यांकको दुरुपयोगबाट हुने अरू अपराध नियन्त्रण गर्न गर्न विशेष संयन्त्र स्थापना गरेर त्यसको अनुसरण गर्ने बेला भएको छ ।
यसबाहेक, ईयुले तत्काल सबै सदस्य राष्ट्रहरू र भाषामा रुसले चलाएको भ्रामक प्रचार अभियानको पहिचान र विश्लेषण गर्ने सशक्त संयन्त्र विकास गर्नु जरुरी छ । अनिमात्र अभियोजन तथा अन्य नियामक निकायहरूले अपराध पुष्टि र भ्रामक प्रचारयुद्धको प्रभावकारी प्रतिरोध गर्न सक्नेछन् । सही रणनीति भएमात्र हामीले सामाजिक सञ्जालका मञ्चहरूलाई भ्रम फैलाउनबाट जोगाउन र भ्रामक प्रचारवाजी सुरु हुनेबित्तिकै रोक्न सक्नेछौँ ।
ईयुको तहमा सन् २०१५ मा युरोपेली परिषद्ले स्थापना गरेको ‘इस्ट स्ट्राटकम‘ कार्यदलको विस्तार गर्नुपर्छ र यसलाई ईयुको कूटनीतिक सेवाबाट अलग्गै स्वायत्त बनाउनुपर्छ । यसको सिंगो जिम्मेवारी भ्रामक सूचनाको पहिचान, विश्लेषण, खुलासा र निरस्त बनाउनु हुनुपर्छ ।
दीर्घकालीनरूपमा भने फेसबुक र यस्तै अरू मञ्चहरूले पाश्चात्य लोकतन्त्र सामु खडा गरेको चुनौती सामना गर्ने एउटामात्र सुनिश्चित उपाय नियमन नै हो । बैंकहरूको स्वनियमनले सन् २००८ को वित्तीय संकट रोक्न विफल भएजस्तै प्रविधि क्षेत्रको आत्मनियमन पनि फेसबुकलाई जिम्मेवार पात्र बनाउन असफल भएको छ ।
ठूला प्रविधि कम्पनीलाई तह लगाउने गरी नियमन गर्न सबैभन्दा पहिले वैयक्तिक जानकारीको नियन्त्रणमा रहेको एकाधिकार हटाउन प्रतिस्पर्धासम्बन्धी नियमहरूमा सुधारबाट थाल्नुपर्छ । साथै, निजी वा सार्वजनिक क्षेत्रका जुनसुकै पात्रले गर्ने तथ्यांक प्रशोधनलाई पारदर्शी र उत्तरदायी सुनिश्चित गर्न नयाँ नियमहरू पनि आवश्यक छ । परन्तु, अन्ततः फेसबुक र अरू ठूला प्रविधि कम्पनीहरूको विभाजन गर्ने नियम बनाउने सम्भावनालाई उपेक्षा गर्नु हुँदैन ।
मैले जुकरवर्गलाई मेमा जे भनेको थिएँ अझै कायमै छ । उनले आफ्नै सिर्जना फेसबुकलाई नियन्त्रण गरेको देखिएको छैन । उनले फेसबुकलाई नियन्त्रण गरे नै भने पनि उनको मनमा भएको ‘अझ खुला र आबद्ध‘ दुनियाँका सम्बन्धमा हामीले चिन्ता गर्नै पर्छ । भारत र संसारका अरू भागमा दसौं हजार कम तलब पाउने कर्मचारीले प्रत्येक शब्द केलाएर भ्रामक समाचार र घृणास्पद अभिव्यक्ति हो कि होइन भने छानबिन गरेको कल्पना गरौँ त !
‘द न्यु योर्क टाइम्स’ले हालै फेसबुकले आफ्ना प्रमुख आलोचकमध्येका धनाड्य परोपकारी जर्ज सोरोसविरुद्ध भ्रम फैलाउन गोप्य जनसम्पर्क कम्पनीलाई काममा लगाएको खुलासा गरेको छ । यस्तो अस्वीकार्य व्यवहारले फेसबुकले लुकाउनुपर्ने धेरै छ भन्ने स्पष्ट हुन्छ । बेलायतको संसदीय समितिले हालै फेसबुकको आन्तरिक इमेलहरूको छानबिन गर्दा सन् २०१४ देखि नै फेसबुकमा रुसको षड्यन्त्रपूर्ण क्रियाकलापका भइरहेको कम्पनीलाई थाहा भएको रहस्योद्घाटन भएको छ ।
करोडौं मानिसहरूको व्यक्तिगत जानकारी र समाचार र सूचना प्रवाहको अनलाइनमा एकलौटी नियन्त्रण हुँदा लोकतन्त्रका लागि अहिले जोखिम उत्पन्न भएको छ भन्ने स्पष्टै छ । फेसबुकको व्यवस्थापनले पटकपटक यो कम्पनी जिम्मेवारीपूर्वक व्यवहार गर्छ भनेर पत्याउन सकिँदैन भन्ने देखाइसकेको छ । यस्तो कम्पनीले हाम्रो सूचना जानकारी संकलन र भण्डारण गर्छ र आफ्नो क्रियाकलाप स्वच्छ बनाउने प्रयास गर्छ भनेर हामी जनताले विश्वास गर्नुपर्ने कुनै कारण छैन । आत्मनियमन विफल भएको स्पष्टै देखिएको छ । यसैले अब साँच्चै वास्तविक काम गर्नुपर्ने समय भएको छ ।
(बेल्जियमका पूर्व प्रधानमन्त्री तथा युरोपेली संसद्मा लिबरलस् र डेमोक्य्राटस्हरूको समूहका नेता)
Copyright: Project Syndicate, 2018.