फोटोमा तीन दशक

फोटोमा तीन दशक

– नरेश फुयाँल


कक्षा ८ मा पढ्थे विकास (रौनियार) । उमेर सानै थियो । मिनपचासको बिदामा आफन्तको साथ लागेर भारतको पटना पुगेका विकासले त्यहाँ हिन्दी चलचित्र ‘दोस्ताना’ हेरे । ‘दोस्ताना’मा वकिलको बेजोड रोल देखेर लोभिए विकास । अरुलाई चलचित्र हेरेर हिरो हुने रहर सवार हुन्छ, उनले भने वकिल बन्ने सपना सजाए । ठ्याक्कै ‘दोस्ताना’को जस्तै वकिल । तर्कमा बाँच्ने र वादीको पक्षमा लोभलाग्दो वकालत गर्ने ।

०४१ सालमा प्रथम श्रेणी ल्याएर एसएलसी पास गरे । एसएलसीमा राम्रो अंक ल्याएको विद्यार्थीले विज्ञान पढ्नुपर्छ भन्ने मान्यता थियो । त्यो अहिले पनि छ । साथीहरू विज्ञानका मोटामोटा ठेली बोकेर कलेज धाउन थाले । विकासलाई भने ‘दोस्ताना’को वकिलको धङधङीले छोडेको थिएन । त्यस्तै वकिल बन्नु थियो । अदालतमा गएर न्यायाधीशका अगाडि प्रतिवादी वकिलका तर्कमा असहमति जनाउँदै वादीलाई जिताउने रहर रतिभर ओइलाएको थिएन । त्यसैले उनी ‘ल’ क्याम्पसमा आईएल भर्ना भए । ७३ प्रतिशत अंक ल्याएका विकासले मेधावी छात्र भएर छात्रवृत्ति नै पाए । उनीभन्दा दोस्रो अंकधारी ५२ प्रतिशतवाला थिए । विकासले खुब ध्यान दिएर कानुन पढे । अधिवक्ताको लाइसेन्स पनि लिए । अधिवक्ताको सहयोगी भएर पनि काम गरे ।

तर, त्यसअघिको कथा अलि भिन्नै छ ।

कक्षा ९ मा पढ्दा एकजना जापानी शिक्षक उनको स्कुलमा आएर फोटोग्राफी क्लब शुरु गरे । ल्याबमा फोटो कसरी धुलाउने भनेर तिनै जापानीले सिकाए । त्यही बेलादेखि उनमा फोटोग्राफीको शोख पलायो ।

कक्षा १० मा हुँदा काकाले जर्मनीबाट सेकेन्डह्यान्ड मिनोल्टा क्यामरा पठाइदिएका थिए । उनी त्यही क्यामरा चलाउन थाले तर ज्ञान थिएन । त्यसैले उनी अमेरिकन लाइब्रेरी र ब्रिटिस काउन्सिल पुगेर फोटोग्राफीको किताब पढ्थे । अन्तर्राष्ट्रिय पत्रपत्रिकामा फोटोग्राफीसम्बन्धी छापिएका लेख पढ्न थाले । फोटो कन्सर्न गएर सिनियर फोटोग्राफर मोहम्मद खानलाई फोटो खिच्ने र धुलाउने तरिका सोध्थे ।

‘ल’ क्याम्पसमा बिहान कक्षा हुन्थ्यो । सेन्टजेभियर्स स्कुलका पूर्वविद्यार्थीहरूको संगठन थियो, त्यसमा पनि फोटोग्राफी क्लब शुरु गरे विकासले । त्यो क्लबले गर्ने गतिविधिका तस्बिर खिच्थे उनी । केही साथी मिलेर डार्करुम पनि बनाए । त्यसमै उनीहरू फोटो धुलाउँथे । पूर्वविद्यार्थीहरूको संगठनले निकाल्ने पत्रिकाका लागि तस्बिर पनि विकास आफैं खिच्थे ।

०४३ सालमा एलन तुलाधरले ‘स्पार्क’ नामक म्यागेजिन प्रकाशन शुरु गरे । कानुन पढेको हुँदा त्यो पत्रिका दर्ता विकासले गरिदिए । कानुनी सल्लाहकार पनि उनै बसे । फोटोग्राफीमा रुचि पनि भएको र क्यामरा पनि आफैंसँग भएकाले ‘स्पार्क’का लागि तस्बिर विकासले नै खिच्न थाले । शोख बढ्दै गयो ।

०४४ सालको अन्तिमतिर एकदिन बिहान विकास ‘ल’ क्याम्पस जाँदै थिए । रत्पार्कस्थित विद्युत् प्राधिकरणको कार्यालयअगाडि हतियार लोड गरेका ट्रक सेनाको मुख्यालयतर्फ गइरहेको विकासले देखे । संयोगले त्यो दिन क्यामरा उनको साथमै थियो । रिलमा चार शट बाँकी थियो । कक्षा सकेर दिउँसो रिल धुलाउन जाने भनी क्यामरा बोकेका थिए । ट्रकमा ‘एन्टी एयरक्र्याफ्ट गन’जस्तो र तोपजस्तो देखेपछि उनलाई बाँकी शट त्यहीँ खिचेर सकाइदिऊँ जस्तो लाग्यो । र, चार शट क्लिक गरे ।

त्यो बेला नेपालले चीनबाट हतियार मगाएको थियो । आफूलाई बाइपास गरेको झोकमा राजीव गान्धीनेतृत्वको भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएको थियो । त्यो घटनाले नेपालको राजनीतिमा तरंग पैदा गरिदिएको थियो ।

केही समयपछि ‘स्पार्क’मा एउटा लेख आयो । त्यो लेख हतियार, भारत, चीन र नाकाबन्दीमा केन्द्रित थियो । लेखका लागि विकासले खिचेको तस्बिर म्याच गर्ने भएपछि त्यही तस्बिर राखेर लेख छापियो ।

‘एसोसिएटेड प्रेस (एपी)’का संवाददाता विनय गुरुवाचार्यले त्यो तस्बिर मागे । ‘एपी’ले त्यो तस्बिर विश्वभर फैलायो । त्यसको जानकरी विकासले फ्याक्समार्फत पनि पाए । त्यो तस्बिर दिएबापत उनले सय अमेरिकी डलर पाए । विश्वभर छापिएको तस्बिर, त्यसले पाएको रेस्पोन्स र प्राप्त सय डलरले फोटोग्राफीमा शोखमात्रै भएका विकासलाई पेशा नै बनाउन प्रेरित गर्‍यो ।

त्यही समयमा वसन्त चौधरीले ‘इन्डिपेन्डेन्ट’ नामक अंग्रेजी पत्रिका प्रकाशन शुरु गरे । त्यो पत्रिकाका लागि ‘गोरखापत्र’का फोटोग्राफर गोपाल चित्रकारले फोटो उपलब्ध गराउँथे । गोपाल व्यस्त थिए । उनले नभ्याएका बेला विकासले फोटो खिचिदिन्थे । फ्रिलान्सरका रूपमा काम गरिरहेका थिए । ठीक त्यही समय रूपा दीक्षितले उनलाई बोलाइन् । ‘हिमाल’ प्रकाशन हुन्थ्यो । त्यसमा धूमपान र स्वास्थ्यमा केन्द्रित रहेर एउटा स्टोरी गरिन् । त्यो लेखका लागि विकासले चुरोट पिइरहेका तस्बिरहरू खिचे । ‘हिमाल’का लागि पनि उनी नियमित तस्बिर पठाउन थाले ।

‘हिमाल’मा काम गरिरहेका बेला ‘कान्तिपुर’ दैनिक प्रकाशन शुरु हुने तयारी भयो । ‘जनमञ्च’मा काम गरिरहेका चन्द्रशेखर कार्की ‘कान्तिपुर’ आइसकेका थिए । विकासका काका ‘कान्तिपुर’का संस्थापक सम्पादक योगेश उपाध्यायका साथी थिए । योगेशले ‘कान्तिपुर’मा बोलाए ।

“त्यो बेला ‘कान्तिपुर’मा ‘र’ले लगानी गरेको भनेर मलाई ‘इन्डिपेन्डेन्ट’का सम्पादकले डिस्करेज गरे । तर, पनि योगेश दाइलाई भेट्न गएँ,” विकास सम्झन्छन्, “योगेश दाइले तस्बिर ल्याउन भन्नुभयो, मैले ४०–५० वटा तस्बिर दिएँ । डमी अंकमै छापिए ती तस्बिर ।”

पत्रिका प्रकाशन हुनै लागेको थियो । दक्षिण ललितपुरमा पाकिस्तान इन्टरनेसनल एयरको विमान दुर्घटना भयो । त्यसको तस्बिर खिच्नुपर्ने भयो । चन्द्रशेखर विराटनगर गएका रहेछन् । योगेशले फोन गरे, “विकास, चन्द्रशेखर विराटनगर गएको छ । प्लेन क्र्यासको फोटो खिच्नु पर्‍यो । भोलि बिहान मेरा दुई जना रिपोर्टर जान्छन् ।”

अर्को दिन बिहानै साढे ५ बजे थापाथली प्रसूतिगृहनजिक विकास आए । ‘कान्तिपुर’का दुई जना रिपोर्टर आए । हात मिलाए तर परिचय भएन । उज्यालो भएपछि चिया खान चियापसलमा ओर्लिएका बेला परिचय भयो । ती दुई जना प्रतीक प्रधान र नारायण वाग्ले रहेछन् । कालान्तरमा उनीहरू दुबै सम्पादक भए । प्रतीक ‘काठमान्डू पोस्ट’ र नारायण ‘कान्तिपुर’को । 

‘कान्तिपुर’को डमी पेजमा प्लेन दुर्घटनाको तस्बिर छापिएन । चन्द्रशेखरले मागेर ‘जनमञ्च’को कभर पृष्ठमा प्रकाशन गरे । त्यतिबेला चन्द्रशेखर ‘जनमञ्च’मै कार्यरत थिए । चन्द्रशेखरले ‘कान्तिपुर’मै काम गर्न विकासलाई सुझाए । ‘कान्तिपुर’ प्रकाशनको अघिल्लो दिन ०४९ फागुन ६ गते विकासले नियुक्तिपत्र पाए । त्यही दिनबाट उनले व्यावसायिक रूपमा फोटो खिच्न थाले ।

‘कान्तिपुर’को पहिलो अंकको पहिलो पृष्ठमा छापिएको तस्बिर विकासकै थियो । प्रजातन्त्रको माग गर्दै न्युरोडअगाडि निस्किएको जुलुसको तस्बिर ‘कान्तिपुर’ले विकासलाई क्रेडिट दिएर छापेको थियो । त्यो तस्बिर उनले रहरैरहरमा खिचेका थिए । ‘कान्तिपुर’ले फाइल फोटोको रूपमा तीन वर्षपछि त्यसलाई छाप्यो । ‘काठमान्डू पोस्ट’मा भने उड्दै गरेको परेवाको तस्बिर थियो । त्यो तस्बिरमा विकासले क्रेडिट भने पाएका थिएनन् ।

‘कान्तिपुर’मा जुनियर फोटो पत्रकारका रूपमा प्रवेश गरेका विकास २२ वर्षपछि ‘कान्तिपुर’ छाड्दा फोटो सम्पादक भइसकेका थिए ।

‘विशेष मान्छे’

तस्बिर खिच्न सजिलो थिएन तर विकासले यसलाई चुनौतीका रूपमा कहिल्यै लिएनन् । किनकि एकातिर रुचिको विषय थियो, अर्कोतर्फ पेशा ।

सरकार–माओवादी शान्ति–सम्झौताको दिन समाचार फोटोका लागि पत्रकारले लामो प्रतीक्षा गरेका थिए । बालुवाटारको त्यो दिनको तस्बिरका लागि फोटोग्राफरहरू बिहानै ७ बजे बालुवाटार प्रवेश गरिसकेका थिए ।

एक दशक द्वन्द्व मच्याएर राज्यलाई त्राहिमाम पारेका प्रचण्ड पहिलोपटक सार्वजनिक हुँदै थिए । उनको तस्बिर खिच्ने लालसा जति पत्रकारमा थियो, त्यति नै हतारो पनि । तर, राति ८ बजेमात्रै त्यो अवसर मिल्यो । त्यो लामो प्रतीक्षा गर्नेमा विकास पनि एक थिए ।

विकासले कति भुइँमान्छेका तस्बिर खिचे, कति ‘हाई–प्रोफाइल’का । यही पेशाले कतिसँग उनलाई नजिक बनायो, कति सम्बन्ध आत्मीय भए ।

उनको परिवार कांग्रेस विचारधारामा आस्था राख्थ्यो । गणेशमान सिंहसँग उनको पारिवारिक सम्बन्ध राम्रो थियो । यो चिनजानले उनलाई फाइदा नै पुर्‍यायो ।

भारतीय नेता इन्दरकुमार गुजराल काठमाडौं आएका थिए । उनी कांग्रेस नेता गणेशमान सिंहसँग भेटर्वार्ता गर्न चाक्सीबारी पुगे । फोटोपत्रकारहरू पनि भेटर्वार्ताको तस्बिर लिन चाक्सीबारी पुगे । तर, पत्रकारलाई तस्बिरका लागि भित्र पस्नै दिइएन । विकासले भने सहजै प्रवेश पाए ।

महाकाली सन्धिका बेला प्रणव मुखर्जी भारत सरकारको विदेश मामिला मन्त्री थिए । नेपालमा गृहमन्त्री शेरबहादुर देउवा थिए ।  सिंहदरबारमा उनीहरूको भेट थियो । फोटो पत्रकार फोटो खिच्न सिंहदरबार पुगे तर त्यहाँ पनि उस्तै । अरु पत्रकार बाहिरै थिए । एक कांग्रेस नेताले विकासलाई सुटुक्क भित्र छिराए । 

० ० ०

विकासले फोटो पत्रकारिता जागिर र पैसाका लागि मात्रै गरेका थिएनन् । शोख थियो । पहिला शोख अनिमात्रै जागिर थियो । त्यसैले कलात्मक तस्बिर खिच्न उनलाई रुचि थियो ।

एकदिन । कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री हुँदै थिए । शपथका लागि दरबार नारायणहिटी दरबार छिरे । कतिबेला उनी बाहिर निस्किएलान् र उनको बाइट लिउँला भनेर बसेका पत्रकार र तस्बिरका लागि फोटोग्राफर कुरिरहेका थिए । गोधुली साँझ थियो यद्यपि आकाश नीलै थियो । त्यसको प्रतिविम्ब पृथ्वीमा छरिएको थियो । गेटको चिम झुलुक्क बल्यो । त्यसको पछाडि चन्द्रमा देखियो । राम्रो लागेर दायाँ–बायाँ क्यामरामा कम्पोज गरिरहेका बेला एउटा चरा ठ्याक्क आएर बस्यो । त्यही बेला विकासले क्यामरा क्लिक गरे ।

“त्यो तस्बिर मैले खिचेकामध्ये राम्रो लागेको एउटा हो,” विकास भन्छन्, “त्यो तस्बिर कतिले ठूलो पारेर राखेको देख्छु, कतिको ग्यालरीमा देख्छु । यस्तै तस्बिर खिच्छु भनेर होइन, अचानक खिचिएको तस्बिर थियो त्यो ।”

० ० ०

०५१ सालको मध्यावधी चुनाव जितेर एमालेले सरकार बनायो । नेपालकै इतिहासमा पहिलोपटक मनमोहन अधिकारी कम्युनिस्ट प्रधानमन्त्री बने । शपथग्रहणको तस्बिर खिच्न चन्द्रशेखर दरबार गए । उषा तिवारी र विकास ‘कान्तिपुर’मा थिए । “चन्द्रशखेरले त शपथको फोटो खिच्ने भए, हामीचाहिँ के गर्ने ?” उनीहरूबीच कुरा भयो ।

उषा मनमोहनसँग नजिक थिइन् । विकासले उषालाई ‘बालुवाटार जाऊँ, उहाँ बेलुका त त्यहीँ आउनुहुन्छ’ भने । साँझ ५ बजे नै उनीहरू बालुवाटार पुगे । प्रधानमन्त्रीपत्नी साधना प्रधानले उषालाई राम्रोसँग चिन्थिन् । देख्नेबित्तिकै साधनाले भनिन्, “ए उषा, आऊ आऊ, भित्रै आऊ ।”

उषाको साथीका नाताले विकास उनको पछि लागेर भित्रै छिरे । चिया खाए । प्रधानमन्त्री मनमोहनलाई कुरे । पौने ७ बजे मनमोहन बालुवाटार आइपुगे । स्वागत भयो । विकासले तस्बिर खिचे । ७ बज्यो । मनमोहनले ‘७ बज्यो, टिभी खोल समाचार आउँछ’ भने ।

टिभी खोलियो । समाचार शुरु भयो । पहिलो समाचारै प्रधानमन्त्रीको आयो । माला लगाएका प्रधानमन्त्री मनमोहन सोफामा बसेर आफैंले शपथ लिएको तस्बिर हेरिरहेको तस्बिर विकासले खिचे ।

‘गज्जब फोटो खिचें’ भन्दै दंग परेर विकासले राति ९ बजे डेस्कमा तस्बिर छोडेर अफिसबाट निस्किए । भोलिपल्ट बिहान ‘कान्तिपुर’मा फोटो त थियो तर शपथ लिएको । मनमोहनले आफ्नै शपथको समाचार हेरिरहेको फोटो थिएन, मनै खिन्न भयो ।

तर, त्यही बेला जर्मन पत्रकार लुड्मिला टुटिनले विकासलाई ‘मनमोहन अधिकारीसँग अन्तर्वार्ता छ, जाऊँ’ भन्दै फोन गरिन् । लुड्मिलाका लागि उनले मनमोहनको तस्बिर खिचिदिए । त्यहाँ उनले लुड्मिलालाई आफूले हिजो रोचक फोटो खिचेको भन्दै झोलाबाट निकालेर देखाए । उनले त्यो तस्बिर मनपराइन् । पठाइन् । एक हप्तापछि ‘डर स्पिगर्ल’मा मनमोहनले आफ्नो समाचार हेरेको आधा पृष्ठको तस्बिरसहित अन्तर्वार्ता छापियो । विकासले त्यसका लागि डेढ सय डलर पनि पाए ।

‘डर स्पिगर्ल’मा छापिएपछि ‘कान्तिपुर’का सम्पादक योगेश उपाध्यायले फेरि विकासँग मागे, भित्री पृष्ठमा छापियो ।

विकासले केही फोटो प्रतिस्पर्धा पनि जिते । युनेस्कोले आयोजना गरेको फोटो प्रतिस्पर्धामा उनले दुई पटक बाजी मारे । पर्साको अलौमा आधा शरीर पोखरीमा डुबाएर उभिएको भैंसीमाथि बसेको बच्चाले भैंसीलाई नुवाइदिइरहेको तस्बिर थियो । त्यो तस्बिर जापानी पत्रिकाले माग्यो । युनेस्कोको पुरस्कार जितेर १७ हजार पाएको उक्त तस्बिर प्रयोग गरेबापत जापानी पत्रिकाले भने २४ हजार रुपैयाँ दियो । त्यही पैसाले मिनोल्टाको नयाँ क्यामरा किने ।

‘इन्डिया टुडे’, ‘लस एन्जलस टाइम्स’, ‘न्युयोर्क टाइम्स’, ‘ईपीए’, ‘एपी’, ‘एएफपी’, ‘आउटलुक’, ‘गार्जियन’, ‘पिपुल एन्ड प्लानेट’ लगायत थुप्रै विदेशी समाचार संस्थामा विकासका तस्बिर छापिए ।

समय डिजिटल युगमा प्रवेश ग¥यो । डिजिटल क्यामरा प्रयोग हुन थाल्यो । नेगेटिभमा तस्बिर खिच्ने जमाना इतिहास भयो । तस्बिर खिच्नका लागि नेगेटिभमा जस्तो महँगो नपर्ने भयो । तर, विकासले जति पनि राम्रा तस्बिर खिचे, ती सबै मिनोल्टाको सेकन्डह्यान्ड क्यामरा र रिलमै खिचे । त्यसैले उनी भन्छन्, “महँगो पर्ने राम्रो डिजिटल क्यामरा हातमा हुँदैमा राम्रो तस्बिर खिचिँदैन । राम्रो तस्बिर खिच्नका लागि त फोटोग्राफरमा तस्बिर कम्पोज गर्ने सुन्दर कला हुुनुपर्छ ।”

आज राम्रो तस्बिर खिच्छु भन्दैमा राम्रो तस्बिर कैद गर्न सकिन्छ भन्ने हुँदैन । त्यसका लागि त धैर्य चाहिन्छ, प्यासन चाहिन्छ अनि त्योभन्दा पनि महत्वपूर्ण त कम्पोज गर्ने क्षमता चाहिन्छ ।

रिलमा गनीगनी तस्बिर खिच्नुपथ्र्यो । रिल सकिने डर हुन्थ्यो । तर, डिजिटल क्यामरा आविष्कारसँगै त्यो अवस्था सकियो । अहिले केवल ब्याट्री चार्ज गरे पुग्छ । त्यसैले एउटा तस्बिरका लागि अनगिन्ती शट लिए पनि फरक परेन । तर, विकास अहिले पनि त्यति धेरै शट लिँदैनन् । समय लगाएर कम्पोज गर्छन् र सीमित शट खिच्छन् ।

“पहिला हामी तस्बिर खिच्नुअगाडि कम्पोजमा ध्यान दिन्थ्यौं । पाँच वटा तस्बिर खिच्दा तीन वटा तस्बिर उत्कृष्ट हुन्थे, अहिले हामी तस्बिर खिच्नुअघि कम्पोजमा ध्यान दिँदैनौं, पोस्ट प्रडक्सनमा मिलाउँछौं । त्यसैले डिजिटल क्यामरा प्रयोगसँगै हामी अल्छी भयौं कि जस्तो लाग्छ,” अन्तिममा विकास भन्छन् ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

उपियाँको रमाइलो कथा 

काठमाडौं । केही महिना अगाडि म्युजिक नेपालले एउटा गीत सार्वजनिक गर्यो । श्रद्धा पराजुलीको स्वर रहेको गीतले नेपाली व्याकरणको नियम

समयअनुसार चल्न सकेनन् कि, बजारले पत्याएन ?

काठमाडौं । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल र राजेश हमाल आफ्नो समयमा नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता

निःसन्तान दम्पतीको छटपटी र खटपटी 'प्रसाद'

“राम्रो फिल्म हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि

‘गोरखापत्र’ सुधार्ने मिसन

– नरेश फुयाँल लगाव वन्यजन्तुप्रति थियो । पक्षी र माटोप्रति थियोे । एसएलसीपछि उनलाई कृषि विषय लिएर पढ्न मन लाग्यो ।