site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छोडिसकेको त्यो बाटो
Ghorahi CementGhorahi Cement

— राजेश खनाल


सधैं साँझको थलो बन्थ्यो— नाचघरछेउको फलामे रेलिङ । सभागृहको सिँढी । अनि प्रज्ञा प्रतिष्ठानको चौर । कुनै दिन कता, कुनै दिन कता । भौतारिनु नै नियति थियो । साप्ताहिक पत्रिकामा काम गरिन्थ्यो जो !

सातामा एउटा लेखौट मेरो भागमा थियो । एउटा नाटकको समीक्षाले त्यो ठाउँ भर्‍यो, यदाकदा नाटकका कलाकारसँगको कुराकानी हाल्यो । त्यसबाहेक पत्रिकाको कार्यालयमा आएका विज्ञप्ति र खुद्रे समाचारलाई छाप्न योग्य बनाउने जिम्मा लगाउँथे, अग्रज पत्रकारहरू । लेख्यो र मसीको गन्धले रँगमँगिएको कोठामा गीत गाउँदै शिशाको उल्टो अक्षर मिलाउँदै कम्पोजिटरको जिम्मा लगायो । बस्, पत्रकारिताका नाममा यति नै गरिन्थ्यो । यसरी नै सिकियो पत्रकारिता ।

Agni Group

लेखे पनि, नलेखे पनि बानी भइसकेको थियो नाचघरतिरको रेलिङमा अडेस लगाएर गफिने । कहिले कलाकारसित गफियो, कहिले सहधर्मी पत्रकार साथीसित । कहिले नाटक हेर्न आएका दर्शकसित । कहिलेकाहीँ गफैगफमा पनि समाचार बन्थ्यो । आफ्नो जिम्माको कोलम नै त्यसले भरिन्थ्यो ।

त्यो बेला आफूले लेखेको राख्ने चलन थिएन । साहित्य भए शायद संग्रह गरेर राखिन्थ्यो होला । समाचार र आलेखको रेकर्ड किन राखिरहनु पर्‍यो र ! समाचार वा समीक्षामा बाइलाइन भएपछि त्यसैले काण्ड पुग्थ्यो । यसै त ठूलो नाक, बाइलाइनले झनै फर्सीझैं फुलाउँथ्यो ।

Global Ime bank

साथीभाइका नाटक मञ्चन हुँदा हलभित्र छिरेर दर्शकको संख्या पनि नबढाएको होइन । बेलाबेला यस्तो पनि गरियो । हैन भने आफ्नो बाटो ततायो । अधिकांशतः प्रेक्षालयबाट निस्किँदा साँझको ८ बजेकै हुन्थ्यो । त्यसपछि रत्नपार्कको चर्चित हीरा रिमझिम भोजनालयमा भोजन गरेर भुँडी ठटाउँदै बागबजारमा रहेको डेरातिर लागिन्थ्यो । बागबजारमा डेरा भएकोले पनि होला— त्यसबेला रातिराति घुम्ने बानी परेको थियो । ९–१० बजेभन्दा अगाडि कोठामा पुगेको अवस्था कमै छ ।

यसरी विभिन्न साप्ताहिक पत्रिकामा तोकिएको ठाउँ भर्ने काम हुँदै आएको थियो । तिनताक कृष्णप्रसाद गौतम (माहिला दाइ अर्थात माल्दाइ)ले विभिन्न नामधारी पत्रिका प्रकाशन गर्दै आएका थिए । उनले प्रकाशन गरेको पत्रिकामा पनि लेखिन्थ्यो ।

रत्नपार्कको सोह्रहाते गणेशछेउमा माल्दाइको पत्रिका पसल थियो । मौका मिल्दा त्यहीँ बसेर चिया पिउँदै गफ चल्थ्यो । एकदिन माल्दाइले चिया पिउँदै गर्दा मलाई भने, “कामनाजस्तै एउटा फिल्मी पत्रिका निकालौं । खुबै चल्छ । नाम राखौं ‘शुभकामना’ ।”

माल्दाइले फिल्मी पत्रिका प्रकाशनको प्रसंग उठाउँदा पनि यो ज्यानमा खासै तरंग उत्पन्न भएन । खासमा, फिल्म हेर्न अत्यधिक रुचि भए पनि फिल्मी पत्रिकामा मेरो खासै रुचि थिएन । त्यतिबेलाका चर्चित फिल्मी पत्रिकाहरू ‘माधुरी’, ‘मायापुरी’, ‘फिल्मी दुनियाँ’ पढे पनि त्यस्तै पत्रिकामा काम गर्नुपर्छ वा पत्रिका निकाल्नुपर्छ भन्ने दिमागले कहिल्यै सोचेन ।

\"\"

‘कामना’ ट्याब्लोइड साइजदेखि म्यागजिन साइजमा आउँदासम्म पनि पढियो । तर, ‘कामना’मा काम गर्र्ने प्रयास गर्नुपर्छ वा कामनाजस्तै ‘शुभकामना’ निकाल्नुपर्छ भन्नेतर्फ शरीरका कुनै अंगले ग्रिन सिग्नल दिएनन् । ‘खाया पिया धोया हात, तेरा मेरा अब क्या साथ’ भनेजस्तै पत्रिका पढ्यो, सकियो ।

‘नेपालवाणी’, ‘नेपाल पुकार’ जस्ता पत्रिकामा पुरुषोत्तम दाहाल, श्री आचार्य, जयप्रकाश आनन्द दाइहरूसित काम गर्दा पनि ‘देशान्तर’ र ‘विमर्श’मा काम गर्न पाए हुन्थ्यो भन्ने लालसा कम भएन ।

खैर । त्यस दिन माल्दाइको कुरा सुनियो । अनि दुई कानको पूर्ण प्रयोग गरियो । एउटाबाट सुनेर अर्कोबाट फ्याँकियो । त्यतातिर रुचि भएको भए पहिलो दिनै केही कुरो हुन्थ्यो कि ! साप्ताहिक पत्रिकाहरूसँग जोडिएकाले लेखेका सामग्री छापिन्थे नै । पत्रिका निकाल्ने सकस किन मोल्ने ? त्यसैले पनि माल्दाइको कुरालाई हावादारी मान्दै हावामै उडाइयो ।

दुई–चार दिन यसै बिते । अर्को साता उनी म कार्यरत अफिसमै आइपुगे । पुतलीसडकमा अफिस थियो । त्यहीँ आएर उनले फेरि ‘शुभकामना’को कुरो कोट्याए । निकैबेर उनले पत्रिका निकाल्ने कुरा गरिरहे । यसपटक भने माल्दाइको कुरालाई सजिलै उडाउन सकिनँ ।

केहीबेर उनका कुरा सुनें । उनी गए । म अफिसकै काममा लागें । त्यसको केही दिनपछि सान्दाइ (पत्रकार शक्तिराम भण्डारी)को ‘जागृति’ साप्ताहिकको अफिस पुगें । माल्दाइले रोपिदिएको खुल्दुलीले मलाई खुबै सताएको थियो । त्यसैकारण सान्दाइसँग कुरैकुरामा माल्दाइको प्रस्तावबारे खोलें । पत्रकारिताका मेरा ‘गडफादर’ सान्दाइ हाँसे । कुनै जवाफ दिएनन् । उनले ‘कुरो अगाडि नबढा’ भनेर संकेत दिएको अनुमान गरें ।

बस् पुग्यो, अब ‘शुभकामना’तिर ध्यान नदिने— मनले यही निर्णय गर्‍योे ।

\"\"

एकदिन रंगकर्मी र पत्रकारितामा पनि सक्रिय मोहन निरौला मैले काम गर्ने अफिस आइपुगे । उनलाई देखेपछि माल्दाइको प्रस्ताव उप्काउन मन लाग्यो । उप्काएँ । यहाँ भने उनले पोजेटिभ कुरो गरे, “माल्दाइले पत्रिका प्रकाशन गर्छन् नै भने त थालौं न त !”

अल्छीले गलित भएको शरीरमा जति नै ऊर्जा दिए पनि त्यसले काम गर्न सक्दैन । त्यस्तै भयो मलाई । फिल्मी पत्रिकामा काम गर्ने मन मलाई खासै थिएन । तर, मोहन दाइले हौस्याइरहे ।

लगभग महिना, डेढ महिनापछि मात्रै माल्दाइसँग बस्यौं हामी । कुराकानी भयो– मोहनजी, कृष्णजी र मेरो बीचमा । अन्ततः ‘शुभकामना’ नाममा फिल्मी पत्रिका प्रकाशन गर्ने निष्कर्ष निस्कियो । मोहन दाइ फिल्मी क्षेत्रसँग जोडिएकाले पनि उनले आँटेका थिए । मलाई त्यत्तिको आँट थिएन । त्यसैले मलाई अघिल्लो रातको ह्याङले नछोडेको जस्तो अनुभूति भइरह्यो, कैयन् दिन ।

माल्दाइ प्रकाशक भएकाले हौसिनु स्वाभाविक थियो । मोहन दाइ पनि ‘निस्किहाल्छ नि’ भन्दै थिए । आफूलाई भने फिल्मी क्षेत्रसँग जोडिन सकस भइरहेको थियो । कुरोको टुंगो लागेपछि लगानीकर्ता ताते । हामीमा पनि हिम्मत बढ्दै गयो । त्यसैबीचमा अरु केही साथी पनि सहयोगीका रूपमा आए ।

मैले सान्दाइसँग कुरा उठाएँ । राजेश भण्डारी सँगै थिए । उनले ‘म सहयोग गर्छु’ भने । उनी ‘शुभकामना’को टिममा आए । यसरी हामी तीनजनाले काम थाल्यौं ।

समाचार, अन्तर्वार्ता, गसिप र अन्य सामग्री जुटाएपछि डिजाइनका लागि सुन्दर श्रेष्ठ र रत्न श्रेष्ठको आइडियल डिजाइनरमा पुगियो । फिल्मी पत्रिका भएकोले अफसेट प्रविधिमै छाप्ने निधो थियो हाम्रो । तर, पत्रिकाको डिजाइन सकिँदै गर्दा माल्दाइले आधा अफसेटमा छाप्ने र आधा लेटरप्रेसमा छाप्ने निर्णय सुनाए । पूरा अफसेटमा छाप्दा धेरै महँगो पर्ने भएकोले माल्दाइ हच्किए ।

अफसेट प्रेस र लेटर प्रेसको उहापोहमा ‘शुभकामना’को समाचार बासी हुँदै गयो । कुराकानीको सन्दर्भ पुरानो भयो । स्पाइसी गसिपको तिक्खरपना हरायो । सबै सेलायो । मोहन र राजेश स्क्वायर पनि सेलाए । त्यसपछि माल्दाइ पनि हराए । ‘शुभकामना’ पनि हरायो ।

धेरै मेहनत गरिएको थियो । त्यसैबीच दुई–चार हिरो, हिरोइनसँग चिनापर्ची भएको थियो । ग्ल्यामरको रसले अलिकति लोभ्याएको थियो । शायद त्यसैले पनि अलिकति ऊर्जा थपेको थियो । त्यसैले ‘शुभकामना’ हराउँदा मन खिन्न भयो । मोहन दाइ र अर्का राजेशको मन खिन्न भयो÷भएन थाहा छैन ।

उता पब्लिसिटी डिजाइनर सुन्दरजी र रत्नजीसँग त्यो सानो अवधिमा पनि आत्मीय सम्बन्ध बन्यो । उनीहरू त्यसबेलाको हिट चलचित्र ‘सन्तान’को पोस्टर र सिनेमा हलका लागि आवश्यक ‘शो कार्ड’को तयारीमा थिए । त्यसका लागि उनीहरू ‘सन्तान’का निर्माता भगवानदास श्रेष्ठको अफिस ‘ओम प्रोडक्सन’ (क्षेत्रपाटी) गइरहन्थे ।

कुरैकुरामा भगवानदासले ‘शुभकामना’को कुरा उप्काएछन् । सुन्दरजी र रत्नजीले ‘शुभकामना’ हराएको कुरो सुनाए । ‘केटाहरू रहर बोकेर आएका थिए । रहर पूरा गरे, हराए’ भनेर सुनाए होलान् उनीहरूले ।

भोलिपल्ट सुन्दर र रत्नजीले भने, “फिल्मी पत्रिका प्रकाशित हुन्छ । नयाँ नाममा प्रकाशित हुन्छ । प्रकाशक भगवानदास हुने तर उनी प्रचारमा नआउने । प्रकाशकमा हाम्रो नाम रहन्छ ।” हामी चकित भयौं ।

\"\"
 त्यसपछि मात्रै ‘चलचित्र’ मनोरञ्जनात्मक मासिक प्रकाशन गर्ने कुरा नयाँ बिन्दुबाट शुरु भयो । ‘शुभकामना’का पुराना समाचार र आलेख हटाइयो । नयाँ सामग्रीको खोजी भयो । त्यसपछि चलचित्रमा जोडिए श्रीओम श्रेष्ठ रोदन । संस्कृतिसम्बन्धी लेखरचना नियमित लेख्ने जिम्मा लिए मदन रिमाल दाइले । (आज मदन दाइ त्रिविको संस्कृति विभाग प्रमुख छन् ।)

मन नहुँदा नहुँदै पनि ०४५ वैशाख ५ गते ‘चलचित्र’ मासिकको पहिलो अंक प्रकाशित भयो, ट्याब्लोइड साइज र श्यामश्वेत कलेबरमा । दुई अंक ट्याब्लोइड आकारमा छापिएको पत्रिका तेस्रो अंकदेखि ‘म्यागेजिन’ साइजमा रंगीन भएर निस्कियो ।

यहाँबाट पत्रकारिता यात्रामा एउटा अर्को अध्याय शुरु भयो मेरो । पहिले कहिले ‘जागृति’ साप्ताहिकका तर्फबाट राष्ट्रिय पञ्चायतको रिपोर्टिङ गर्थें, कहिले ‘नेपालवाणी’, ‘नेपाल पुकार’ र ‘प्रकाशदीप’का लागि राजनीतिक, सामाजिक र रंगमञ्चसँग जोडिएका समाचर लेख्थें । तर, माल्दाइका कारण सिने पत्रकारितामा हात हालें ।

आज सिने पत्रकारितामा बिताएको त्यो ८–१० वर्षको समय मेरा लागि खासै उत्पादनमूलक नभएको अनुभूत हुन्छ । शायद यो भनिरहँदा गलत होला किनभने त्यसले एक किसिमका पाठकमाझ हामीलाई चिनाएको त थियो, पाठकले ‘चलचित्र’ मन पराएका पनि थिए तर लेखनका हिसाबले र व्यावसायिक रूपमा त्यो खालको पत्रकारिताले कुनै सार्थक सहयोग गरेको मलाई लाग्दैन ।

मैले समयमै सिने पत्रिकालाई बाईबाई गर्न सकिनँ । तर, जोडिएर रहन पनि सकिनँ । सिने पत्रकारिताबाट बिस्तारै–बिस्तारै ओझेल पर्दै गएँ ।

अस्ति मित्र जयप्रकाश त्रिपाठी भेट भए । उनीसँग केहीबेर कुरा भयो । मैले भनें, “त्यो ८–१० वर्षको समयले हामीलाई बिगारेकै हो ।” उनी पनि सहमत भए ।

अरुले हेर्दा नबिग्रिएको जस्तो देखिए पनि मनमा लाग्छ— हामी त्यो अवधिमा नराम्ररी बिग्रिएका नै हौं ।

‘चलचित्र’को प्रकाशन बन्द भएको पनि २० वर्ष भइसकेको छ । यसैले त्यो बाटो छोडिसकिएको छ । अर्कै बाटो समाइएको छ । ‘चलचित्र’ स्मृतिमा सीमित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC