यो धर्ती मानवको मात्रै सम्पत्ति होइन । यसमाथि पशुपक्षीलगायत सबै प्राणीको उत्तिकै अधिकार छ । आज पक्षीले आक्रमण गरे भने भोलि अरु कसैले गर्न सक्छ । फिल्म ‘२.०’का निर्देशक शंकरले जबर्जस्त प्रविधिको माध्यमबाट यही सन्देश दिन खोजेका छन् ।
भारतीय सिने जगतको सबैभन्दा महँगो फिल्म ‘२.०’मा निर्माताले यसमा हलिउडजत्तिकै थ्रीडी र भीएफएक्स प्रयोग गरेका छन् । यही कारण फिल्मको बजेट ६ अर्ब भारुभन्दा माथि गएको छ । ‘२.०’लाई सन् २०१० मा प्रदर्शित ‘रोबोट’को सिक्वेल हो । यद्यपि यसको कथा ‘रोबोट’भन्दा बिल्कुल फरक छ । तर, यसका केही पात्र ‘रोबोट’बाट लिइएका छन् । कथाको धर्सो अघिल्लो फिल्मसँग कतै न कतै जोडिन्छ पनि ।
मोबाइलको विकिरणले हुने अनेकन् समस्याबाट आजित भएर एक पक्षी विशेषज्ञ पक्षीराजन (अक्षय कुमार)ले मोबाइल टावरमा झुन्डिएर आत्महत्या गर्छन् । केही समयपछि चेन्नई शहरमा अचानक मान्छेका हातबाट मोबाइल छुटेर आकाशतिर जान्छन् । मोबाइल फोनले मान्छेको ज्यान लिन थाल्छन् । र, मोबाइल फोनबाट बनेको खतरनाक पक्षीले शहरमा आक्रमण गर्न थाल्छ । अचानक भएको यो घटनाले भागदौड मच्चिन्छ ।
डक्टर वसीकरण (रजनीकान्त) यो चुनौतीको सामना गर्न रोबोट चिट्टी (रजनीकान्त)लाई पुनः ब्युँताउने प्रस्ताव गर्छन्, जसलाई अघिल्लो फिल्ममा संग्रहालय लगेर राखिएको हुन्छ । यसपटक वसीकरणसँग उनकी सहयोगी नीला (एमी ज्याक्सन) पनि छिन्, जो आफैंमा एक रोबोट हुन् । अघिल्लो फिल्ममा भिलेन देखिएका डेनीका छोरालगायतले वसीकरणको प्रस्तावलाई लिएर विरोध गर्छन् । तर, स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि ‘क्रोम्यान’विरुद्ध चिट्टीलाई ब्युँताउन वसीकरण बाध्य हुन्छन् । त्यसपछि खतरनाक ‘क्रोम्यान’ र चिट्टी २.० बीचको भयंकर युद्ध शुरु हुन्छ । यो युद्धको नतिजा थाहा पाउन हलसम्म पुग्नै पर्छ ।
दर्शकलाई पूरै अवधि बाँध्न फिल्मले भरपूर प्रयास गरेको छ । मध्यान्तरअघि मोबाइल फोनले मान्छेको ज्यान लिने सिनहरू उच्चस्तरीय छन् । सडकमा देखिने मोबाइलको ¥यालीले दर्शकलाई चकित बनाउँछन् । मध्यान्तरपछि पक्षीराजनको कथाले दर्शकलाई भावुक बनाउँछ । दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा खिचिएको क्लाइम्याक्स (क्रोम्यान र चिट्टीबीचको युद्ध)ले दर्शकको धड्कन बढाउँछ । कतिपटक लाग्छ— पर्दामा कुनै हलिउड फिल्म चलिरहेको छ । पर्दाबाट आँखा कतै बाहिरिँदैनन् ।
फिल्मको अन्त्यसँगै ३.० को आश्चर्यले पनि दर्शकलाई रोमाञ्चित बनाउँछ । यसको सिक्वेल बन्ने भरपूर सम्भावना देखिन्छ ।
निर्देशक शंकरले पूरै फिल्मभरि आफ्नो पकड गुमाएका छैनन् । उनको जबर्जस्त पटकथा र निर्देशनले फिल्म अवधिभर दर्शकलाई बाँधिराख्छ । रजनीकान्तले जुनसुकै अवतारमा सुन्दर अभिनय गरेका छन्— चाहे वसीकरणको भूमिकामा होस् या चिट्टी २.० वा चिट्टी ३.० को । उता, अक्षय कुमार पनि पक्षीराजनदेखि लिएर ‘क्रोम्यान’सम्मको भूमिकामा खुब जमेका छन् । एमी ज्याक्सनको रोबोट पात्रले दर्शकको मन चोर्छ । फिल्ममा भीएफएक्सको प्रयोग जबर्जस्त छ । ‘क्रोम्यान’, चिट्टी या उनीहरूबीचको युद्ध— सबैमा भीएफएक्सको उन्नत काम भएको छ ।
यो फिल्मको मजा लिन थ्रीडीमा हेर्नुपर्छ । सामान्यतया बलिउडका थ्रीडी फिल्ममा केही नृत्य र एक्सन सिनमात्र थ्रीडीमा देख्न पाइन्थ्यो, तर ‘२.०’ पूरै फिल्म थ्रीडीमा छायांकन गरिएको छ । त्यसैले यो फिल्म थ्रीडीमै हेर्नुजत्तिको आनन्द अरुमा हुँदैन ।
यो फिल्मले सबैतिर प्रशंसा पाइरहेको छ । यो हप्ता यदि तपाईं हलिउडका जस्ता जबर्जस्त फिल्म हेर्न चाहनुहुन्छ भने ‘२.०’ तपाईंको पहिलो रोजाइ हुनेछ ।
० ० ०
अक्षय कुमार भन्छन्— हलिउडभन्दा ठूलो फिल्म
‘२.०’का कलाकार अक्षय कुमारले यो फिल्म हलिउडका फिल्मभन्दा पनि ठूलो र राम्रो भएको बताएका छन् । भन्छन्, “हलिउडमा यति कम बजेटमा यति ठूलो क्यानभासको फिल्म बन्दैन ।”आफ्नो पछिल्लो फिल्मको प्रमोशनमा व्यस्त अक्षय कुमारले ‘नवभारत टाइम्स’सँग कुरा गर्दै ‘२.०’को साउन्डमा कतिपय यस्ता प्रयोग गरिएका छन्, जुन हलिउडमा पनि देख्न र सुन्न पाइँदैन । प्रस्तुत छ, उनीसँगको संक्षिप्त कुराकानीः
तपाईंको पछिल्लो फिल्म ‘२.०’मा मोबाइलबाट सबैभन्दा खतरा भएको देखाइएको छ । तपाईं स्वयं मोबाइल प्रयोगबाट कति जोगिनुहुन्छ ?
म मोबाइल साह्रै कम प्रयोग गर्छु । मेरो मोबाइल मेरो हातमा पनि हुँदैन । म फोन गर्नका लागि मात्रै मोबाइल प्रयोग गर्छु । कोही निर्माता वा निर्देशकसँग कुरा गर्नु छ भने म आफैं कल गर्छु नत्र धेरैजसो मेरो फोन सहयोगीले उठाउँछन्, उनैले उत्तर दिन्छन् । म धेरै प्रविधिआशक्त व्यक्ति होइन ।
छोराछोरीलाई पनि मोबाइलबाट टाढा राख्नुहुन्छ ?
केटाकेटीलाई पनि मोबाइलबाट टाढै राख्ने प्रयास गर्छु । तर, यो पुस्ता यस्तो छ कि जबर्जस्ती मोबाइलबाट टाढा राखे पनि केही न केही बहानामा मोबाइल चलाउँछन् चलाउँछन् । हामीले गर्न सक्ने भनेको मोबाइलका हानिबारे केटाकेटीलाई भन्ने हो, जबर्जस्ती गर्न सकिँदैन ।
‘२.०’कै बारेमा कुरा गर्दा, एक त दक्षिण भारतीय फिल्म, त्यसमाथि अहिलेसम्मकै महँगो बजेट । यी दुई कुरालाई कसरी एकै ठाउँमा जोड्नुहुन्छ ?
‘२.०’ मेरो पहिलो साउथ फिल्म होइन । पहिले पनि थुप्रै व्यक्तिसँग धेरै काम गरिसकेको छु । धेरै पहिले एक कन्नड फिल्म ‘विष्णु विजया’मा काम गरेको थिएँ । प्रियदर्शन, प्रभु देवादेखि लिएर साउथका प्राविधिक, क्यामरामेनसँग धेरै नै फिल्म गरेको छु ।
साउथको काम गर्ने तरिका साह्रै द्रुत छ । उनीहरू समय खेर फाल्दैनन् । प्रविधिमा मिहिन ढंगले काम गर्छन् । ‘२.०’को एउटा सिनमा मोबाइलहरू जमिनमाथि हिँड्दा विचित्रको ध्वनि सिर्जना गरिएको छ । यो प्रयोग अहिलेसम्म हलिउडमा पनि भएको छैन । हलिउडले यो बजेटमा यस्तो फिल्म बनाउन सक्दैन । त्यसैले, यो हलिउडभन्दा धेरै ठूलो घनत्व बोकेको फिल्म हो ।
यो फिल्म बनाउनुको उद्देश्य सामाजिक सन्देशसँगै डिजिटल दुनियाँसँग मान्छेलाई अवगत गराउनु पनि हो । यो थ्रीडी फिल्म हो, जसले दर्शकलाई अर्कै संसारमा लैजान्छ ।
यो फिल्म हेर्न जानुअघि के प्रष्ट हुन जरुरी छ भने यो नितान्त साइन्स फिक्सन हो । वास्तविक जीवनमा यस्तो केही हुँदैन । जसरी तपाईं हलिउडको ‘ट्रान्सफर्मर’ हेर्नुहुन्छ, यसलाई पनि त्यसरी नै हेरिनुपर्छ ।
‘२.०’ मूलतः दक्षिण भारतीय भाषामा निर्माण गरिएको छ । हिन्दीभाषी क्षेत्रमा यसको जिम्मा तपाईंको काँधमा छ । के भन्नुहुन्छ ?
यो फिल्म सबैको काँधमा छ । सबै प्राविधिकसहित एआर रहमान, शंकरलगायत हामी सबैका काँधले फिल्म बोकेका छन् । यदि यो फिल्म चल्यो भने सबैका काँध माथि उठ्छन्, चलेन भने सबैका झुक्छन् ।
बलिउडमा अहिलेसम्म यति महँगो फिल्म बनेको थिएन । ‘२.०’ नयाँ शुरुवात हो ?
‘२.०’को बजेट ५१० करोड हो । बलिउडमा अहिलेसम्म ३२५ करोडभन्दा माथि गएको छैन । अब मान्छेले ठूला–ठूला फिल्म बनाउन शुरु गरेका छन् । थुप्रै कम्पनीले स–साना शहरमा फिल्म हल बनाइरहेका छन् । त्यसैले यो सुखद संकेत हो । भविष्यमा बलिउडमा पनि ठूलो बजेटका ठूला–ठूला फिल्म बन्ने आशा पलाएको छ ।
यति ठूलो फिल्म छ । चोरी (पाइरेसी)बाट जोगिन के योजना बनाउनुभएको छ ?
त्यस्ता व्यक्तिसँग मेरो अनुरोध छ— कृपया फिल्मको पाइरेसी नगरिदिनुस् । बाँकी त सरकारको काम हो । प्रहरीले पनि पाइरेसीविरुद्ध काम गरिरहेको छ ।
कुनै पनि फिल्ममा अनुबन्ध हुनुअघि तपाईंले सबैभन्दा पहिले के हेर्नुहुन्छ ?
सधैं विषयवस्तु हेर्दै आएको छु र भविष्यमा पनि त्यही नै गर्नेछु । मेरो आफ्नै निर्माण कम्पनी छ । हामीले ‘ट्वाइलेटः एक प्रेमकथा’, ‘एयरलिफ्ट’, ‘प्याडम्यान’जस्ता फिल्म बनाएका छौं ।
कति कलाकारले कथाको मागअनुसार आफ्नो शरीर र तौललाई लिएर थुप्रै प्रयोग गरिरहन्छन् । यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
मेरो लागि मेरो पेशाभन्दा महत्वपूर्ण स्वास्थ्य हो । मैले कहिल्यै पनि कुनै पनि फिल्मका लागि आफ्नो शरीर या स्वास्थ्यसँग कुनै प्रयोग गर्दिनँ । एकाध किलो तौल घटबढ भनेको सामान्य हो । स्वास्थ्य छ र त पेशा छ, स्वास्थ्य नै नभए पेशा कसरी हुन्छ ?