site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ए.के. हंगललाई पनि गाली गर्ने टीका 
Sarbottam CementSarbottam Cement

उनी मुम्बई (त्यसबेलाको बम्बई) मै थिएटरमा व्यस्त थिए । पुना फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा गरिसकेपछि उनी प्रतिष्ठित नाट्य संस्था ‘इप्टा’ सँग जोडिए । त्यहीँ रहँदा उनले नाटकका साथै सिनेमाहरुमा पनि काम पाउँदै गए । वि. सं. २०३८ सालमा उनी हिन्दी फिल्म ‘उँची उडान’को छायांकनका लागि काठमाडौं आए । 

उनी मुम्बईमा हुँदै तत्कालिन शाही नेपाल चलचित्र संस्थानले ‘जीवन रेखा’का लागि अभिनेता टीका पहाडी (६९)सँग अभिनयका लागि सम्झौता गरेको थियो । त्यो नेपाली फिल्ममा उनी नायिकाको पिताजीको भूमिकामा अनुबन्धित थिए । पहाडीलाई छायांकनको खबर पाउनासाथ नेपाल आउन भनिएको थियो । त्यसैले नेपाली फिल्ममा अभिनय गर्ने लालसाका कारण उनले मुम्बईमा हात आएका कैयन फिल्महरु छोडेका थिए । ‘जीवन रेखा’को निर्माण पक्षले बोलाई हालेको खण्डमा मुम्बई छोडिहाल्नु पर्छ भनेरै उनले धेरै फिल्मलाई नाईँ भनेका थिए । तर ‘जीवन रेखा’मा अभिनय गर्न आउ भनेर टीकालाई खबर आएन । फिल्मकोे छायांकन डेढ वर्षसम्म रोकियो । 

‘उँची उडान’को छायांकनका लागि काठमाडौं आएका टीका पहाडी, फिल्मको युनिटसँग केही औपचारिकता पूरा गर्नका लागि चलचित्र संस्थानको कार्यालयमा पुगे । त्यहाँ टीकालाई उनकै कारणले ‘जीवन रेखा’को छायाँकन साँढे एक वर्ष ढिला भएको कुरा सुनाइयो । टीका छक्क परे । 

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ अभिनेता टीका पहाडीसँग रेडियो कार्यक्रम ‘नेपथ्य’का लागि पुराना कुरा गर्दा उनले यो प्रसंग उप्काए । उनी भन्दै थिए, ‘मैले ‘जीवन रेखा’का लागि मुम्बईका केही फिल्महरु छोडेको थिएँ । यहाँ भने उल्टै मलाई मेरो कारणले फिल्ममा ढिला भएको भनियो । अनि मैले स्पष्ट भनें, ‘मेरो कारणले फिल्म नअड्कोस् । बरु म फिल्म छोडिदिन्छु ।’ 

पछि उनले थाहा पाए उनका लागि भनिएको भूमिका फिल्मका निर्देशक प्रकाश थापाले टीकालाई दिन मानेनन् । यसैले फिल्म लामो समयसम्म रोकियो । पछि फिल्ममा टीकाको लागि तोकिएको चरित्र ‘जीवन रेखा’का निर्देशक प्रकाश थापा आफैंले गरे । फिल्ममा टीकालाई अर्को भूमिका दिईने कुरा चल्यो । तर, त्यो रोल पनि पछि अर्जुनजंग शाहीले गरे । अर्थात् ‘जीवन रेखा’मा टीकाले अभिनय गरेनन् । 

Global Ime bank

यद्यपि, ‘जीवन रेखा’मा अभिनय गर्ने अथाह रहर थियो टीका पहाडीमा । उनले कैयन हिन्दी फिल्महरु ‘जीवन रेखा’का लागि छोडेका थिए । फिल्ममा बुढोको चरित्रकालागि चयन भएकोले ‘इप्टा’मा आफूले गर्ने तीन वटा नाटकमा उनले ३० वर्षकै उमेरमा बुढो पात्रकारुपमा अभिनय गरे । अर्थात नेपाली फिल्ममा आफूलाई प्राप्त भएको भूमिकालाई जीवन्त तुल्याउन उनी मुम्बईमै पनि सक्रिय थिए । विडम्बना, काठमाडौं आउँदा उनलाई नै छायाँकन रोकेको आरोप लगाइयो । 

‘उँची उडान’का लागि मुम्बईबाट नेपाल आएका टीका पहाडीलाई ‘जीवन रेखा’ले पत्याएन । तर, पनि उनी मुम्बई फर्किएनन् । उनी आफ्नो मातापिताको सेवाका लागि नवलपरासीस्थित आफ्नो गाउँ, जहदा— मझौनी गए । उतै खेतीपातीमा रमाए । 

टीका भन्छन्, ‘आफ्नो करियर यहाँ नबन्ने देखेरै म मुम्बई गएको थिएँ । तर जब उँची उडानका लागि नेपाल आएँ, घर परिवारको स्थिति देखेर मुम्बई फर्किन सकिन । घर र मातापिताकोे अवस्था आफ्नै आँखाले नदेखेको भए म सायद मुम्बईमा नै हुन्थेहुँला ।’

०००

टीका पहाडीको अभिनय यात्रा स्कूलको कक्षा कोठाबाटै सुरु भयो । स्कूलमा पढ्दापढ्दै शिक्षकहरुले टीका र उनका सहपाठीहरुलाई  नाटकमा अभिनय गर्न हौस्याए । स्कूलमा आधा घन्टा, पैतालिस मिनेटका नाटकहरु गरिन्थ्यो । कहिले काँही एक घण्टाकै नाटक पनि गरे तिनीहरुले । अर्थात टीकासहितका विद्यार्थीहरु बाल मञ्चमा शिक्षकहरुबाट उभ्याइए । यसैले जग बसाल्यो टीका पहाडीमा, नाट्यकर्मको । 

उनी आठ कक्षासम्म गाउँमा पढे र नौ कक्षामा गोरखपुर (भारत)को स्कूलमा भर्ना भए । पहाडीका अनुसार उनले वि.सं. २०२२/०२३ साल तिर पढाईका लागि घर छोडे । त्यहीँ उनले पहिलो पटक सिनेमा हेर्ने मौका पाए । गाउँमा थिएटर गरिरहेका उनलाई सिनेमाले तान्यो । सिनेमाप्रतिको लालसा बढेर गयो । 

जब उनी कलेजमा पुगे, त्यस पछि उनले फेरि रंगमञ्चमा अभिनय गर्ने मौका पाए । किनभने कलेजमा बेलाबखत नाटकहरु भइरहन्थ्यो । आफ्नो रुचीको विषय भएकोले पनि उनको आकर्षण त्यसतर्फ रह्यो । 

त्यही रहरले टीका पहाडीलाई पुनास्थित ‘फिल्म एण्ड टेलिभिजिन इन्टिच्युट’को मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्‍यो । गोरखपुरमा हेरेको सिनेमाले उब्जाएको लालसाकै कारण उनी पुना फिल्म इन्स्टिच्युटमा जाने तिर सोच्न थाले । 

उनी यसका लागि सक्रिय भए । त्यसैबीचमा उनले पुनाबाट पढेर आएका जगन्नाथ तिमिल्सिनासंग भेट गरे । उनीसंग सल्लाह गरे । भारतीय दूतावासमा सम्पर्क गरे । त्यसका लागि तयारी गरे । अन्ततः निरन्तरको लगनले टीकालाई उनको गन्तव्यमा पुर्‍यायो ।

उनी वि.सं. २०३० सालमा पुना फिल्म इन्स्टिच्युटमा अभिनयमा डिप्लोमा गर्न गए । बाल्यावस्थादेखि थालेको अभिनय यात्राको एउटा महत्वपूर्ण मोडमा उनी पुगेका थिए । यो संस्था उनको जीवनको एउटा बलियो आधारशीला नै थियो ।

०००

पुना फिल्म इन्स्टिच्युटमा उनी एक महिना ढिलो पुगे । उनीभन्दा अगाडि एक महिला अभिनय पढ्नका लागि चयन भएर गएकी थिइन् । तर, उनले नसके पछि त्यो ठाउँमा टीका पहाडीलाई पठाइयो । यसैले गर्दा उनी एक महिना ढिला पुगे ।  

टीका पहाडी भन्दैथिए, ‘पुना जानुभन्दा अगाडि मैले थिएटर नगरेको भए सायद मलाई साह्रै गाह्रो हुन्थ्यो होला । तर, मेरो बालवय र किशोरकालको थिएटरकर्मले मलाई सजिलो गरायो । जहाँसम्म अभिनयको सिद्धान्त वा परिभाषाको कुरो थियो, त्यो मैले बताउन नसके पनि म अभिनय गरेर देखाउन सक्थेँ । यसैले शिक्षकलाई पनि सायद प्रभावित बनायो ।’ 

पुनाका प्रोफेसरहरुलाई टीकालाई पढाउन  सक्ने विश्वास थियो । प्रोफेसरलाई थाहा थियो टीका एक महिना ढिलो आएका हुन् भन्ने । उनले पढाईलाई पिकअप गर्छन् भन्ने विश्वासमा टीकाले दाग लाग्न दिएनन् । उनी पढ्दै गए । अगाडि बढ्दै गए । 

उनीभन्दा अगाडि पुना इन्स्टीच्युटमा १३ जना नेपाली थिए । तपानाथ शुक्ला, लक्ष्मीनाथ भट्टराई, बासुदेव विष्ट, मधुकर बस्न्यातहरु आआफ्नो विधामा अध्ययन गर्दैैथिए । लक्ष्मीनाथ शर्मा एक वर्ष पछि मात्रै आए । 

उता टीकाका साथीहरु थिए, मिथुन चक्रवर्ती, नसिरुद्धिन शाह, ओम पुरी, सवाना आजमीहरु । पुनामा सबैले सबैसंग सिक्थे । एकले अर्कासंग नजानेको कुरा सिक्थे । प्रोफेसरले त कन्सेप्ट मात्रै दिन्थे । बाँकी आफै गर्नुपर्दथ्यो । 

अभिनय कक्षामा रहेका उनले अभिनयको क्लास गर्दै गए । पुना इन्स्टिच्युटका विद्यार्थीहरुले बनाउने साना साना सिनेमाहरुमा अभिनय पनि गरे । विश्व प्रसिद्ध सिनेमाहरु पनि हेरे । अर्थात् अभिनय र सिनेमा अनि सिनेमा र अभिनयमा नै उनको समय बित्दै गयो । 

टीका पहाडीसँग अभिनयकाबारे चर्चा गर्दा उनी भन्छन्, ‘कुनै पनि चरित्रलाई जीवन्तरुपमा प्रस्तुत गर्नु नै अभिनय हो भन्ने मलाई लाग्छ ।’ 

टीकाले पुना फिल्म इन्स्टिच्युटमा पढ्दाका कथा पनि सुनाए । उनका अनुसार पहिलो पटक आफैले कथा तयार पारेर अभिनय गरेर देखाउनु पर्दथ्यो । पहिलो पटक विना सम्वाद र तीन महिना पछि सम्वाद सहित । राम्रो नराम्रो प्रोफेसरले भन्थेनन् । त्यहीँ रहेका २२ जना विद्यार्थीहरुका बीचमा छलफल हुन्थ्यो । अभिनय गरेर देखाएको कुरा कसले कसरी बुझे, त्यही अनुरुप छलफल हुन्थ्यो । यसरी छलफल र टीकाटिप्पणीहरुले नै सिकाउँथ्यो साराकुरा ।

टीका भन्छन्, ‘हामी सातामा एउटा फिल्म हेर्दथ्यौं । हामीले हेरेको त्यो फिल्मको पुरा विश्लेषण गर्नुपर्दथ्यो । फिल्म हेरेर के के पत्ता लगाउन सक्छौ लगाउ भन्थे प्रोफेसरहरु । यसरी आफू ज्ञानी बन्ने प्रयासमा रहन्थ्यौं हामी सबै ।’ टीकाका अनुसार पुनामा विद्यार्थीहरुको बुभ्mने र सोच्ने क्षमता बढाइन्थ्यो । वरिष्ठ फिल्मकर्मीहरु सत्यजित रे, मृणाल सेन, गुलजार जस्तालाई बोलाएर उनीहरुसँग फिल्मका बारेमा डिस्कसन गराइन्थ्यो ।  

०००

पुनामा पढाइ सकेको छ महिना पछि टीका नेपाल फर्किए । त्यसबेला नेपालमै केही गर्नुपर्छ भन्ने मानसिकताका साथ उनी नेपाल फर्किएका थिए । तर, यहाँ त सबै जना सरकारी जागिरे कलाकार देखे उनले । काम भए पनि नभए पनि तलब पाउँथे । कला क्षेत्रमा लागेर पनि काम गर्नुपर्ने बाध्यता थिएन । यहाँ सिर्जनशील काम नभएको देखेपछि उनी बम्बई नै फर्किए । 

उनी सम्झिन्छन् त्यो क्षण, ‘म काठमाडौं आउँदा पहिलो रंगीन फिल्म ‘कुमारी’ बन्दै थियो । जसको ५० प्रतिशत काम सकिइसकेको थियो । मैले त्यसमा मौका पाउने कुरै थिएन । कुमारीपछि कति वर्षमा फेरि फिल्म बन्ला ? नबन्ला ? भन्ने प्रश्नमा म रुमल्लिएँ । लगत्तै मुम्बई फर्किएँ ।’ 

यद्यपि, पुनामा पढ्दा टीकाको मनमा विश्वास थियो की ‘म एउटा राम्रो कलाकार बन्छु’ । यही आत्मविश्वासले उनलाई बलियो बनाएको थियो । कस्ता कस्ता कलाकारले संघर्ष गर्नुपर्ने मुम्बईमा उनले काम गर्नुपर्ने ठाउँको खोजी गरे र उनले समाए, मुम्बईको प्रख्यात रंगमञ्च संस्था, ‘इप्टा’ अर्थात ‘इन्डियन पिपुल्स थिएटर, एसोसिएसन । जहाँ पृथ्वीराज कपुर, बलराज साहनी, देव आनन्द, ए.के. हंङ्गल, सबाना आजमीलगायतका कलाकारहरु काम गर्थे । 

उनले इप्टाका माध्यमबाट आफूलाई त्यहाँ स्थापित गर्ने अवसर पाए । उनको यो कामले उनलाई साथ दियो । एकै वर्षमा टीका पहाडीलाई त्यहाँका वरिष्ठ रंगकर्मीहरुले कुशल रंगकर्मीकारुपमा मुल्याँकन गरे । प्रशंसा गरे । त्यहीँ उनले फिल्म निर्माताहरुसित भेट्ने मौका पाएँ । र त्यहीँबाट उनको मुम्बईमा फिल्मी करियरको सुरुआत भयो ।

उनले नाटकमा त काम गरे नै । त्यसैले उनलाई फिल्म पनि दिलायो । रंगमञ्चकै कारण उनले मुम्बईमा रहँदा १२/१५ वटा फिल्महरुमा काम पनि गरे । टीभीले पनि उनलाई बोलाउन थाले । तर उनी फिल्मभन्दा पनि रंगमञ्चमा नै रमाइरहेका थिए । यद्यपि उनले सत्ते पे सत्ता, बसेरा, जमाना लगायतका हिन्दी फिल्महरुमा काम गरेका थिए । उनी इप्टामा रहँदा नाटकको व्यवस्थापनमा पनि जुट्थे । उनको काम देखेरै उनलाई अध्यक्ष कैफि आजमी, उपाध्यक्ष ए.के.हङगलहरुले मनपराउँथे ।

टीकाले एउटा रोचक प्रसंग सुनाए, ‘मैले एक पटक बरिष्ठ कलाकार ए.के. हंङगललाई सबैका अगाडि गाली गरेँ । उनी संस्थाका उपाध्यक्ष थिए । ए.के. जस्ता सिनियर र प्रतिष्ठित कलाकारलाई गाली गर्दा सबैले मलाई इप्टाबाट निकाल्ने कुरा उठाए । तर पछि ए.के. हंङगलले ‘म नाटकमा आफ्नो इन्ट्रीको समय बिर्सेर चुरोट पिउन गएको थिएँ, त्यसैले टीकाले मलाई कडा बोलेको हो’ भन्दै आफ्नो गल्ती भएको कुरा स्वीकारे । उनले टिकाले जे गरे राम्रो गरे सम्म पनि भनेँ । त्यस पछि मलाई इप्टामा सबैले मान्न थाले ।’

उनको सोचले सार्थक काम गर्‍यो । उनको संघर्षको स्वरुप बेग्लै भयो । उनले  मुम्बईको त्यो भीडमा आफूलाई चिनाउने सजिलो माध्यम भेट्टाएका थिए, थिएटर । भारतीय चर्चित कलाकारहरुको संगमस्थल ‘इप्टा’मा उनको कामले उनलाई सर्वत्र परिचित मात्रै तुल्याएन, अपितु कैयन फिल्म मेकरहरुले उनलाई काम पनि दिए । त्यसबेला उनलाई टीभीमा पनि बोलाइयो ।

उनका अनुसार इप्टामा हुने हरेक नाटकको कुनै न कुनै पत्रिकाले समीक्षा लेखिरहेको हुन्थ्यो । समीक्षामा कलाकारहरुको नाम पनि उल्लेख हुन्थ्यो । कलाकारको कामको पनि विश्लेषण गरिन्थ्यो । पत्रिकामा छापिएको नाटकको रिभ्यु देखेर एक पटक मनोज कुमारले शशि कपुर मार्फत टीकालाई बोलाएको टीका सम्झिन्छन् । 

मुम्बईमा आज पनि थिएटरको उत्तिक्कै महत्व रहेको उनको भनाई छ । जतिबेला टीका इप्टासंग जोडिएका थिए, तिनले एकै रातमा तीन तीन शो नाटक पनि मञ्चन गरेका थिए । त्यसबेला पब्लिक डिमाण्डलाई नकार्ने अवस्थानै पनि थिएन । 

इप्टामा जसजसले काम गरे, ती सबै अनुशासनमा बाँधिएर बस्थे । ती कैफि आजमी हुन वा ए.के. हङ्गल अथवा सवाना आजमी, नसिरुद्धिन, ओम पुरी वा टीका पहाडी । र, थिएटरमा अनुशासनका लागि टीका एकदमै कडा मानिन्थे । इप्टामा उनका साथीहरु रमन कुमार, राकेश बेदी, सुधिर पाण्डे, सवाना आजमी, फारुख शेख, भरत कपुरलगायतलाई अहिले पनि उनी सम्झिन्छन् । 

इप्टामा टीकाले सात वर्ष बिताए । उनी इप्टाका खम्बा नै बनेका थिए । तर, उँची उडानको छायाँकनका लागि नेपाल फर्किएका टीका आमाबुबाको सेवार्थ नेपाल नै बसे । उनी मुम्बई फर्केनन् । उनका पिताजीले धेरै भने, मुम्बई फर्कि भनेर । तर मातापिताका अर्का ‘श्रवणकुमार’ टीकाले नेपाल छोडेनन् । उनी सक्रिय भए, खेती किसानीमा । 

उनी गाउँमै थिए । एकपटक एउटा पत्रिकामा खबर देखे, उनका पुना फिल्म इन्स्टिच्युटका पुराना साथीहरु नाटक लिएर लखनउ आउँदै रहेछन् । उनी नवलपरासीको आफ्नो गाउँबाट लखनउ तर्फ लम्किए । लखनउमा टीकालाई देखेर त्यस समूहका निर्देशक एम.एस. सत्यु खुशी भए । सत्यु आर्ट फिल्मका चर्चित निर्देशक हुन् । 

टीका पहाडीले लखनउको त्यो घटना सम्झिँदै बयान गरे, ‘मलाई देख्नासाथ सत्युले भने, ‘अब म साथीहरुलाई गाइड गर्दिन् । तिमी गर’ । मैले भनेँ ‘मैले बिर्सिसकेँ । म त अचेल धान, गहुँ, मकैका बारेमा मात्रै जान्दछु’ । सत्युले मानेनन् । उनले मेरो जिम्मा लगाएरै छोडे । मैले दुई शो नै कलाकार साथीहरुलाई गाइड गरेँ ।’ 

लखनउमा दुई दिनसम्म प्रदर्शन भएको नाटकमा केही नयाँ कलाकारहरु पनि थिए । तिनले टीका पहाडीसँग भेट भएपछि टीकालाई सुनाएछन्, ‘तपाईलाई भेट्न जुरेको रहेछ । नभए हामी बितेको चार पाँच वर्षदेखि तपाईको नाम सुनिरहेका छौं । टीका होता तो ऐसे करता, टीका होता तो वैसै करता !’ 

०००

माता पिताको सेवासँगै खेती किसानीमा जुटेका अभिनेता टीका पहाडीले जीवन रेखामा काम गरेनन् । उनको बसोबास गाउँमै थियो । खेतीमै रमेका थिए उनी । तर पुनामैै पढेका निर्देशक लक्ष्मीनाथ शर्माले टीकालाई छोडेनन् । लक्ष्मीनाथ पहिलो फिल्म निर्देशन गर्दै थिए, ‘बदलिँदो आकाश’ । लक्ष्मीनाथले टीकालाई बदलिँदो आकाशमा लिए । अभिनय गराए । र ,यहीँबाट टीका पहाडीको नेपाली फिल्म तिरको यात्रा सुरु भयो ।

टीका भन्छन्, ‘संस्थानको फिल्म जीवन रेखामा एग्रिमेन्ट गरेको तर खेल्न नपाएकोले मैले संस्थानकै अर्को फिल्म ‘बदलिँदो आकाश’मा एग्रिमेन्ट गरिन । सीधै काम गरें ।’ यस पछि उनको नेपाली फिल्मी यात्रा सुरु भयो । जुन यात्रा आज पनि चलिनै रहेको छ ।
(तस्बिरः टीका पहाडीको फेसबुकबाट)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC